सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘अनपाम’ जोडी र उसको क्रान्तिकारी कदम

पोथी अनपाम मसक्क मस्किन्छे र लोग्नेतिर हेरेर झस्किन्छे पनि । उसले झस्किनाको कारण जान्न चाहनुहुन्छ भने तपाईं पनि मलाम जानुहोस् र झस्किने व्यक्तिलाई नै सोध्नुहोस्, किनभने म शिक्षक हुँ निवृत्त शिक्षक ।

Nepal Telecom ad

कोमलप्रसाद पोखरेल :

यो अनपाम जोडी (भाले अनपाम र पोथी अनपाम) को वर्तमान दिनचर्याको छोटो कथा हो । भाले र पोथीको साइनु लोग्ने र स्वास्नीको छ । यी सेकुवा मनपर्ने प्राणी अन्तर्गत पर्छन्, किनभने मलामी नगएका बेला यो जोडीबाट सेकुवाको बहुत प्रशसा भएको पाइन्छ । हिजोआज बजारमा जताततै आँखा फुलो पर्ने गरी ह्रास आउने गरेको सेकुवाको ‘गन्ध’ साई यस जोडीले ‘बास्ना’ भन्छ र यसलाई नेपालको ठूलो प्रगति र सभ्यता ठान्छ ।

‘हाम्र देशाँ लोकतन्त्र आउनाले ठूलो पर्गती भएको छ’ भनेर फुइँ लडाउन भालेपोथी दुवै खप्पीस छन् । यस जोडीले लडाएका फुइँहरूमध्ये एउटा महत्वपूर्ण फुइँलाई यहाँ तेर्साउने जमर्को गरिएको छ ।

सप्पैभन्दा पहिले सर्वपर्थम फस्ट कुरा के छ भन्देखुन मलामी जाने कुरामा लोकतन्त्र ल्याउनुपर्छ’ यो पहिलो खोकाई हो यस जोडीको । तर सबैथोक एकैचोटी गर्नुपर्छ भन्ने कुरामा चाहिँ अनपाम जोडी सहमत देखिँदैन । ‘मान्छेलाई भनेर होइन गरेर देखाउनुपर्छ’ लाई यस जोडीले प्राथमिकता दिएको छ ।

मान्छेलाई अर्तिबुद्धि दिने क्रममा यो जोडी भन्छ, ‘एकोहोरो शङ्ख बजेको मुन्नेबित्तिकै मलामी हिंडीहाल्नुपर्छ । यसमा आफ्नो अर्को भन्नु हुँदैन । मलामी जाँदा भोकै जानुपर्छ फर्किएर आउँदा अघाएर आउनुपर्छ, भन्ने कुरालाई यस जोडीले अक्षरशः पालना गरेको छ । केइ खाइदिएन भने विचराले पितृका नाममा मलामी स्वाउन लगेको सामान बर्बाद हुन्छ । यस्तो पाप कर्म गुर्नुहुँदैन । यो पोथी अनपामको भनाइ हो । यस भनाइप्रति भालेको पूर्ण समर्थन देखिन्छ ।

मलामी जाँदा जस्तातस्ता लुगा लगाएर जानु हुँदैन । जागिर खाने, पढ्ने, पढाउने जस्तै मलामी जाने काम पनि चानचुने होइन, त्यसैले यसमा पनि पोशाकको व्यवस्था अनिवार्जे गर्नुपर्छ भन्ने कुरामा यो जोडी एकमत देखिन्छ । ‘आजका मन्त्री, सांसद, कर्मचारी जादिले राष्ट्रिय पोशाक लाउन छोडे भन्दैमा हामीले छाड्नु हुदैन’ भनेर दरो वकालत गर्छ यस जोडीले ।

मलामी जानकै लागि भनेर यस जोडीले भालेका लागि एक जोर सुट, फिटराइट कम्पनीका एकजोर छालाका जुत्ता, एउटा कालो चस्मा र एउटा टाईको व्यवस्था गरेको छ भने पापीका लागि कालो पेन्ट, सेतो सर्ट, कालो चस्मा र अग्लो हिलवाला स्याण्डल किनेको छ । टाईका ठाउँमा सल किनेको रहेछ पोथीका लागि, रीसका भवाँकमा टाई लगाएर झुन्डिए भने वित्यास पर्छ भनेर होला ।

एकोहोरो शङ्ख बजेको सुन्नेबित्तिकै भाले र पोथी आ-आफ्नै काममा व्यस्त हुन्छन्- भाले जुत्तामा पालिस लगाउन र पोथी गालामा लाली पाउडर, आँखामा गाजल, ओठमा लिपिस्टिक, नङमा पालिस लगाउन र अलेली भएका गहना सहना भिर्न ।

‘तात्तो न छारो खाली खुट्टा हिँड्न कति गाह्रो’ भन्दै छालाका जुत्ता, स्याण्डल पाक लगाएर लोकतन्त्रको समर्थन गर्न मलामी जाँदैपिच्छे जनपाम जोडीले मलामीलाई आह्वान गरेको सुनिन्छ । भाल अनपामले कनैबेला कुर्लेर जुत्ता नलाई खाली खुट्टा मलामी जाने मान्छे लोकतन्त्र विरोधी हो प्रतिगमनको मतियार हो भनेका सुनेर अधिकांश मलामीहरू छालाकै जुत्तामा मलामी जान थालेका छन् । पोथी अनपामको सिको गर्ने महिलाहरूको सङ्ख्यामा पनि कम देखिँदैन ।

पोथी अनपामको बानी व्यहोरा र क्रियाकलाप पनि भालेको भन्दा बढी नै छ । पोचीको एउटा बानी देखेर सबै अचम्म मान्छन् । कसैले तपाईं कति वर्ष पुग्नुभयो बैनी भन्यो भने कुममा प्याट्ट हिर्काएर मस्किदै ‘पैंतीस’ भनेको सुनिन्छ, तर यसो विचार गर्दा जिउडालले पचपन्न भन्दा माथिकै देखाउँछ । बिसे, बाइसे केटाले समेत ‘दिदी’ भन्नु हुँदैन । रातो दलेर आफ्नु उमेरलाई डोकाले छोप्ने कलामा पोचीलाई खप्पीस नै मान्न सकिन्छ । मलाम जाँदा चिटिक्क परेको छालाको ब्यागसमेत भिर्ने गरेको देख्ता भालेभन्दा एक कदम अगाडि पोची रहेको पाइन्छ ।

मलामी जादा भालेपोथी सँगै जान्छन् र फिर्दा पनि सँगै फिर्छन् । यो जोडीको एउटा मारै राम्रो बानी छ, किनभने यसले लाश कहिल्यै छुँदैन । मलामीले लाश बोक्नैपर्छ भन्ने रुढीलाई यस जोडीले हाँक दिएको छ । अचेल यस जोडीले पछि लाग्ने धेरै भइसके । एक सय मलामीमा पाँच जनाले पनि लाश बोकेको नपाइनुमा ‘अनपाम’ जोडीको सक्षम नेतृत्व जिम्मेवार छ । पछि गएर छोराछोरीबाहेक अरुले लास बोक्नु नहुने भन्ने क्रान्तिकारी परिवर्तन र नयाँ रुपान्तरण हुनसक्ने कुरामा आशावादी हुन सकिन्छ ।

यस जोडीको प्रमुख उद्देश्य दुईवटा रहेको पाइन्छ । एउटा ‘मलामीमा पोसाक प्रदर्शनी हो भने अर्को के हो भने पाठक स्वयंले छुट्याउनुपर्छ ।

घाटमा लास पुर्‍याएदेखि दागबत्ती नदिउन्जेलसम्म हरेक कुरा कथुरेर मलामीलाई आफूतिर आकर्षित गर्न यो जोडी व्यस्त देखिन्छ । आ-आफ्नै किसिमले मलामीलाई मन्त्रमुख पार्न यो जोडी अरुभन्दा निकै अगाडि रहेको छ । शङ्ख बजाएर लासलाई चिताको वरिपरि घुमाउन थालेपछि अरुझैँ यो जोडी पनि उठ्छ अरुले गरेझैँ गर्छ । दागबत्तीपछि मृतकका आफन्तजन रुन, कराउन थाल्छन् यही मौका छोपी लुसुक्क उँभोतिर लाग्छन् जोइपोई। भाले अनपाम मुख पुछेकै गर्छ । सोह्र श्रृङ्गार बिग्रने डरले पोथी ठिङ्ग उभिन्छे खोलातिर फर्किएर । केही क्षणमै दुवै फर्किन्छन् घरतिर । यो जोडीको भाग्य नै यस्तो छ कि मलामी ख्वाउने ठाउँमा आइपुग्दा सर्वत, बिस्कुट, फलफूल बाँड्न थालिसकेका हुन्छन् । उता चितामा लाग चटट गर्दै हुन्छ भने यता बिस्कुट पटट गर्दै हुन्छ एकसाथ ।

नखाई जान खोजेकै नाटक गर्छ यस जोडीले । ‘चितामा भर्खर आगो मात्र लागेको छ कसरी खानु हौँ’ भन्दै दुवै जना खाने ठाउँतिर लाग्छन् ।

‘के ल्याउँ’ कसैले भन्छ ।

चिता पखालेर न्वाइध्वाइ नगरी केइ खानु हुँदैन भनेको छ शास्त्रमा, तर फलफूल खाने काम चाहिँ फुकाएको छ, अब पछिपछि एइ रितले अर्थोक पनि फुकाउँदै लानुपर्छ, हामी दौडेको एस विषयमा ठ्याक्कै मलो मिल्छ । सुन्तोला, स्याउ, अङ्गुर के के छन् ल्याउने न एसो मुख जुठो पार भाले अनपामले एकै सासमा यस्तो भनेको सुनिन्छ ।

क्रियापुत्री र अरु जुठो बार्नेका लागि ल्याएको भएपनि नदिई भएन । दुवैलाई दिन अलेली । त्यति फलफूललाई कप्ल्याक्कुप्लुक र खप्याककुप्लुक पार्न केही बेर लाग्दैन ।

दुवैजना विस्तारै उठ्छन् र मुख पुछ्दै अर्को कुनातिर जान्छन् । त्यहाँ एकजना केटो बिस्कूट बाँडिरहेको हुन्छ ।

‘ए नानी । खोई बिस्कुट र सर्वत ल्याउ त, नखाउँ भने पनि मर्नेलाई भारा लाग्ला । केटाले प्याकेटमा बिस्कुट लिएर अनपाम जोडीका छेउमा आउँछ र एक एक बट्टा बिस्कुट दिन खोज्छ ।

‘नानी । मागेर खाने चलन पुरानु चलन हो । एस्तो रुढीवादी चालचलन बलेली गर्दै छोड्दै लानुपर्छ । लोकतन्त्र आइसकेपछि पनि पुरानै कुराका पछि लाग्नु । तेस्तो पनि लोकतन्त्र हुन्छ ?’

बिस्कुट बाँड्ने केटो अलमल्ल परेर लोग्नेका मुखतिर हेर्छ बेलाबेला उसको स्वास्नीका मुखतिर पनि हेर्छ । पोथी अनपाम मसक्क मस्किन्छे र लोग्नेतिर हेरेर झस्किन्छे पनि । उसले झस्किनाको कारण जान्न चाहनुहुन्छ भने तपाईं पनि मलाम जानुहोस् र झस्किने व्यक्तिलाई नै सोध्नुहोस्, किनभने म शिक्षक हुँ निवृत्त शिक्षक । अँ कुरा अलिकति छुटेछ- त्यो आइमाई मस्किएपछि बिस्कुट बाँड्ने केटो पनि फ्रायडको यौन मनोविज्ञान सम्झेर होला अलेली मस्किन्छ । पूरै मस्किन्थ्यो होला लोग्नेको मुख हेरेर ऊ नझस्किएको भए अथवा ऊ विहेमा पुलाउ बाँड्दै भएको भए ।

‘हेर्ने है नानी ? लोकतन्त्रमा मलामीलाई बाँडिरहने झन्झट गर्नुहुँदैन । यी यसरी आफैँले झिकेर बफे खानुपर्छ’ भन्दै छ बट्टा विस्कुट झिकेर स्वास्नीलाई ३ बट्टा दिन्छ । सर्वतमा चोप्दै खादै, एकैछिनमा छ बट्टा बिस्कुट सफाचट ।

अब लोग्ने-स्वास्नी मुखामुख गर्छन् । पोथी अनपाम जुरुक्क उठ्छे र बिस्कुट बाँड्दै गरेको अर्को मान्छेका हातबाट दुई दुई बट्टा बिस्कुट हाँस्तै थुत्त तान्छे र छाउरी क्याटवाक मा घरतिर जान्छे । भाले अनपाम पनि डाँगो ‘क्याटवाक’ मा छाउरीका पछिपछि लाग्छ ।

०००
सुरुङ्गा, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मुलाको मुरली : एकसरो हेराइ

मुलाको मुरली : एकसरो...

काेमलप्रसाद पोखरेल
दुःख छ अर्थात् खाँचो छ

दुःख छ अर्थात् खाँचो...

काेमलप्रसाद पोखरेल
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
जनता र तेल, नेताको खेल

जनता र तेल, नेताको...

काेमलप्रसाद पोखरेल
बोकाको दाईं

बोकाको दाईं

काेमलप्रसाद पोखरेल
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे