मनाेहर पाेखरेलविभेदको फल
विष्णुकान्तको विलापको सीमा थिएन । दलितको पसल भनेर थाहा पाएपछि नास्ता थुकेर हिँडेको सम्झना आयो । ऊ त्यही मान्की हो भनेर पनि बुझिहाले । उनी पछुताए ।

‘ए तपाई पो, सरी म केही गर्न सक्दिनँ ।’ विष्णुकान्तलाई देख्नासाथ मान्कीले फरक व्यवहार देखाई ।
विष्णुकान्तले भने- ‘मागे जति पैसा दिन तयार छु ।’ उनकी श्रीमतीको जीवन धरापमा थियो । डाक्टरले तत्काल रगतको व्यवस्था नभए जोगाउन नसकिने भनेको थियो । दुर्लभ रगत समूह ‘ए बी नेगेटिभ’को चरम अभाव थियो । रक्तसञ्चार केन्द्रका नवीनले अन्तिम उपायस्वरूप मान्कीलाई फोन गरिदिएका थिए ।
बिष्णुकान्तका सामु मान्कीलाई मनाउनुको विकल्प थिएन । मान्की भने विष्णुकान्तको समस्यालाई कौडीको मोल पनि दिइरहेकी थिइन । उसको हृदयमा मानवता नै नरहेको भान देखाइरहेकी थिई । उसलाई चिन्ने र विष्णुकान्तकी श्रीमतीको नाजुक हालत जान्नेहरू समेत लागेर मान्कीको कठोर हृदय पगाल्ने कोसिस गरे । तैपनि ऊ टसको मस भइन ।
मान्कीलाई चिन्ने एउटा पसलेले त प्याच्च भनिहाल्यो; ‘खुन बेचेर नुन किन्ने मान्छेले किन भाउ खोज्छेस् ? ए मान्की, तेरो दिमाख खुस्क्यो कि क्या हो ?’
‘म इमानको सास फेर्छुु । पाँच रुपियाँको सामान पाँच सयमा बेचेर ग्राहकलाई थाङ्नाका सुताउने मेरो बानी छैन ।’ पसलेलाई भारी पुग्ने भनेर मान्कीले विष्णुकान्ततिर हेरेर थपी; ‘पैसाका लागि इमान गुन्द्रुकको मोलमा बेच्ने र जातभातको कुरा उठाएर अर्काको अन्तस्करणमा लात हान्नेहरूले सबक सिक्नैपर्छ ।’ यसो भन्दै मान्की सरासर हिँडिन् ।
विष्णुकान्तको विलापको सीमा थिएन । दलितको पसल भनेर थाहा पाएपछि नास्ता थुकेर हिँडेको सम्झना आयो । ऊ त्यही मान्की हो भनेर पनि बुझिहाले । उनी पछुताए । आधा घण्टापछि नवीनको फोन आयो- ‘रगत लिन आउनुस् ।’
हडबडाउँदै विष्णुकान्त पुगे । मान्की रक्तदान गरिसकेर सुस्ताउँदै थिई । खुशीका आँसु बररर झार्दै मान्की सामु विष्णुकान्तले हात जोडिरहे । ‘मेरो रगत चढेपछि पत्नीको शरीर पनि बिटुुलो हुन्छ ! त्यो पनि हर्दम याद राख्नुहोला ।’ यत्ति भन्दै मान्की अज्ञातस्थलतिर लागी ।
०००
राजविराज ६,
२०७९ भदौ ५ गते
Subscribe
Login
0 Comments
Oldest







































