जुनी भण्डारीजन्मदिन सप्ताह, शुभकामना ग्रेडिङ्ग
फेरि फेसबुकमा शुभकामना र हार्दिक श्रद्धाञ्जली लेख्न मान्छेलाई कति हतार हुन्छ भने नि कहिलेकाहीँ मान्छे हराएको सूचनाको कमेन्टमा पनि ‘रेस्ट इन पिस’ लेखेको देखिन्छ ।

बिहान बिहान चियाको चुस्कीसँगै फेसबुकको न्युज फिड लतार्न त रमाइलै हुन्छ नि । तर यस्तो शुभ अवसर शनिबार वा सार्वजनिक बिदाको दिन मात्र पाउँछु मैले । नत्र त एक हातमा चियाको कप, अर्को हातमा तरकारी चलाइरहेको डाडु हुन्छ । गत शनिबारको घटना हो, बिहान उठेर फ्रेस भइसकेपछि (बिहान त के भन्नु ९ बजिसकेको थियो) एक हातमा चिया र अर्को हातमा मोबाइल लिएर बसेँ । मोबाइलको लक स्क्रिन स्वाइप गरेपछि होम स्क्रिनमा प्रवेश गरेँ । सुरुमा मोबाइलको माथिल्लोपट्टी देखिएका नोटिफिकेसनका संकेतहरूलाई तल झार्दै स्लाइड गर्दै पाखा लगाएँ । पहिले म्यासेन्जरतर्फ एकलट सरर नजर डुलाएँ । ग्रुपका म्यासेजहरू थुप्रिएका थिए । इनारको पानी तलबाट माथितिर ताने जस्तै गरि ग्रुपका हिजोदेखि नहेरिएका म्यासेजहरू माथिबाट तल सार्दै गएँ । हेर्नुपर्ने म्यासेजहरू हेरेर जवाफ दिएँ । म्यासेन्जरका ग्रुपहरूमा गुड मर्निङ्ग सन्देश आइसकेका थिए । पारिवारिक ग्रुपमा चियाको कपको फोटोसँगै- “गुड मर्निङ् फ्रम हेटौंडा” भनेर म पनि सामेल भएँ । हुरुरुरु गर्दै चारवटा टाउकाहरू म्यासेज हेरेको संकेतका साथ तलपट्टी तेर्सो रुपमा लामबद्ध भए । सबैजना निकै शान्त भएर ।
त्यसपछि म लागेँ फेसबुकतर्फ । पहिले नोटिफिकेसनहरूलाई व्यवस्थापन गरेँ । जवाफ दिनुपर्नेलाई जवाफ अनि लाइक गर्नुपर्नेलाई लाइक ठोकेर न्युजफिडतर्फ सवार भएँ म । सररर हेर्दै जाँदा नबिराइकन गन्छु त १३ जनाको जन्मदिनको शुभकामना थियो न्युजफिडमा । मनमनै भने “सरकार ! आजको दिनलाई विश्व मान्छे जन्मिने दिवस भनेर घोषणा गर् ।”
असार साउनमा मात्र धेरै मान्छे जन्मिन्छन् भन्ने लाग्थ्यो अहिले आएर थाहा भयो कि बैशाखको गर्मीमा पनि कम मान्छे त जन्मिएका रहेनछन् । अब जन्मदिन परेका सबैलाई शुभकामना दिँदै जाने हो भने त आजको बिहान नै शुभकामनामा बित्छ । फेरि कसैलाइ दिने कसैलाइ छोड्ने गर्नु पनि भएन । म बडो दोधारमा पर्छु । यसो तल सार्दै जाँदा फेरि वैवाहिक वर्षगाँठका शुभकामनाहरू पनि उत्तिकै देखिन्छन् । सबैभन्दा धेरै कमेन्टहरू फेरि यिनै शुभकामनाका पोस्टहरूमा हुँदा रहेछन् । मलाई भने ढपक्क कमेन्ट ढाकिने गरि ती स्टिकरका तयारी कमेन्ट कहिल्यै गर्न मन लाग्दैन । शुभकामना दिनु नै छ भने मनैदेखि भन्न मन लागेका कुराहरू लेखेर शुभकामना दिन मन पर्छ । शुभकामना दिन मन लागेकाहरूलाई म्यासेन्जरमा वा सम्भव भए फोन गरेरै शुभकामना दिन मन पर्छ । आफ्नै घरका सदस्यहरूलाई त प्रत्यक्ष नै शुभकामना दिइहालिन्छ ।
एउटाले फेसबुकमा शुभकामना पोस्ट गर्छ अनि हुरुरुरु ट्यापिङ्ग कमेन्ट (टाइप नगरिकनै आउने तयारी कमेन्ट) गर्नेहरूको लाइन लाग्छ । अनि जसको जन्मदिन परेको छ उसलाई अर्को ठुलो जिम्मेवारी थपिन्छ । प्रत्येक कमेन्टमा रियाक्ट वा धन्यवाद ज्ञापन । अनि “मलाई शुभकामना दिनुहुने सबैलाई धन्यवाद” भनेर अर्को दिन पोस्ट गर्नुपर्ने । फेरि त्यही पोस्टमा अर्को दिन पनि ‘ह्याप्पी बर्थडे’ भनेर कमेन्ट आउँछन् । यसरी फेसबुकमा जन्मदिन सप्ताह नै चल्छ । शुभकामना आदानप्रदान कार्यक्रम कहिले त एक महिनासम्म चलिरहन्छ । कहिले त कसैले शुभकामना दिएको पोस्ट बुस्ट भइदिन्छ अनि ६ महिनापछि फेरि त्यही फोटोमा ह्याप्पी बर्थडे भन्दै कमेन्टको ओइरो लाग्छ । मिति हेर्नु छैन शुभकामना लेख्न पाए भयो ।
फेरि फेसबुकमा शुभकामना र हार्दिक श्रद्धाञ्जली लेख्न मान्छेलाई कति हतार हुन्छ भने नि कहिलेकाहीँ मान्छे हराएको सूचनाको कमेन्टमा पनि ‘रेस्ट इन पिस’ लेखेको देखिन्छ । कहिले त क्राउन लगाएको, टिका लगाएको बच्चाको फोटो पोस्ट गर्नुपर्छ त्यसमा पनि ह्याप्पी बर्थडे भनेर कमेन्ट आउँछ ।
शुभकामनाका पनि बिभिन्न ग्रेडहरू निर्धारण गरेकी छु मैले । ‘ए प्लस शुभकामना’- आफैले शुभकामनाका शब्दहरू लेखेर म्यासेन्जरमा पठाउने वा फोन मार्फत दिने शुभकामना । ‘ए’ शुभकामना- फेसबुक वालमा या स्टोरीमा फोटो सहित ट्याग गरेर दिइएको शुभकामना । ‘बि प्लस’- जन्मदिन पर्नेको फेसबुक वालमा लेखेर पोस्ट गरिएको शुभकामना । ’बि’ शुभकामना-कसैले दिएको शुभकामनाको टिप्पणी खण्ड (कमेन्ट सेक्शन) मा गएर आफैले दुईचार शब्द टाइप गरेर दिइने शुभकामना । ‘सि प्लस’ शुभकामना- कमेन्टतिर नगइकिन गरिने लभ रियाक्टहरू । त्यसपछि सिधै आउँछन् ‘डि’ ग्रेडका शुभकामनाहरू- जन्मदिनको पोस्ट देख्ने बित्तिकै पठाइने स्टिकर वा तयारी कमेन्टरुपी शुभकामना । यसभित्र एच.बि.डी पनि पर्छ ।
जन्मदिनको पोस्टमा सबैभन्दा धेरै आउने यिनै डि ग्रेडका शुभकामना हुन्छन् । कसैलाई त “ए उसले मेरो पोस्टमा पनि शुभकामना दिएको थियो” भनेर बदला स्वरूप मन नलागे पनि शुभकामना दिनुपर्ने हुन्छ । यिनै करकाप, बदला र मन नलागे पनि दिनुपर्ने शुभकामनाका लस्करहरूको डरले गर्दा मैले फेसबुकमा जन्मदिन मनाउनै छाडें । मनैदेखि दिएको शुभकामना र आशिष पो लाग्छ त । ट्यापिङ् कमेन्टका शुभकामना त व्यवस्थापन गर्न मात्र समयको बर्बादी । बिगत केही बर्षदेखि मैले आफ्नो जन्मदिन फेसबुकमा नदेखिने बनाएकी छु । परिवारका सदस्यहरूलाई त फेसबुकले नदेखाए थाहा भइ नै हाल्छ । परिवारका सदस्यहरूसँग मैले एउटा सहमति गरेकी छु कि फेसबुकमा मैले पनि कसैलाई जन्मदिन, बैवाहिक वर्षगाँठका शुभकामना दिन्न, नरिसाउनु र मलाई पनि कसैले शुभकामना नदिनू । त्यो सहमति पछि जन्मदिन थाहा हुनेबाट म्यासेन्जरमा, फोनमा शुभकामना आउँछन् । अनि ती शुभकामना वास्तविक पनि लाग्छन् । मैले भने प्रायः भ्याएसम्म र देखेसम्म ‘बि’ र ‘सि प्लस’ शुभकामना दिने गरेकी छु ।
हवस् त, अबको एक बर्षसम्म जन्मदिन र वैवाहिक वर्षगाँठ पर्नुहुने सबैलाइ मेरो अग्रिम शुभकामना ।
०००
हेटौडा
Subscribe
Login
0 Comments
Oldest






































