साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुक्खलीको प्रणय प्रस्ताव !

फतुरे काका आधुनिक समयको बहावमा बहेर प्रणय दिवसका दिन शुभ साइत पारी पुक्खलीलाई फूल दिन्छन् । पुक्खली त्यो गुलाबको फूल एक वचन नबोली लिएर जान्छिन् पूजा गर्न मन्दिरतिर ।

Nepal Telecom ad

ह्यारी- ८० :

‘तँ माग्ने । तेरो बाउ माग्ने । तेरी आमा माग्ने । तेरा हजुरबाउ माग्ने । तेरा शाखा सन्तान माग्ने ।’ गाली गर्दथे फतुरे काका आफ्नै पल्लारे छिमेकीलाई । हुन पनि हो फतुरे काकाको फतफताइरहने बानी छिमेकी कल्वापुत्री मिसेस पुक्खलीलाई पनि पटक्कै मन परेको थिएन । हुन पनि खोले पकाउँदाको फतफत फत्केझैँ काका रिस उठेपछि फतफताइरहन्थे ।

ऋण लिन बिहान सखारै हिँडेका काकाले कुरकुरे बैंसमा पाइला नटेकेकी पुक्खलीको कम्मरमा रित्तो गाग्री देख्नुपर्‍यो भनेर सत्तो न सराप पनि नगरेका होइनन् । सत्रमा के टेकेकी थिइन् अर्कातिर अलिकति कम्मर देखिने गरी पुक्खली पँधेरातिर रित्तै आइनन् भने पो काकाको बिग्रिएको रेडियो खुल्न थाल्थ्यो बा भन्न थालेका थिए जोरीपारीहरू । उमेर पनि गाली खाने र माया गर्ने साधन रहेछ हगि ? ढोडबारीमा ढोडे टावरको शिलान्यास होस् वा समापनको उद्घाटन गर्दा होस् वा घाँससँग हँसिया जुधाउँदा पुक्खली कहिले ‘अरेली काँडाले च्वास्सै च्वास्सै’ गीतका तालमा नृत्य गर्दथी भने कहिले ‘तिम्ले धोका दियौ भने महाकसम कट्टा हान्दिन्छु’ भन्दै गीत गाउँथी ।

नाक पनि चुच्चो अनि घरको नक्सा पनि चुच्चो भएकाले होला कोही कोहीले चुच्चेबा भन्दा पनि काका मुसुमुसु हाँस्दै जुँगा मुसार्थे । उनी गाउँभरि कहिले फूल माग्थे, कहिले तरकारी माग्थे । पहिले आगो माग्थे अहिले नुनदेखि सुनसम्म माग्दै छन् । यही मुलुकमा उनले तीन गाउँका तीनओटी त छोरी नै मागेर पन्चैबाजा बजाएर विवाह गरिसकेका छन् । भ्यालेन्टाइन डे भनेको कुन चराको नाम हो थाहै भएन । तर पनि उनी पुक्खलीसँग जिस्कन कहिल्यै छोडेका थिएनन् ।

विवाह गरेकै दिन विप्रेषण रकम लिन विदेसिएका पुक्खलीका पतिले आजसम्म त्यस घरमा पाइलो टेकेका छैनन् । न त पुक्खलीले धर्म छोडेकी छे न कसैलाई कर्के नजर लगाएकी छे । हो पुक्खली नाचिदिन्छे, गीत गाइदिन्छे, बेपर्बाह आफ्नो शिरदेखि पाउसम्म अङ्गप्रत्यङ्ग स्त्रीसुलभ नखरा पार्दै नृत्य गरिदिन्छे मेलापर्व र चाडबाडमा । कोक्रामा पनि नाचेकै त हो नि, नाच्छु त कसको के बिगारेकी छु र मैले भन्दै हाँसी हाँसी झट्का दिन्छे पुक्खली । यसैमा उसलाई आत्मसन्तुष्टि छ । गाउँभरि दाइ, भाइ, दिदी, काका, आमा आदि नाता लाउँदै सबैलाई यथोचित सम्मान पनि गर्छे । केवल उसले श्रीमान् भनेर गाउँकालाई भन्न चाहिँ पाएकी छैन । साँच्चै भनुँ भने धेरै नेपाली नारीको पहिचान दिएकी छ पुक्खलीले ।

पुक्खली दर्पण देख्तै पनि छे, हिजोआज सीमा नाघ्ने गरी स्वतन्त्रताको लहर छाएको छ । यसले धेरैलाई नङ्ग्याएको छ । कपडा छोटो पारिदिएको छ, बटारिएर अन्तै पुगेको छ कपडा पनि । बोलीमा मिठास उकुचिएको घाउझैँ भएको छ । शृङ्गारमा उच्छृङ्खलता छ । भ्यालेन्टाइनमा फूल दिऊँ दिऊँ लागेका केही व्यक्ति उसले पनि देखेकी थिई तर आँट गर्दा नगर्दै धेरैले तिनीहरूले पूmल लिने र पछि ब्रेक अप गर्ने गरेको पनि उसले नदेखेकी होइन । अदालतमा पारपाचुकेका घटना दिन दुइगुना रात चौगुना बढेको समाचार नपढेकी पनि होइन । निखारिएर भन्ने हो भने उसले भ्यालेन्टाइन डे शब्दलाई टाइनी उमेरमै नैतिक भ्यालु घटाउने काम गर्ने दिन भएकाले भ्यालेन्टाइन डे बनाएका होलान् भन्ने विषयलाई बुझेकी छ पुक्खलीले ।

कहिलेकाहीँ पुक्खलीले प्राचीन रोमका सम्राट् क्लाउडियस द्वितीयविरुद्ध विद्रोह गर्ने एक सन्त होलान् भन्ने सोचेकी थिइन् फतुरे काकालाई उनले । मान्छेको मन न हो कहिलेकाहीँ बरालिन सक्छ, परिवर्तन हुन सक्छ । पुक्खलीले पनि फतुरे काकालाई काकाको साइनो दिँदै प्रणय प्रतीककै रूपमा स्वीकार गरौँ कि भन्ने पनि नसोचेकी कहाँ हुन् र तर पनि एकपटक बन्धनमा बाँधिइसकेको मान्छेलाई समाजले अग्निरेखा बनाइदिइसकेको हुँदा त्यो सीमा नाघ्नुहुन्न भनेर प्रण गरिसकेकी थिई उसले । उसले निर्मलाहरूका काण्ड, भू्रण हत्याकाण्ड जस्ता काण्ड सुनेकी र बुझेकी पुक्खलीले बाटो बिराएकी छैन त ऊ समाजमा निर्धक्क मन फुकाएर नाचिदिन्छे, कम्मर दश ठाउँमा भाँचिदिन्छे । वैवाहिक जीवनको धागोमा पुनः बाँधिन आएका धेरै प्रस्ताव पनि सामाजिक सञ्जालीय प्रस्तावलाई पनि ठाडै अस्वीकार गर्दै आफैँ रमाएर सामान्य जीवनमै ऊ बाँचेकी छ आजसम्म ।

चालिस कटेका चालिसे, पतिवियोगी विधुर, बुढ्यौली विवाहबन्धनका लागि आतुरहरू वा यस्तै वैविध्यताले साइत नजुरेकाहरूले हात माग्न आए पनि उसले जज्ञमा बसेर स्विकारेकी थिई त्यही स्वदेशको पर्खाल नाघी कहिल्यै नफर्केपछि जीवन एक्लै जिउने वाचा गरेकीले कुनै पनि प्रस्तावबाट टसको मस भइन । बाटामा उड्ने यस्ता पुतलीको फिरफिरे माया उसको कल्पनाभन्दा बाहिरको माया थियो । मायाको गुरुत्वाकर्षण बढाउनेले बढाए पनि उसले त्यो चुम्बीय शक्ति सञ्चय गरेरै राखेकी थिई । हुन त लाखौँ गुलाबका फूलहरूमाझ ऊ पनि फव्रmेकी थिई । समाज यसरी नै व्यवस्थित हुन्छ मानौँ अधिकांश पुक्खलीहरूले सजाएका छन् एउटा घेराभित्र सीमाबद्ध बनिकन ।

फतुरे काकाले चालै पाएका थिएनन् कि उनले गरेको पहलो प्रेम, लुकेर गरेका एसएमएस, रोजेर पठाएका शब्द शब्दका गुच्छहरू, सपनाका कुतकुतीहरू अझै पुक्खलीका लागि बेकम्मा बनिरहेका छन् । उता श्रीकृष्ण र राधाका कुरा, मुना र मदनका कुरा सुनेकै हो । रोमियो र जुलियटका विषय लैला र मज्नुका कहानी कथिएकै थियो तर पनि आफ्नै अधुरा पे्रमिल कथा भने उनिएका थिएनन् पुक्खलीका ।

सम्मान, विश्वास अनि जीवनको बचाइको एउटा कारण हो माया । तर त्यही मायाका लागि समर्पण गर्न हो वा आशक्तिका लागि काकाले आज हिम्मत गरे पुक्खलीलाई गुलाबको फूल दिन । सधैँ माग्न जानेका काकाले आज दिन लागेको फूलमा माया थियो वा वासना, पुक्खलीले खुट्याउन सकिन । ऊ त केवल जान्दथी आफ्नै समाजले बनाएदिएको अग्निरेखा जसलाई उसले पार गर्नुहुँदैन ।

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस तपाईँले मनाउनु भएको दिवस हो कि होइन ? सदा विश्वबन्धुत्वको भावबाट अनुप्राणित हाम्रो समाजले जति एकापसमा प्रणय गर्न कसले जानेको होला र ? फतुरे काका आधुनिक समयको बहावमा बहेर प्रणय दिवसका दिन शुभ साइत पारी पुक्खलीलाई फूल दिन्छन् । पुक्खली त्यो गुलाबको फूल एक वचन नबोली लिएर जान्छिन् पूजा गर्न मन्दिरतिर । केही सँगीहरू फूलमा आफूलाई देख्न थाल्छन् तर पुक्खली फतुरे काकाले दिएको गुलाबको फूलमा आफ्नै विदेशिएको पति देख्न थाल्छे र दिनभर प्रणय दिवस मनाउँछे पति वियोगमा त्यही फूल अँट्ठ्याएर ।

०००
गोकर्णेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x