कृष्ण प्रधानयमराज दाज्यूको ‘डाज’ यात्रा
सबै बिलखबन्द पर्छन् । यमराज दाज्यू चुप लागेर भैंसीबाइकमा चढ्दै ‘बाई.. बाई.. डाज..’ भन्दै भोटेबस्ती ओह्रालो लाग्छन् । समवेत सबै हेरेको हेऱ्यै हुन्छन् ।

सारा संसार राँटो लाइसकेर यमराज दार्जिलिङ आइपुगेका छन् । हिन्दू धर्मअनुसार यमराज मृत्यु देवता । यमराज भैंसी बाइकमा चढेर सोझै चौरस्तातिर लाग्छन् । क्लब साइडमा ट्राफिक पुलिसले भैंसीबाइक रोक्छ । तर यमराज सवार भएको देखेर रोक्ने प्रयास गर्दा चोक बजारमा देख्ने बित्तिकै ट्राफिक पुलिसले यमराजलाई चौरस्ततर्फ जाने अनुमति दिन्छ ।
बम
चौरस्तामा भैंसीबाइक देखेर घोडाहरू हिन्हिनाउन थाल्छन् । तर एक मिलिकमै नारीहरू भेला भएर चिच्याउन थाल्छन्-
यमराज दाज्यू -जिन्दावाद, जिन्दावाद !
चारैतिरबाट तमाम् नारीहरूले यमराजलाई घेर्छन् ।
यमराज भैंसीबाइकबाट ओर्लेर सोझै भानुभक्तको सालिकलाई साष्टाङ्ग दण्डवत् गर्छन् । जुलुस चिच्याउनमा खप्पिस नारीहरूको रुप्पीजस्तो स्वरले यमराजलाई झिँझेट लाग्छ र आफ्नै भैंसीबाइकमा चढेर भाषण छाँट्न थाल्छन्-
‘यो दार्जिलिङलाई पोथीहरूले जितिसकेछन् । यहाँका भालेहरूभन्दा पोथीहरू नै महाबाठी देखेँ । यो दार्जिलिङमा पोथी बास्न भन्ने सुनेको थिएँ, हो रहेछ । साँच्चै यहाँ पोथी नै बास्दोरहेछ । भालेहरू जति सबै साइड लागेपछि पोथी बासेकै राम्रो । उहिले यहाँ पोथी बास्दा धुरी कट्टाइन्थ्यो । त्यो मलाई थाहा छ । अहिले पोथी बास्यो भने धुरीहरू भाग्दारहेछन् ।
उहिलेको दार्जिलिङ अहिले ‘डाज’ मा परिणत भएछ । एकताका यहाँ ‘ब्र’ शब्दको ढलीमली थियो । अहिले त्यसको ठाउँमा ‘दाज्यू’ शब्दले मुलुक मारेको रहेछ । मलाई पनि यहाँ ‘यमराज दाज्यू’ भनी सम्बोधन गरेको देख्दा म आफूलाई अहिले यहाँका बडेबडे नेताजस्तो लागिरहेछ । नारीहरूको…’
यमराज दाज्यू बोल्दै गर्दा मालरोडबाट एकजना मत्थु आएर प्रश्न गर्न थाल्छ- ‘यमराज दा.., यमराज दा.. संसारभरिका मानिसहरूलाई सखाप पारेर पनि अझसम्म अघाएका छैनन् कि क्या हो यमराज दा ?’
तुरुन्तै जवाफ यमराजको- ‘येस.. यूर आर राइट । मान्छेको काल बुकाउँदा बुकाउँदा न्याक् न्याक् भएर उल्टी आउञ्जेल भइसक्यो र पनि मान्छेको गन्ध आयो कि फेरि ढ्याङ् पार्नु मन लागिहाल्छ मनुखे । अझ नारीहरूको गन्ध आयो भने त… झन् यो दार्जिलिङका मान्छेहरूका गन्धले ता म पागल… ।’
मत्थु धरफरिँदै- ‘नो डार्जिलिङ.. नो । दिस इज डाज… यमराज ब्र, दिस इज डाज । अझै के बुकाउने दाउ छ यमराज दा’को ? लाज लाग्दैन दाज्यू तपाईलाई ? संसारभरिकाहरूलाई बुकाउनुसम्म बुकाएर अब दार्जिलिङमा बुकाउनु…’
गगनभेदी अट्टाहासमा यमराजको उत्तर- ‘हा हा हा.. हि हि हि.. के को लाज ? कसको लाज ? तिमीहरूका नेताहरूले क्याटका क्याट नोटका बिटाहरू, कन्ट्रयाक्टरहरूले रड, सिमेण्ट लगायत ब्रिजहरू मरक मरक चपाएर ब्रिजहरू भाँचिदा त लाज भएन भने… । धेर मलाई नचलाऊ है मोरा हो । गड्यौला खन्दा साँप मात्रै निस्केला । यो च्याप्टर यहीँ क्लोज्ड गर ।’
पत्रकार- हजुरले यतातिर आँखा गाड्ने कारण चाहिँ के होला नि ?
मत्थु- कसलाई के को धन्दा के को धन्दा घर ज्वाइँलाई खानुकै धन्दा भनेजस्तो यमराजको धन्दा के हुन्छ ?
पत्रकार- खानु पायो भन्दैमा अलकत्रा त खानु भएन नि !
यमराज- त्यो त मैले जातले पाको हातले खाको । तिमेरुका नेताहरूजस्तो फोकटमा पाए अलकत्रा नै खाने चाहिँ म होइन । मेरो आफ्नो प्रेष्टिज छ ।
मत्थु- अन्त यमराज दाज्यू । तपाई पक्कै हामीलाई लानु आको ? कति लगिसक्नुभो… हाम्राहरूलाई यहाँबाट । अब लान नै चाहनुहुन्छ भने हाम्रो कञ्चनजङ्घालाई लगेर कोरोनाको देशमा तुर्लुङ्ङै झुण्ड्याइदिनू । तर हाम्राहरूलाई अब नलानू प्लिज ।
यमराज- अरे वाह ! तिमीहरू कुन दुनियाँमा छौं हँ ? लानु सक्ने भा तिमीहरूसित यो कञ्चनजङ्घाको देशमा अरु के नै पो छ र लानु ? प्रथमतः ‘गोरखाली’ को ‘गोर’ उहिल्यै नै कसैले लगेर अहिले तिमीहरूलाई ‘खाली’ बनाको थाहा छैन ?’
पत्रकार- आमामामा… तपाईंको नलेज त खतरा रहेछ । तपाईं हाम्रो यतैका नेता भएर बसेको भा हाम्रो यहाँको अवस्था निकै गजबिलो हुन्थ्यो होला ।
मत्थु- यमराज दाज्यू हाम्रो यतै बस्दा हुन् भने राजनीतिमा तो कोनि, कञ्चनजङघा माउण्टेन युनिभर्सिटीका चान्सलर भएर बस्ने थिए ।
भिखारी- ठेगान छैन… ठेगान छैन यमराज दाज्यूको । हाम्रो यता चढ्यो कि सबका सब सेँठ भइहाल्छन् नि ! हाम्रा यमराज दाज्यू त चान्सलर मात्रै ? डोनेशनलहर, कमिशनलहर, कान्छीलहर, एबोर्सनलहरको छालमा दिनरात उर्लिरहन्थे । दाज्यूले चिताए कि बिताए नि !
यमराज- कञ्चनजङ्घाको काखमा लुकीचोरी खेल्नेहरू… तिमीहरू भ्रममा परिरहेका छौ । यो ठाउँमा मेरा मरेका मातापिता जिउँदा आए पनि मरिगए आउँदिनँ । कोई आयो यस्तो ठाउँमा ?
समवेत स्वर- किन यमराज दाज्यू ?
यमराज- तिमेरका कञ्चनजङ्घाभित्रका आन्द्राभुँडी, झ्याँते, कर्चीमर्ची, मुटु, कलेजो, किड्नी, यूट्रस जति सबै त खातालखातुल पाकपुक् पारी तिमेरको कञ्चनजङ्घालाई खोक्रो पारेको याद गरेका छौ…मोरा मोरीहरू हो ?
मत्थु- तपाईंको पनि यूट्रस छ यमराज दाज्यू ?
यमराज- म आइमाई हो र मेरो यूट्रस हुन्छ ?
पत्रकार- सरले एकदम राइट भन्नुभो । हाम्रो कञ्चनजङ्घा खोक्रो भाको रहेछ र ता पानी पर्दा आन्दोलनको समयमा सीआरपीले छानुमा ढुङ्गा हानेकोजस्तो साउण्ड गर्दारहेछ । (प्रसङ्ग बदलेर) यमराज दाज्यूलाई यहाँ को के चाहिँ विशेष मनपर्दैन ?
यमराज- यो ठाउँको सबै मनपर्छ… तर यहाँको माटो चैँ पटक्कै मनपर्दैन ।
मत्थु- माटो कि बाटो दाज्यू ?
यमराज- यहाँको बाटो त खतम रहेछ नि ! कमानबस्ती बाटो दूध खाएर गाडी चढ्यो भने बजारसम्म आइपुग्दा घिउ बनिँदोरहेछ । माटो मन पर्दैन माटो…
समवेत स्वर- किन यमराज दाज्यू ?
यमराज- तिमेरको माटामा शहीदको रगत काँचै गन्हाउँदारहेछ । एबोर्सन गरिएका कुमारी आमाहरूको कुमारीत्वको चित्कार थर्थकिँदोरहेछ । तिमेरको यो माटो राजनैतिक बजारका भित्ता भित्ताहरू लिलाम चिच्याएको आवाजले चर्किएको देख्दैछु । ढाँट आश्वासनको गर्जनले यहाँको माटोमा पैह्रो गएको देख्छु । ईख-इबी, रिस राग, षडयन्त्र, जालझेल, शोषण-दमनका वाणहरू यहाँको माटामा वर्षण भएर पितामह भीष्मका आर्तनाद लडिबडी खेलेको देख्दैछु । कसम र भाकलहरू पगली आइमाईको साडीजस्तो देख्छु । जहिले पनि…जहिले पनि…तिमेरको यो बाँझो माटोमा सूर्यग्रहण लागेको देख्छु ।
समवेत स्वर- खै हामीलाई त हाम्रो माटोमा केही गन्हाएको जस्तो लाग्दैन त यमराज दाज्यू ।
यमराज- खोक्रो परिसकेकी कञ्चनजङ्घे नाकहरूलाई राजनैतिक एनेस्थिया सुँघाएर लट्टाएपछि पनि कहीँ गन्हाउँछ र मोरा मोरी हो ? तिमीहरूको गिदी भन्ने ठ्याम्मै छैन । गिदी हुँदो हो त तिमीहरू यसरी आफैंआफ काटाकाट मारामार गर्नेथ्यौ ?
समवेत स्वर- गर्ने थिएनौं… थिएनौं… दाजु कदाचित् गर्ने थिएनौंं ।
(नेताको प्रवेश)
नेता- आम्बो… यमराज हाम्रो इलाकामा । यमराज भनेको त बदनामको भाइरस हो ।
यमराज- तपाईंजस्तो तुलसीको पातले धोएका र दूधैदूधले नुहाउने म होइन नेताजी । म त रगतै रगतको आहालमा नुहाउने हुँ ।
नेता- त्यसैकारण त तिम्रो जीउबाट दङदङ काँचो रगत गन्हाउँदो रहेछ ।
यमराज- एब्सुलेट्ली राइट ! तिम्रो जीउबाट त होइन फिलाबाट पनि ह्वासह्वास्ती धोतीको गन्ध आइरहेछ मलाई । तिमीलाई धोती खटिराले सताइरहेको पनि देख्दैछु ।
समवेत स्वर- यतिञ्जेल जनै खटिरा भनी सुनेको । यो धोती खटिरा चाहिँ कस्तो हुन्छ यमराज दाज्यू ?
यमराज- धोती खटिराले कोरोनाजस्तो जोसुकैलाई बिथोल्दैन । नेताहरूलाई मात्र यो धोती खटिराले भेट्छ । कोरोनाले भेटेकोभन्दा धोती खटिराले भेट्नेहरूले त आफ्नै समाज, जाति सबै भुसुक्क बिर्सिनु मात्र होइन आफ्नैहरूको पानीखेदा गरेर भुर्कुट पार्छ । त्यतिमात्र होइन धोती खटिराले भेटेका नेताहरूको रगत पनि खुसामदी रगतमा परिणत हुन्छ । अनि एउटा कुरा तपाईंहरूको यतातिर पानीको निकै हाहाकार देखेँ ।
मत्थु- यी सबै पोलटिक्सको खेल हुन् ।
यमराज- नो…नो ! गलत । हण्ड्रेड पर्सेन्ट गलत । सिन्टेक्सतिर पानी नहालेर यहाँका नेताहरूले आफ्नै झिटीझाम्टी खाँद्न थालेपछि पानीको हाहाकार नभएर के को हाहाकार होस् अनि ?
सबै बिलखबन्द पर्छन् । यमराज दाज्यू चुप लागेर भैंसीबाइकमा चढ्दै ‘बाई.. बाई.. डाज..’ भन्दै भोटेबस्ती ओह्रालो लाग्छन् ।
समवेत सबै हेरेको हेऱ्यै हुन्छन् ।
०००
सिलिगुडी, भारत
Subscribe
Login
0 Comments
Oldest








































