चिरञ्जीवी दाहालकाफल पाके कोइली चरी, बर पाके जुरेली
केही मान्छेहरूले भन्न थालेका छन्, यस्तै हो भने अब गाउँमा डाले घाँसको अभाव हुने सङ्केत स्पष्ट भइसकेको छ । भुइँ घाँस भनेको त मौसमी घाँस न हुन् । पानी पर्दा मौलाउने र खडेरी परे सुकि हाल्ने ।

कोइरालो र टाँकी दुबै डाले घाँसका रुख हुन्, पशुपालन कार्यका लागि प्रयोग गरिने । झलक्क हेर्दा यी दुबैको रुप दुरुस्त देखिन्छ । यिनीहरू बिच खास तात्विक भिन्नता पनि छैन । एउटा लहरो वा भुइँ घाँस र अर्को रूखको घाँस भइदिएको भए यिनीहरू बिचको फरक छुट्याउन सजिलो हुन्थ्यो । अनि त जो कोहीले पनि फ्याट्टै भनि दिन सक्थ्यो, यो कोइरालो हो, यो टाँकी हो । तर यिनको पहिचान गर्ने विषयमा हामी सधैं नादान र नालायक ठहरियौं ।
यी दुईवटा रुखले जस्तो आजसम्म हामीलाई कसैले पनि झुक्याएका छैनन् । यिनीहरूले धोका दिइ रहने हामी धोका पाइरहने, यो क्रम जारी छ । पहिले जस्तै अचेल कोइरालो , कोइरालो जस्तो छैन र टाँकी, टाँकी जस्तो छैन । यिनीहरु भन्छन् खाँटी डाले घाँस भनेका हामी हौं । यो यी दुवैको साझा दावी हो । तर पत्याउने आधार भने रत्तिभर छैन । यिनीहरूमा रहेको विद्यमान मौलिकता स्वाट्टै हराएर गएको छ । यिनमा भएको पौष्टिकता बिस्तारै विषालु पनमा रुपान्तरण भइरहेको देखिन्छ । नपत्याए टाँकी कोइरालोको एक दुई हाँगा पशुहरूलाई दिएर हेर्नुस् त, खानासाथ पेट ढाडिन थाल्छ । ऊ भन्दा ऊ, अलि तै विशेष छ कि भनौं भने पनि,भन्न मिल्दैन । किनकि यिनीहरूको गुणलाई तुलोमा राखेर जोख्ने हो भने पनि फरक पर्दैन । यिनका जातिय गुणको भिन्नता एक इन्च पनि फरक छैन । स्पष्ट शब्दमा भन्नुपर्दा हामीले आजसम्म कोइरालो र टाँकी छुट्याउन कहिले पनि सकेनौँ ।
यिनका पातहरू मात्र होइनन्, झलक्क हेर्दा डाँठ पनि उस्तै देखिन्छन् । साच्चिनै फरक भनेको जरा थियो । अचेल यिनीहरूको जरा छैन । तपाईं लाई आश्चर्य लाग्न सक्छ, जरा नभएको पनि कहीँ रुख हुन्छ ? वास्तवमा नहुनु पर्ने हो । केही अघिसम्म यिनीहरूको पनि जरा थियो । जबसम्म यिनीहरू स्वावलम्बी थिए । आजभोलि यी ऐंजेरु जस्तै बनेका छन् । ऐंजेरू लाई जरा नभए पनि चल्छ । मलाई कसैले भन्यो, “यिनीहरू लाई सजिलोसँग छुट्याउन सकिन्छ किन सकिदैन ? यिनको पहिचान गर्नु कुनै गाह्रो काम होइन । कोइरालोको पात गाढा हरियो रङको हुन्छ भने टाँकीको पात हल्का हरियो मा फुस्रो रङ्ग मिसिएको ।“ मलाई लाग्छ यतिले मात्र पनि यिनिहरू लाई सजिलै चिन्न सकिने अवस्था रहेन । अचेल यिनीहरू छेपारो जस्तै बन्न थालेका छन् । छिनछिनमा रङ्ग फेरिरहने । रङ्ग फेर्न यी माहिर छन् ।
जब यी बोटहरू गाउँका खरबारी र सुख्खा टारमा थिए, यिनीहरु गजबका थिए । रसिलो पोषिलो र हेर्दै पनि रहर लाग्दा । जब टाँकी कोइरालोको घाँस खुवायो भैंसीले बाल्टी भरी दुध दिन्थ्यो । जब कसैले सिंहदरबारमा लगेर यिनलाई गमलामा रोपे, यिनीहरुको प्राकृतिक गुण एकाएक परिवर्तन भएको हो रे, सबैजना यसै भन्छन् । अचेल यिनीहरू “काफल पाके कोइली चरी, बर पाके जुरेली“ स्वभावका छन् । बिहान सूर्योदय हुनुअगावै गाढा रङ्गको पात हुने कोइरालो अचेल सूर्योदय पश्चात फुस्रो रङ्गमा देखिने गरेको छ । फुस्रो पात हुने टाँकी कहिले चिल्लो पातमा देखिन्छन् भने कहिले गाढा रङ्गमा ।
उहिले हजुरबाहरूले कोइरालोको फूलको तरकारी र अचार खान मिल्छ भनेर लमजुङको कोइराला फाँटबाट ल्याएर सारेको रे । केही समयपछि त्यो विरूवा हलक्क बढ्यो । त्यसको फूललाई मान्छेहरूले धेरै वर्षसम्म अचार , तरकारी बनाउने कार्यमा प्रयोग गरे । औषधिय गुणले भरिपूणर् भनिएको कोइरालोको तरकारीले धेरैको पखाला सन्चो भयो । यसले धेरैको भोक जगायो । अनिकाल र भोकमरीमा अन्नको काम पनि गर्यो । तर त्यही कोइरालो आजभोलि खानसाथ उल्टै पखाला लाग्छ । भोक जगाउने शक्ति भएको कोइरालो अचेल त खानसाथ अजीणर् हुने गरेको छ । अनिकालमा जिउ जोगाउने कोइरालोको , अचेल भने प्रयोग गर्यो कि उल्टै भोकमरी लाग्छ । टाँकी कसरी भित्रियो , यसको पनि छुट्टै कथा रहेछ । केही काका हरूलाई यसको अचार तरकारी मन परेन रे बा चाइना, रसिया र जर्मनी खै कता पो तिर हो, घुम्न गएको समयमा, हेर्दा ठ्याक्कै कोइरालो जस्तै लाग्ने तर नाम भने फरक टाँकीको बिरुवा काकाहरूको लागि लिएर आएको रे भन्ने सुनिएको हो ।
त्यसबेला गाउँमा झोला बोकेर हिंड्ने एकजना प्राविधिकले विरुवाहरू हावापानी नमिले फस्टाउन गाह्रो हुनसक्ने चेतावनी सहित बा काकालाई एउटा सल्लाह दिएका रहेछन् । गर्मी ठाउँबाट ल्याइएको विरुवा घरको दक्षिण तर्फ र जाडो ठाउँबाट ल्याइएको विरुवा घरको उत्तर तर्फ रोप्ने हो भने केही हदसम्म हावापानीको प्रभाव कम गर्न सकिने जानकारी तिनले गराएछन् । त्यसैले घरको दक्षिणमा कोइरालोको रूख र उत्तर पट्टि टाँकीको रुख रोपिएछ । निकै सालसम्म कोइरालो लाई जस्तो टाँकी लाई हावापानीले त्यति साथ दिएनछ । निकै वर्षसम्म टाँकीको बुटो टाक्सिइरह्यो, लामो समयसम्म खासै फस्टाएन । कोइरालो प्रतिस्थापन गर्न भित्र्याएको टाँकी त झनै कोइरालो झैं न फस्टाउने मात्र होइन , कोइरालो जस्तो लाभदायक पनि देखिएन छ । बरु केही अरिङ्गाल का गोला हरूले टाँकीको बोट ढाक्यो र बिच्किएका अरिङ्गालको त्रासमा त्यसको वरिपरि पर्न पनि नसकिने भएछ । जब अर्का काकाले जङ्गली बिलाउनेको विरूवा लिएर आए, त्यसलाई टाँकीको बोटसँग कलमी गरियो । अचम्म भएछ, त्यसपछि के चाहियो र ? अनि त टाँकीको बोट पनि हलक्कै बढ्यो । अब झलक्क हेर्दा कोइरालो भन्दा टाँकी ठूलो देखिन थालेको थियो, बिलाउनेको बोटसँग कलमी गरिएको कारणले । जब बिलाउनेको बोटमा कलमी गरी टाँकी के फस्टाएको थियो,अचेल यिनीहरू घण्टी फूलको लहरो देखेपनि गाईतियारेको झिंजो देखेपनि कलमी गर्ने सुरमा दौडधुप सुरु गरिहाल्छन् ।
मान्छेहरूले कोइरालोको जस्तै टाँकीको फूलको अचार, तरकारी भने खाएनन् तर पनि टाँकीको मुन्टा टिपेर केही वर्ष तरकारी भने पकाएका थिए । यो कोइरालोको फूलजस्तो स्वादिलो थिएन रे । कहाँको फूल कहाँको पात ।
बिलाउनेसँग कलमी गरेर टाँकी हुर्किएको देखेपछि हजुरबाको दिमागमा पनि चस्का पसेछ । अनेक तिकडम गरेर हजुरबाले पनि एक दिन कोइरालोसँग पनि बिलाउनेको कलमी गरेर छाडे । नभन्दै त्यसपछि त बुढो भइसकेको कोइरालोमा अनगिन्ती फूलहरू फक्रियो। हजुरबा निकै खुशी थिए । तर त्यो खुशी लामो समय सम्म टिक्न सकेन ।अचानक कसैले पुनः बिलाउने लाई कोइरालोको हाँगाबाट लुछेर पुनः टाँकीसँग कलमी गरिदिएछन् । एकताका निकै लोकप्रिय त्यो कोइरालोमा फेरि फूल फक्रिन छोडेछ । अचेल यसलाई मलजल पनि गर्ने गरिएको छैन रे । यो कोइरालोको बोटका माध्यमबाट धेरैले व्यक्तिगत प्रगति हात पारे । यसको कोपिला र फूलको अनगिन्ती व्यापार भयो । केही त मालामाल समेत बने । घर घडेरी जोडे । भनिन्छ,अचेल कोइरालोको रूख बिस्तारै धोद्रो हुँदै गएको छ ।
गाउँलेहरू भन्छन् ओइलाएको बिलाउनेको बोट सुक्यो भने टाँकीको बोट पनि धेरैदिन टिक्दैन । जब कोइरालोको अस्तित्व माथि नै प्रश्नचिन्ह खडा भयो , अचेल हजुरबाले त्यसको ठूटो टाँकीको फेदमा लगेर बिसाइ दिए । धेरेलाई भने आश्चर्य लागेको छ । अचेल बिलाउनेको रूखमा चढेर घाँस काट्नेहरूले त्यही कोइरालोको मक्किएको ठूटो टेकेर चढ्ने गरेका छन्, सायद भरेङ् जस्तै सम्झिन्छन् कि के हो ? बिनसित्तैमा यी बूढाले किन यो कोइरालोको ठूटो टाँकीको फेदमा राख्नु परेको होला ? केही मान्छेहरूले भन्न थालेका छन्, यस्तै हो भने अब गाउँमा डाले घाँसको अभाव हुने सङ्केत स्पष्ट भइसकेको छ । भुइँ घाँस भनेको त मौसमी घाँस न हुन् । पानी पर्दा मौलाउने र खडेरी परे सुकि हाल्ने ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































