साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो मनमा बसेका भैरव अर्याल

समकालीन स्वार्थी बेइमान र आत्मकेन्द्रित समाज अनि मानवताको तिरस्कारप्रति व्यङ्ग्यपूर्ण छेलोजस्तो लाग्ने त्यो मार्मिक कविताका केही अंश त मैले कपीमा सारेर कण्ठै बनाएको थिएँ ।

Nepal Telecom ad

आफैँ अलमल्ल पर्छु यतिबेर उनलाई सम्झिएर । नानारङ्गी पूर्वस्मृतिले रुझेका मनका भावहरू गुजुल्टो पर्छन् एकपछि अर्को इन्द्रेणी रङ्गमा तरङ्गित बनेर ।

अग्लो उचाइका, मयलपोस सुरुवालमाथि कालो कोट र कालै टोपीको भेषभूषामा टिमिक्क छाँटिएका, लाम्चो मोहोडाको हँसिलो चेहेरा, ठुल्ठुला आँखा, मसिनो बोली, मिठो बचन । देख्तै लवकुशलाई देखेर मनमा भावुकतापूर्ण कुतूहल जागेका, महाकवि कालिदासको उत्तरराम चरित नाटकका नायकलाई संझिएँ । पूर्व वासनाको लहनाले हो कि कविता छपाउने बहनाले हो, उनी पनि मलाई भित्रैदेखि मन परे । एउटै कविता लिएर दुइतीन पटक गोरखापत्रमा छपाउन जाँदा पनि नरिसाउने बरु उल्टै “पख बाबु पालो आउँदैछ” भनेर सम्झाइबुझाइ फिर्ता पठाउने गर्छन् भन्ने साथीबाट सुनेको थिएँ । नयाँ सिकारु केटाकेटीलाई पनि आफूजस्तै सिपालु लेखक बनोस् भन्ने चाहना राख्ने स्नेहिल व्यक्तित्वका सग्लो, सङ्लो प्रतिमूर्ति होलान् भैरव अर्याल । यस्तै भन्थ्यो आफ्नाे  भित्री मन ।

शनिवाशरीय परिशिष्टाङ्क हेर्ने गोरखापत्रका सम्पादक थिए उनी । ०२३ सालतिरको कुरा, आफू पढ्दै गरेको रानीपोखरी संस्कृत प्रधान पाठशालाको एक साहित्यिक प्रतियोगितामा “नेपाल आमा” शीर्षक आप्mनो कविता पुरस्कृत भएपछि मेरो केटौले उमेरको चञ्चले मन झण्डै छटाउलाजस्तो छाँटले पात्तिएर बसिखप्नै भएन । त्यसको अलि दिनपछि एक बजेको स्कूल छुट्टीमा त्यही कविता लिएर भूगोल पार्कछेउ गोरखापत्र छापाखानाको पुरानो झिंगटीछाने धौलेघरभित्र खोज्दैजाँदा उनी बस्ने कोठाअगाडि टेवुलको नेमप्लेटको नामले खुट्याएर भैरव अर्याल भन्ने चिनेको थिएँ । बाक्ला आँखीभौंमुनिका काला बल्ड्याङ्ग्रे आँखा अगाडिको कागतबाट यताउती घुमाएर एक सुरमा मज्जाले चुरोट तान्दै थिए उनी । “यिनै हुनुपर्छ कविता छाप्ने सम्पादक पक्का पनि” मनले भन्यो । ढोकैबाट नमस्कार गरेपछि उनले मेरो अनुहार पढेर भित्र बोलाए । मुसुक्क हाँसेर टेवुलनिरको कुर्सीमा हातको इसाराले बस्नु भने । आफ्नो छोटो परिचय उनीसमक्ष पसारेर सरक्क सीटमा बसेँ । उनको अगडि अलि बेसोमती भएँ कि भन्ने दकस पनि थियो । पत्रिकामा रचनासँगै फोटो छाप्ने चलन नभएकोले कुनै लेखकलाई पनि चिन्न गारो थियो, त्यसैले पनि होला कस्तो छाँटकाटका छन् त यिनी भन्ने उत्सुकता बढेर कुर्सीमा बसेदेखि नै उनको अनुहार ताकेर हेर्न पुगेँछु । देख्तै काउकुती लगाउने पाराको उनको हँसिलो, पोटिलो अनुहारले हास्यव्यङ्ग्यकार वाणीपुत्र यिनै रहेछन् भन्ने लाग्यो । मसिनो बोलीमा फुरेका थोरै कुरा सुन्दा पनि रसिला फरासिला मान्छेजस्तो अनुभव भयो । अरुणोदय, सिंहनाद, रूपरेखा, गोरखापत्रलगायत पत्रपत्रिकामा यदाकदा उनका लेखरचना पढ्दै आएको भएपनि उनीसँगको भौतिक सामीप्यको चिनारी यही नै पहिलो थियो ।

मेरो हातबाट कविता लिएर उनले माथिदेखि तलसम्म पढे । कलमले केही सच्चाएझैँ पनि गरे । सिरानमा मिति लेखे । आफ्नो कवितामाथि उनका हातको कलम चल्दै गरेको देखेपछि मेरो मनले भने “तिम्रो कविता छापिने भो” भन्ने सङ्केत पाएझैं लाग्यो । खुशीले आङ जुरुङ्ग भयो । रौं ठाडा भए । मन उमठिँदै थियो । भन्ने कुरा नपाएर अकमक्कजस्तो भएँ । भित्ताको घडीबाट समयको सङ्केत पाएपछि अलि हल्का अनुभव भयो । उनले पनि आँखाको इसाराले “हुम् फट्, काम तमाम” भनेजस्तो गरे । स्कूल टाइम भयो भनेर म पनि नमस्कार गर्दै विदा भएर बाहिरिएँ । त्यतिवेर पहिलो भेटमा भैरव अर्यालको बारे मेरो मनमा बसेको आस्थाको छाप कहिल्यै यताउती भएन ।

कविता दिएर फर्किएपछिका अलि दिन भने सकसकी लागेर तनावपूर्ण रहेँ । शनिवार लाग्यो कि गोरखापत्र हेर्न भूगोलपार्क दौडीहाल्ने दिनचर्याले हप्तौ डाडाँ काट्यो । आज निस्कला भोलि निस्कला भन्दाभन्दै निस्कदैन पो कविता त । अनि एक दिन आँट बटुलेर ताकेता लगाउने हिसाबले गोरखापत्र छापाखाना गएको थिएँ । भैरव जीको कोठामा अर्को मानिस कुरा गर्दै गरेको देखेर ढोकाबाहिरै वरपर वरपर गर्दै अलमलिएँ । यति बेर महाकावि अश्वघोषको बुद्धचरित महाकाव्यको पङ्क्तिमा आफैं अनूदित भएझैं लाग्यो
“तं गौरवं बुद्धगतं चकर्ष
भार्यानुराग : पुनराचकर्ष
स निश्चयान्न नापि ययौ न तस्थौ
तरन्तरङ्गेष्विव राजहंस :”

भित्र पस्न पनि नसक्ने उसै फर्किन पनि मन नमान्ने, ए रात्तै रनभुल्लै परेँ पो म त । एक छिनपछि आफ्नै मनले गमेर भन्यो भित्रबाट देखिहाले, मलाई चिनेका पनि हुन् अस्तमिात्रै अर्को मानिसको अगाडि गुनासो पसार्नु राम्रो हुन्न, फर्कौं यतैबाट ।” यस्तै के के साेचेर उनलाई नभेटी बाटा लागेँ । नभन्दै अर्को शनिबार त छापिएछ पो कविता पनि । पहिलो कविताले अरु लेख्ने जाँगर चलायो । अरु खालका लेख कवितासँगै भैरवकै कारणले व्यङ्गतर्फ पनि लेखपढ गर्ने रुचि बढ्दै गयो । तर लेखन गाहारो पढ्न मजा आउने हास्यव्यङ्ग भन्ने विधा नै यस्तै रहेछ भन्थ्यो मनले । अनि कनिकुथी चल्दै र निकै दिन बिसाउँदै गर्दथ्यो कलम । हप्तैपिच्छे च्यातिन्थे मन नपरेर खेस्राहरू ।

संस्कृत छात्रावासमा भर्ना भएर डेराबाट बसाइ सरेपछि धेरैथरी साथीहरूसँग सङ्गत बढ्यो । त्यहाँभित्र पनि विद्यार्थीहरूको आआफ्नै कित्ताको सिङ्गो संसार रहेछ । कोही राजनीति बढी, पढाइ कम गर्थे, कोही आप्mनै पाठ्यपुस्कका विषयमा केन्द्रित हुँदै टुपी कसेर लेखपढमात्र गर्थे । कोही साहित्य, इतिहास र अंग्रेजीतर्फका कोषर्मा बढी लागीपर्ने रहेछन् । पुस्तकालयको सुविधा भएकोले पढ्ने विषयमा समयको सीमितताबाहेक अरु खासै समस्या थिएन । भर्ना भएदेखि नै वाचनालयका दराज र घर्राबाट मन लागेअनुसारका नयाँ पुराना साहित्यिक पत्रपत्रिकाको अँगालभरीको चाङ लिएर कोठामा भित्रिएपछि अध्ययन अवलोकन गर्ने नियमित बानी नै बस्यो र भाइसाथीबीच छलफल गर्ने जाँगर पनि चल्दै गयो ।

समसामयिक अतिरिक्त पुराना साहित्यिक पत्रिका पनि पुस्तकालयबाट झिकेर अध्ययन गर्दै गएँ । १८, २६ सालतिरका साहित्यिक पत्रिकामा भैरव जीका कविता कथा निबन्ध र नाटक बढी निस्किएका रहेछन् । रमझम अरुणोदय, सिंहनाद, कविता, रत्नश्री, हिमानी, उजेली रूपरेखा, छ्याकनआदि साहित्यिक पत्रिकाको अध्ययनले विविध विषयमा लेखपढ गर्ने रुचि र आफैंभित्र ऊर्जा भरिएजस्तो अनि परिस्कार आएजस्तो अनुभव भयो । तिनै साहित्यिक पत्रिका र पुस्तकहरू पनि भैरवजीका रचना र लेखनप्रवृत्ति चिनाउन विशेष पथप्रदर्शक बने । महाकविको लक्ष्मी निबन्धसङ्ग्रह, भैरवको काउकुती, जय भुँडी, हृदयचन्द्र सिं प्रधानको जुँगा, लिलाध्वज थापाको दाह्री, शंकर लामिछानेको एव्ष्ट्रयाक्ट चिन्तन प्याजजस्ता कृतिहरू दोहोर्याएर पढ्ने जाँगर चल्न थाल्यो । मनमा दीर्घकालीन छाप बसाउने खालका यी र यस्तै संग्रहको अध्ययनले मेरो निवन्ध विधाप्रतिको रुचि बढ्नुकासाथै त्यसतर्फको यात्राको प्रस्थानविन्दु पनि तयार भयो । खासगरी काउकुती निबन्धसङ्ग्रह पढेपछि भैरव अर्यालको लेखनशैली, विषयप्रस्तुति, शब्दचयन र व्यङ्ग्यात्मक अभिव्यञ्जनाले मनमा बिर्सनै नसकिने गहिरो छाप पार्‍यो । जति पढे पनि नअघाइने, अल्छी नलाग्ने उनको लेखनकलाको जादूले निबन्धतिरको अध्ययन लेखनमा रुचि झनझन बढ्दै गयो । निबन्धबाहेकका कविता कथा, नाटकलगायत अरु विधामा पनि भैरवको हात त्यतिकै सशक्त ढङ्गले चल्दो रहेछ । एक दिन प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित कविता पत्रिका पढ्दै जाँदा “मसानको एक टुक्रा हाड” शीर्षक उनको कवितमाथि आँखा परे । समकालीन स्वार्थी बेइमान र आत्मकेन्द्रित समाज अनि मानवताको तिरस्कारप्रति व्यङ्ग्यपूर्ण छेलोजस्तो लाग्ने त्यो मार्मिक कविताका केही अंश त मैले कपीमा सारेर कण्ठै बनाएको थिएँ ।

“कहिले कहिले निद्रामा त्यसै देखिएको सपनाजस्तो कहिले कहिले तन्द्रामा अनायासै सुनिएको घटनाजस्तो कस्तो कस्तो एक सम्भावनात्मक सम्झनाले दिमागको सानो तन्तु हल्लाइदिन्छ ऊ थियो ।…. इँट इँटको अन्तरमा उम्रिएर पहेलिएको बूटोजस्तो या धान कुट्ने कल वरिपरि बतास्सिएको ढूटोजस्तो या उम्रिनेबित्तिकै छाँटिने निधारको कैलो कैलो झूसजस्तो या निफन्दानिफन्दै अड्कन खोज्ने चिउराको भूसजस्तो चाहे जस्तोसुकै मामूली होस् भएकोलाई भन्नैपर्छ .ऊ थियो ।

पछि यो कविताको बारे समालोचक प्रा. यदुनाथ खनालद्वारा विस्तृत व्यख्यासहितको समालोचना गरिएको पाठ पनि पढेको थिएँ । श्री ५ वडामहारानी रत्नको जन्मोत्सवमा २०२६ भदौमा आयोजित राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा दोस्रो बनेँछु म । श्री ५ महेन्द्रको समेत सबारी रहेको कार्यक्रममा हामी पुरस्कृत तीन जना र सांस्कृतिक कार्यक्रम देखाउन गएका कलाकारजतिलाई नाचघरको हलमा राजाभन्दा ठ्याक्कै पछाडिको लहरमा बसालेर सम्मान दिएका थिए । निक्कै ठूलो मान्छे भइएछ जस्तो लाग्यो त्यतिबेर । पुरस्कार ग्रहण गरेर सास्कृतिक कार्यक्रमसमेत हेरी भ्याएपछि राष्ट्रिय नाचघरको बाहिर प्राङ्गणमा निस्कदा उनै भैरव अर्याल, कृष्णचन्द्र सिं प्रधान, चूडानाथ भट्टराई, घटराज भट्टराई लगायत मूर्धन्य प्राज्ञहरूले सोही निबन्धप्रतियोगितामा प्रथम हुने सिर्जना भट्ट र दोस्रो हुने म मधौरु चरीलाई पालैपालो भाग पुर्याएर बधाइ दिँदा किन पो बसीखप्नु हुन्थ्यो र ? उसैपनि पुरस्कारले हुप्प फुलेको अनुहारमाथि सुइठाएको नाक त्यसमाथि त्यति ठूला मानिसहरूको बधाइको रासायनिक मलजलले घोक्रिएर सप्रिएको चैं घिरौलो बन्नपुग्यो । मनमा खुशियालीको एकातिर सुनगाभा फुलेर अर्कातिर सुनामी चलेर उखपातै पो भयो त ।

२०२७ सालतिर महेन्द्ररत्न कलेजले आयोजना गरेको उपत्यकाव्यापी अन्तरकलेज निबन्ध प्रतियोगितामा “एक चिन्तन थुप्रै प्रश्नचिह्नहरू” शीर्षकको मेरो निबन्धले प्रथम भएर स्वणर्पदक प्राप्त गरेको थियो । त्यहाँ पनि समकालीन विशिष्ट समालोचकहरूकासाथ भैरव अर्याल पनि उपस्थित थिए । त्यतिवेर पनि कलेजका प्राचार्य कृष्णचन्द्र सिं प्रधान र भैरव अर्यालले हात मिलाएर मलाई प्रसन्नतापूर्वक बधाइ दिए । हतार नगरी अरु लेखकहरूका किताब र साहित्यिक पत्रपत्रिका अध्ययन गर्ने र लेख्ने अभ्यास बढाउदै जाने सुझाव दिएका थिए ।

त्यतिवेरसम्म मैले फुटकर निबन्ध र साझा निबन्ध, एव्ट्राक्ट चिन्तन प्याज, काउकुती, खै खै र जयभुँडी, नमरी संसार देखिँदैनलगायत थुप्रै हास्यव्यङ्ग्य निबन्धका किताप पढिसकेको थिएँ । निबन्ध लेखनको नौलो प्रविधि तथा बहुआयामिक शैली र विषयगत व्यापकताको हिसाबले महाकवि देवकोटा र शंकर लामिछाने अत्यन्त मन पर्दथे । तर सर्वसाधारणको पहुँचका विषय, प्रस्तुतिको सहजता, परिहासको मिठास, भाषाको कुटुनी क्षमता, शैलीको विचित्रता अनि भनाइको भङ्गिंमा र सुबोध्य वाक्यगठन र पदविन्यास तथा सामाजिक विषमताविरुद्धको तीव्र वैचारिक प्रहारकासाथै सर्वसाधारणसम्म सम्प्रेषणीयताको हिसाबले पनि भैरव नै बेजोड लाग्न थाले ।

उनीपछि केशवराज पिँडाली, भूतको भिनाजु, श्रीधर खनाल, रामकुमार पाँडे आदि लहरै मेरो मनको आसन सजाउने मान्यगणमा दरिए । तर प्रतियोगिताका लागि लेख्ने निबन्धमा भने समकालीन नेपाली साहित्य फाँटमा नितान्त नौलो भएकाले शंकर लामिछानेकै शैली टपक्क टिप्दै त्यस्तै विषय छानेर लेख्ने गर्दथेँ । विकीर्ण चिन्तन फरक भाषाशैली र स्वच्छन्द वैचारिक प्रबाहको कारणले पनि अधिकांश निबन्धले पहिलो पुरस्कार पड्काउन थाले । ०३० सालको महिला संगठनको आयोजना र ०३० सालकै युवा महोत्सवमा आयोजित राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा पनि मेरो “म एक युवा वीसौँ शताब्दीको” भन्ने लामिछाने प्रविधिकै निबन्धले प्रथम पुरस्कार पड्काएको थियो । प्रयोगवादी बन्न सके धेरैले मन पराउँछन् भन्ने कुरा भैरवकै सुझावबाट पनि बुझ्दै आएको थिएँ । त्यतिबेर ती दुबै कार्यक्रमहरूमा भैरव जीको उपस्थिति नदेख्दा खल्लो लागेको थियो । कृष्णचन्द्र सिंह प्रधान, चूडानाथ भट्टराय, घटराज भट्टराईले बधाइ दिएर मेरो हौसला बढाएका थिए ।

किन भैरव देखिएनन् आज भन्ने प्रश्नले मेरो मथिङ्गलमा कार्यक्रमको समाप्तिपछि पनि कुरी कुरी लागिरह्यो । भोलिपल्ट आफू पुरस्कृत भएको खबर सुनाउन गोरखापत्र जाँदा भैरवजी विरामी पर्नु भएको खबरले अलमल्ल परेर फर्किएको थिएँ ।

त्यसपछि पनि उनी लगातारजस्तो नै बिरामी भएर दिनहरू बितिरहेका थिए । अभीन्तरमा ०३३ साल असोजको एक दिन उनले स्वेच्छाले नै गोकर्णेश्वरको निकट वाग्मती माताको काखमा ईहलीला समाप्त गरको खबर फैलियो । एक थुङ्गो फूल र दुइथोपा आँसुको श्रद्धाञ्जली चडाउनु सिवाय हामीसँग उनलाई दिने केही बाँकी रहेन ।

०००
काठमाडौं
९८४१६४७१८९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
0
Would love your thoughts, please comment.x
()
x