ह्यारी- ८०विज्ञापनको सान !!
आखिर विज्ञापनले नै सबैतिर फलिफाप भइराख्या छ क्यारे । शरीरका अङ्ग अङ्गको विज्ञापन गरेर कतिले के के कुम्ल्याएका छन् । विज्ञापनको करामत देखेकैँ छौँ सबैले ।

ह्यारी- ८० :
जमाना नै कि ज्ञापनको छ कि विज्ञापनको छ त म के गरूँ ! आफ्नो डम्फु आफैँले बजाउनै पर्यो । नबजाए त अर्काले ‘मौका पाएँ’ भन्दै बजाइहाल्छ । जसले डम्फु बजायो काम गरेको साख पनि उसैलाई जान्छ, पगरी पनि उसैले गुँथ्छ । गाउँदेखि सहरसम्म विज्ञापन गरेर ताली कम र गाली बढी खाएका फतुरे काकालाई स्टेजमा धमाका गरेँ भन्ने लागेर होला, उनले दर्शकलाई ताली बजाउन सङ्केत गरे, जोडसँग बजाउनुहोस् भने । आयोजकले ‘ताली !!!’ भन्नेबित्तिक्कै परररर बजिहाल्यो ! सबैसँग ताली मागेपछि मात्र गाली गर्दै सके धारे हात लगाउँदै ताली बजाउने दर्शकलाई पनि के भन्नु र, गायकको विज्ञापन त जसरी नि गर्नु नै परिहाल्यो । मागेर ताली खान पल्केकाले ताली बजा भन्नु कुन नौलो कुरा भयो र भन्नुहोला ?
गुरुदेखि चेलासम्म, नेतादेखि जनतासम्म, हाकिमदेखि कारिन्दासम्म एकसे एक ताली माग्नैका लागि जन्मेकाहरूले अनि यो कलियुगका ठुल्ठुला कन्सर्टेहरूले ताली माग्नु अधिकारै भइसक्यो । नढाँटी भनूँ भने ताली विज्ञापनको द्योतक हो ।
विज्ञापनबाटै अर्बौ खर्बौ मात्र कमाउनेहरूका लागि त यो शताब्दीको धनको मुहान भनेकै विज्ञापन हो । एउटै मूल मन्त्र भनेकै विज्ञापन हो । यो उपियाँदेखि रुपियाँसम्म, बलरदेखि डलरसम्म कमाउने एक मात्र सजिलो काइदा भनेकै विज्ञापन गर्नु हो । त्यसैले विज्ञापन नभई टेलिभिजन, रेडियो, कुनै पनि खेलका आयोजक प्रायोजक कोही पनि बाँच्न सक्तैनन् नै । अपवादमा के भने उपचारका पर्खाइमा बसेका पद ओगटेका नेतालाई चाहिँ विज्ञापन गर्नै पर्दैन लत्ता, भत्ता र सत्ताका लागि । दलीय नजरले कि ज्ञापन पत्र कि विज्ञापन एउटा चाहिँ रोज्छ । हो नि नभएको गुदी बिकाउन त विज्ञापन गर्नै पर्छ । आखिर गुदी छोप्ने त बोव्रmा हो ।
विज्ञापन कलियुगको बोक्रा हो । कि ज्ञापन पत्र बुझाउनुपर्छ कि विज्ञापन गर्नुपर्छ । हिजोआज मै हुँ भन्ने नेताको पनि गुदी विदेशी बोक्राले छोपिएकाले खुर्कन गारै छ क्यारे । विज्ञापन नगरी नगरी सुटुक्क केही गर्न पाइन्छ भने सीमा, सन्धि अनि गुटबन्दी । अब जनता नेता खोजेर भाषण गराउनुपर्छ, ताली पिटाउनुपर्छ भन्ने सोचमा छैनन् भन्ने बुझेरै विज्ञापन गरिन्छ कार्यक्रमको । पुरानो नेतो त हो नि भन्दै दौडेर भाषण सुन्न कुन चाहिँ साधारण दौडेर आउँछ र ? आउँदैनन् भनेपछि विज्ञापन गराउनु परेन त झोले र धोक्राेमार्फत् ।
जमाना नै विज्ञापनको छ भनिस् नि भन्नुहोला तर विज्ञापन गर्दा गर्दा झुटो हो, यसले माखो नि मार्दैन भन्ने भएपछि फेरि एक समयपछि नपत्याउलान् कि भन्ने डरले मात्र कुरो कोट्याएको हुँ । रेडियो किन ? टिभी किन ? सामाजिक सञ्जाल किन ? विवाहमा वरको वा वधूको विज्ञापन गर्नु किन ? हो, यो नौलो कुरा होइन, खसी र बोकाको विज्ञापन खाद्य संस्थानले गरेर पनि यसको बिक्री नभएझैँ हिजोआज हुनेवाला वर र वधूको जति नै विज्ञापन गरे पनि शुभसाइत आएको पाइँदैन । साइत आइहाले पनि अनि विवाह भइहाले पनि टिकटक र फेसबुक, इन्स्टाले अर्कैसँग साइनो गाँस्न बेर लाउँदैन विज्ञापनले । त्यस्तालाई भ्यालेन्टाइन डे पर्खन नसक्ने अवस्था आएको देखिन्छ नि ।
यो समयको विज्ञापन हो कि विज्ञापनको समय हो जे भए तापनि आफ्नो आवश्यकताका लागि विज्ञापन आउने नै भयो । स्वतन्त्रता पनि कति प्यारो छ भने श्रीमती माइत गए वा श्रीमान् बाहिर वा विदेश भ्रमणमा गएदेखि रिलेसनमा बस्न विज्ञापन गर्ने वर वा वधूलाई विज्ञापनको महत्त्व थाहा छैन होला पनि भन्न सकिन्न । वास्तवमै विज्ञापनले सुसूचित गर्छ अनि निषेधित पनि गर्छ । शौच गर्नेदेखि आशौच बार्नेसम्मका व्यक्तिका लागि विज्ञापन अपरिहार्य छ । विज्ञापन गर्दा नै चामलको साटो पिठो बिक्छ ।
पत्नी वा पतिदेखि उपकुलपतिसम्मका विज्ञापन पनि त हेर्ना हुन्छन् यहाँ । अब त झोलेलाई होइन, विज्ञापन गरेर भए पनि धोक्राेलाई छनोट गर्नुपर्ने हुन्छ । धोक्राभरि पैसा नबुझाई कुनै पद वा टिकट नपाइने हुँदा धोक्रा बोकेर गाउँ गाउँ पसेकाले यिनलाई धोक्राे भनिएको रहेछ । झोले भन्ने शब्द नै तित्राको मुखै वैरी भनेजस्तै भएकाले अब धोक्राे भन्नु वैधानिकताभित्र पर्ने भएको छ । राजनीतिक वृत्तभन्दा बाहिरका धोक्रा मानिसले पाउन त गारै छ तर पनि सिधै झोले खोज्नुभन्दा शिष्ट लवजमा धोक्राेलाई नियुक्ति दिए निर्मम निर्ण हुने छैन भन्ने हामीलाई लाग्या छ । शब्दकोशबाट झोले शब्द हटाउन माग राखौँ न ओम् शब्द राख्ने र नराख्ने बहस गर्नुभन्दा । झोलेका सट्टा धोक्राे राखे झोलेको पनि सान बढ्थ्यो । झोलेको खुला विज्ञापन गरेर धोक्राे बनाइदिऔँ न, टन्टै साफ ।
सुन पनि धोक्रामा, किताब पनि धोक्रामा, पैसा पनि धोक्रामा, मकैभित्र घुन भएर के भयो त आलुभित्र सुन ओसारेकै छ क्यारे । त्यसैले अब आलु विज्ञापन गर्दा राम्रो होला । घुसदेखि भुससम्म धोक्रामा धोक्रामा आउने भएपछि किन राजनीतिक दाउपेचका लागि झोले शब्द प्रयोग गर्नु हँ ? अब धोक्राको विज्ञापन गरौँ न ।
देवकोटाले बोक्रे भलाद्मी बखान गरेको उहिल्यै हो । अर्याल महोदयले आलुको चर्चा गरेकै हो अहिले यी स्वनाम धन्य दुवैको फ्युजन गरेर ‘भलादमी आलु’को विज्ञापन गर्नुपर्ला त ? आखिर विज्ञापनले नै सबैतिर फलिफाप भइराख्या छ क्यारे । शरीरका अङ्ग अङ्गको विज्ञापन गरेर कतिले के के कुम्ल्याएका छन् । विज्ञापनको करामत देखेकैँ छौँ सबैले । अब कसैको होइन, विज्ञापनदेवीको जय भनेमा नै सबैको कल्याण हुन्छ भन्नेमा दुई मत छैन । त्यसैले जसले जति सकिन्छ, न्वारानदेखिको बल लगाएर विज्ञापन गरौँ । कलिको मान विज्ञापनको सान !
०००
२०८० फागुन १९
गोकर्णेश्वर- ५, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest












































