सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भैरव एउटा आतङ्क पनि हो

हास्यव्यङ्ग्य लेख्नु, अनि उनको जत्तिको मरिगए लेख्न नसक्नु । कस्तो समस्या, कस्तो पिर, कस्तो हैरानी । त्यसैले मैले बारम्बार भनेको हो, भैरव एउटा आतङ्क पनि हो । आतङ्कै होइन त यो ??

Nepal Telecom ad

भैरव एउटा आतङ्क पनि हो ।
मैले भैरवगणको कुरा गर्न खोजेको होइन । खसोखास भैरव अर्यालकै कुरा गर्न खोजेको हुँ । भैरव अर्याल नेपाली हास्यव्यङ्ग्य साहित्य जगतका शिखर व्यक्तित्व हुन् भन्दा मलाई कसैले पनि औँलो ठड्याउनुहोला जस्तो लाग्दैन । भैरव अर्याल नेपाली हास्यव्यङ्ग्य साहित्यका खासगरी हास्यव्यङ्ग्य निबन्धका मानक व्यक्तित्व हुन् । अरु कोही गतिलो नभएका कारणले उनी मानक भएका होइनन् । नेपाली हास्यव्यङ्ग्य सहित्यका अरु थुप्रै उत्कृष्ट लेखकहरूको तुलनामा मात्रै पनि होइन बरु उनको प्रखर र विशिष्ट लेखन क्षमताले नै हास्यव्यङ्ग्य निबन्धमा अन्तर्राष्ट्रिय स्तरमै भैरव अर्याल तुलनायोग्य छन् भन्ने मलाई लाग्छ । मैले धेरै विदेशी हास्यव्यङ्ग्य साहित्य पढ्न सकेको छैन । केही विदेशी र धेरै भारतीय हास्यव्यङ्ग्य नै हो । भारतीय व्यङ्ग्यकारहरूसँग उभ्याएर भैरव अर्याललाई हेर्‍यौँ भने हामीले छाती फुलाएर, शिर ठड्याएर गर्व गर्न सक्ने व्यङ्ग्यकार उनै हुन् । जय भुँडी, काउकुती, इतिश्री र दश औतारहरूले उनलाई हास्यावतारकै रुपमा उठाएका छन् । उनीसँग पौँठेजोरी खेल्ने त थुप्रै निस्किए तर अहिलेसम्म उनलाई व्यङ्ग्य निबन्धमा पछार्ने पहलमान देखापरेको छैन भन्दा उहँ बाहेकका वरिष्ठ हास्यव्यङ्ग्यकारहरूको चित्त दुख्यो भने म क्षमाप्रार्थी छु, तर मलाई खसोखास लागेको कुरा यही हो । कवितामा महाकवि देवकोटा, कथामा गुरुप्रसाद मैनाली, उपन्यासमा पारिजात जस्तै हास्यव्यङ्ग्य निबन्धमा भैरव नै हो । यसलाई व्याख्या गरिराख्नै पर्दैन ।

भैरव एउटा आतङ्क पनि हो ।
भैरव अर्यालले कविता खासै लेखेका छैनन् । कथा लगायत अरु क्षेत्रमा पनि उनको चर्चा त्यति हुँदैन । मैले हास्यव्यङ्ग्य निबन्ध भनेर पटक पटक जोड दिनुको कारण पनि त्यही हो । किनभने उनका निबन्धको तुलनामा कविता र अरु विधा छायाँमा छन् । निबन्धमा पनि प्रारम्भिक चरणका निबन्धहरू ठिकै मात्र छन् । जुन भर्खरै टेडो ऐना संग्रहमा संकलित भएका छन् । तर उनीभित्रको लेखक बैँशले उन्मत्त भएर मात्तिएका बेला उनले जन्माएका जयभुँडी, इतिश्री, गलबन्दीहरूका अधिकांश निबन्धको स्तरलाई उछिन्ने हास्यव्यङ्ग्य निबन्ध अरु कसैले जन्माएको मैले चाहिँ सुनेको छैन है । चट्याङ्मास्टर, अर्जुन पराजुली, नवराज कार्की लगायतका केही प्रतिभाशाली कविहरूले कविताको क्षेत्रमा भने अलि बढी गरे कि भन्ने मलाई लाग्छ । के कसो हो, यो कुरा पाठक, समीक्षक र समालोचकहरूको गोलमेचले छिनोफानो गरोस् । मैले त्यतापट्टि धेरै जान्ने हुनु ठिक छैन ।

भैरव एउटा आतङ्क पनि हो । यो मेरो मन्तव्यको शीर्षक हो ।
भैरवले चालिसै वर्षको अल्पायुमा आफूलाई सिध्याए । मदन भण्डारी बाँचिरहेको भए आज यो देशको स्थिति यस्तो हुने थिएन भनेर धेरैले भन्छन् । मलाई पनि यो कुरा ठिकै होला जस्तो लाग्छ । उम्केको माछो ठूलो भनेर मात्रै यो भनिएको होला जस्तो मलाई लाग्दैन । मरेको छोराका अँखा ठूला पनि भन्छन् क्यारे । तर मलाई सधैँ मनमा लागिरहन्छ, भैरव आजसम्म भएका भए हास्यव्यङ्ग्य साहित्यको स्तरलाई कहाँ पुर्‍याउँथे होला । मदन भण्डारीको मृत्युजस्तै यो एउटा रहस्यमय र बेअर्थको कल्पना हो । तर पनि म यो कल्पना गर्थें गरिरहेको छु र गरिरहनेछु । यस्ता कुरा गर्‍यो भने चट्याङ् मास्टर हामीलाई व्यङ्ग्य कस्तै भन्ने गर्नुहुन्छ-
दूध छैन, भए भात दूध भात गजब हुन्थ्यो ।

भैरव एउटा आतङ्क पनि हो ।
मेरो घरको भित्तामा भैरव अर्यालको अर्ध मुस्कान भएको एउटा तस्वीर झुण्डिएको छ । म हास्यव्यङ्ग्य लेख्न बस्ता त्यसले मलाई हेरिरहेको हुन्छ । तिम्रो जत्तिको नसके पनि तिम्रो छेउछाउको लेख्न सके पनि कस्तो हुन्थ्यो होला बूढा ! भन्छ मेरो मन हरेक दिन । जति कने पनि राम्रो लेख्नै सक्तिन म । लेखिसकेर उनलाई हेर्छु, उनी मुस्कुराइरहेकै हुन्छन् । भन्दाहुन् लेख् भाइ लेख्, अझै राम्रो लेख् । त्यसपछि म फेरि लेखिरहन्छु । लेखि…रहन्छु । साँच्चै भन्ने हो भने भैरव मेरा लागि एक आतङ्क पनि हुन् । हास्यव्यङ्ग्य लेख्नु, अनि उनको जत्तिको मरिगए लेख्न नसक्नु । कस्तो समस्या, कस्तो पिर, कस्तो हैरानी । त्यसैले मैले बारम्बार भनेको हो, भैरव एउटा आतङ्क पनि हो । आतङ्कै होइन त यो ?? रामकुमार पाँडेलाई पनि यस्तै लाग्दो हो कि ? नरेन्द्रराज पौडेललाई ? श्रीधर खनाललाई ? डा. माधव पोखरेललाई ? मोहनराज शर्मालाई ? विश्व शाक्यलाई ? आर.सि. रिजाललाई ? नरनाथ लुइँटेललाई ? हरिकला उप्रेती, नरमेन्द्र लामा र श्यामबहादुर लामालाई ? उत्तमकृष्ण मजगैञालाई ? भाउपन्थी, चूडामणि रेग्मी, विष्णु प्रभातलाई ?? र अरु अरुलाई पनि यस्तै लाग्दो हो कि कस्तो लाग्दो हो ।

भैरव एउटा आतङ्क पनि हो । भन्ने शीर्षक भएको मन्तव्य अब गन्तव्यमा पुग्नै लाग्यो ।
भैरव गुठी छ । भैरव पुरस्कारहरू छन् । भैरव बाटिका छ । भैरव पुस्तकालय छ । भैरवको सालिक छ । भैरवको प्रतिमा स्थापना हुन्छ, अनावरण हुन्छ, चारैतिरबाट सहयोग आउँछ । भैरव स्मृति सभाहरू हुन्छन, कवि गोष्ठीहरू हुन्छन् । भैरव विशेषाङ्कहरू छन्, भैरवमाथि शोधहरू हुन्छन्, पिएचडीहरू हुन्छन् । भैरव- भैरव- भैरव । के यो भैरव आतङ्क होइन त !

अन्तमा यी दिवंगत प्रिय आतङ्कलाई हार्दिक श्रद्धान्जली दिन्छु । त्यो होनहार प्रतिभा भैरव अर्यालको प्रतिमा स्थापना गरी हेटौँडातिरका हास्यव्यङ्ग्य लेखकहरूलाई पनि आतङ्कित पार्न प्रयास गर्ने हेटौॅडाको एउटा आतङ्क आर.सी. रिजाल र उहाँका सहयोगी मित्रहरू र सिस्नुपानी हेटौँडाका सबै साथीहरूलाई हार्दिक धन्यवाद दिन्छु । भाषण गर्न पटक्कै नआउने मलाई भाषण गर्नुपर्छ भनेर आतङ्क मच्चाउने आयोजक संस्थालाई पनि धन्यवाद नै दिन्छु । र अन्तमा भाषणको बोरिङ् मेटाउन उनै अलवर भैयाको एउटा कविता वाचेर विदा हुन्छु ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा