माधव पोखरेल गोज्याङ्ग्रेगोज्याङ्ग्रेको गुँड
केही नलागेमा खरानी घस । कुम्लो कुटुरो कस, सहर बजार पस । हातमा चिम्टा, त्रिशुल, डमरु लिएर बम शम्भो गाँजा कम भो पेटमा दम भो भन ।

ऊ निरासिएर गोज्याङ्ग्रिएको एक दशकभन्दा बढी भयो । तर जाबो एउटा गुँडसम्म बनाउन नसक्दा बच्चाबच्चीको बिल्लीबाठ भएको छ । चराको झैँ रुखका हागामा वा पोथ्रापोथ्रीमा वा हुट्टिट्याउँले झैँ जमिनमा जहाँ पायो त्यही गुँड बनाउने मुँड पनि बन्दैन । गुँड बनाउने मुँड नचलेको भने होइन तर चराले झैँ झ्याँस कसिङ्गर माटो जम्मा गरेर राखे पनि त्यो हावाले उडाएर पानीले गलाएर म गोज्याङ्ग्रेलाई नै थला पारिदियो । थला परेको मान्छे त्यो माथि पनि आफू गोज्याङ्ग्रे भएकोले कहाँ के गर्ने कसरी गुँड बनाउने सामग्री जम्मा गर्ने भन्ने कुरोको भेउ यो लेउ लागेको दिमागमा पसेन । जसले गर्दा गोज्याङ्ग्रेको बास साथी भाइको आसपास पनि नहुने भएपछि ऊ वाइपास भयो ।
बिचरा सबैवाट वाइपास भएको गोज्याङ्ग्रे विशाल छानो भएको घरमुनि हिउँद वर्षा हावाहुरी केही नभनी आनन्दले वर्षौ वर्ष बितायो । आफ्नो भएको घर भुक्मपले भत्काइ दियो । खेतबारी सबै बाढी पहिरोले बगायो । घरको न घाटको भएर गोज्याङ्ग्रेको सात्तो बोलाउनु पर्ने भयो । सात्तो बोलाउने धामी झाक्रीको अभाव भयो । बिचरा घामपानीबाट जोगिन नसकेर रुखको फेदमा सहारा लिएर बसेको जग्गा जमिन घर बाढी पहिरोले बगाएर धनाढ्य रोडपति बनेको गोज्याङ्ग्रेको बेहाल भयो । त्यत्रो रोडपति सम्पतिको मालिकको अहिले सात्तो गएर विध्वंस भएको छ ।
गोज्याङ्ग्रेको सात्तो बोलाउन धेरैले प्रयास गरे । धेरै थरिका मादल बजाउने आए गए । कोही डमरु, डम्फू बजाउने आए । कोही झ्याली पिट्ने आए । कोही खैजडी लिएर किर्तन मण्डली सहित आए । कोही ढोलक लिएर आए कोही बाँसुरी, नरसिंह, सनाई, ट्याम्को लिएर आए । तर कसैले पनि गोज्याङ्ग्रेको सात्तो बोलाउन सकेनन् । जो जो आएका थिए सबैले दिउसै सपना देखाएर, आश्वासनको बाँडेर गए । गोज्याङ्ग्रेको अवस्था १५बाट बढेर २० पुग्यो । आम्दानीको नाममा घरमा मुसा समेत रुन थालेका थिए ।
काम गरु भने हुकुम्बासीको देशमा सुकुम्बासीले काम पाउने कुरै भएन । राज्यको दायित्व भनेको रोग, भोक, शोक, शिक्षा, स्वास्थ्य, बेरोजगार समस्या बढाउनु हो । गफले सबै खाले समस्याको समाधान गरिदिनु हो । गफले देश अमेरिका, सिंगापुर, स्वीटजरल्याण्ड, बेलायत सबै बनिसकेको छ । अब मरुभूमि बन्न बाँकी छ, त्यो पनि सायद अब छिट्टै बन्ने तयारीमा छ । कुन दिन कुनचाहिँ कान चिरेकोले नेपाल विकास हुँदाहुँदा मरुभूमि भएको घोषणा गर्छन् अनि काम नै खन्त्या खलाँस हुन्छ र सबैलाई हाइसञ्चो । अनि बनाउँछ गोज्याङ्ग्रेले पनि कुन चाहिँ खोलाका किनारामा गुँड र चल्ला बचेरालाई भित्र्याउँछ ।
वर्षौ भयो गोज्याङ्ग्रे खोलाका किनारामा आकासको छानोको दरबारमा बिराजमान भएको । गोज्याङ्ग्रे जस्ता हजारौँ अन्य गोज्याङ्ग्रेहरू बगरमा दरबार बनाएर घरबारका रूपमा टाउको लुकाउन सकसपूणर् तवरले बसेका छन् । यस्तो गजब तरिकाले आनन्दले बसेकालाई राज्यले व्यवस्थापन किन गर्नु पर्यो र ? आखिरीले राज्यले दिएको आश्वासनमा र सपनामा पौडी खेल्न पाएकै छन् । अर्कोतिर चुनावका बेलामा विभिन्न दलका जनता दल्न पल्केका टाउके ठेउकेहरूले पनि गफको पोको डोकोको डोको बाँडेकै छन् । गोज्याङ्ग्रे जस्ता भोकाहरू आकासको छानोबाट खसेको शीत, पानी, हावाहुरी खाएर मोटाएकै छन के रे ? यस्तालाई आहत नै काफी छ किन चाहियो सरकारी राहत ? भन्ने सोंचमा स्थानीय निकाय पुगेको थियो ।
तर एक्कासी स्थानीय निकायको मनमा राहत वितरण गर्ने सोच आयो र डोजर लिएर राहत वितरण गर्न बागमती किनारतिर लागे जनप्रतिनिधिहरू । धमाधम राहत वितरण गरे डोजर लगाएर । राहतले भताभुङ्ग भएको घरटहराको महलमा चहल पहलका साथ लथालिङ्ग पारामा यो ठिहीमा इहिहिही….. हिही गर्दै बिचरा रोडपति धनाढ्य गोज्याङ्ग्रे र अन्य गोज्याङ्ग्रेहरू आँखाबाट अमूल्य हाँसो फुत्काउँदै फेसबुकका भित्तामा टेलिभिजनका पर्दामा आफ्नो मुटुमाथि ढुङ्गा राखेर चिच्याइरहेका छन् । गुँड बनाउने मुडमा सुँढ पसारिएको छ । पशुका पतिले बत्ती बालेर पनि जमानादेखि पसारिएको सुँढ बसाउन सकेनन् । मानवता हराएको दानवको वंशले अंश लिन आयो भनेर गोज्याङ्ग्रे लगायतका अन्य गोज्याङ्ग्रे र सद्देहरूलाई पनि गरिखान, बसिखान, उठिखान मानव अधिकारको पालना गरेका छन् । आँखाबाट निस्किएको नुनिलो पानीखान र आफ्नै पसिना खान पाउने अधिकार डोजरमा प्रत्यायोजन गरेका छन् । आ हा ! कति राम्रो काइदा जनप्रतिनिधिलाई फाइदै फाइदा । दल दलको छलफल स्वार्थ सिद्धिको मलजल ।
हे गोज्याङ्ग्रे हो अब ट्वाँ पर बस । केही नलागेमा खरानी घस । कुम्लो कुटुरो कस, सहर बजार पस । हातमा चिम्टा, त्रिशुल, डमरु लिएर बम शम्भो गाँजा कम भो पेटमा दम भो भन । बम भोले पाए खाऊ खोले नपाए जाउ झोले । एकले अर्कालाई पोले । दसतिरका कुरा घोलेर निचोरनाचर पारे अनि एकले अर्कालाई टाउकामाथि बजारे । जय शम्भो हास्य कम भो व्यङ्ग्य बढी भो गोज्याङ्गे्रलाई दम भो ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































