नगिता लेप्चा राईसिरियल
जुन मेगासिरियल धुमधाम चलिरहेछ । सिरियल हेर्दै गयो । तपाई हामी लट्ठिएको लट्ठियै । सिरियलले के भन्न खोजेको त्यसको रहस्य कसैले बुझ्न सक्दैनन् । तरै पनि सिरियल हेर्या छ हेर्या छ ।

नेपालीहरूको निम्ति सिरियल अहिले संस्कृति नै भएको छ । टिभीमा देखाइने सिरियल हेरिएन भने छर-छिमेकमा लाजमर्दो भइन्छ । यसकारण सिरियल हेरिदिनैपर्छ । मध्यवित्त नेपालीहरू विशेषरुपले नारीहरूको कुरा सिरियलबाहेक अरु केही नै हुँदैन ।
कतै पाहुना आए र तिनलाई बजार घुमाउनु लानुपरे आज साँझको सिरियल मिस भयो भन्नेहरू कम्ति छैनन् । नेपालीहरूको मन त्यतिबेला बिग्रिन्छ जब दिनहुँ हेरिने सिरियल मिस हुन्छ । उहिले साथ नछोड्नु गाँस छोड़्नु भन्थे बूढ़ापाकाहरू । अहिले यो उखान ठिक उल्टा भएको छ । अहिले नारीहरूले भनेको सुनिन्छ- गाँस छोड़्नु तर सिरियल चाहिँ कसै गरेर पनि नछोड़्नु ।
हामी नारीहरूलाई एउटै कुरामा डरलाग्दो रिस उठछ । त्यो के भने, जब सिरियल हुँदै गर्दा बिच बिचमा विज्ञापन देखाइन्छ । सिरियलको माझ माझमा देखाइने विज्ञापन नारीहरूको मस्तिष्क धुलाइ गर्ने टनिक हो । यसबारे अरु बखान्नु छैन । म स्वयम् नारी भएकीले म आफ्ना जातको खोइरो खन्न चाहन्नँ । कागले कागको मासु खाँदैन ।
साँच्चै आज हाम्रो साहित्यलाई सिरियलले खाइसकेको छ । अचेल कुनै पनि नारीहरूले नेपाली साहित्यका पुस्तक, पत्र-पत्रिका पढ्न छोडीसके । साहित्य मात्र होइन सिरियलले सङ्गीत समेतलाई एनाकोण्डाले झै निलेको छ । सिरियलमा गीत बज्दैन । सिरयलले कला-संस्कृतिलाई पनि विकलाङ्ग पारेको छ । सर्वग्रासी सिरियलले आज एनाकोण्डाले जस्तो निलिसकेको छ ।
एकजना गुरुआमाले अस्ति भर्खरै आफ्नो दुःख पोख्दै भनिन्, बहिनी तपाईंले यस्तो अकालमा व्यङ्ग्य लेख्नु थाल्नुभयो, तपाईले लेख्नुभएका तपाईका व्यङ्ग्यहरू सबैलाई झोड़ामा फालिदिए पनि हुन्छ । कसैले पढि़दिँदैनन् । सबै नारीहरूलाई सिरियलले मोहनी लगाएको छ । फेरि सिरयल पनि हिजोआज कहाँ गतिलो हुन्छ ऱ ? सब बजैरो लैरालप्पा सिरियल । न कुनै म्यासेज छ न कुनै ज्ञानवर्धक कुरा । शेष पार्यो सब शेष । आजभन्दा बीस-तीस वर्ष साहित्यमा आउऩुभएको भए नाम बिकाएर खानु पाउनु हुनेथ्यो । तपाईंले साहित्यमा अलिक ढिलो गरी आउनुभयो ।
मैले भनेँ, नाम बिकाएर खानु भनेको चैँ ?
गुरुआमा बोलिन्, तपार्इंले साहित्य लेख्नुहुन्छ भनी कतिजनालाई थाहा छ ? भन्नुहोस् त । अचेलका मानिसहरूले साहित्य पढ़्दैनन् । पहिले पहिले साहित्य कस्तो पढ़्थे, साहित्यका किताबहरू बजारमा हट केक बिक्री हुन्थे ।
अब सिरियल तन्काएर, तन्काएर केही छैन । तपाई हामीलाई मूर्ख बनाउनु मात्रै हो । मूल कथा नाम मात्रैको हुन्छ…त्यसको कुनै अन्त्य हुँदैन । हिरो हिरोइन भन्ने स्क्रिनबाट लापत्ता । मात्रै शाखा-प्रशाखा कथा जोड़ेर एपिसोडको धागो गाँठो पार्दै जानु । सात हप्तादेखि ६००-७०० हप्तासम्म तन्काएको तन्क्याइ छ, कुरो केही छैन ।
हिजोआज टिभीमा देखाइने सिरियल राम्ररी ध्यान लाएर हेर्नुहोस् न । अर्थ न बर्थको कथालाई लाबरजस्तो तन्काएर यति फ्यातुलो पारेको हुन्छ । के साह्रो ठग्नु पनि जानेको ! जस्तो कुखुराले अण्डा पार्छे, अण्डाबाट चिङ्ना निस्किन्छ । बस टिभी सिरियलको कथामा बच्चा जन्माइदिनुहोस् । बच्चा केही दिनपछि स्क्रिनमा आफ से आफ खेल्नेछ । त्यसपछि बच्चाको बच्चा । बस बाजे नातिको भयङ्कर खेल सुरु हुन्छ ।
वर्षदेखि वर्षौसम्म सिरियल चलिरहेछ । हिरो बदलिँदैछ । एउटै चरित्रका अर्को कलाकार । अनुहार पटक्कै मिल्दैन ।
जुन मेगासिरियल धुमधाम चलिरहेछ । सिरियल हेर्दै गयो । तपाई हामी लट्ठिएको लट्ठियै । सिरियलले के भन्न खोजेको त्यसको रहस्य कसैले बुझ्न सक्दैनन् । तरै पनि सिरियल हेर्या छ हेर्या छ ।
हामी सिरियलप्रेमीहरू दुगुरिरहेका छौं… दिशाहिन दौड़ । सिरियल रोकिए कसरी चल्ने ?
कारण सिरियल नेपालीको भविष्य हो, अनि टिभी नारीहरूलाई लट्ठयाउने मूर्ख बाकस ।
०००
जलपाईगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest






































