लक्ष्मण गाम्नागेगाली कविता
थुक्क हामीहरू ! एक जना लुगा लगाएको नेता पनि जन्माउन नसक्ने, एक जना सराप्नुनपर्ने,अगुवा पनि हुर्काउन नसक्ने, कस्तो बन्जर पाठेघर रहेछ, हाम्रो दलालहरू मात्रै उत्पादन गर्ने, पौरुष हो कि पानी हो हाम्रो ?
मैले भोट हालेका नेतालाई
मेरा दाजुले भोट हालेका नेताले
विदेशीको दलाल भन्छन्
मेरा बाबुले महानायक मानेका नेतालाई
मेरी आमाले भोट हालेका नेताले
आतङ्ककारीको अगुवा भन्छन्
त्यो पार्टीका अध्यक्ष
यो पार्टीका सभापतिलाई घृणा गर्दै
खकारेर मञ्चमै थुक्छन् ऊ पार्टीका महासचिव
त्यो पार्टीका वरिष्ठ नेतालाई
टुँडिखेलमा नाङ्गै बनाएर लडाउँछन्
एकएक पार्टीका एकएक नेताहरू
एकअर्कालाई
शब्दकोशमै नपाइने गालीहरू
पत्ता लगाएर सराप्छन् ।
धारे हात लगाएर सराप्छन्
माइक बजाएर सराप्छन्
रेडियो रन्काएर सराप्छन्
टेलिभिजन घन्काएर सराप्छन्
पत्रपत्रिकामा लेखेर सराप्छन्
जुलुसले बाटो छेकेर सराप्छन्
मनपरी बोलेर सराप्छन्
सुराल खोलेर सराप्छन्
मच्ची मच्ची सराप्छन्
उफ्री उफ्री सराप्छन्
तँ विदेशी दलाल
तँ आतङ्ककारी
तं भ्रष्टाचारी
तँ हत्यारा
तँ अमेरिकाको जुत्ता
तँ चिनियाँ कुत्ता
तं गुप्तचर
तँ छेपारो
तँ दक्षिणपन्थी
तँ उग्रवादी
तँ प्रतिगामी
तँ यथास्थितिवादी
तँ टाउकोकट्टा
तँ घाँटीरेटुवा
तँ बाटोढुकुवा
तँ नपुङ्सक
तँ दरबारिया
तं आततायी
तँ चोर
तँ देशबेचुवा
तँ विष वृक्ष
तँ कठपुतली
तँ कठमुल्लावादी
तँ वैशाखी
तँ पाखण्डी
तँ शिखण्डी
तँ मर्न नसकेको
तँ मरिजा
तँलाई हरियो बाँस….
भनेर सराप्छन् ।
हाम्रा महान् नेताहरूका
महान् वाणी अनुसार
हाम्रै नेताहरू-
विदेशीका दलालहरू
हाम्रै आस्थाका धरोहरहरू-
भ्रष्टाचारका पहाडहरू
हाम्रा अगुवाहरू नै नैतिकहरामहरू
हाम्रा संरक्षकहरू नै पराईका कठपुतलीहरू
इन्डियाका गोठालाहरू
अमेरिकाका गुप्तचरहरू…।
थुक्क हामीहरू ।
विदेशी दलालका नतमस्तक जनताहरू
कठपुतलीका पनि हामी कठपुतली प्रजाहरू
सर्वसत्तावादीका हामी झोलेहरू
संशोधनवादीका हामी भरौटेहरू
सामन्तवादीका हामी दासहरू
आतङ्ककारीका हामी ढालहरू
भ्रष्टाचारीका हामी संरक्षकहरू
नैतिकहरामहरूका हामी सुरालहरू
नाङ्गा नेताहरूका हामी लंगौटीहरू !
थुक्क हामीहरू !
एक जना लुगा लगाएको नेता पनि जन्माउन नसक्ने
एक जना सराप्नुनपर्ने अगुवा पनि हुर्काउन नसक्ने
कस्तो बन्जर पाठेघर रहेछ हाम्रो
दलालहरू मात्रै उत्पादन गर्ने
पौरुष हो कि पानी हो हाम्रो ?
‘पत्याउँदा पत्याउँदै’ (२०६७)
Subscribe
Login
0 Comments
Oldest

































