तेजविलास अधिकारीआफैबाट सुरक्षित छैन मान्छे
जहाँ मलाई निस्फिक्री डुल्न, बोल्न, रहन आफ्नै कारण असजिलो छ म आफैबाट सुरक्षित छैन लाग्छ प्रत्येक मान्छे भोगिरहेछ यस्तै यस्तै ।

श्रमशील
म मान्छे
मेरा चाहना छन् असीमित
मेरा लोभले मलाई
क्षण क्षणमै फसाउन खोज्छ
प्राप्ति नहुँदा
निराश बन्दै
बन्न नसकेर उत्साही
दिक्क छु म
आफैबाट
फैलन खोज्छु म
अर्धचेतमा
तथापि
फैलने पखेटा
उड्ने सोच
त्यसै त्यसै मारिदिन्छु म
मलाई पुग्नु छ सजिलै
प्राप्ति गर्नु छ सस्तैमा
सस्तैमा गरेको प्राप्ति
आखिर सहज हराउँछ
साधनाको एउटा नाम
प्राप्तिको एउटा कर्म
केही केही हुने थियो
साना साना विलय
सताउन आउँछन्
जसरी बाँसको झ्यागमा
बेलुकीपख चराहरू कराउँछन्
मान्छे नै हो
बिथोलिन्छु म
अलमलिन्छु म
लोभिन्छु म
लाग्छ मलाई
मविना यो अनुष्ठान
हुँदैन पूरा
त्यसैले पोखिन्छु म
पुग्छु म
एक घण्टा पनि
एक दिन पनि
केन्द्रित बन्न सक्दिन म
म मान्छे
मान्छेको गुण नआउँदै
खोज्दै हिँड्छु म
बोक्दै हिँड्छु आफैले
जबर्जस्त निर्माण गरेको समस्या
कुमालेको चक्र जस्तै
फेरि आइपुग्छु उही
आइपुग्छु उस्तै
समस्याको गल्लीमा
जहाँ मलाई निस्फिक्री
डुल्न, बोल्न, रहन
आफ्नै कारण
असजिलो छ
म आफैबाट सुरक्षित छैन
लाग्छ प्रत्येक मान्छे
भोगिरहेछ यस्तै यस्तै ।
०००
हाल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































