साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो नेपाली होइन

डिभी भरेन, पिआरको कोशिस गरेन भने त्यो नेपाली होइन । कुनै घरबाट कोही विदेश गएको छैन । विदेश जाने कुरा गर्दैन र जान खोज्दैन । देशमै बस्छु,, देशमै भविष्य बनाउँछु भन्छ भने त्यो कुनै हालतमा पनि नेपाली हुनै सक्दैन ।

Nepal Telecom ad

राजेन्द्र कार्की :

कुमारजी आज्ञा गर्नु हुन्छ । हे अगस्तेमुनि, को नेपाली हो, को नेपाली होइन भनेर चिन्नलाई चिन्ता गर्नु पर्दैन । गाह्रो साह्रो केही मान्नु पर्दैन र फसादै ठान्नु पनि पर्दैन । नागरिकता र पासपोर्ट केही हेर्नु पनि पर्दैन । नेपाली चिन्न सकिएन भनेर राष्ट्रिय परिचय पत्र (रापप) को अभियान पनि चलाउनु पर्दैन । चिन्न सजिलो छ ।

नेपालीको पहिचानको लागि रापप बनाउन पनि बनाउनु पर्दैन । फेरि रापपबाट रापंस (राष्ट्रिय पञ्चायत सदस्य) होला । पञ्चायतको भूत कहाँबाट आयात भयो भनेर गणतन्त्रका राजा रजौटा बीच रुवाबासी चल्ला । रापप बनाउन ठूलो धनराशी खर्च गर्नु सट्टा सांसद र मन्त्रीको भत्ता थपेर हर्क मनाउनु अति उत्तम हो । अझ मन्त्री पनि प्रदेशमा मात्र सीमित नराखेर गाविस तहसम्म पुर्‍याएर हरेक दिन शपथ गर्दा भोज भतेरको खपत पनि हुन्छ ।

रापप अभियानको यान पनि उडेर टुङ्गोमा पुग्ला नपुग्ला ? कुनै ठेगान पनि छैन । फेरि ठेगाना नभएको ठाउंँमा कसरी पुग्नु ? त्यो आस नगरे हुन्छ । बरु दुर्घटनामा परेर आस नास होला । नेपाली चिन्ने सजिलो उपाय हुँदाहुँदै रापप अभियान चलाउनु भनेको हगाई भन्दा पदाई ठूलो हो । यो पदाईको कुनै औचित्य छैन र आवश्यकता पनि होइन ।

नेपाली चिन्ने सजिलो उपाय छ । त्यो उपाय लाएपछि संसारको जुन कुनामा पुगे पनि त्यो नेपाली हो भन्ने कुरा थाहा पाउन कुनै जोखाना हेर्नु पनि पर्दैन र पुराण पनि सुन्नु पर्दैन ।

हे अगस्तेमुनि, दुई जना भेट्ने वित्तिकै राजनीतिको कुरा गर्छन् कि गर्दैनन् ? देशमा नेतै भएनन् भन्छन् कि भन्दैनन् । बिहे, बर्तबन्ध, भोज र भेटघाट हुने वित्तिकै देश त ढुब्यो । नेताले ढुबाए भनेन भने त्यो नेपाली होइन ।

सामजिक सञ्जालमा नेतालाई गाली गरेन, बा र दाइ भनेर नेताको फिता बनेर सामाजिक सञ्जालमा गीता गाएन भने त्यो नेपाली हुँदै होइन । होइन कि भनेर डिनए सिनए परीक्षण गर्नु पर्दैन ।

नेपाली हुनलाई नेता हुनुपर्ने पहिलो शर्त हो । जति जनता उति नेता त विशेषता बनिसकेको बेला भैरव बाजे भएको भए नेता नम्बर एक सय एक लेखेर मानको अपमान गर्ने थिएनन् । बरु नेता नम्वर तीन करोड लेखेर मान मात्र होइन, मानमा मान थप्ने थिए ।

स्वदेशमा वा विदेशमा जहाँ भए पनि संघ संस्था खोलेन । आफू अदक्ष र श्रीमतीलाई कोषाध्यक्ष बनाए भएन भने त्यो नेपाली होइन । कसैले नेपाली हो भन्छ भने डिनए परीक्षण गर्नु पर्छ ।

“एकपटकको नेपाली सधैंको नेपाली” भनेर देश बाहिर एनआरएनको आरानमा बसेर खलाँती फुकेन भने त्यो त नेपाली हुने संभावनानै रहँदैन । अझ त्यसमा पनि कसैलाई भेट्ने वित्तिकै आफ्नो अदक्षतामा भएका काम कुरोको चुरो खोलेन भने पनि त्यो नेपाली होइन ।

हे अगस्तेमुनि, नेपाली पहिचान ब्रतकथा सुन्दा लाटो पनि बाठो हुन्छ । जान्ने सुन्नेको उपमा पाइन्छ । बरु कसैसँग रीस उठ्यो भने वा चित्त बुझेन भने ट्वीटरमा गालीको स्वीटर दिन बाँडन पाइन्छ । युटुवेलाई बोलाएर कुर्सीमा आसन जमाएर चर्का भाषण ठोक्न पाइन्छ । नागरिक समाजका अगुवाको नाममा बाटो हगुवा हुन पाइन्छ । चोर भएर पनि सांधु बन्न पाइन्छ ।

त्यस उप्रान्त कुमारजी आज्ञा गर्नु हुन्छ । समाजिक सञ्जाल र युटुवमा चर्का कुरा गरेन । .जापान कसरी बन्यो ? कोरिया कसरी बन्यो ? तर नेपाल किन बनेन ? अर्ति उपदेश दिएन भने त्यो नेपाली होइन । झन बुद्धिजीवी त हुँदै होइन् । त्यो त बुद्धुजीवी हो ।

कोही बोलेको बेला बीचमा प्वाक्क बोल्छ । हरेक विषयको विज्ञ बन्छ । सबै उसैले मात्र जाने जस्तो गर्छ भने त्यो नेपाली हो । म जान्दिन, त्यो मेरो विषय होइन भन्छ र बीचमा प्वाक्क बोल्दैन भने त्यो नेपाली होइन । शंका गर्नु पर्दैन । शंका भएमा मः मः भन्नु होला ।

एका विहानै चिया पसलमा गफ चुटेन । म मात्रै इमान्दार हुँं । अरु सबै फटाह हुन् । भ्रष्ट हुन् । त्यही भएर देश बिग्रियो भनेर लेक्चर छाँटेन भने पनि त्यो नेपाली होइन । अमेरिका, चीन र भारतको पक्ष विपक्षमा कुरा गरेन । त्यही निहुँमा बाझाबाझ गरेन भने पनि त्यो नेपाली होइन । नेता, मन्त्री र ठूला मान्छेसँग फोटो खिचेर पोष्ट गरेन भने त त्यो झन हुँदै होइन ।

डोजरले खनेको ठाउँमा मान्छे भेला भएको बेला पुगेन । कुनै नयाँ मान्छे देख्यो भने वहाँ को भनेन । राम्री केटी देख्दा तन्की तन्की हेरेन भने पनि त्यो नेपाली होइन ।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे अगस्तेमुनि, टिकटकमा ठिकठाक परेर नाच्दैन भने त्यो नेपाली हुन सक्दैन । “तिमी मेरो संसार हौ । तिमी मेरी जिन्दगी हौ । जब तिमीलाई पाएँ । मेरो संसार हराभरा छ” भन्दै लोग्ने स्वास्नी अँगालोमा बाँधिएको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेन भने त्यो नेपाली होइन । बरु लोग्ने स्वास्नीको बोलचाल बन्द महिनौं किन नहोस् ।

आफ्नो जन्म दिन वा विवाह वर्षगाँठको दिन कसैलाई शुभकामना लेख्न लगाएन भने पनि त्यो नेपाली होइन । त्यति पनि गर्न सकेन भने मेरो जन्मदिन वा विवाह वर्षगाँठको उपलक्ष्यमा शुभकामना दिने सबैलाई धन्यवाद भनेर विज्ञापन गर्दैन र बधाई तथा शुभकामना खाँदैन भने त्यो कुनै पुस्तामा पनि नेपाली हुन सक्दैन ।

सँगै हिँडेको साथीलाई पछाडि धकेलेर अगाडि गएन । काम परेको बेला बाहेक बोल्यो वा फोन उठायो । काम परे भाँडो काम नपरे ठाँडो ठानेन भने पनि त्यो नेपाली हुन सक्दैन ।

डिभी भरेन, पिआरको कोशिस गरेन भने त्यो नेपाली होइन । कुनै घरबाट कोही विदेश गएको छैन । विदेश जाने कुरा गर्दैन र जान खोज्दैन । देशमै बस्छु,, देशमै भविष्य बनाउँछु भन्छ भने त्यो कुनै हालतमा पनि नेपाली हुनै सक्दैन ।

नेपाली पहिचान कथा जसले बाचन गर्छ । उसले जन्म जन्म नेपाली भएर लोक लोकान्तरमा काम नगरी कुरा गरेर सुख भोग गर्न पाउँछ । जसले कथा मात्र सुन्छ, उसले पनि सात जुनीसम्म नेपाली भएर पुनर्जन्म लिन पाउने छ । सुन्नेलाई सुनको माला र भन्नेलाई फूलको माला । श्रीस्कन्द पुराणे नेपाली पहिचान महात्म्ये नेपाल खण्डे “त्यो नेपाली होइन” अध्याय समाप्तम् ।

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दङ्ग जनावर

दङ्ग जनावर

राजेन्द्र कार्की
श्री ३ चटके

श्री ३ चटके

राजेन्द्र कार्की
म ट्वाँ परेँ

म ट्वाँ परेँ

राजेन्द्र कार्की
के को नयाँ वर्ष !

के को नयाँ वर्ष...

राजेन्द्र कार्की
तर खाइराइड लागेपछि…

तर खाइराइड लागेपछि…

राजेन्द्र कार्की
म लुते

म लुते

राजेन्द्र कार्की
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x