साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिँडालु खेती

मलाई आज भन्न मन लागेको छ कोक्याउने नेताहरू सबै पिँडालु नेता हुन् । जनताका घाँटीमा सधैं कोक्याउँछन् मात्रै । भ्रष्टाचार गरी गरी आफ्नै थैलोमा पैसा पोक्याउँछन् मात्रै । मुखले आलु व्यवहारले पिँडालु ।

Nepal Telecom ad

यो देशको अर्थतन्त्रको सत्तरी भाग कृषिमा आधारित छ भनिन्छ । तर सरकारी कृषि क्याम्पसले कृषि विषय लिएर बि.एस्.सी.एजी. पढ्नका लागि जम्मा ५० जना मात्र विद्यार्थी भर्ना लिने गरेको छ । तिनै ५० जनामा नाम निकालेर पढ्न जाने विद्यार्थीको उद्धेश्य रहेको हुन्छ- बि एस्सी.को प्रमाणपत्र लिनासाथ युएसएको भिसा अप्लाई । खेत रोप्ने बेलामा मल छैन, गहुँ छर्ने बेलामा बिउ छैन, सरकार कता छ कता ! जनप्रतिनिधि चाहिँ विदेशबाट पैठारी गरिएको दुई सय केजीको माला थाप्दैमा बेफुर्सत् । यस्तो दशा देखेपछि मलाई भन्न मन लाग्छ, देशको अर्थतन्त्र धान्ने अभागी किसानहरू ! धान, मकै, गहुँ हैन अब पिँडालुको खेती गरौँ ।

हो नि, पिँडालु खेतीको निम्ति न सिँचाइको जरुरी छ, न महँगो न महँगो आयातित मलको । न बिउका लागि धद्दाउँदै बजार बजार भौतारिनुपर्छ, न आजकालका जेटिएलाई जदौ नै गर्नुपर्छ । तुरून्ता तुरून्ती मौलाउने आजभोलिको खेती भनेकै पिँडालुको खेती हो । खडेरीमै पनि रोप्न सकिने, कम भन्दा कम मेहनतमै बोक्न पनि पाइने र टोक्न पनि पाइने खेती हो पिँडालु खेती ।

हामीलाई थाहा नै छ पिँडालु भनेको असाध्यै कोक्याउने कन्दमुल हो । नेपालीका भान्सामा यसको बहु प्रचलन हुने गरेको छ । सभ्रान्तका भान्सामा पाक्ने कालो दाललाई स्वादिष्ट र एकदमै लयालु बनाउन पिँडालु हाल्ने गरिन्छ । जतिसुकै कोक्याउने भए पनि दालमा हालेपछि यसको मान सम्मान अहिलेका मन्त्रीसन्त्रीको भन्दा बढि नै छ । यसको खेती गर्ने हो भने जात कोक्याउने तर पैसा पोक्याउने खेतीका रुपमा लिन सकिन्छ । फेरि खेती गर्न उल्कै सजिलो, यसो खनखान गरी रोपिदिए भैगो, पातपतिङ्गर र सेउलाले छोपिदिए भैगो । मलजल खासै नचाहिन,े गोडमेलमा दुख पनि गरिराख्नु नपर्ने । ठूला ठूला पात र साँप्रा हालेर आफैं सप्रिन्छ । पिँडालु रोपेको बारीमा यसलाई डस्नखोज्ने बन्सो आफै पन्सन्छ । यसका पातको छहारीमा परेपछि राउन्ने साउन्ने झार त आफैं खुइलिन थाल्छ । क्या गजब !

पिँडालुका जात विभिन्न थरिका छन् । यसका जात सम्झन हाम्रो देशका राजनीतिक दल सम्झे तपाइँहरूलाई सजिलो होल । पिँडालुको एउटा जात हो जाँते । यो रैथाने पिँडालु हो । यसको वंश खोज्दै जाने हो भने २००७ सालभन्दा अगाडि पुग्नुपर्छ । एक दुई पटक लगाएपछि यसले हाम्रो बारीलाई आफ्नै पेवा हो भन्ने ठान्छ । बारीमा अरु अरु बाली लगाएको देखिसहन्न । सबैभन्दा बढी कोक्याउने जात पनि यही हो । गाबादेखि गानोसम्म सर्लक्कै रातो हुने अर्को जात छ राते पिँडालु । जाँतेले रातेलाई आयातित पिँडालु भन्छ । कम कोक्याउने र तरकारी खानलाई बढी मिठो अनि स्वादिलो भएको हुँदा जनमनमा खूब लोकप्रिय पनि भयो यो । तर राते पिँडालुमा गानोदेखि गाबासम्मै ‘खोइरो’ जातको रोग सल्किएको छ । पहाड, तराई मधेस सबैतिर फैलिएको यो पिँडालु अब नेपाली माटोबाट जातै सखाप हुने हो कि भन्ने शंका बढ्दै गएको छ । अर्को एउटा जात जो तराईतिर बढी रमाएर फैलिएको देखिन्छ । कालो कौल्सौँदो वणर्को यो पिँडालु हेर्दा त त्यति नराम्रो देखिन्न तर बेहोरा चाहिँ हेरिनसक्नुकै छ । जुन बारीमा फल्नु छ त्यै बारीलाई आफ्नो नदेख्ने आरोप यस जातको पिँडालुले खेपिरहेको देखिन्छ । कर्कलो जातको जङ्गली पिँडालु खानका निम्ति मानिसले त्यति प्रयोग गर्दैनन्, गाईभैँसी, सुँगुर बङ्गुर आदि जनावरलाई खोलेफाँडो बनाउनमै उपयोग हुने गरेको छ । प्राय धादिङतिर मात्रै पाइने अर्को एउटा जात पनि छ । खरीपिँडालु नामको यो पिँडालु पकाउँदा छिट्टै पाक्ने, खान पनि स्वादिलो छ । यसको विशेषता चाहिँ गानो जमिनमुनि नभएर बाँसको तामाजस्तो पात हाल्दै जमिन छाडेर माथि माथि बढ्दै जान्छ । यो त जमिन छाड्दै गएका नेपाली नेताहरूको काटीकुटी स्वभाव हैन र ?

जात, रङ्ग र रुप जे जस्तो भए पनि पिँडालु काँचै खान नसकिने तरकारी भेटाइटीको कन्दमुमुल विशेष हो । आलुलाई जस्तो मानिसले यसलाई त्यति मन पराउँदैनन् । तर यो आलुभन्दा धेरै गुणकारी अवश्य छ । आलुको पात, बोट क्यै पनि प्रयोगमा आउन्न तर पात, गाबा, गानो सेला सबै उपयोगमा आउँछ । कलिलो गाबा खँगारेर तरकारी खान पल्केका जिब्रामा यसको स्वाद हामी धेरैले पाएका छौँ । छिप्पेकै गाबा ढिकी वा ओखलमा कुटी मासको पिठोमा मिसाएर बनाइने मस्यौराको कुरा गरिसाध्य नै छैन । पिँडालुका गाना र सेला साँँच्चै भन्ने हो भने आलुभन्दा कता हो कता मिठो तरकारी । यसरी मस्यौरा पार्नेदेखि घिउ खार्नेसम्म पिँडालुले काम टार्ने गरेको देख्दा यसलाई राष्ट्रिय तरकारीको मान दिनु पर्ने हो । उसिने र छाक टार्ने त छँदै छ, बिचौलियाहरूले बिचैमा उसिनेको पिँडालु घिउमा मिसाएर घिउकै मुल्य असुल्ने खतरा पनि उत्तिकै छ ।

कोक्याउनु पिँडालकोु मुल धर्म हो । यो कोक्यउँछ नै । आजकलका धेरै सम्बन्धहरू पिँडालु भन्दा बढी कोक्याउने हुँदै गएका छन् । पाक्दै नपाक्ने भनिएको पिँडालुको जातलाई पनि मुढा बालेर कुकरमा दुई चार सिट्ठी लगाएपछि फल्यातफुलुत नगली सुखै छैन ।

मलाई अचम्म लाग्छ- आलु सम्मानित अनि पिँडालु अपमानित किन ? पिँडालु त आलुको पनि बाउ भनेका छन् भैरव अर्यालले । राजनीतिमा खाली आलुकै चर्चा, पिँडालुलाई त कसैले सम्झँदैन बा ! कुहिएको आलुभन्दा गएगुज्रेका हाम्रा नेताज्यूहरू जस्तै मुखले यता पनि ठिक्क उता पनि ठिक्क तर गरिब जनतालाई सधैं दिक्कको दिक्क । मान्छेलाई नै कसैले आलु भन्ने गरेका छन् तर कसैले पिँडालु भन्ने गरेको पाइन्न । मलाई आज भन्न मन लागेको छ कोक्याउने नेताहरू सबै पिँडालु नेता हुन् । जनताका घाँटीमा सधैं कोक्याउँछन् मात्रै । भ्रष्टाचार गरी गरी आफ्नै थैलोमा पैसा पोक्याउँछन् मात्रै । मुखले आलु व्यवहारले पिँडालु । यी नेताहरूलाई पिँडालुको गाबा खारे झै खँगार्नु पर्ने भएको छ ।  दालमा मिसाइ सुप बनाएर कहिलेकाहीँ त पिउन मन लाग्छ । हाम्रो मत लिएर माथि पुगेका यिनीहरू ब्यस्त छन् आफ्नै भकारी भर्नमा । यिनीहरूलाई पिँडालुसँग पनि कसरी तुलना गर्नु ? बरू यिनीहरू भन्दा त पिँडालु धेरै उपयोगी छ हाम्रा लागि ।

नेपाली माटो पिँडालु खेतीका निम्ति उपयुक्त छ । यसको बहुउपयोगिता हेरी अब नेता उमार्न छाडौँ बरु पिँडालु उमार्न थालौँ । यसैमा हाम्रो कल्याण छ । समृद्ध नेपाल निर्माणका लागि पिँडालु खेती अपरिहार्य आवश्यकता हो ।

०००
केवलपुर, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उठिबास अभियान

उठिबास अभियान

अप्सरा सुनार
खडेरी

खडेरी

अप्सरा सुनार
धमिरोले खायो देश

धमिरोले खायो देश

अप्सरा सुनार
मूल्यहीन टाउकाहरू

मूल्यहीन टाउकाहरू

अप्सरा सुनार
मोबाइलको कीरा

मोबाइलको कीरा

अप्सरा सुनार
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x