पिँडालु पण्डितफौबन्जार
आजित भयो ऊ । उसका अरू त्यत्रा सामान बिकेको ठाउँमा बल्लतल्ल खोजेर ल्याएको डोकोको अलिकति ‘नैतिकता’ भने कतै बिकाउन सकेन उसले ।

“आयो आयो, ल सस्तोमा । अलिकति छ । आयो-आयो ।”
उसको काम बस्ती चहार्दै व्यापार गर्नु । प्रत्येक दिन गाउँ, सहर, बजार सबैतिर कराउँदै हिँड्छ । र, यसरी नै कराइकराई आप्mना सप्पै सामान बिकाउँछ । आज भने निकै ढिला भइसक्दा पनि ऊसँग अलिकति भएको एउटा सामान बिकेन । कराएर डुलेको डुल्यै छ ।
“आयो-आयो, ल सस्तोमा । अलिकति छ । आयो-आयो ।”
भोक लागेका बेला खाजा त ऊ जहाँ जतिखेर पनि खान्छ तर खाना भने घरमै । आज ऊ बिहानको खाजाको भरमा दिनभर हिँडिरहेछ । खुट्टा दुखिसके । ढाड कक्रिइसक्यो । मुन्टो अररिइसक्यो । जिउ गलिसक्यो तैपनि हिँडिरहेछ ।
काठमाडौँको इन्द्रचोक, असन, भोटाहिटी, रत्नपार्क, न्युरोड, सुन्धारा, पुतलीसडक, केसरमहल, लैनचौर जस्ता थुपै्र ठाउँ घुम्यो । पास मिलाएर सिंहदरबार छिर्यो । सर्वोच्च परिसर पनि चक्कर लगायो । बबरमहल, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल, चाबहिल हुँदै पशुपतिसम्म पनि पुग्यो । भक्तपुर, ललितपुर पनि हानियो । तर, कहीँ बिकेन उसको सामान ।
थकाइले लखतरान भएर काठमाडौँ फर्क्याे । विभिन्न क्याम्पस चहार्यो । शिक्षण र स्वास्थ्य संस्थासमेत कहीँ कतै केही बाँकी राखेन । सुरक्षा निकायका कार्यालय छेउछाउ पुगेर’नि करायो । मान्छेका भिडभाड देखेर सपिङ मलतिर पनि धायोे । कहीँ बिकेन । अलिकति ओइलाए पनि सामान जस्ताको तस्तै छ डोकोमा । जो पनि “मलाई यस्तो सामान के काम ?” भन्दै पन्छिन्छन् ।
घाम अस्ताउन एक जुवा समय बाँकी हुँदा पनि ऊ सामान बिकाउने धुनमा छ । ऊ कराउँदै बालुवाटार गयो, बिकेन । शीतल निवास पुग्यो, बिकेन । जबाफ एउटै- “यस्तो सामान यहाँ चाहिँदैन, के काम यो ?”
आजित भयो ऊ । उसका अरू त्यत्रा सामान बिकेको ठाउँमा बल्लतल्ल खोजेर ल्याएको डोकोको अलिकति ‘नैतिकता’ भने कतै बिकाउन सकेन उसले ।
०००
काठमाडौं
२०७७/१/३
Subscribe
Login
0 Comments
Oldest







































