साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यमराज दाज्यूको ‘डाज’ यात्रा

सबै बिलखबन्द पर्छन् । यमराज दाज्यू चुप लागेर भैंसीबाइकमा चढ्दै ‘बाई.. बाई.. डाज..’ भन्दै भोटेबस्ती ओह्रालो लाग्छन् । समवेत सबै हेरेको हेऱ्यै हुन्छन् ।

Nepal Telecom ad

सारा संसार राँटो लाइसकेर यमराज दार्जिलिङ आइपुगेका छन् । हिन्दू धर्मअनुसार यमराज मृत्यु देवता । यमराज भैंसी बाइकमा चढेर सोझै चौरस्तातिर लाग्छन् । क्लब साइडमा ट्राफिक पुलिसले भैंसीबाइक रोक्छ । तर यमराज सवार भएको देखेर रोक्ने प्रयास गर्दा चोक बजारमा देख्ने बित्तिकै ट्राफिक पुलिसले यमराजलाई चौरस्ततर्फ जाने अनुमति दिन्छ ।

बम
चौरस्तामा भैंसीबाइक देखेर घोडाहरू हिन्हिनाउन थाल्छन् । तर एक मिलिकमै नारीहरू भेला भएर चिच्याउन थाल्छन्-

यमराज दाज्यू -जिन्दावाद, जिन्दावाद !

चारैतिरबाट तमाम् नारीहरूले यमराजलाई घेर्छन् ।

यमराज भैंसीबाइकबाट ओर्लेर सोझै भानुभक्तको सालिकलाई साष्टाङ्ग दण्डवत् गर्छन् । जुलुस चिच्याउनमा खप्पिस नारीहरूको रुप्पीजस्तो स्वरले यमराजलाई झिँझेट लाग्छ र आफ्नै भैंसीबाइकमा चढेर भाषण छाँट्न थाल्छन्-

‘यो दार्जिलिङलाई पोथीहरूले जितिसकेछन् । यहाँका भालेहरूभन्दा पोथीहरू नै महाबाठी देखेँ । यो दार्जिलिङमा पोथी बास्न भन्ने सुनेको थिएँ, हो रहेछ । साँच्चै यहाँ पोथी नै बास्दोरहेछ । भालेहरू जति सबै साइड लागेपछि पोथी बासेकै राम्रो । उहिले यहाँ पोथी बास्दा धुरी कट्टाइन्थ्यो । त्यो मलाई थाहा छ । अहिले पोथी बास्यो भने धुरीहरू भाग्दारहेछन् ।

उहिलेको दार्जिलिङ अहिले ‘डाज’ मा परिणत भएछ । एकताका यहाँ ‘ब्र’ शब्दको ढलीमली थियो । अहिले त्यसको ठाउँमा ‘दाज्यू’ शब्दले मुलुक मारेको रहेछ । मलाई पनि यहाँ ‘यमराज दाज्यू’ भनी सम्बोधन गरेको देख्दा म आफूलाई अहिले यहाँका बडेबडे नेताजस्तो लागिरहेछ । नारीहरूको…’

यमराज दाज्यू बोल्दै गर्दा मालरोडबाट एकजना मत्थु आएर प्रश्न गर्न थाल्छ- ‘यमराज दा.., यमराज दा.. संसारभरिका मानिसहरूलाई सखाप पारेर पनि अझसम्म अघाएका छैनन् कि क्या हो यमराज दा ?’

तुरुन्तै जवाफ यमराजको- ‘येस.. यूर आर राइट । मान्छेको काल बुकाउँदा बुकाउँदा न्याक् न्याक् भएर उल्टी आउञ्जेल भइसक्यो र पनि मान्छेको गन्ध आयो कि फेरि ढ्याङ् पार्नु मन लागिहाल्छ मनुखे । अझ नारीहरूको गन्ध आयो भने त… झन् यो दार्जिलिङका मान्छेहरूका गन्धले ता म पागल… ।’

मत्थु धरफरिँदै- ‘नो डार्जिलिङ.. नो । दिस इज डाज… यमराज ब्र, दिस इज डाज । अझै के बुकाउने दाउ छ यमराज दा’को ? लाज लाग्दैन दाज्यू तपाईलाई ? संसारभरिकाहरूलाई बुकाउनुसम्म बुकाएर अब दार्जिलिङमा बुकाउनु…’

गगनभेदी अट्टाहासमा यमराजको उत्तर- ‘हा हा हा.. हि हि हि.. के को लाज ? कसको लाज ? तिमीहरूका नेताहरूले क्याटका क्याट नोटका बिटाहरू, कन्ट्रयाक्टरहरूले रड, सिमेण्ट लगायत ब्रिजहरू मरक मरक चपाएर ब्रिजहरू भाँचिदा त लाज भएन भने… । धेर मलाई नचलाऊ है मोरा हो । गड्यौला खन्दा साँप मात्रै निस्केला । यो च्याप्टर यहीँ क्लोज्ड गर ।’

पत्रकार- हजुरले यतातिर आँखा गाड्ने कारण चाहिँ के होला नि ?

मत्थु- कसलाई के को धन्दा के को धन्दा घर ज्वाइँलाई खानुकै धन्दा भनेजस्तो यमराजको धन्दा के हुन्छ ?

पत्रकार- खानु पायो भन्दैमा अलकत्रा त खानु भएन नि !

यमराज- त्यो त मैले जातले पाको हातले खाको । तिमेरुका नेताहरूजस्तो फोकटमा पाए अलकत्रा नै खाने चाहिँ म होइन । मेरो आफ्नो प्रेष्टिज छ ।

मत्थु- अन्त यमराज दाज्यू । तपाई पक्कै हामीलाई लानु आको ? कति लगिसक्नुभो… हाम्राहरूलाई यहाँबाट । अब लान नै चाहनुहुन्छ भने हाम्रो कञ्चनजङ्घालाई लगेर कोरोनाको देशमा तुर्लुङ्ङै झुण्ड्याइदिनू । तर हाम्राहरूलाई अब नलानू प्लिज ।

यमराज- अरे वाह ! तिमीहरू कुन दुनियाँमा छौं हँ ? लानु सक्ने भा तिमीहरूसित यो कञ्चनजङ्घाको देशमा अरु के नै पो छ र लानु ? प्रथमतः ‘गोरखाली’ को ‘गोर’ उहिल्यै नै कसैले लगेर अहिले तिमीहरूलाई ‘खाली’ बनाको थाहा छैन ?’

पत्रकार- आमामामा… तपाईंको नलेज त खतरा रहेछ । तपाईं हाम्रो यतैका नेता भएर बसेको भा हाम्रो यहाँको अवस्था निकै गजबिलो हुन्थ्यो होला ।

मत्थु- यमराज दाज्यू हाम्रो यतै बस्दा हुन् भने राजनीतिमा तो कोनि, कञ्चनजङघा माउण्टेन युनिभर्सिटीका चान्सलर भएर बस्ने थिए ।

भिखारी- ठेगान छैन… ठेगान छैन यमराज दाज्यूको । हाम्रो यता चढ्यो कि सबका सब सेँठ भइहाल्छन् नि ! हाम्रा यमराज दाज्यू त चान्सलर मात्रै ? डोनेशनलहर, कमिशनलहर, कान्छीलहर, एबोर्सनलहरको छालमा दिनरात उर्लिरहन्थे । दाज्यूले चिताए कि बिताए नि !

यमराज- कञ्चनजङ्घाको काखमा लुकीचोरी खेल्नेहरू… तिमीहरू भ्रममा परिरहेका छौ । यो ठाउँमा मेरा मरेका मातापिता जिउँदा आए पनि मरिगए आउँदिनँ । कोई आयो यस्तो ठाउँमा ?

समवेत स्वर- किन यमराज दाज्यू ?

यमराज- तिमेरका कञ्चनजङ्घाभित्रका आन्द्राभुँडी, झ्याँते, कर्चीमर्ची, मुटु, कलेजो, किड्नी, यूट्रस जति सबै त खातालखातुल पाकपुक् पारी तिमेरको कञ्चनजङ्घालाई खोक्रो पारेको याद गरेका छौ…मोरा मोरीहरू हो ?

मत्थु- तपाईंको पनि यूट्रस छ यमराज दाज्यू ?

यमराज- म आइमाई हो र मेरो यूट्रस हुन्छ ?

पत्रकार- सरले एकदम राइट भन्नुभो । हाम्रो कञ्चनजङ्घा खोक्रो भाको रहेछ र ता पानी पर्दा आन्दोलनको समयमा सीआरपीले छानुमा ढुङ्गा हानेकोजस्तो साउण्ड गर्दारहेछ । (प्रसङ्ग बदलेर) यमराज दाज्यूलाई यहाँ को के चाहिँ विशेष मनपर्दैन ?

यमराज- यो ठाउँको सबै मनपर्छ… तर यहाँको माटो चैँ पटक्कै मनपर्दैन ।

मत्थु- माटो कि बाटो दाज्यू ?

यमराज- यहाँको बाटो त खतम रहेछ नि ! कमानबस्ती बाटो दूध खाएर गाडी चढ्यो भने बजारसम्म आइपुग्दा घिउ बनिँदोरहेछ । माटो मन पर्दैन माटो…

समवेत स्वर- किन यमराज दाज्यू ?

यमराज- तिमेरको माटामा शहीदको रगत काँचै गन्हाउँदारहेछ । एबोर्सन गरिएका कुमारी आमाहरूको कुमारीत्वको चित्कार थर्थकिँदोरहेछ । तिमेरको यो माटो राजनैतिक बजारका भित्ता भित्ताहरू लिलाम चिच्याएको आवाजले चर्किएको देख्दैछु । ढाँट आश्वासनको गर्जनले यहाँको माटोमा पैह्रो गएको देख्छु । ईख-इबी, रिस राग, षडयन्त्र, जालझेल, शोषण-दमनका वाणहरू यहाँको माटामा वर्षण भएर पितामह भीष्मका आर्तनाद लडिबडी खेलेको देख्दैछु । कसम र भाकलहरू पगली आइमाईको साडीजस्तो देख्छु । जहिले पनि…जहिले पनि…तिमेरको यो बाँझो माटोमा सूर्यग्रहण लागेको देख्छु ।

समवेत स्वर- खै हामीलाई त हाम्रो माटोमा केही गन्हाएको जस्तो लाग्दैन त यमराज दाज्यू ।

यमराज- खोक्रो परिसकेकी कञ्चनजङ्घे नाकहरूलाई राजनैतिक एनेस्थिया सुँघाएर लट्टाएपछि पनि कहीँ गन्हाउँछ र मोरा मोरी हो ? तिमीहरूको गिदी भन्ने ठ्याम्मै छैन । गिदी हुँदो हो त तिमीहरू यसरी आफैंआफ काटाकाट मारामार गर्नेथ्यौ ?

समवेत स्वर- गर्ने थिएनौं… थिएनौं… दाजु कदाचित् गर्ने थिएनौंं ।

(नेताको प्रवेश)

नेता- आम्बो… यमराज हाम्रो इलाकामा । यमराज भनेको त बदनामको भाइरस हो ।

यमराज- तपाईंजस्तो तुलसीको पातले धोएका र दूधैदूधले नुहाउने म होइन नेताजी । म त रगतै रगतको आहालमा नुहाउने हुँ ।

नेता- त्यसैकारण त तिम्रो जीउबाट दङदङ काँचो रगत गन्हाउँदो रहेछ ।

यमराज- एब्सुलेट्ली राइट ! तिम्रो जीउबाट त होइन फिलाबाट पनि ह्वासह्वास्ती धोतीको गन्ध आइरहेछ मलाई । तिमीलाई धोती खटिराले सताइरहेको पनि देख्दैछु ।

समवेत स्वर- यतिञ्जेल जनै खटिरा भनी सुनेको । यो धोती खटिरा चाहिँ कस्तो हुन्छ यमराज दाज्यू ?

यमराज- धोती खटिराले कोरोनाजस्तो जोसुकैलाई बिथोल्दैन । नेताहरूलाई मात्र यो धोती खटिराले भेट्छ । कोरोनाले भेटेकोभन्दा धोती खटिराले भेट्नेहरूले त आफ्नै समाज, जाति सबै भुसुक्क बिर्सिनु मात्र होइन आफ्नैहरूको पानीखेदा गरेर भुर्कुट पार्छ । त्यतिमात्र होइन धोती खटिराले भेटेका नेताहरूको रगत पनि खुसामदी रगतमा परिणत हुन्छ । अनि एउटा कुरा तपाईंहरूको यतातिर पानीको निकै हाहाकार देखेँ ।

मत्थु- यी सबै पोलटिक्सको खेल हुन् ।

यमराज- नो…नो ! गलत । हण्ड्रेड पर्सेन्ट गलत । सिन्टेक्सतिर पानी नहालेर यहाँका नेताहरूले आफ्नै झिटीझाम्टी खाँद्न थालेपछि पानीको हाहाकार नभएर के को हाहाकार होस् अनि ?

सबै बिलखबन्द पर्छन् । यमराज दाज्यू चुप लागेर भैंसीबाइकमा चढ्दै ‘बाई.. बाई.. डाज..’ भन्दै भोटेबस्ती ओह्रालो लाग्छन् ।

समवेत सबै हेरेको हेऱ्यै हुन्छन् ।

०००
सिलिगुडी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x