सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भन्किएका झिँगाहरू !

यी कथित पात्रका भुँडीहरू बदनामका सर्टिफिकेट बोकेर नेपाल र नेपालीलाई दोहन गरिरहेछन् अनि भन्किरहेका छन् यिनकै वरपर स्वाद लिई लिई झिँगाहरू !

Nepal Telecom ad

बिहान आँखा मिच्तै जुरुक्क उठेर तुरुक्क गरी सुरुक्क गएँ फेरि शयनकक्षमा । एकछिन ढल्केँ । हिजोआज सबैभन्दा बढी मेरो समय क्वाप्लाक्कै खाइदिने मोबाइल नामधारी वस्तु छ जुन प्राणभन्दा प्यारो छ । त्यही लिएँ र खेलाएँ । बुढीलाई चिया खानुपर्‍यो भनेँ । भुत्भुताउन थालिन्, ‘कसैले नखाएको चिया रहेछ । सधैँ बिहान बिहानै चिया खानुपर्ने ?’

न्वारानदेखिको उठेको रिसलाई थामथुम पार्दै प्राणप्यारीलाई ‘के खानु त नि ? यसो तातो पिउने बानी लाग्यो । कफी खान मन लाग्दैन । तिमी नै भन न के खाऊँ’ भनेँ । बुद्धि भएकैले बुद्धिबाट बुड्डी हुँदै बूढी शब्द बनेको हो कि क्या हो, बुढीले ओठ ठुल्ठुला बनाएर जबाफ फर्काइन्, ‘कोहीले कागज खाए, कोहीले सिसिटिभी खाए, कोहीले सत्तरी करोडका नोटै खाए, तिमीले चिया मात्र खाएर उँभो लाग्दैनौ बुढा ।’

हुन पनि हो बुढीको बुद्धि अन भएपछि मेरो केही लाग्दैन । हजार जिब्रा भएका उनका पूर्वप्रेमीहरूकोे त केही लागेन । उनी थप्दै गइन्, ‘लाउडा खान पनि सकेनौ, ओम्नी खान पनि सकेनौ, क्यान्टनमेन्ट पनि खान सकेनौ, शरणार्थीतिर ढल्केर यसो चस्स चाखेको भए पनि हुन्थ्यो । अहँ खालि घरमा बस्यो, सुत्यो, चिया माग्यो त्यति हो । समृद्धिको नारा लाउँदै जनताको कर लुँड्याएर खाएको भए पनि हुन्थ्यो । सेयर, हिरा, सुन, नुन जे भए पनि खाएको भए आज घरमा चिया मात्रै त खानु पर्दैनथ्यो नि ! चियासँगै यसो बाख्रा पालन भनेर ल्याएको भए खान पाइन्थ्यो, गाई पालन भनेको भए खान पाइन्थ्यो, सुत्केरी भत्ता भन्दै ल्याएको भए चोबेर खान पाइन्थ्यो । होइन, मलाई घरमा ल्याएर दिए पो मैले खान दिने । हुतिहारा ! उनीहरूका जस्तो भाइभतिजा, साला जेठान, काका मामा सन्तान दरसन्तानलाई समानुपातिक, ठेक्का, नियुक्ति, सल्लाहकार, हुक्के बैठके बनाएर राख्तै खुवाएको भए आज तिनीहरूले चटनी खुवाउँथे नि ।’

बुढीले यति अर्तीबुद्धि दिइन् कि म शयनकक्षबाट नगइन्जेल फलाकिरहिन् । म महाकाली, महालक्ष्मी महासरस्वतीका सबै रूप देखेर शक्तिमाताको जय भन्दै समाचार सुन्नुपर्‍यो भनेर टिभी खोल्न पुगेँ बैठक कोठातिर । भुइँमा कागजको टुक्रो खसेको रहेछ । हेरेँ, एनसेल काण्ड, जलविद्युते काण्ड, लिज प्रकरण, वाइडबडी प्लेन, पहाडी मार्ग, केबुलकार सम्झौता, लाइसेन्स छपाइ कमिसन, ३८ क्विन्टल सुन के के हो नबुझिने गरी लेखेका धेरै रहेछन् पढेँ । तिरमिराउँदै पुगेँ बैठक कोठामा ।

च्यातिएको थोत्रो सोफा, दश ठाउँमा आँखा उम्रेका दाइजोबाट प्राप्त पच्चिस वसन्त पार गरिसकेको गलैँचा, असरल्ल किताब, कापी र केही उग्लिसकेका कुनै बेला महान् मानिएका नेताहरूका तस्बिरहरूका माझबाट मतिर हेरेर मास छर्न जानुभएका पिताले तस्बिरबाटै मलाई हकार्दै भन्नुभयो, ‘तैँले न नोट चिनिस् न भोट चिनिस् । साना माछा तारेर, भुटेर, सिलमा उनेर सिद्रा बनाएर न खान जानिस्, न खुवाउन जानिस् । ठुला माछादेखि डराएर स्वतन्त्र रूपमा पौडिन पाइनस् र त आज दुःख पाइस् । सुन्दै छु उनीहरूका त स्कुल, कलेज, अस्पताल, बैङ्क, सहकारी, जग्गा, घर, अपार्टमेन्ट, सेयर कता हो कता अथाह लगानी छ रे, खै तँ त हिजो मलाई पिण्ड नै दिएर भए पनि सुख दिन्छु भन्थिस् तर आज अरूलाई मिटर ब्याज चढाएर डेरा लिएर बस्छस् रे ?’

के के हो के के ? बुढो तस्बिरले उक्काएका सवालहरू सुन्न नसकेर म त ‘मर्निङ वाक जानु छ’ भन्दै निस्किएँ बाहिर । भोट खाने, नोट बाँड्ने, ढलेको सिन्को नउठाउने डलरको खेती गरेर खाने भलादमी सन्त भेटियो वाकिङ पथमा । उनी फलाक्तै थिए, ‘फेरि कोरोना आए जनताका नाममा खान पाउँथेँ, बाढी पहिरो आए यसो आउँथ्यो पाउँथेँ, अरूले होली वाइन खाए तर मलाई पशुपतिको चन्दन पनि मिलेन ।’

उनी थप्दै थिए, ‘ज्येष्ठ नागरिक सम्मान गर्नुपर्‍यो भनेर नातिनातिना मञ्चमा आउँदा मूलासनका पदाधिकारीहरू कान्डैकान्डका नाइकेहरू पो देखिन्छन् बा !’ हुन पनि हो, आदर्श राजनीति नामका हिमायतीहरूका लाउकेहरू चोखा देखिँदैनन् । रेमिट्यान्स खान पल्केकाहरू टिकटकका भाइरल नाइके बन्छन्, पपुलिस्ट म्ुभमेन्ट चलाएर, कौडीमा बिकेकाको अर्ती सुनाउने केही पीतपत्रकार, झोला बोकेका कथित न्यायदाता, सुली सोर्न पछि नपर्ने फुली लगाएका भरौटेहरू, सुरा र सुन्दरीका खेलाडीहरूको रजगजपूणर् गोबरको थाप्रामा असिना परेझैँका अनुहारहरू पिलिक पिलिक टिभीमा देखाउँदा मैले चिया पनि नखाने निणर्य गरी मर्निङ वाकमा जान्छु भनेर आएको त चोकचोक गल्लीगल्लीमा तिनकै विशद् चर्चा सुनेर म फरक्क फर्कें र बुढीकै भुँडी पुराण सुन्न बसेँ ।

भैरव अर्यालले विभाजन गरिदिएका घ्याम्पे, हाँडीघोप्टे, टाकनटुकन र ठन्डाराम भुँडीमा एउटा भुँडी थप्न मन लाग्यो ः तस्करेका लस्करे भुँडी । हास्यव्यङ्ग्य सम्राट भैरव अर्यालले किटानी जाहेरी दिएका भुँडीको नालीबेली पढ्ने भए उनकै जयभुँडी निबन्धको चिनाटिपन हेर्नुपर्ला । तस्करेको लस्करे भुँडी हेर्ने भए टिपन नहेरिएका अख्तियारका फाइल, छिनोफानो नभएका मिसिल, हलो अड्काएर गोरु पिट्ने बिचौलिया, वर्तमान र निवर्तमानका हलीहरूको लावालस्करे तस्करे भुँडीहरू यसभित्र पर्छन् । यी कथित पात्रका भुँडीहरू बदनामका सर्टिफिकेट बोकेर नेपाल र नेपालीलाई दोहन गरिरहेछन् अनि भन्किरहेका छन् यिनकै वरपर स्वाद लिई लिई झिँगाहरू !

झिँगा भन्किएको खाल देखेर म झल्याँस्स बिउँझिएँ ।

०००
२०८०/०२/०२
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई
गाँस

गाँस

ढाकामाेहन बराल
भोक माफिया

भोक माफिया

डा. विदुर चालिसे
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी