कृष्ण प्रधानडरभूत
यिनीहरूका पापी हृदयको काखमा गजधम्म भएर बसिरहेको यो डरभूतले जरा गाड़ेर यिनीहरूलाई अवश्यै भन्दो हो- “आदर्शको मखुण़्डो ओढ़ेर हिँड़्ने ए... हामभूतहरू ! लाखेस् !!

यो संसारमा नडराउने सायद विरलाकोटि मात्र पाइएलान् । सोझै भन्नु हो भने, हामी सबै नै धेरथोर डरछेरुवा छौं । सानैदेखि भूत-प्रेत, चुँड़ेल, बोक्सी-डाइनी आदिको डर मानसपटमा गाडि़एर बसेको छ । त्यो डर जीवनभरिनै उखेलेर मिल्काउन वा फ्याँक्न नसकिँदोरहेछ ।
प्राणी जगतमा सबैभन्दा विवेकशील प्राणी मानिस नामको जनावर नै ठानिए पनि सबैभन्दा दुर्बल, काँतर, डरछेरुवा प्राणी मानिस भन्ने जनावरलाई ठानिन्छ । त्यसैले यो मानिस नामको जनावर सबैभन्दा हिंस्रक, क्रूर हुन्छन् । मानिस खासमा डरलाग्दो जनावर हो । ‘ल अफ कम्पेन्शेसन’ । आफ्नो दुर्वलताले दुर्वलतालाई ढाक्न बड़ो हिंस्रकता तथा क्रूरताको आश्रय लिने जनावर नै मानिस हो । पशु-प्राणी जगतमा पनि यस्तो परम्परा छ तर मानिस नामक दुइखुट्टे जनावरमा ता परम्परा दोबर-तेबर देखिन्छ । आफ्नो दुनो सोझ्याउऩलाई र आफू बाँच्ने सङ्ग्राममा उसले आफ्नो भए भरका ट्याक्टिक्स यथासम्भव काममा लाउने गर्दछ । यसमा उनको कुनै दोष छैन कारण मरेर पनि बाँच्ने अधिकार सबैलाई बराबरी नै छ । बाँच्ने अधिकार सबैलाई बराबरी नै छ । झन् यी दुइखुट्टे पुच्छरविहीन बाँच्ने जनावर (मान्छे !) लाई मरेर बाँच्ने चाहना सबैभन्दा बढी छ, हुन्छ ।
प्रायः सधैँजसो नै हामी आफ्नै हातले आफ्नै दुई काँध सल्बलाउने गर्छौं, कतै डरभूतले हाम्रो कांध टेक्न खोजिरहेको ता छैन ! छोरो बढ़्यो । अझ तल झरेर भन्नु हो भने, छोरो छिप्पियो । त्यसको चालचलन निको छैन । त्यसका साथीहरू सबै कम्पाउण्डर भइसकेका छन् (इञ्जेक्शनले ड्रग्स पुस गर्नेहरूलाई मैले कम्पाउण्डर नाउँ दिएको छु) । जसो जसो बाहुन उसो उसो स्वाहा भनेजस्तो छोरो पनि कम्पाउण्ड़र हुने के बेर ? त्यो एउटा थप चिन्ता । अबेर रातमा घर पस्छ । कहाँ के बिगारेर आयो भन्ने डर ता जुकाजस्तै ट्याप्पै । कुन दिन कुन चैले के गरिदेलान् त्यो पनि डर । तर त्यो डर चाहिँ काँध अठ्याउने भूत होइन रगत चुस्ने भूत ।
आमा-बाबु कहलाइने दुइखुट्टे जनावरलाई डरभूतले हाउगुजी-हाउगुजी गरिरहेकै हुन्छ । बढ़ेका छोरो नराम्रो सङ्गतले बर्बाद हुन लागिरहेछ । छोरोलाई दल वा ग्याङको भूतले भेटेको छ । बाबा भन्छन्- ‘लगाऊ धमक, चाबुक चलाऊ । बाबुको होटल बन्द गरिदेऊ ।’
आमा टिठलाग्दो भाषामा भन्छिन्- ‘त्यसो होइन । बढ़ेका छोराहरूलाई अचेल कुनै धम्की घुर्की चल्दैन । पहिलेको जस्तो समय छैन अहिले । अहिले जमाना रिङ्ग-माष्टरको छैन । चाबुक र कोर्राको कुरा नगरेकै वेश । त्यही चाबुक वा कोर्रा थुतेर रिङ्ग-माष्टरलाई नै उल्टो स्वाम् कि स्वाम् सोँड़्क्याउनु बेर लाउँदैनन् नि ।’
कुरा ठिकै हो । बढ़ेका छोराहरूलाई साथीहरूजस्तै व्यवहार गर्नुपर्छ । सानु छँदा लड़्छ पो कि, हात-खुट्टा भाँचिन्छ कि भन्ने डर, ठूला भएपछि कसैले मारि पो दिन्छ कि, कसैले केही बिगारी पो दिन्छ कि भन्ने डर ।
छोरीको कुरा ता झन् के गरुँ ? कलेज जाँदैछिन् कि कलेज जाने बहानामा प्रणय संसारमा पो विचरण गर्दैछिन् कि ! यो डरभूत ता डरलाग्दो हाउगुजी हो । श्रेणी कोठाको चार देवालभन्दा उन्मुक्त आकाशमै रमण गर्नु पल्केकी छिन् कि ? नोट्स लेख्ने निहुँमा म्यासेञ्जरको वक्षस्थलमा सुन्दर-सुन्दर प्रणय साहित्यको नोट्स पो डाउनलोड र अपलोड गर्दैछिन् कि ? के गर्दैछौ नानी भनी निधिखोजी गर्नु डर, चाहिएको भन्दा बढ़ी मात्रामा खबरदारी गर्नु ता कमिलालाई मूतको पैह्रौ । छोरी हुर्कीसकिन् । नाकमा गुहू दलिदेलिन् भन्ने डर । झरझराउँदो भविष्य कुनै चैं लम्फूको खप्पड़मा परेर तिरिमिरि झ्याइँ पो हुने हो कि ? कलेज बन्द । आफ्नो काँधबाट यसलाई वा यो डरभूतलाई पन्छाउन सकियो भने शान्ति ।
जति दिनसम्म हुर्केकी छोरी घरमा हुन्छिन् त्यति दिनसम्म आमा नामक जनावरको आँखामा निद्रा हुँदैन । घरै सुनसान पारेर छोरी अर्काको भित्ता टाल्ने इञ्जिनियर भएर गएपछि राज-दिनको चिन्ता-सुर्ताले आमा नामको जनावरलाई हाउगुजी गरिरहेको हुन्छ । छोरीको अतीत भूतले नयाँ संसारसित मेल खान सक्यो कि सकेन ? सासू-ससुरालाई रिझाउन सकिन् कि सकिनन् ? यस्ता नाना प्रकारका डरभूतले आमा-बाबा नामक जनावरलाई हाउगुजी गरिरहेकै हुन्छ ।
उपरोक्त डरभूतहरू सबै नै बाहिरका भूत हुन् । यिनीहरूको जम्मस्थान अवश्यै डरकै उर्वरा भूमिमा हुन्छ, तर आक्रमणको लक्ष्य तपाई नै हुनुहुन्छ । तर सैकड़ौं भूतभन्दा सबैभन्दा डरलाग्दो, भयानक अनि घातक भूत चाहिँ हो मनभूत । यो मनभूत तपाईको मनको गहिराइमा डरक गर्भमा पलाउने गर्छ, यो भित्र-भित्रै लहलह बढ़ेर जान्छ अनि मौका पायो कि तपाईको जीवनलाई निचोरेर, कोपरेर, लुछेर, ऩ्याँक् र झ्याँक् पारेर छताछुल्ल पार्ने गर्छ ।
यो संसार रहुञ्जेल डरभूत जन्मिरहन्छ अनि मौकाको फाइदा उठाएर हामी-तपाईलाई चिथोर्नुसम्म चिथोर्छ, जिस्काउनुसम्म जिस्क्याउँछ, वाक्कै र दिक्कै पार्छ । रेल-बसमा, हाट-बजारमा, अड्डा-अदालतमा, घर-परिवारमा, सिनेमा-थिएटरमा, स्कूल-कलेज-यूनिभर्सिटीमा जताततै यी डरभूतहरू हुन्छन् । यी डरभूत बाहेक पनि अझ हामभूत अझ धेर खतरनाक र भयावह डरभूत हो । शेयर, बोफोर्स, हवाला, युरिया, गावला, हाउजिङ स्क्याम्प अनि म्याच फिक्सिङ गर्नेहरू हामभूत श्रेणी अऩ्तर्गत पर्छन् । त्यसबाहेक पनि नोकरीको प्रलोभन देखाएर लट्ठकहरूबाट हाम गर्ने भूतहरू पनि अचिल सिङसाँढ़े हुन थालेका छन् । यस्ता हामभूतहरूको घाँटी अँठ्याइँले तपाई-हाम्रो समाजले पल्लो फाल पुगेर पनि बाँचिरहेको छ । यी हामभूतको दाँत अनि नङ्ग्राको चिन्ह लिएर हामी बाँचिरहेका भए पनि मलाई सन्तोक केमा लागेको छ भने, बाहिरी रुपमा यी हामभूतहरू जति नै सेतो दूधमा मात्र तथा तुलसीको पातले नुहाएकाजस्ता ठानी आफूलाई जतिसुकै आदर्शवादी पवित्र, शुद्ध ठाने पनि यिनीहरूको मनमा पनि ता डरभूतले जरा गाड़ेर यिनीहरूलाई गिजोलिरहेको हुन्छ । यिनीहरूका पापी हृदयको काखमा गजधम्म भएर बसिरहेको यो डरभूतले जरा गाड़ेर यिनीहरूलाई अवश्यै भन्दो हो- “आदर्शको मखुण़्डो ओढ़ेर हिँड़्ने ए… हामभूतहरू ! लाखेस् !! भगवानको घरमा अबेर छ अन्धकार छैन । थुञ्चेले छोप्दा छोप्दा डोकाले छोपेको दिन चैं चेत्लास् अनि त्यसबेला तँभित्र डरभूतले तँलाई चिथोरेर… डरचिन्ताको खाड़लमा जिउँदै पुर्नेछ । किनभने चिताले मरेको मानिसलाई जलाउँछ तर चिन्ताले भने जिउँदै मानिसलाई जलाउँछ ।”
गणितीय भाषामा भन्नु हो भने, डरभूत ता डरचिन्ता इक्वल टु भारीमाथि सुपारी । यो सोमाजमा यसैकारण हामभूत भएर बाँच्नुभन्दा ता एक चम्ची पानीमा डुबेर मर्नु नै वेश !
०००
सिलिगु़ड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest








































