सुलसुलेभेषजराज साहित्य प्रतिष्ठानको स्वर्ण शृङ्खला
भेषजराज साहित्य प्रतिष्ठान, वालिङ स्याङ्जाकाे ५० औँ स्वर्ण शृङ्खला सम्पन्न ।

भेषजराज साहित्य प्रतिष्ठान, वालिङ स्याङ्जाले आफ्नो नियमित रचनावाचनको ५० औँ स्वर्ण शृङ्खला वालिङ बहुमुखी क्याम्पसको सभाहलमा गुरु पूर्णिमामा एवम् २०९औँ भानु जयन्तीका दिन २०७९ असार २९ गते सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि भेषजराज शर्माका सहकर्मी एवम् पूर्व प्रधानाध्यापक चिरञ्जीवी पाण्डेले शर्माको व्यक्तित्वमाथि प्रकाश पार्दै शर्मा साहित्य, शिक्षा र राजनीतिका त्रिवेणी हुनुहुन्थ्यो । उहाँका साहित्य गुणात्मक छन् । उहाँका रचनाले समाजका विकृति-विसङ्गतिको चर्को आलोचना सहित समाज सुधारको सन्देश दिएका छन् भन्नेकुरा बताउनु भयो ।
कार्यक्रमका अर्का अतिथि भेषजराज शर्माका समकक्षी नरबहादुर पराजुलीले शर्मा स्याङ्जाको मात्र नभई नेपालकै उत्कृष्ट साहित्यकार हुनुहुन्थ्यो भनेकुरा व्यक्त गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार डा. अच्युतशरण अर्याल, खुकान्त अर्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा शिव खनाल जीवमले कविता र झर सुनाउनुभएको थियो । त्यसैगरी बाल प्रतिभा विप्लव खनाल र कृष्ण वास्तोलाले भानुभक्तका कविताहरू वाचन गरि भानुभक्तप्रति श्रद्धा सुमन अर्पण गरे । कवयित्री वसन्ती अधिकारीले गरु भक्तिसम्बन्धी उत्कृष्ट कविता प्रस्तुत गरिन् भने कविहरू लेखनाथ काफ्ले, बोधराज न्यौपाने, कमल बगाले, पारीश्वर न्यौपाने, गोविन्द वास्तोला, दमकुमारी बगाले लगायतले समसामयिक रचना सुनाएका थिए ।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष विष्णुप्रसाद अर्यालले दिनुभएको थियो भने धन्यवाद ज्ञापन प्रतिष्ठानका सदस्य दीपक लम्सालले र सचिव श्यामप्रसाद ढुङ्गानाले सञ्चालन गरेका थिए । ८ देखि ८३ वर्षसम्मका स्रष्टाको उपस्थितिले कार्यक्रम अझ महत्त्वपूर्ण बनेको थियो ।
-श्याम ढुङ्गाना
Subscribe
Login
0 Comments
Oldest












































