साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भान्जे बुहारी र माइजू सासू

“ल ल भान्जा त्यो त मैले दिउँसै भ्याइसकेको छु चिन्ता छैन ।” यति भनेर मोबाइल काटिदिएँ । भान्जी बुहारीको हरियो माइजू सासूलाई सार्न पाएकोमा मनमनै दङ्ग थिएँ ।

Nepal Telecom ad

आज किन हो किन घरकीसँग गहिरो गहिरो गफ गर्न मन लाग्यो । आँटीको डीलमा बसेर बोलाएँ । “ओई, कता गइछे ?” दुईतीनपटक चिच्याएँ । “किन हो, के भयो ?” झर्किंदै आई । “यता बस् न, आज गहिरा गहिरा गफ गर्न मन लाग्यो क्या !” नजिकै बोलाएँ । झर्किंदै बसी । भन्न थालें- “हेर्, एमसिसि पनि पास भयो, देश अब कता जाने हो, कोरोनाले झम्टिझम्टी तीर हानिरहेको छ, सुनको भाउ पनि तोलाको लाख नाघ्यो, कालीको जुत्ताले बूढी औंलो देखाउँछ, कालेको कट्टुले भेन्टिलेसनको काम गरिराखेको देख्छु, अनि साँच्ची सर्टिफिकेट राखे सरकारले ऋण दिन्छ रे, हो ?…… यस्तै यस्तै ।

मेरो गफ फिट्टो सुनोस् त के र ! कोरोनाको पीरभन्दा उसलाई साउन महिनाको पीर परेको रहेछ । एमसिसि पास होस् कि फेल आफ्नो गरगहना पास गराउन तम्सेकी रहिछ । साउन लाग्यो अरे । हरियो साडी, हरियो चुरा, हरियै पोते, हरियै चप्पल, कावेरी मेहदी …। कत्ति हो कति । सारा शरीर हरियाली हुनुपर्ने अरे । उसले हरियोको फर्माइस गर्दा आफ्नू अनुहार चाहिँ नीलो भइसकेको थियो । मैले पनि लेउले काई परिसकेका हरिया दाँत देखाएर ङिच्च ङिच्च हाँसें ।

हाँस्न त हाँसें तर टार्न सकिएला जस्तो लागेन । आफूलाई एमसिसि पास भएकोमा कत्रो पीर परिरहेको थियो । त्यही बेला उसलाई हरियाका सेटहरु फेल भएकोमा त्योभन्दा बढी पीर परेको थाहा पाएँ । आफूलाई पनि खिन्न लाग्यो । अर्काले जन्माई, बढाई, हुर्काई गरेकी छोरी अग्निलाई साक्षी राखेर सात फेरो मार्दै ल्याएको हुँ । ठुस्स परेर रिसाउँदा मैले पनि मन थाम्न सकिन । यसो विचारें । बैँकले भएको जेथो जम्मा गर्दा पनि ऋण दिँदैन भन्ने पनि सुनेको छु । छोराछोरीको जिम्मा सरकारले लिने त कुरै भएन आफूले जन्माएपछि…. । गाउँमा हात पसारूँ भने सबैका एउटी एउटी हरियाधारी र फरियाधारी घरमै छन् । कोसँग माग्ने ? जुठेकी श्रीमती पोहोर साल कोरोनाले गई । उहीसँग मागूँ कि ! अहँ त्यो पनि भएन । परारको सालको ऋण तिर्न सक्या छैन फेरि कसरी मुख जुठो बनाऊँ ! जुठेसँग माग्नु आफ्नै मुख जुठो बनाउनु मात्र हो ।

यसो झोक्राएर पुर्पुरोमा हात लगाउँदै पेटीमा बसें । दैवलाई सरापें । क्यालेन्डरमा साउन र भदौ महिना राख्ने ज्योतिषीलाई धिक्कारें । अचानक अरब गएका भान्जाको मिसकलको घन्टी बज्यो । मेरो दिमागमा पनि खुसीको घण्टा बज्यो । अस्तिमात्र असार मसान्तमा भान्जाले मनी ट्रान्सफरबाट मेरै नाममा पैसा पठाइदिएका थिए । बुरुक्क उफ्रेर बजार हाँक्किएँ । पैसा निकालें । मारबाडी पसल छिरें ।

“साहूजी यो हरियो फरियोको दाम लगाउनुस् त !” शानले भनें । “हजुर ! अरुलाई त पैतिस सय पर्छ, तपाईं लाने भए तीन हजार दिनुस् न त ।” मनमनै भनें, “यो मोराले पनि मेरो कहानी बुझेछ कि क्या हो गाँठे !” “अनि महँगो भएन र साहूजी ?” केही नम्रता देखाइदिएँ । साहूजी कड्किए, “साउनमा हरियो साडी महँगो त परिहाल्छ नि, चैतमा आउनुस् न पन्ध्र सयमै दिन्छु ।” चैत महिना फुत्केकोमा आफूलाई बेवकुफ सम्झँदै एकछिन आनाकानी गरें । “साहूजी, कतै खस्ने ठाउँ छ कि छैन त ?” पुनः उही मोलमोलाईको भाव राखें । साहूजीले सोझो पाराले आँखा तर्दै भने-“पेटीकोट पो लाउनुपर्छ त नत्र त खसी हाल्छ नि” । “होइन-होइन ! साडी खस्ने ठाउँ भनेको होइन क्या, भाउ चाहिँ खस्ने ठाउँ छ कि छैन पो भनेको त” प्रष्ट पारिदिएँ । अनि पच्चिस सयको काँटामा भाउ मिल्यो । सारी बोकें । हिँडें ।

दुई दर्जन हरिया चुरा किनें । एक लुङ हरियो पोते । दुई थान कावेरी मेहन्दी । एकजोर हरिया चप्पल । खुशीले बुर्कुसी मार्दै र ठुस्स परेर बसेकी घरकीको अनुहार उज्यालो भएको कल्पना गर्दै एकै मिलिकमा घरको आँगन टेक्न पुगें । हरियाली सामान फिँजाइदिएँ । एउटा सामान तीनफेर हेरी पाँचफेर ओठ लेब्राई । तैपनि स्वीकार चाहिँ गरी । दङ्ग भएँ ।

मोबाइलमा चार्ज सकिएको रहेछ । चार्जरमा लगाएँ । यसो हेरेको त करिब पन्ध्र बिसवटा मिसकल रहेछ । कसको रहेछ भनेर हेरिहेरें । तिनै अरबी भान्जाको रहेछ । हत्तनपत्त मिसकल फर्काएँ । “मामा पैसा झिकेर घरकीलाई पठाइदिनु भएन ? साउनमा हरियो लाउन पाइन भनेर मार्न आँटी । मामा त्यति जसरी पनि भ्याइदिनु न है ।” भान्जाले साइनो अनुसारको विनम्रता देखाए । “ल ल भान्जा त्यो त मैले दिउँसै भ्याइसकेको छु चिन्ता छैन ।” यति भनेर मोबाइल काटिदिएँ । भान्जी बुहारीको हरियो माइजू सासूलाई सार्न पाएकोमा मनमनै दङ्ग थिएँ । अस्तु

(२०७९।०४।०९)
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x