साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्दाको पुकारा !!

पर्दा कसैका लागि लाज छोप्ने साधन बनेको छ, कसैका लागि धन छोप्ने माध्यम बनेको छ अनि कसैका लागि कालो कर्तुतका लागि सहजीकरण गरिदिने साधन बनेको छ ।

Nepal Telecom ad

ह्यारी- ८० :

कुनै पनि काम अरूलाई देखाएर गर्नुभन्दा लुकाएर गर्नु श्रेयस्कर हुन्छ भनेरै पर्दाको अविष्कार भएको हुनुपर्छ । पर्दा काम गर्ने नत्र नगर्ने भएकाले नै पर्दा नामकरण गर्न सकिएको बकम्फुसे इतिहासविद्ले दाबी गरिटोपलेका छन् । मानवाधिकारको उल्लङ्घन भइसकेर पनि ट्वाँ परेर बस्नेले केही नलागेर लास्टाँ विज्ञप्ति निकालेजस्तै घटना घटिसकेपछि पर्दा लगाउने बानीले देशका भ्रष्टहरूका कर्तुत छर्लङ्ग भएको देखिन्छ । तन्द्राले नभिजेको सिरानी, निद्राले नदेखेको पर्दा काम लाग्दैन हारेको नेताजस्तै हुन्छ । दैलामा, जस्केलामा, द्वारदेखि कोठाबारमा समेत पर्दाले ढोकाको, गारोको अझ भनौँ ननङ्ग्याएको मकैको खोस्टाले झैँ पर्दाकै काम गर्दछ ।

पर्दा सबै देखिने पारदर्शी र नदेखिने अपारदर्शी गरी दुई प्रकारका हुन्छन् । यो व्यापारीको देखिने बिल र नदेखिने बिल जस्तै हो । पर्दामा पनि भ्रष्टाचार हुन्छ । कति पर्दाको कति दाम भन्ने कुराको छेडखान कति बजेट छुट्याइएको हुन्छ भन्ने कुरामा निर्भर हुन्छ । पर्दाभित्रको गतिविधि पर्दाबाहिर देखिन निकै गाह्रो हुन्छ नै । राजनीतिको पर्दाले ढाकेकाहरूका आँखामा फुलो परेको अवस्था सिर्जना भएमा अपारदर्शी पर्दा हाबी हुन्छ । पर्दा लगाउनेले कस्तो पर्दा लगाएको छु भन्ने होस राखेमा पर्दाभित्र के गर्ने के नगर्ने भन्ने बुझेर कदम चाल्न सकिने प्रस्टै छ । राजनीतिमा उलटपुलट ल्याउने कामका लागि पर्दाको ठुलो भूमिका हुन्छ । पर्दापछाडिका खेलाडीले मै हुँ भन्नेलाई तीन बल्ढ्याङ खुवाएकै छन् । हाम्रा मुलुकाँ त अधिकांश निणर्यहरू पर्दापछाडि हुने भएकाले पर्दा नभए त पारदर्शी हुँदा केही पनि काम बन्दैन । पर्दा भएकैले भनाइ एउटा र पर्दाभित्र अर्को काम गर्न पाइएको उच्च तहका एक राजनेता फेहरिस्त दिन्छन् ।

हुन त घुम्टो प्रथा पनि यस्तै सामाजिक रोग थियो । यो अनुहार छोप्ने पर्दा प्रथाले कुसंस्कारको विकृतिको विकारको जालो धेरै कालसम्म फिँजायो नै तर पनि पर्दा लगाउनेले सुरक्षित महसुस गरिन्जेल पर्दा लगाइरहेकै छन् । सामाजिक रूपमै पर्दा लगाउन स्वीकृति दिइएकाले पर्दा आधुनिक कालको जे गरे नि हामी हेर्दैनौँ लगाऊ भन्ने अनुमतिको खोल बनेको छ । नदेखिने पर्दाले शङ्का र उपशङ्का जन्माउँछ । देखिने पर्दाले मान्ेछको लाजघिन पचाउँछ ।

चैते थेसिस, असारे बजेट, चुनावी नेताका बाचा यी सब पारदर्शी पर्दाभित्रका खेल हुन् । सहयोगका नाममा स्थापित गैरसरकारी संस्थाका कार्यहरू जताको बजेट उतै लैजा भन्ने सिद्धान्तमा आधारित छन् । कतिपय देशभक्तले पर्दा खेल वारि गाउँले पारि गाउँले यो सधैँदेखिको सुके लुतो लैजा है भन्दै पर्दाबाट बाहिर आउन खोजेको देखिन्छ तर पर्दा नै डढाएर आर्थिक रूपमा जेलिएको सामिाजिक लुतो उकुचिएकै छ । संयुक्त राष्ट्रसङ्घमा छिरे पनि, दलभित्र बलसहित गए पनि एकमना भए पनि बहुमत भए पनि मिलिजुली भए पनि हामी आएकै ‘गठन गर्न सरकार जनतालाई केको दरकार’ भन्ने सोचले विकास अविकासतिर धकेलिएको छ । यो सबै पर्दापछाडिको खेलले हो । लोकतन्त्रमा पर्दाको भूमिका कम हुनुपर्ने हो तर पर्दा सबैलाई बचाउने सोझालाई फसाउने जालो बनेकाले यसको महत्त्व दिनपरदिन बढ्दो छ ।

पर्दा लगाएकैले त होला, सुनका ठुन्का भन्सार हुँदै सन्सारका कुन कुना पुगे रे ! खै अहिले चालचोल छैन । बजेटजति आफ्नै पकेटतिर घँचेट भएपछि जहिले पनि विकासमा पर्दा लाग्ने नै भयो । प्राकृतिक सम्पत्तिको कौडीका भाउमा दोहन गर्दा अधिकार हातमा लिएर बसेकाहरूका आँखामा पर्दा लागेकै छ । पढेकाहरू विदेशतिर लडेका छन् । रोजगार हुन नसक्ता छटपटिएकाहरूसँग पढाइ, लडाइँ र सम्पत्तिको लालची बढाइँ देखाउँदै दलेदाइहरूले मोटो रकम कुम्ल्याउँदै फसाएको यही पर्दाकै खेल हो । कानुनले देख्छ भनेर आँखामा पर्दा लगाएको समानता र न्यायका लागि हो तर आँखा देख्नेले पर्दा लगाएर कर्तुत गरेपछि पर्दा बेसहरा बन्यो र झुन्डिएको पर्दा खस्न थाल्यो । आज समाज पर्दा भएर पनि पलपल खसिरहेको छ जसरी जिउँदो मानिस गरिबीले पलपल मरिरहेको छ र पनि कथित धनी उसलाई हेरिरहेको छ । कत्रो खाडल छ हुने खानेको र हुँदा खानेको ! पर्दाले कतिञ्जेल छेक्छ र खाडल !

देह व्यापार गर्नेदेखि देश व्यापार गर्नेसम्म, होटेलदेखि मोटेलसम्म, कार्यालयदेखि देवालयसम्म, पाठशालादेखि बधशालासम्म, झ्याल ढोकादेखि कोटाचोटासम्म पर्दा लाग्ने क्रम निरन्तर बढ्दै छ । आज तलब खानेदेखि तलब दिनेसम्म, व्यापार गर्नेदेखि डकारेर बस्नेसम्मलाई पर्दा नभई हुन्न । त्यसैले पर्दा जीवनको एउटा पाटो बनिसकेको छ । पर्दा कसैका लागि लाज छोप्ने साधन बनेको छ, कसैका लागि धन छोप्ने माध्यम बनेको छ अनि कसैका लागि कालो कर्तुतका लागि सहजीकरण गरिदिने साधन बनेको छ । च्यातिएको पर्दाबाट फतुरे काकाले धेरै दृष्टिगोचर गरेका रहेछन् । कतिपय दृश्य त हेर्नै नसक्ने पो छन् रे बा ! बकितमलाई आधार मान्दा पनि भोलि न्यायको कठघरामा उभिनु पर्ला ।

जे होस् आँखा लगाउनेदेखि छल्नेसम्मका लागि पर्दा अपरिहार्य भएकाले अब पर्दा बचाउनु पर्दैन र ! यति हुँदाहुँदै पनि जबसम्म पर्दाको समुचित सदुपयोग हुन्न तबसम्म यो देश तपाईँले र मैले सोचेजस्तो सुसंस्कृत र सुसभ्य हुन्न । हे पर्दाका व्यभिचारीहरू, सत्ता मोहले अन्धा बनेका कुर्सीप्रियहरू, एकदिन पर्दाभित्रका सबै कर्तुत पर्दाफास हुँदा मनकारीले सबै पर्दाले अझै च्यात्नु नपरोस् । त्यसैले पुकारौँ, “पर्दाको जय होस् !”

०००
२०८१ वैशाख ८ गते शनिबार
गोकर्णेश्वर- ५, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x