साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा फ्रेमभित्र बसेपछि….

आऊ बा ! निस्क अब त्यो सिसाको फ्रेमबाट भयो बा ! अब झर त्यो आकाशका ताराबाट उठ बा ! ब्यूँझ अब त्यो बाँसको खाटबाट मलाई, तिमी बूढो भएको देख्ने मन छ, मलाई तिम्रो हात डोराउँदै हिंड्ने मन छ ।

Nepal Telecom ad

तिम्रो काँधको कञ्चनजङ्घा चढेपछि नै
जागेको हो ममा उचाइको मोह
तिम्रो औँलाको अङ्कुसे साथ छुटेपछि नै
बुझेको हुँ छुटाइको अर्थ
तिम्रो छातीमा सिउरी खेल्दै
घाँटीमा पिङ खेल्न पाएपछि मात्रै
बल्ल दशैँ आउनेगर्थ्यो मेरो
तिम्रो दौराको खल्तीबाट
पिपलगेडी निस्केपछि बल्ल
चाडपर्व सुरू हुन्थ्यो मेरो ।

बा !
आमा सधैं झूटो बोल्छिन् मसँग
बा खै आमा ? भन्दा तारा देखाउँदै भन्छिन्
उ तेरा बा !

बा !
तिमी साँच्चै तारा बनेका हौ भने
किन चम्कन्नौ मेरो चकमन्न रातमा ?

बा ! तिमी साँच्चिकै आकाशमा छौ भने
भिज्दा निथ्रुक्क वियोगको झरीले
किन उडाउन्नौ छाता सान्त्वनाको ?

बा !
तिमी जहिलेदेखि दैलोमाथि
सिसाको फ्रेममा बस्न थाल्यौ
हो त्यतिखेरबाटै विद्रोही भएको हूँ म
तिमीलाई के थाहा
तिमी बोलेनौ भन्ने रिसले
कति चोटि फुटाएँ फोटाको फ्रेम
मन नपरेर आमाको सेतो सारी
कतिचोटी रङ्गाइदिएँ
मेरो औँलाको रातो रगत छिर्केर
मलाई सबैभन्दा मन पर्ने गीत गाउने
आमाका चुरा बज्न छाडेपछि
चुरा किन्दिन्छु आमालाई भन्दै
कति चोटि फुटाइदिएँ खुत्रुके ।

बा !
तिमीले ओइलाएको फूलको
माला लाउन थालेपछि हो
मेरी आमा दिनदिनै सुँकसुँकाउन थालेकी
तिमीलाई काकाहरूले नब्युँझाइ लगेपछि हो
मेरी आमाले
चुरा र सिन्दूरको बट्टा फुटाएकी ।

तिमी सधैँ म गएँ है बाबू भनेर घरबाट निस्कँदा
परसम्म पछ्याउँदै कुद्थेँ म
बुझ्न सकिरहेको छैन अहिलेसम्म
कहिल्यै नरिसाउने मेरा बा
किन रिसाए होलान् त्यति औधी
र गए
जान्छु सम्म पनि नभनी !

०००

२०७७/०५/०३/०४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x