सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चुनाउ पुराण

धेरै शेरहरूलाई नमिठो घाउ लागेर ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ गीत गाउन बाध्य पार्दो रहेछ । नायकहरू थाहै नपाई खलनायक हुने रहेछन् ।

Nepal Telecom ad

मलाई नाउ र चुनाउ उस्तै लाग्छ । तपाईंलाई के लाग्ला ?

नाउ र चुनाउको बनोट, कर्म र चरित्र हेर्नुस्, एउटै छ । केही फरक छैन ।

बनोटबाटै कुरोको चुरो शुरु गरौँ । नाउमा एउटा अक्षर ‘चु’ थपिएर चुनाउ भएको हो जस्तो लाग्छ । ‘चु’ काटी दियो भयो भने नाउ बन्छ । फेरि ‘उ’ लाई नाउको अगाडि लगेर थपिदियो भने ‘उनाऊ’ बन्छ । उनाऊ भनेको ‘कुनै खास वर्गदेखि बाहिरको, तोकिएको भन्दा बढ्ता, नचाहिँदो, काम नलाग्ने, फाल्तु र सम्बन्ध नभएको’ हो भनेर नेपाली बृहद् शब्दकोषले ठोकुवा गरेको छ । यस्तो खतरा ‘उनाऊ’ लाई अब कसले छुने ? कसले जनाउ घण्टी बजाउने ?

हैन, म चुनाउको चु छुँदैछुन्न, बरु ‘उ’ लाई काटी दिन्छु भन्नुहुन्छ भने पनि नराम्रो छैन । चुना बन्छ । के छ र नराम्रो त्यसमा ? पान र खैनीमा मिसाएर खाए पनि भयो । नत्र घरको भित्तालाई सेतो पारेर रङ्गाए पनि भयो ।

सानबान र मानका लागि राजनीति गर्ने हो । त्यसको आधार चुनाउ हो । अनि चुनाउ जितेपछि जनताकै नाउ चलाउने हो भने चुनाउको के भाउ भयो र ? पद, प्रतिष्ठा र पैसाको नाउ कसले चलाउने ?

शुरु शुरु जाने र आउने हो भने कर्मचारी भए भइहाल्यो । किन नेता हुने ? केही त फरक हुनै पर्‍यो । सदनमा कुर्सी भाँचेन, अनि सडकमा आगो बालेन भने कसले नेता मान्छ र ?

नाउ र चुनाउको अनुहार जुम्ल्याहाको जस्तै नमिले पनि कर्म र चरित्र चाहिँ ठ्याक्कै मिल्छ । नाउ तरेको मान्छे माझीलाई भेट्न फिरेर आउँछ त ? आउँदैन । गन्तव्यमा पुग्न बाटो लाग्छ । माझीले भेट्न आएन भनेर गुनासो गर्ने हो ? होइन । जुन दिन फेरि नाउ तर्नु पर्छ, त्यही दिन आउँछ । लागेको दस्तुर तिर्छ । अनि चढ्छ । तर्छ । लेनादेना बराबर ।

चुनाउमा मतदान गरिन्छ । मतदान भन्ने बित्तिकै मतको दान हो भन्ने बुझिन्छ । दान दिने काम हो र पुण्य काम हो । तपाईं पण्डितलाई दिएको दान फिर्ता माग्नु हुन्छ ? ज्वाइँलाई कन्यादान दिएकी छोरी फिर्ता माग्नु हुन्छ ? अहँ, माग्नु हुन्न । मतको दान गरेपछि बाटो, बिजुली, शिक्षा, स्वास्थ्य माग्यो भने पुण्य मिल्ला ? मिल्ला जस्तो लाग्दैन ।

कन्यादान पाएको ज्वाइँ हनिमुनमा जान्छन् । मतदान पाएको नेता चाहिँ हनिमुनमा नजानु ? त्यो पटक्कै मिल्ने कुरा होइन । हनिमुन छाडेर फेरि जनतालाई भेट्न किन आउनु ? कति व्यस्त हुन्छन्, तपाईंलाई के थाहा ? गल्लीको भुस्याहा कुकुर जस्तो काम न काज लखर लखर हिँड्न कहाँ फुर्सद मिल्छ ? मिल्दैन नि । त्यति पनि नबुझ्ने ? चुनाउमा नआउ भने पनि आइहाल्छन् नि ।

नाउमा माझीले बटुवालाई तार्छन् । चुनाउमा जनताले ढँटुवालाई तार्छन् । बटुवा जहिले पनि बटुवा नै हुन्छ । ढँटुवा चाहिँ मेयर, सांसद र मन्त्री हुन्छ ।

चुनाउको अर्को लोकप्रिय नाम निर्वाचन पनि हो । निर्वाचन शब्दको उत्पत्ति कसरी भयो, त्यो भाषाविदको जिम्मा भयो । तर वाचनमा निर (निर+वाचन) जोडिएर निर्वाचन बनेको हुनुपर्छ भन्ने मेरो ठम्याई छ । किनकि जो वाचन कलामा पोख्त छ, उसैले चुनाउको दाउ लाउँछ र अनि पद, प्रतिष्ठा र पैसाको ताउ लाउँछ ।

वाचन कलामा पोख्तले नै चुनाउ जितेका छन् । प्राध्यापक, वकिल, रेडियो र टिभीका प्रस्तोताहरू वाचन कलामा अरु भन्दा अव्बल हुन्छन् । धेरै जस्तो त्यही पेशा र वर्गबाट आएका सांसद र मन्त्री टाठाबाठा देखिन्छन् ।

नेपालको मात्र के कुरा गर्नु र ? अमेरिकाका रोनाल्ड रेगनले पनि रेडियो कमेन्टेटरबाट पेशागत जीवन शुरु गरेका हुन् । पछि पो हलिउडको कलाकार हुँदै राष्ट्रपति भए । वाराक ओवामा पनि वकिल थिए र उनले शिकाको विश्वविद्यालयको स्कूल अफ लमा प्राध्यापन गरे । ओवामाको वाचनकलाको बखान गर्नु त इन्द्रको अगाडि स्वर्गको कुरा हो । युक्रेनका जेलेन्स्की पनि टिभीमा ‘जनताको नोकर (सर्भेन्ट अफ द पिपुल)’ नामक कमेडी चलाएरै लोकप्रिय भएपछि चुनाउ जितेका हुन् । उनले संसारलाई तेस्रो विश्वयुद्धको डिलमै पुर्‍याए ।

‘सिधा कुरा जनतासँग’ नामक टेलभिजन कार्यक्रमका सञ्चालक र प्रस्तोता रविको छवि चम्किन दश वर्ष त के, दश महिना पनि लागेन । न क्रान्तिका कुरा, न डर, त्रास र धम्की । न ज्यानको क्षति, न धनको खती । वाचन कलाको अगाडि अरु कुनै कलाको केही नलाग्ने रहेछ ।

वाचन कलाले ‘प्रचण्ड प्रतापी भूपति’ हरूको अधिपति समाप्तिको जनाउ घण्टी बजाउँदो रहेछ । साथै धेरै शेरहरूलाई नमिठो घाउ लागेर ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ गीत गाउन बाध्य पार्दो रहेछ । नायकहरू थाहै नपाई खलनायक हुने रहेछन् ।

निर चाहिँ कता झिर बन्यो नि ? ऊ फुत्त फुत्किंदै प्रश्न आयो । निर भनेको झन सानोतिनो चिज हो र ! निलो रङको मणि- नीलमणि । नीलमणि कति बहुमूल्य हुन्छ ? भनिरहन पर्ला र ! चुनाउ जितेको मान्छे कति बहुमूल्य हुन्छ भन्ने त जगजाहेर छ । जिंवावेका रवर्ट मुगाबे हुन् कि अमेरिकाका डोनाल्ड ट्रम्प । आखिर चुनाव जितेरै उनीहरू बहुमूल्य भएका हुन् ।

नाउ र चुनाउको जन्मकुण्डली केलाउँदा नाउ चुनाउ भन्दा धेरै जेठो रहेछ । नाउ छ हजार वर्ष पहिले इजिप्टमा जन्मेको रहेछ । इजिप्सियनले जन्माएर न्वारान गरेपछि इन्डिस उपत्यका र मेसोपोटामिया बीच व्यापार शुरु भएको रहेछ ।

चुनाउ नाउ भन्दा धेरै कान्छो रहेछ । लगभग दुई हजार वर्ष पहिले एथेन्समा पोप र रोमन सम्राटको छनौट प्रक्रियाबाट शुरु भएको चुनाउ त्यसपछि युरोप र उत्तर अमेरिका हुँदै द्रूत गतिमा संसार फैलिएछ ।

नाउ र चुनाउ जहिले जन्मेका भए पनि जून र घाम यो धर्तीमा रहेसम्म हराउने छैनन् । नाउ हराउँदै छ भन्ने तपाईंको मनमा लागेको होला । त्यो होइन, भ्रममा नरहनु होला । खोला र नदीमा पुल बनेपछि नाम थर फेरेर नाउ तालतिर बसाईं सरे । बसाईं सरेपछि वाटर वोटको नामले तालमा मालामाल छन् । पर्यटनको आधारको लागि नाउ पूर्वाधार बनेका छन् ।

नेपालमा ठूला ताल र समुन्द्र नभएर मात्र हो । ठूला ताल र समुन्द्र भएका ठाउँमा त नाउकै एकछत्र राज छ । झन नाउका नाति पनातिको प्रगतिको बखान गर्न थाल्यो भने त अठार पुराणमा पनि नसकिएला । पानी जहाजको रुप धारण गरेर संसारको अर्थतन्त्र धानिरहेका छन् । उनीहरू अलि दिन चुपचाप बसिदिए भने यो संसार तोबा तोबा हुन्छ । संसारका ठूला अर्थतन्त्रको टुइँके हड्डी खुस्किन्छ भने सानातिनाकाे के कुरा ।

पानीजहाजमा पनि क्रुजको संसार त झन भिन्नै छ । त्यो त क्रुजमा गएपछि बल्ल थाहा हुन्छ । पानी नै पानीको त्यो संसारमा क्रुज जहाज पाँच तारे होटल भन्दा पनि सुविधा सम्पन्न हुन्छन् । त्यहाँ जवानीको शिखरमा टक्क रोकिएरै रहलान् कि जस्ता देखिने जोडीको अगाडि बालक, अधबैँसे र बृद्धको के कुरा गर्नु ? समुन्द्रको पानीमा जवानी साट्ने ती जोडीको संसार पो संसार हो त । पानी र नानी भएपछि त्यहाँ भन्दा रुमानी अन्त कहाँ पो होला र ?

चुनाउ नाउ भन्दा कान्छो भए पनि कहाँ कम छ र ? उसले संसारमा कहीँ कसैलाई छाडेको छैन । ढपक्कै ढाकेको छ । चीनको जन कंग्रेसदेखि अमेरिकाको कंग्रेससम्म उसले छाडेको छैन । चाहे त्यो नाउँको चुनाउ होस् वा भाउको चुनाउ होस् । चुनाउ त भएकै छ । आखिर उत्तर कोरियादेखि भेनेजुयलासम्मका तानाशाहदेखि खानाशाहसम्म सबैले कुनै कुनै रुपमा चुनाउ नाम पनि लिएकै छन् । चुनाउ गराएकै छन् ।

इतिहासकै कुरा गर्ने हो भने पनि हिट्लर समेत चुनाउबाट चुनिएका हुन् र मुसिलिनो पनि चुनाउबाटै चुनिएका हुन् । उत्तर कोरिएका तीन पुस्ते शासक किम जोन उन पनि एक्लो उम्मेदवार भएर चुनिएकै हुन् । उनलाई नचुन्न कसको हिम्मत ? नत्र किमको जय गानको धुनमा त्यो घुन बन्छ ।

चुनाउमा चुनिएपछि मुसो पनि बाघ हुन्छ । लाटकोसेरोले पनि आँखा देख्न थाल्छ । नबोल्ने पनि पुराण सुनाउन थाल्छन् । नजानेको र नसुनेको केही हुँदैन । सर्वज्ञ ।

मन्त्री नै भएपछि त सर्वज्ञ मात्र होइन, सर्वगुणी र सर्वसम्पन्न पनि हुन्छन् । उनका झोलेले त कति अस्पताल र स्कूल खोले भने अब मन्त्री सर्वसम्पन्न हुनु कुन आईतवार भयो र । झन ठेक्कापट्टा र जग्गा दलालीको नाफाको हिसाब किताबै छैन । चुनाउ जितेको नेताको रवाफको कवाफमा हड्डी बन्ने काम न्यायोचित हुँदै होइन । फेरि मन्त्रीसँग यसो सेल्फी खिचाउँने मौका पाउनु मात्र पर्छ, तिनै हड्डीहरूको सानो चुरुफुरी हुँदैन । सामाजिक सञ्जाल पुरै ढाकिदिन्छन् ।

चुनाउमा दाउ लाग्यो कि तपाईंको भाउ अर्कै भयो । अब भाग्य चम्कियो । कतिलाई त त्यो दाउले कहिले छाड्दैन । बहुदल आएदेखि कुनै चुनाउ नबिराई सांसद र मन्त्रीको दाउ लाग्ने कति छन् कति  । तिनीहरू मध्ये कसको मात्र नाम लिनु ।

चुनाउको दाउ लाग्ने भाग्यमानी नेपालमा मात्र छैनन् । भारत र अमेरिका जस्तो देशमा पनि छन् । आजीवन दाउ लागेर लोकसभा सदस्य (सांसद) र सिनेटर हुनेको फेहरिस्त त्यहाँ पनि लामो छ ।

बाउ बाजेदेखि छोरा र नातिसम्म दाउ लाग्ने भाग्यमानीको पनि कमी छैन । नेपालका कोइराला मात्र होइन, भारतका गान्धी र क्यानडाका टुड्राेलाई हेर्नुहुन्छ कि अमेरिकाका वुसलाई । उनका दाउ कहिल्यै ढुस भएका छैनन् ।

नाउले त थोरैलाई मात्र डुबाउँछ, तर चुनाउले धेरैलाई डुबाउँछ । डुब्नेको भोट र नोट दुवै स्वाह ! ‘के सोचेँ मैले, के भयो अहिले’ भन्दै त्यसपछि तालुमा नफलेको आलु खोज्नु भन्दा अर्को विकल्प हुँदैन ।

चुनाउ हार्ने आफू मात्र डुब्छ, तर जित्नेले तपाईं हामी सबैलाई नै डुबाउँछ । कहिले मन्दीमा डुबाउँछ र कहिले महंगीमा डुबाउँछ । गृहयुद्धमा डुबाउनेको त के कुरा ! लेन्डुप जस्ताले जिते भने पटक पटक डुबाउने झन्झट गर्दैनन् । एकै पटक देशै डुबाउँछन् । टन्टै साफ । न रहे बाँस, न बजे बाँसुरी ।

यो सबै पुराण सुन्दा चुनाउको नाम फेरेर ‘दाउ’ राख्नु उपयुक्त होला जस्तो लाग्यो । फेरि चुनाउ जित्नेले तार्ने भन्दा डुबाउने रहेछन् । त्यसैले चुनाउको नाम ‘डवाउ’ पो राख्ने हो कि ? फेरि त्यो सबैलाई स्वीकार्य हुँदैन भने अर्को विकल्प पनि सोच्न सकिन्छ । शब्दकोषको अर्थ हेर्दा चाहिँ ‘उनाऊ’ पनि सान्दर्भिक होला जस्तो लाग्छ । फेरि जो वाचनमा पोख्त छ, उसैले चुनाउ जितेको देख्दा चाहिँ अर्को कुनै विशेष नाम जुराउनु पर्ला कि जस्तो छ । झन वाचन प्रतियोगिता गरेर नेता छान्यो भने त समय पनि बच्ने र चुनाउको अरवौँ खर्च पनि बँच्ने ।

चुनाउको नाम जुराउने काम मेरो एक्लैको बलबुताले मात्र भ्याएन । तपाईंहरूको शरणमा आएको छु । शरणको मरण नगरिदिनु होला । जे जुराउनु हुन्छ, मेरो त्यसमा सहमति रहने छ । सहमति च्यातेर म कहिल्यै विमति जनाउने छैन । इति श्रीस्कन्द पुराणे चुनाउ नव नामकरणमंः अध्याय । समाप्तम् ।

०००

क्यानडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भाग्दाभाग्दै

भाग्दाभाग्दै

राजेन्द्र कार्की
गुरु कि गोरु !

गुरु कि गोरु !

राजेन्द्र कार्की
त्यो नेपाली होइन

त्यो नेपाली होइन

राजेन्द्र कार्की
सबै नाङ्गिएपछि

सबै नाङ्गिएपछि

राजेन्द्र कार्की
बूढो गोरु कि बहर !

बूढो गोरु कि बहर...

राजेन्द्र कार्की