संप्रस पाैडेलझिँगाहरूको राज्य
आफूलाई वैकल्पिक झिँगा हुँ भन्ने पनि त्यतै हराए । वैकल्पिकका वैकल्पिक थोत्राभन्दा नयाँ र नयाँभन्दा झन् नयाँ अर्थात् फरक जातको भन्ने झिँगा कति कति ।

झिँगाहरूले यसपाला चुनाव गरे । झिँगाले चुनाव जित्यो । झिँगाले चुनाव हार्यो । झिँगाहरू जिन्दावाद र मुर्दावादमा व्यस्त भए । कोही झिँगा टायर बाल्न थाल्यो, कोही मैनबत्ती । जित्नेपक्षका झिँगा फोहोरमाथि फोहोर थप्दै रमाए, हार्नेहरूले फोहोर सिनित्तै पारेका थिए ।
अब कताका फोहोर बेचेर चुनाव लड्नु ? एउटा झिँगाले भन्यो- कस्तो फोहोरी चुनावी खेल । अर्को झिँगाले भन्यो- राजनीति भनेकै फोहोरी खेल त हो नि । बाँकी झिँगाहरू रमाइरमाइ खेलिरहे ।
झिँगा यति थिए कि, एकछेउबाट गन्दै अर्को छेउमा पुग्दा उत्तिकै बढिरहेका हुन्थे । कोही झिँगा टुटमा थिए, कोही फुटमा थिए, कोही जुटको नारा लगाउँदै पनि थिए । तर ती सबैसबै आफ्ना मौलिक परम्परा अर्थात् कुटाकुटमा थिए । झिँगाले औंशा पार्यो, फूल पार्यो, फेरि झिँगा जन्मियो । झिँगाको हुलका हुलबाट केही हुल झिँगा बेपत्ता भए ।
झिँगा हराएको सूचना झिँगापुरभर फैलिन केही बेर पनि लागेन । झिँगा दैनिक, झिँगा साप्ताहिक र झिँगा मासिक पत्रिकाहरूमा झिँगाको फोटो र हुलियासहित झिँगा हराएको सूचना छापियो । झिँगा रेडियोमा झिँगा हराएको सूचना बोलियो । झिँगा टिभीमा झिँगा हराएको सूचना देखाइयो ।
शहरबजार, नाला र फोहरका थुप्रासम्म झिँगा खोजियो । महानगरमा फोहरको थुप्रो बढेपछि गाउँगाउँबाट झिँगाका लागि फ्रि भिसा फ्रि टिकटमा झिँगाहरू माग भएका भए ।
आउन त झिँगाहरू झिँगा भेटियो भन्दै आउँछन् । तर ती यतैका रैथाने झिँगा हुन् । बुढा झिँगाहरू भन्छन्- “ए ती त अर्कै झिँगा पो हुन् । हराएको झिँगा अर्कै हुन् । तर झिँगा हराएकामा उनीहरू अहिलेलाई खुशी पो देखिन्छन् ।”
एउटा झिँगा भन्दैथ्यो- “उरन्ठेउला झिँगा एउटा फ्लाइट हान्नासाथ थाकिहाल्छ । झिँगा हुनु त आफूजस्तो” अर्को झिँगा भन्दैथ्यो- “झिँगैझिँगाको बहुमत लिएर शासन गर्छौं ।” यता सहरमा नयाँ नयाँ भर्खरै भित्रिएका चिनीका डल्लाहरू रङ्गिन ललिपपका रूपमा झिँगा आकर्षित गर्न राखिएका थिए । त्यही खाँदै झिँगाहरू लठ्ठ पो देखिन्थे ।
झिँगाहरूले फोहरको डङ्गुरमा सुरुङमार्ग खनाए । रेल चलाए । पेट्रोल, ग्यास र पानीका पाइप विछ्याएर चाहिँदो आयात गरे । सार्वजनिक सडक, चोक, मन्दिर, विद्यालय, महल अगाडि जताततै झिँगाका लागि मात्र लेखिएको राशन निशुल्क छँदैथियो । सुकेनास लागेका झिँगा डङ्गुरभित्र बङ्गुरझैं मौलाएका थिए । उही डङ्गुरभित्र मेट्रो कुदाकुद थियो । ट्रली चल्थ्यो, दिनरात बिजुली बल्थ्यो । झिँगाको राज्यमा नपुग्दो त केही थिएन । रामराज्यमा राम र राज्य बाहेक केही नहुँदा झिँगा राज्यमा भन्सारदेखि संसार थियो ।
केन्द्रदेखि स्थानीय तहसम्म झिँगाकै सरकार हुँदा पनि झिँगा खोज्न नसक्ने सरकार के सरकार ? सरकार झिँगादरबारतिरै अलमल परिराख्दा, झिँगा निवासतिरै टहलिराख्दा, महानगरका झिँगानिवास अर्थात् फोहोरका टाकुराहरूलाई गाउँगाउँमा सार्न सकिँदैन ? बचेका हाम्रा झिँगाहरू पनि उतैका फोहरमा बिलाए । लौ न तिनलाई काज सरुवा गर्न मिल्दैन ?
आफूलाई वैकल्पिक झिँगा हुँ भन्ने पनि त्यतै हराए । वैकल्पिकका वैकल्पिक थोत्राभन्दा नयाँ र नयाँभन्दा झन् नयाँ अर्थात् फरक जातको भन्ने झिँगा कति कति ।
उताबाट यता आएका केही थान झिँगाहरू यताका थप केही थान झिँगा लिएर फेरि उही झिँगापुरतिर पुगेछन् । लौ न फेरि यता अर्को पुस्ताका हुलका हुल झिँगा बेपत्ता छन् । तिनलाई फिर्ता ल्याइदिनु पर्यो । डङ्गुर बढेका बढ्यै छन् ।
०००
हेटौँडा
Subscribe
Login
0 Comments
Oldest







































