साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विज्ञापनको सान !!

आखिर विज्ञापनले नै सबैतिर फलिफाप भइराख्या छ क्यारे । शरीरका अङ्ग अङ्गको विज्ञापन गरेर कतिले के के कुम्ल्याएका छन् । विज्ञापनको करामत देखेकैँ छौँ सबैले ।

Nepal Telecom ad

ह्यारी- ८० :

जमाना नै कि ज्ञापनको छ कि विज्ञापनको छ त म के गरूँ ! आफ्नो डम्फु आफैँले बजाउनै पर्‍यो । नबजाए त अर्काले ‘मौका पाएँ’ भन्दै बजाइहाल्छ । जसले डम्फु बजायो काम गरेको साख पनि उसैलाई जान्छ, पगरी पनि उसैले गुँथ्छ । गाउँदेखि सहरसम्म विज्ञापन गरेर ताली कम र गाली बढी खाएका फतुरे काकालाई स्टेजमा धमाका गरेँ भन्ने लागेर होला, उनले दर्शकलाई ताली बजाउन सङ्केत गरे, जोडसँग बजाउनुहोस् भने । आयोजकले ‘ताली !!!’ भन्नेबित्तिक्कै परररर बजिहाल्यो ! सबैसँग ताली मागेपछि मात्र गाली गर्दै सके धारे हात लगाउँदै ताली बजाउने दर्शकलाई पनि के भन्नु र, गायकको विज्ञापन त जसरी नि गर्नु नै परिहाल्यो । मागेर ताली खान पल्केकाले ताली बजा भन्नु कुन नौलो कुरा भयो र भन्नुहोला ?

गुरुदेखि चेलासम्म, नेतादेखि जनतासम्म, हाकिमदेखि कारिन्दासम्म एकसे एक ताली माग्नैका लागि जन्मेकाहरूले अनि यो कलियुगका ठुल्ठुला कन्सर्टेहरूले ताली माग्नु अधिकारै भइसक्यो । नढाँटी भनूँ भने ताली विज्ञापनको द्योतक हो ।

विज्ञापनबाटै अर्बौ खर्बौ मात्र कमाउनेहरूका लागि त यो शताब्दीको धनको मुहान भनेकै विज्ञापन हो । एउटै मूल मन्त्र भनेकै विज्ञापन हो । यो उपियाँदेखि रुपियाँसम्म, बलरदेखि डलरसम्म कमाउने एक मात्र सजिलो काइदा भनेकै विज्ञापन गर्नु हो । त्यसैले विज्ञापन नभई टेलिभिजन, रेडियो, कुनै पनि खेलका आयोजक प्रायोजक कोही पनि बाँच्न सक्तैनन् नै । अपवादमा के भने उपचारका पर्खाइमा बसेका पद ओगटेका नेतालाई चाहिँ विज्ञापन गर्नै पर्दैन लत्ता, भत्ता र सत्ताका लागि । दलीय नजरले कि ज्ञापन पत्र कि विज्ञापन एउटा चाहिँ रोज्छ । हो नि नभएको गुदी बिकाउन त विज्ञापन गर्नै पर्छ । आखिर गुदी छोप्ने त बोव्रmा हो ।

विज्ञापन कलियुगको बोक्रा हो । कि ज्ञापन पत्र बुझाउनुपर्छ कि विज्ञापन गर्नुपर्छ । हिजोआज मै हुँ भन्ने नेताको पनि गुदी विदेशी बोक्राले छोपिएकाले खुर्कन गारै छ क्यारे । विज्ञापन नगरी नगरी सुटुक्क केही गर्न पाइन्छ भने सीमा, सन्धि अनि गुटबन्दी । अब जनता नेता खोजेर भाषण गराउनुपर्छ, ताली पिटाउनुपर्छ भन्ने सोचमा छैनन् भन्ने बुझेरै विज्ञापन गरिन्छ कार्यक्रमको । पुरानो नेतो त हो नि भन्दै दौडेर भाषण सुन्न कुन चाहिँ साधारण दौडेर आउँछ र ? आउँदैनन् भनेपछि विज्ञापन गराउनु परेन त झोले र धोक्राेमार्फत् ।

जमाना नै विज्ञापनको छ भनिस् नि भन्नुहोला तर विज्ञापन गर्दा गर्दा झुटो हो, यसले माखो नि मार्दैन भन्ने भएपछि फेरि एक समयपछि नपत्याउलान् कि भन्ने डरले मात्र कुरो कोट्याएको हुँ । रेडियो किन ? टिभी किन ? सामाजिक सञ्जाल किन ? विवाहमा वरको वा वधूको विज्ञापन गर्नु किन ? हो, यो नौलो कुरा होइन, खसी र बोकाको विज्ञापन खाद्य संस्थानले गरेर पनि यसको बिक्री नभएझैँ हिजोआज हुनेवाला वर र वधूको जति नै विज्ञापन गरे पनि शुभसाइत आएको पाइँदैन । साइत आइहाले पनि अनि विवाह भइहाले पनि टिकटक र फेसबुक, इन्स्टाले अर्कैसँग साइनो गाँस्न बेर लाउँदैन विज्ञापनले । त्यस्तालाई भ्यालेन्टाइन डे पर्खन नसक्ने अवस्था आएको देखिन्छ नि ।

यो समयको विज्ञापन हो कि विज्ञापनको समय हो जे भए तापनि आफ्नो आवश्यकताका लागि विज्ञापन आउने नै भयो । स्वतन्त्रता पनि कति प्यारो छ भने श्रीमती माइत गए वा श्रीमान् बाहिर वा विदेश भ्रमणमा गएदेखि रिलेसनमा बस्न विज्ञापन गर्ने वर वा वधूलाई विज्ञापनको महत्त्व थाहा छैन होला पनि भन्न सकिन्न । वास्तवमै विज्ञापनले सुसूचित गर्छ अनि निषेधित पनि गर्छ । शौच गर्नेदेखि आशौच बार्नेसम्मका व्यक्तिका लागि विज्ञापन अपरिहार्य छ । विज्ञापन गर्दा नै चामलको साटो पिठो बिक्छ ।

पत्नी वा पतिदेखि उपकुलपतिसम्मका विज्ञापन पनि त हेर्ना हुन्छन् यहाँ । अब त झोलेलाई होइन, विज्ञापन गरेर भए पनि धोक्राेलाई छनोट गर्नुपर्ने हुन्छ । धोक्राभरि पैसा नबुझाई कुनै पद वा टिकट नपाइने हुँदा धोक्रा बोकेर गाउँ गाउँ पसेकाले यिनलाई धोक्राे भनिएको रहेछ । झोले भन्ने शब्द नै तित्राको मुखै वैरी भनेजस्तै भएकाले अब धोक्राे भन्नु वैधानिकताभित्र पर्ने भएको छ । राजनीतिक वृत्तभन्दा बाहिरका धोक्रा मानिसले पाउन त गारै छ तर पनि सिधै झोले खोज्नुभन्दा शिष्ट लवजमा धोक्राेलाई नियुक्ति दिए निर्मम निर्ण हुने छैन भन्ने हामीलाई लाग्या छ । शब्दकोशबाट झोले शब्द हटाउन माग राखौँ न ओम् शब्द राख्ने र नराख्ने बहस गर्नुभन्दा । झोलेका सट्टा धोक्राे राखे झोलेको पनि सान बढ्थ्यो । झोलेको खुला विज्ञापन गरेर धोक्राे बनाइदिऔँ न, टन्टै साफ ।

सुन पनि धोक्रामा, किताब पनि धोक्रामा, पैसा पनि धोक्रामा, मकैभित्र घुन भएर के भयो त आलुभित्र सुन ओसारेकै छ क्यारे । त्यसैले अब आलु विज्ञापन गर्दा राम्रो होला । घुसदेखि भुससम्म धोक्रामा धोक्रामा आउने भएपछि किन राजनीतिक दाउपेचका लागि झोले शब्द प्रयोग गर्नु हँ ? अब धोक्राको विज्ञापन गरौँ न ।

देवकोटाले बोक्रे भलाद्मी बखान गरेको उहिल्यै हो । अर्याल महोदयले आलुको चर्चा गरेकै हो अहिले यी स्वनाम धन्य दुवैको फ्युजन गरेर ‘भलादमी आलु’को विज्ञापन गर्नुपर्ला त ? आखिर विज्ञापनले नै सबैतिर फलिफाप भइराख्या छ क्यारे । शरीरका अङ्ग अङ्गको विज्ञापन गरेर कतिले के के कुम्ल्याएका छन् । विज्ञापनको करामत देखेकैँ छौँ सबैले । अब कसैको होइन, विज्ञापनदेवीको जय भनेमा नै सबैको कल्याण हुन्छ भन्नेमा दुई मत छैन । त्यसैले जसले जति सकिन्छ, न्वारानदेखिको बल लगाएर विज्ञापन गरौँ । कलिको मान विज्ञापनको सान !

०००
२०८० फागुन १९

गोकर्णेश्वर-  ५, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x