साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झिँगाहरूको राज्य

आफूलाई वैकल्पिक झिँगा हुँ भन्ने पनि त्यतै हराए । वैकल्पिकका वैकल्पिक थोत्राभन्दा नयाँ र नयाँभन्दा झन् नयाँ अर्थात् फरक जातको भन्ने झिँगा कति कति ।

Nepal Telecom ad

झिँगाहरूले यसपाला चुनाव गरे । झिँगाले चुनाव जित्यो । झिँगाले चुनाव हार्‍यो । झिँगाहरू जिन्दावाद र मुर्दावादमा व्यस्त भए । कोही झिँगा टायर बाल्न थाल्यो, कोही मैनबत्ती । जित्नेपक्षका झिँगा फोहोरमाथि फोहोर थप्दै रमाए, हार्नेहरूले फोहोर सिनित्तै पारेका थिए ।

अब कताका फोहोर बेचेर चुनाव लड्नु ? एउटा झिँगाले भन्यो- कस्तो फोहोरी चुनावी खेल । अर्को झिँगाले भन्यो- राजनीति भनेकै फोहोरी खेल त हो नि । बाँकी झिँगाहरू रमाइरमाइ खेलिरहे ।

झिँगा यति थिए कि, एकछेउबाट गन्दै अर्को छेउमा पुग्दा उत्तिकै बढिरहेका हुन्थे । कोही झिँगा टुटमा थिए, कोही फुटमा थिए, कोही जुटको नारा लगाउँदै पनि थिए । तर ती सबैसबै आफ्ना मौलिक परम्परा अर्थात् कुटाकुटमा थिए । झिँगाले औंशा पार्‍यो, फूल पार्‍यो, फेरि झिँगा जन्मियो । झिँगाको हुलका हुलबाट केही हुल झिँगा बेपत्ता भए ।

झिँगा हराएको सूचना झिँगापुरभर फैलिन केही बेर पनि लागेन । झिँगा दैनिक, झिँगा साप्ताहिक र झिँगा मासिक पत्रिकाहरूमा झिँगाको फोटो र हुलियासहित झिँगा हराएको सूचना छापियो । झिँगा रेडियोमा झिँगा हराएको सूचना बोलियो । झिँगा टिभीमा झिँगा हराएको सूचना देखाइयो ।

शहरबजार, नाला र फोहरका थुप्रासम्म झिँगा खोजियो । महानगरमा फोहरको थुप्रो बढेपछि गाउँगाउँबाट झिँगाका लागि फ्रि भिसा फ्रि टिकटमा झिँगाहरू माग भएका भए ।

आउन त झिँगाहरू झिँगा भेटियो भन्दै आउँछन् । तर ती यतैका रैथाने झिँगा हुन् । बुढा झिँगाहरू भन्छन्- “ए ती त अर्कै झिँगा पो हुन् । हराएको झिँगा अर्कै हुन् । तर झिँगा हराएकामा उनीहरू अहिलेलाई खुशी पो देखिन्छन् ।”

एउटा झिँगा भन्दैथ्यो- “उरन्ठेउला झिँगा एउटा फ्लाइट हान्नासाथ थाकिहाल्छ । झिँगा हुनु त आफूजस्तो” अर्को झिँगा भन्दैथ्यो- “झिँगैझिँगाको बहुमत लिएर शासन गर्छौं ।” यता सहरमा नयाँ नयाँ भर्खरै भित्रिएका चिनीका डल्लाहरू रङ्गिन ललिपपका रूपमा झिँगा आकर्षित गर्न राखिएका थिए । त्यही खाँदै झिँगाहरू लठ्ठ पो देखिन्थे ।

झिँगाहरूले फोहरको डङ्गुरमा सुरुङमार्ग खनाए । रेल चलाए । पेट्रोल, ग्यास र पानीका पाइप विछ्याएर चाहिँदो आयात गरे । सार्वजनिक सडक, चोक, मन्दिर, विद्यालय, महल अगाडि जताततै झिँगाका लागि मात्र लेखिएको राशन निशुल्क छँदैथियो । सुकेनास लागेका झिँगा डङ्गुरभित्र बङ्गुरझैं मौलाएका थिए । उही डङ्गुरभित्र मेट्रो कुदाकुद थियो । ट्रली चल्थ्यो, दिनरात बिजुली बल्थ्यो । झिँगाको राज्यमा नपुग्दो त केही थिएन । रामराज्यमा राम र राज्य बाहेक केही नहुँदा झिँगा राज्यमा भन्सारदेखि संसार थियो ।

केन्द्रदेखि स्थानीय तहसम्म झिँगाकै सरकार हुँदा पनि झिँगा खोज्न नसक्ने सरकार के सरकार ? सरकार झिँगादरबारतिरै अलमल परिराख्दा, झिँगा निवासतिरै टहलिराख्दा, महानगरका झिँगानिवास अर्थात् फोहोरका टाकुराहरूलाई गाउँगाउँमा सार्न सकिँदैन ? बचेका हाम्रा झिँगाहरू पनि उतैका फोहरमा बिलाए । लौ न तिनलाई काज सरुवा गर्न मिल्दैन ?

आफूलाई वैकल्पिक झिँगा हुँ भन्ने पनि त्यतै हराए । वैकल्पिकका वैकल्पिक थोत्राभन्दा नयाँ र नयाँभन्दा झन् नयाँ अर्थात् फरक जातको भन्ने झिँगा कति कति ।

उताबाट यता आएका केही थान झिँगाहरू यताका थप केही थान झिँगा लिएर फेरि उही झिँगापुरतिर पुगेछन् । लौ न फेरि यता अर्को पुस्ताका हुलका हुल झिँगा बेपत्ता छन् । तिनलाई फिर्ता ल्याइदिनु पर्‍यो । डङ्गुर बढेका बढ्यै छन् ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x