लेखनाथ भण्डारीभो, मलाई सम्मान नगर !
गालामा रातो अबिर पोतेर अतिथिसँग उभिएर फोटो खिचाई देला भन्ने डर छ । त्यही सम्मानको डरले यो पङ्क्तिकार अहिले यतिखेरै यो घोषणा के गरिहाल्छ भने, भो मलाई त्यस्तो सम्मान नगरियोस् । कुनै दोसल्ला वा खास्टो नओढाइयोस् ।

बयान नं. १
सावधान हुनु होला, तपाई साम्मानको नाममा अपमानित भैरहनु भएको पनि हुन सक्नुहुन्छ ।
कसैलाई डाईरेक्ट/प्रत्यक्ष अपमानित गर्न सजिलो मात्र नभएको होईन,अलिक रिस्की पनि छ । चुनौतीपूणर् पनि छ ।
सम्मानको नाममा अर्थात सम्मानको नाटक गरेर पनि कसैले कसैलाई, मैले तपाईंलाई वा तपाईले मलाई अपमानित गरिरहेको हुनसक्छ ।
सम्मानको नाममा अपमानित गर्न सजिलो छ । यसका एक होइन अनेक फाईदा छन् । बहुगुणकारी आयुर्वेदिक औषधीहरू जस्तो । आयुर्वेदिक औषधि यसका जतिसुकै बहुगुण भए पनि यसको अस्तित्व र प्रयोग धरापमा नै छ ।
कसैलाई अपमानित गर्न तपाईलाई मन लागेको छ, तपाईंले उसलाई सम्मानित गरिदिन सक्नु हुन्छ, अझ सक्नु हुन्छ भने उसलाई दोसल्ला र अभिनन्दन नै गर्नुहोस्, साह्रै असल हुन्छ तपाईंको लागि । तर तपाईंले कसैलाई, तपाईंले कसैलाई किन मैले नै तपाईंलाई वा तपाईंले नै मलाई अपमानित गर्न सजिलो छैन ।
सम्मानित गर्न भने अब कुनै गाह्रो पनि छैन । राष्ट्रिय अन्तर्राष्ट्रिय वा स्थानिय टोल समुहमा पनि यस्ता सम्मानका नाटक गर्न अनेक संस्था खुलेका छन् । सक्नु हुन्छ भने तपाई आफैं नै एउटा नयाँ संस्था खोलेर त्यसको प्रमुख हुनुहोस् । तब तपाईंलाई पनि सम्मानको बाढी नै आउने छ । होस के मात्र गर्नु पर्छ भने सम्मानको बाढीले कतै तपाईंलाई नै नबगाओस् । यस्तो पनि नहोस्, मलाई नै पनि बगाउन सक्छ ।
यो मेरो निजी विचार हो । निजी अनुभूति हो । यो विचार र अनुभूति अरु कसैसँग मिल्न पनि सक्छ । यसरी मिल्न गएमा माफ गर्नु होला, जसले भरखरै सम्मानित हुने अवसर पाउनु भएको छ वा जो सम्मानको लाईनमा उभिनु भएको छ ।
बयान नं. २
नामै लिएर भन्नुपर्दा सम्मान ग्रहण गरेर अपनानित हुनबाट जोगिएका एक जना भन्दा दुई जना व्यक्तिको नाम मलाई सम्झना छैन । सम्मान लिएर पनि अपमानित हुनेहरू र सम्मान प्रदान गर्न हलिया-खेतला भएर बदनाम हुनेहरूको नाम लिएर साध्य हुन्न ।
सबैलाई एउटै तराजुमा जोख्न सकिन्न र जोख्न हुन्न पनि तर सबै होइन, अधिकांश सम्मान ग्रहण गर्ने र सम्मान प्रदान गर्ने/उपलब्ध गराउने वा हलिया खेताला अपमानित र बदनाम पात्रका रुपमा समाजमा चिनिंन चिनाउन थालिएको अवस्था बन्दैछ अब ।
नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरीले नेपाली रुपियाँ पचास हजार सहितको एक पुरस्कार/सम्मान बहिस्कार गरेको समाचार सार्वजनिक भएको थियो केही बर्ष पहिले । जुन पुरस्कार/सम्मान ग्रहण गर्दा जति उनको बदनाम हुन्थ्यो, सो बहिस्कार गर्दा निष्ठुरी अरुहरूका नजरमा कस्तो लागे कुन्नी तर यो पङ्क्तिकारका नजरमा भने सम्मानित ठहरे । सम्मान ग्रहण गरेर बद्नाम हुन जोगिएका अति कम मानिसहरूमा एक हुन् निष्ठुरी पनि । यस्ता अन्य बदनाम हुन जोगिएका सबै अज्ञात नामहरू निष्ठुरीहरूलाई पनि मेरो सम्मान छ ।
पारिजात, नेपाली साहित्यमा यो एक सम्मानित नाम हो । पारिजात दिदी (अस्मिता पत्रिकाको सल्लाहकार/स्तम्भकार) सँग त्यति धेरै सङ्गत हुन सकेन यो पङ्क्तिकारको । तर एउटै संस्थामा प्रत्यक्ष/अप्रत्यक्ष संलग्न भएका कारण के थाहा पाएको छु भने उहाँलाई पनि उहाँको आस्था र स्वाभिमान बिरुद्ध सम्मान/पुरस्कार जो दिन खोजिएको थियो, तिनलाई उहाँले अस्वीकार गर्नु भएको थियो । जुन कुरा सार्वजनिक रुपमा नआए पनि कुनै एक सन्दर्भमा पारिजातले यो पङ्क्तिकारलाई पनि उल्लेख गर्नु भएको थियो । अथवा यो सन्दर्भ कतै सार्वजनिक भए पनि यो पङ्तिकारलाई थाहा नभएको हुन सक्छ ।
नेपाली साहित्य र साहित्यकारको अवस्था सम्बृद्ध भैनसकेको पारिजातको टिप्पणिका सम्बन्धमा यो पङ्क्तिकारले अब नेपाली साहित्यमा पनि लाख रुपियाँ बराबरका पुरस्कारको होड़ शुरू भएको चर्चा गर्दा उहाँले भन्नु भएको थियो – तस्कर काला बजारिया र भ्रष्ट जस्ता बदनामहरूले अब बचे-खुचेको लेखक कविको ईज्जत पनि लुट्ने पासो थाप्न थालेका छन । पारिजातको सङ्केत थियो, त्यस्तो एउटा पासो उहाँलाई पनि थापिएको थियो र सो ग्रहण गरेमा तिनले अन्य सहयोगको पनि ढोका खुल्ने प्रलोभन दिन खोजेका थिए । जसप्रति उहाँको तिब्र रोष थियो ।
बयान नं. ३
समाजका लागि राम्रो गर्नेहरूलाई सम्मानित गर्नु राम्रो हो । यो आवश्यक पनि छ,जसले सम्मानित हुन लायक काम गरेको छ वा सेवा क्षेत्र लाग्न चाहने वा आ-आफ्नो विशिष्ट क्षमता विकास/प्रदर्शन गर्नेहरूलाई बल पुग्छ । तर सम्मान कसले कसलाई किन र कसरी गर्ने यसको कुनै मापदण्ड र नियम पनि छैन र हुन्न पनि रहेछ । भएको भए त्यो सबैको आ-आफ्नै तजबिजी हुनेगर्दछ । तर सम्मान जसले जसलाई जुनसुकै कारणले गरे पनि त्यसका हलिया खेतालाहरू भने समाजका प्रतिष्ठित वा राज्यका उपल्लो तहबाट शुरु गरेर (सत्ता-शक्ति) काम चलाउ को पर्ने हो,थाहा नहुन पनि सक्छ । राज्यको तर्फबाट कुनै मापदण्ड बनाएर सिन्कोसम्म नभाँच्ने तर राज्यका उपल्लो तहका जिम्मेवार व्यक्तिहरू हलिया खेताला बनेर हिँड्दा सधैं समाजका लागि राम्रो काम गर्ने व्यक्ति मात्र पर्छ भन्ने छैन ।
सके यो काम राज्यले एउटा मापदण्ड बनाएर त्यही अनुसार गर्नुपर्छ तर जुनसुकै व्यक्ति वा समुहका स्वार्थका लागि खेताला बनेर हिँड्नु राज्यका विशिष्ट वा जिम्वेवार स्थानमा बसेका व्यक्तित्वहरूका लागि सुहाउने काम होइन । उदाहरणका लागि राज्यले लेखक कवि कलाकार वा अन्य समाजसेवी वा विभिन्न क्षेत्रमा विशिष्टता राख्ने प्रतिभाहरूलाई सम्मान गर्नु आवश्यक पनि हुन्छ । तर कसले कसलाई किन सम्मान गरेको हो भेउ नपाउने खेताला बनेर हातमा कैंची र खाता बोकेर हिंडेको अवस्थामा भेटिन्छन् राज्यका विशिष्ठ र वरिष्ठ पदाधिकारीहरू !
खेताला बनेर जाँदा केही साल पहिले एक पूर्व प्रधानमन्त्रीले राज्यले राज्य बिरुद्धको गम्भीर प्रकृतिको अभियोगमा केही समय जेल राखी अदालतले तारेखमा छोडेका एक त्यस्ता बदनाम व्यक्तिलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । पद मुक्त हुँदा भन्दा पदमा नै बहाल हुने दोसल्ला-अभिनन्दन खेतालाको काम अलिक चर्को र दशौँ गुणा नै बढी हुन्छ । अनुमान गरौँ- प्रधानमन्त्री वा पूर्व प्रधानमन्त्री, मन्त्री वा राष्ट्रपतिले यस्ता धन्दा कति गरे होलान् वा दिनहुँ कति गरिरहेका होलान् हँ ? सम्मानको लागि खेताला बनेर हिंड्ने हो भने अखिल नेपाल चोर संघले अखिल नेपाल डाका संघ वा नेपाल पाकेटमार संघले अन्तर्राष्ट्रिय पाकेटमार वा लागु औषध आदि तस्करीवालाहरूले आ-आफ्ना क्षेत्रमा सहयोग पुर्याउनेहरूलाई पनि त सम्मान गर्लान् ! अनि त्यसको खेताला बनेर रास्ट्रपति वा प्रधानमन्त्री दौडिनु कतिको सुहाउला ? सुहाउने र नसुहाउने कुराको बहस पछि गरौंला तर अहिलेको अवस्थामा भने त्यस्ता खेताला बनेर दौडिरहेकै अवस्था हो ।
बयान नं. ४
सम्मानको मोह कसलाई कति हुन्छ, त्यो जसलाई हुन्छ उसलाई पनि थाहा हुन्न रहेछ । नेपालमा अर्थात नेपाली संस्कृति/समाजमा यो कहिले र कसरी भित्रियो होला भनेर खोजी गर्न अलिक गाह्रो पर्ला । म पनि त्यो गाह्रो काममा हात हाल्ने पक्षमा छुइँन ।
सम्मान कतिसम्म भने सँगै हिड्दा पनि, सँगै खाँदा पनि, एउटै मन्चमा बसेर भाषण गर्दा पनि को अघि को पछि भाषण गर्ने भनेर सम्मानको मापन हुने रहेछ । को धेरै बोल्ने र को थोरै बोल्यो पनि सम्मानको सूचक हुने रहेछ । को कति ठूलो पदवालाको कोट र कुम जोडेर बस्ने पनि हुनेरहेछ ।
नेपाली समाज र संस्कृतिमा हाबी हुँदै गरेको यो दोसल्ला वा खास्टो सम्मान अमेरिकी नेपाली समाजमा पनि स-सम्मान भित्रिएको छ । यहाँ त यो यति फस्टाएको छ कि कतिपयका लागि यो नगदे खेति नै भएको छ, जुन धम्क्याएर पनि लिने दिने गरिन्छ भन्ने सुन्नमा आउँछ/आइरहेको छ । कतिपय संस्थाले कतिपय व्यक्तिलाई हरेक नयाँ नेतृत्व परिवर्तनसँगै दोसल्ला र सम्मान गर्ने परम्परा नै छ । यो अपरम्पार परम्परामा यो पङ्क्तिकार संधै डर/लाजले शिर झुकाएर एउटा कुनामा बस्ने गर्छ, कतै त्यस्तो अफर आउँदैन भन्नै नसकिने अवस्था छ ।
नेपालबाट तपाईं आउनु भयो, तपाईंलाई दोसल्ला, अमेरिकाबाट म नेपाल पुगें मलाई दोसल्ला । यो एउटा लेन-देन हो । गिभ एण्ड टेक । जसले जसलाई जहाँ जति पटक गरे पनि हुन्छ । तर नगरी हुन्न, गर्नै पर्छ । उसले उसलाई गर्यो, उसले मलाई गर्यो । मैले पनि उसलाई गरें । उसले भुसलाई पनि गर्यो, मैले जुसलाई गर्न नहुने किन ? हो, उसले मलाई पनि सम्मान गर्न पाउनु पर्छ, मैले पनि उसलाई दोसल्ला खास्टो ओडाउन पाउनु पर्छ । आलो-पालो, ऐंचो-पैंचो । गर्ने नै यसरी र पाउने नै त्यसरी रहेछ, यो पुरस्कर, सम्मान, दुपट्टा दोसल्लाको अपरम्पार कथा ।
फलानो संस्थामा फलानो हुँदा फलानो र मलाई नै पनि कति पटक सम्मान गर्यो । फलानोले त मलाई पनि मेरो सोसाइटीको लागि गरेको कन्ट्रीब्युसनको रेकोग्नाइज्ज गरेको थियो तर यो नयाँ नेतृत्व आएपछि त हामीलाई गन्दै गनेन भनेर गनगन गरेको पनि सुन्नमा आउने गर्छ अमेरिकी नेपाली समाजमा ।
यस्ता सम्मानको अब बाढी शुरु भएको छ- एक जना प्रतिष्ठित नेपाली कलाकारलाई सम्मान गर्छु भनेर एक सम्मान संस्थाको नाइकेले केही हजार लिएर भागेछ, पछि त्यो भगुवाको बजारमा चर्चा चल्न थालेपछि अर्का एक भिक्षुले रहस्य खोले उनको त्यही भगुवाले ओरालो लागेको राजतन्त्रबाट खेताला अभिनन्दन/सम्मान गराउँछु भनेर हजार त हुँदै होइन, एक लाख दुई लाख मात्र पनि होइन,पाँच लाख असुलेको रहेछ । यसरी सम्मानका लागि नेपाली रुपियाँ ५ लाख लगानी गरेर उल्लु बन्नु परेको तथ्य सार्वजनिक भएको छ । आफ्नो लगानीमा आफैं सम्मानको दोसल्ला ओढ्ने मोहमा मै हुँ भन्ने महसुरहरू समेत ठगिएको तथ्य सार्वजनिक भएका छन् ।
आफ्नै पैसामा चिया चमेना, अतिथी आदि इत्यादि भइपरि वा परिपरि आउने सबैका अतिरिक्त सत्कार, पुरस्कार, दोपट्टा, फूलमाला, अबिर, कार्यक्रम स्थलको बन्दोबस्ति, निमन्त्रणा कार्ड र निम्तालु सबै प्रपन्च मिलाएर पनि आफ्नै रोजाईको अतिथिको हातबाट अभिनन्दन/सम्मान ग्रहण गरेर गधालाई भारी पुग्दैन भने झैँ गलाभरिको मालाले अतिथीलाई नै छाँयामा पार्ने गरि धकेल्दै हिँड्ने प्रवृति अमेरिकाबासी नेपालीको संस्कृति अहिलेसम्म बनिसकेको चैं छैन । तर अमेरिकी डलरको भाउसरी अमेरिकाबासी नेपालीको भाउ बढ्दै जाँदा यो दिन त्यति धेरै टाढा नहोला । भाषा, साहित्य, कला, संस्कृति, पत्रकारिता, दान-चन्दा आदिको लगानी सम्भावित उर्वर क्षेत्र हुन् सम्मान लेन देनका ।
साहित्यका लागि लेखक वा पत्रकारलाई उधारो पुरस्कार स्थापना गरेका कारण साहित्य र समाजसेवी कहलिएका एक सज्जन केही साल पहिले प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरू घोसेमुन्टो लगाएर पछाडि पछाडि लुखुर लुखुर गर्दै हिंडेका तर आफ्नै खर्च पानीमा तिनै प्राज्ञहरूको बाहुलीबाट खादा माला र अबिरले पुरिएर तिनै सज्जन भने ढलक ढलक लम्किएको छाँया समाचारमा देखिएको थियो ।
नेपाली समाजमा धेरै परको चर्चा नगरौं, यो पछिल्लो एक दशकको एक छेउको चर्चा नै पर्याप्त होला । यो दशकको नेपाली जनसंख्याको तुलनामा त्यो भन्दा अलिक धेरैको संख्यामा मानिसहरू सम्मानित भएको हुन सक्छ । एउटै मानिस एक पटक होइन, एउटै संस्थाबाट अनेक पटक (हरेक बर्ष नै जस्तो पनि) सम्मानित हुने लाइनमा उभिएको दृश्य धेरै पटक देख्न पाइएको छ ।
सम्मान कसले कसलाई कहिले किन यो कुनै मापदण्डको कुरा भएन । आजीवन सम्मानको मोहले सधैं अपमानको पीडामा रुमल्लिने रोगले ग्रस्तदेखि सम्मानका लागि जुनसुकै मूल्य चुकाएर पनि त्यस्ता कार्यक्रमका आयोजकहरूलाई बसमा पार्नेहरू प्रसस्तै छन् । यो सम्मानको महिमाको अनेक चर्चा गर्न सकिन्छ र गर्दै पनि जाउँला पनि ।
बयान नं. ५
यो सम्मानको अपार महिमा एउटा सानो बयानमा त के हजार जिब्रा भएको भएका सो शेष नागले पनि वणर्न गरि साध्य नहुने देखिन्छ ।
सम्मानको अर्को नाटक यसरी पनि शुरु हुन्छ- हेरक साल केही अमुक अमुक व्यक्ति र संस्थाहरू बर्ष व्यक्तित्वको रुपमा मिडियाहरूमा छाउँछन् । केही टाठा बाठाहरू चाहेरै अर्थात् पैसा खर्च गरेर नै यस्तो धन्दाको पछि लागेका हुन्छन् भने केही लाटा सोझा महत्वाकाङ्क्षी मनुवाहरू भने नजान्दा नजान्दै उम्कनै नसक्ने गरि चक्रब्युहमा चढिरहेका हुन्छन । केही दिन पहिले नेपालको संघीय संसदमा केही सांसदहरूले पनि खादा माला आदान-प्रदान गरेको छाँया समाचारमा देखाइएको थियो । हुनसक्छ, उपराष्ट्रपति निर्वाचनको यो त्यो दृष्यले सांसद सदस्यहरूका झोला होस् वा गोजीमा खादा माला अनिवार्य छ । अरुका गलामा मात्र किन आवश्यक पर्दा आफ्नै गलामा राखिदेऊ भनेर दिन पनि मिल्ने ।
यस्तो लाग्न थाल्यो, अब कसैले अपमानित गर्न हिँड्दा हिँड्दै बाटोमा नै च्याप्प समातेर कुनै कुराको गुह्य नै नदिई ल तँ पनि सम्मानित भइस्, तँलाई पनि मन्त्रीज्यूले दोसल्ला ओढाउने कार्यक्रम छ अगाडि आएर दुई कर जोडी नतमस्तक भइ यो सम्मान ग्रहण गरि आजीवन हाम्रो/मेरो र मन्त्रीको ऋणी रही रहने बाचा गर त भन्ने होइनन् ? रेडिमेड एउटा माला गलामा भिराइ देला र गालामा रातो अबिर पोतेर अतिथिसँग उभिएर फोटो खिचाई देला भन्ने डर छ । त्यही सम्मानको डरले यो पङ्क्तिकार अहिले यतिखेरै यो घोषणा के गरिहाल्छ भने, भो मलाई त्यस्तो सम्मान नगरियोस् । कुनै दोसल्ला वा खास्टो नओढाइयोस् ।
यदि यस बयान सार्वजनिक भएका मितिले यो भन्दा पछाडि यो पङ्क्तिकारलाई कतै कहीं कुनै ज्ञात वा अज्ञात व्यक्ति समुहले सम्मान, दोसल्ला/खास्टो वा अभिनन्दन, दुपट्टा आदि प्रदान गरेको समाचार कतै आए/पाइए सो कि गलत/झुठो ठान्नु होला वा जबरजस्ती गरिएको मान्नु होला ।
खेताला सम्मानको पूर्ण सम्पूर्ण बहिस्कारको यो घोषणा आफ्नै राजिखुसीले गरेको हुँ, तसर्थ मेरा विज्ञ पाठक महोदयले मेरो यो घोषणा कति पनि दुःख नमानी खुसीका साथ अनुमोदन गर्नका लागि पनि आग्रह गर्दछु ।
०००
इति सम्बत सन् २०२३-४- ४, रोज ४
(पहिलो पटक सन् ०८ अगष्ट २००९ मा नेपाली भाषाको पहिलो अनलाइन पत्रिका ‘नेपाली पोष्ट डटकम मा प्रकाशित । समयानुकुल हुने गरि सामान्य संशोधनसहित प्रस्तुत ।- लेखक)
Subscribe
Login
0 Comments
Oldest







































