साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनता र तेल, नेताको खेल

‘सर्वजन सुखाय’ मा आफ्नो जीवन उत्सर्ग गर्ने उसबेलाको नेता ‘गाउँको मुखिया सबैका अगुवा’ थियो तर आज नाउँको मुखिया बाटो हगुवा गएर ‘हसुराय उटुम्बकम्’ मा तन र मन बेच्न अगुवा भएको देखिन्छ ।

Nepal Telecom ad

प्राचीन स्कूलहरूले ‘तिल’ को सर्वतोमुखी गुणलाई चिने र कोलमा एउटा ठूलो नोल हालेर पेले । यसको फलस्वरुप ‘तिल’ को सारतत्व निस्कियो । त्यो सारतत्वलाई ‘तिलस्य इयम तैल’ भन्ने विग्रह गरी उनीहरूले ‘तैल’ शब्दको उत्पत्ति गराए । कालान्तरमा यो शब्द शौरसेनी खस, धेरै ठाउँमा उठबस गर्दै केन्द्रीय नेपालीमा आइपुगे पछि ‘तेल’ मा टुङ्गो लाग्यो । यसबाट के कुरा प्रष्ट हुन्छ भने उसबेला तिलबाट निस्केको चिजलाई मात्र ‘तेल’ भनिन्थ्यो ।

वर्तमान समयमा आएर चाहे पानीमा निचोरिएर आएको होस्, चाहे खानीवाट निस्किएको पानी होस् चिल्लो छ भने त्यसलाई ‘तेल’ भनिन्छ । तर मान्छे र उसभित्रको पेल्ने प्रवृत्तिले गर्दा आधुनिक युगमा आएर फुस्रो तेलको पनि आविष्कार भएको छ । चिल्लो ‘तेल’ फुस्रो तेलमा फरक के छ भने चिल्लो चिल्लो ‘तेल’ धन र इन्धन दुवैमा प्रयोग गर्न सकिन्छ तर ‘फुस्रो तेल’ शक्तिशाली व्यक्तिबाट कसैको तन निचोरेर आएको पसिनालाई धनमा परिणत गरिन्छ । भुँडे साहुले जन्तरे आसामीबाट पच्चीसा व्याजसहित साँवा असुल गरी ‘तेल’ निकाल्नुलाई फुस्रो ‘तेल’को उदाहरणमा लिन सकिन्छ । यो तेलले प्रतिबन्धितलाई होइन सम्बन्धितलाई मात्र धित मार्ने काम गर्छ । यस्ता खाले तेलको मात्रा जति जति बढ्दै जान्छ उति उति फाइदा हुँदै जान्छ । तर चिल्लो तेल आवश्यकता भन्दा अलिकति मात्र बढ्ता भयो कि चौपट भइहाल्छ- भाँडामा बढि हाल्यो अमन हुन्छ, गाडामा बढि हाल्यो बमन हुन्छ । खानी र घानीबाट एकैचोटि धेरै तेल निकाल्न सकिदैन । तर एकजना मान्छेले एउटा सिङ्गो देशका सबै मान्छेबाट एकचोटि यथेष्ट फुस्रो तेल निकाल्न सक्छ । वेला बखत निकाल्दै आएको कुरा इतिहासमा नलेखिएको भए तापनि वितिहासमा देखिएको छ ।

घानीबाट जिस्किएको पिना जुनसुकै काममा उपयोगी हुन्छ, तर धनीमानीका आनिवानीबाट पेलिएको पिजाले केही कुरामा पनि काम दिंदैन । तेलहनको पिना प्रति किलो छ, सात रुपयाँसम्ममा लिनादिना हुन्छ भने फुस्रो तेलको पिना न लिना न दिना भएर सबैबाट घृणा मात्र हुन्छ । यस्तो आधुनिक पिनालाई रुपियाँमा त परैजावोस उपियाँमा पनि साट्न सकिदैन, न त चाट्नै सकिन्छ नून चूक हालेर ।

उपयोगिताको हिसाबमा हेर्ने हो भने फुस्रो तेलले पेल्नेलाई मात्र फाइदा गरेको देखिन्छ, तर चिल्लो तेलले पेल्ने, रोटी बेल्ने, गाडी ठेल्ने र कपर्दी खेल्ने सबैलाई फाइदा दिन्छ । सुत्केरीको आङ मालिसदेखि पहलमानको जाङ पालिस गर्नसम्म पनि चिल्लो तेल नै चाहिन्छ । भाइटीकाका दिन दुवै कानमा हालिने तेलको उपयोगिता गणितीय हिसावबाट बढेको पाइन्छ भने गुरुको उपदेशको बेवास्ता गरी अध्ययन गर्ने बेलामा कानमा तेल हालेर बस्ने विद्यार्थीमा यसको उपयोगिता ह्रास नियम लागू हुनेगर्छ ।

संस्कृतबाट जस्ताको तस्तै नेपालीमा आइपुगेको शब्दलाई ‘तत्सम’ र नेपालीमा आइपुग्दा विकृत भएको शब्दलाई ‘तद्भव’ भनिन्छ । यस अनुसार ‘तेल’ शब्द ‘तद्भव’ भित्र अनि ‘नेता’ शब्द ‘तत्सम’ भित्र पर्छ । तर वर्तमान परिप्रेक्ष्यमा उपर्युक्त कथन उल्टो जस्तो देखिन्छ । प्राचीन कालमा ‘नेता’ शब्दलाई अगुवा, मालिक, नेतृत्व दिसक्ने महान् व्यक्तिको अर्थमा लिएको पाइन्छ । ‘वसुधैव कुटुम्बकम्’ भन्ने परमार्थी सिद्धान्तलाई आत्मसात गर्दै ‘सर्वजन हिताय’ र ‘सर्वजन सुखाय’ मा आफ्नो जीवन उत्सर्ग गर्ने उसबेलाको नेता ‘गाउँको मुखिया सबैका अगुवा’ थियो तर आज नाउँको मुखिया बाटो हगुवा गएर ‘हसुराय उटुम्बकम्’ मा तन र मन बेच्न अगुवा भएको देखिन्छ । जनतालाई सबैतिरबाट अघि बढाउने कामलाई नै आफ्नो प्रमुख कर्तव्य ठान्नु पर्नेमा आपना नाता पर्नेहरूका लागि मात्र साम, दाम, काम मिलाई हाम गर्नतिर लागेर उसले धर्म र शर्म दुवै छोडिसकेको देखिन्छ । यसरी ‘नेता’ शब्दको अर्थ साँगुरिदा साँगुरिदा ऊ आफू पनि छिर्न नसक्ने भइसकेको जस्तो लाग्छ ।

त्रेता युगमा नेतालाई रामको पर्यायवाची शब्दको रुपमा लिइन्थ्यो तर अहिले यसलाई हरामको पर्यायवाची शब्दको रूपमा लिँदा पनि पाप लाग्दैन । उसबेला नेताकी अर्धाङ्गिनी सक्कली सीता जस्तै हुन्थिन् भने अहिलेका नेताकी पूणर्ाङ्गिनी नक्कली सिता जस्तै छिन् । त्यसवेलाको इतिहास हेर्दा नेताले राज सिंहासनलाई पनि तुच्छ संझेर त्यागिदिएको पाइन्छ, तर हिजो आजका नेता कुर्सीमा बुर्कुसी मार्न पाएपछि सात हराम, सात विराम गर्न पनि पछि पर्दैनन । बुद्धजस्ता त्यागी नेताको जन्मथलो आज गद्धि जस्ता भोगी नेताको मनपरि गर्ने कर्मथलो भएको छ । सेता लुगा लगाएर जनताका अघि अघि जिन्दावाद र मुर्दावाद भन्दै टिके मरमा उसलाई नेता मान्नुपर्ने हो भने चोला उठेपछि खोलातिर लाँदै गरेको माईलाई पनि नेता भन्नुपर्‍यो । होइन ‘नेता शब्दको किन यसरी दुरुपयोग गर्ने ? कि कहिल्यै नमने ?

कलियुग सकिएर नक्कलियुग लागेपछि त झन नेताको अभिनेतामा पदोन्नति भएको छ । यसो विचार गरेर हेर्दा नेताले जनतालाई सैद्धान्तिक कुरा मात्र सिकाउँदो रहेछ, अनि अभिनेता चैं प्रयोग गरेरै देखाउँदो रहेछ । हिजो आज अभिनेता र अभिनेत्रीले पर्दामा देखाएको चर्तिकलाबाट युवायुवती मात्र होइन किशोर किशोरीहरू पनि अङ्गालो मारेर भङ्गालो तर्दै गरेका हुन्छन् । पैसा कमाएर ऐसा गर्न पल्केका यस्ता अभिनेता र अभिनेत्रीद्वारा अचेल मौन रुपमा यौन आकर्षण पैदा गर्नु बाहेक केही भएको छैन ।

माथि लेखिएका केही कुरा र नलेखिएका, धेरै कुराबाट ‘नेता’ शब्दको ‘अर्थविस्तार’ र ‘नेता’ शब्दको ‘अर्थसंकोच’ भएको ठहर लाग्छ । किनभने ‘तेल भन्दा संसार भरिका सबै किसिमका ‘तेल’ भन्ने बुझिन्छ र ‘नेता’ शब्दले “घुम्ने कुर्सीमा आका पर्यटन केन्द्र राख्ने अन्धो मान्छे” भन्ने बुझाउँछ । व्याकरणगत हिसावले ‘अर्थविस्तार’ र ‘अर्थसंकोच’ भएर ‘तेल’ र ‘नेता’मा फरक देखिएको छ भने कामको हिसाबले पनि यसमा निकै अन्तर रहेको देखिग्छ । ‘तेल’ले सधैं पारमार्थिक कार्यमा आफ्नो जीवन अर्पण गरेको पाइन्छ, तर ‘नेता’ सारै स्वार्थी हुन्छ । ‘नेता’ सानो छँदा उसकी आमाले यही ‘तेल’ जिउभरि घसेर हुर्काएको कुरा कसैबाट छिपेको छैन । यसो नगरेको भए सानैमा चीसाले उसको दिसा समेत बन्द हुने थियो र शायद उसको इहलीला समाप्त हुन्थ्यो होला ।

पहिले मात्र होइन अहिले पनि प्रत्येक पाइलामा नेतालाई तेलको आवश्यकता पर्छ । चुनावमा भाषण छाँट्ने बेलामा त तेल बिना उसको मुखबाट र्‍याल पनि आउँदैन । जब मुखमा एकमाना तेल पर्‍यो, बस काम तमाम भइहाल्छ । विचरा निरीह जनता उसले मुखमा घसेको तेलबाट फिलित्त चिप्लिएर उसको जादु खेल भित्र पर्छन् । यसको परिणाम स्वरुप नेताले भोट जितेर नोट कुम्ल्याउन थाल्ने वित्तिकै जनताले उसलाई तेल लाउन थाल्नुपर्छ । शरीर मर्दन त परैजाओस् गुप्ताङ्गसम्म मर्दन गरिदिंदा पनि नेताबाट कुनै प्रकारको प्रतिक्रिया देखिदैन । यसरी ओहदामा पुगेर ठूलो मान्छे भएपछि नेताका दुवै हातमा पेडा पर्दा रहेछन् र उसका बल्ढ्याङ्ग्रे आँखा जनता र तेलप्रति टेढा पर्दा रहेछन् । आफूले दुई नम्बरी सुन कमाउन थालेपछि जनता र तेललाई घुन जत्तिको नठान्नु नेताको अधिकार र कर्तव्य भित्र पर्दो रहेछ ।

यसो भएपछि किन हो कोनि उसले धनी-गरीब, स्वदेशी-विदेशी सबै किसिमका तेललाई एक समान बनाइदिने क्रममा तेलका चारजात छत्तीसवणर् सबैलाई एकजात एकवणर्मा मिलाइदिन्छ र विदेशबाट आएको नक्कली तेलबहादुरलाई सक्कली बनाएर सोझै नेपाली नागरिकताको प्रमाण पत्र दिलाइदिन्छ अनि तेलको स्वच्छतामा पनि दाग लगाइदिन्छ । यस प्रकार उसले तेलमा बढेको दामले जनतालाई र एकछत्त बनाउने कामले ‘तेल’ लाई ठेगान लगाइदिन्छ । उनीहरूले उसप्रति गरेको गुनको साँवा व्याज जम्मा गरी फिर्ता गर्नु भनेको यही हो ।

जे जस्तो भएता पनि जनतालाई नेता र तेल दुवै नभइनहुने बस्तु हुन् । तर तेल शुद्ध र नेता पाकेको हुनुपर्छ । तेल भित्र परेर सेल पाके झैंं नेलभित्र परेर नेता पाक्छ । प्रसस्त दाउन हालेर तेलमा पकाएको सेल स्वादिष्ट र गुणकारी भए झैँ नैतिकता र इमान्दारिता जस्ता दाउन लगाएर जेल र नेलमा पाकेको नेता पनि सधैंका लागि लाभप्रद हुन्छ । सधैं डाउन मात्र हुने दाउन विना पाकेको नेताले भने कसैलाई पनि फाइदा गर्दैन । सोडाका भरमा हुस्स फुलेको सेल र नोटका भरमा भोट जितेर हुस्स फुलेका नेताले सधैँ जनताको भुँडी ढुस्स पार्ने काम मात्र गर्छन् । पहिलोको प्रभावबाट दुखेको भुँडीलाई मुला र हज्मुलाले निको पार्न सक्छ तर दोस्रोको प्रभावबाट दुखेको भुँडीलाई गजेटमा उल्लेख गरिएको वार्षिक बजेटले पनि केही गर्न सक्दैन । त्यसैले अब तपाईं हामी सबैका काँधमा तेलको संरक्षण र संवर्द्धनका निमित्त जेल र नेलमा राम्रोसँग पाकेको नेता खोज्ने र त्यसैलाई रोज्ने महान् दायित्व आइपरेको देखिन्छ ।

०००
‘हाउडी पुराण’ (२०५२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
छिमेकीका स्वरूपहरू

छिमेकीका स्वरूपहरू

काेमलप्रसाद पोखरेल
आम्दानी महात्म्य

आम्दानी महात्म्य

डा. सुमनराज ताम्राकार
पिउन साप

पिउन साप

डा. खगेन्द्र लुइटेल
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x