सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पर्दाको पुकारा !!

पर्दा कसैका लागि लाज छोप्ने साधन बनेको छ, कसैका लागि धन छोप्ने माध्यम बनेको छ अनि कसैका लागि कालो कर्तुतका लागि सहजीकरण गरिदिने साधन बनेको छ ।

Nepal Telecom ad

ह्यारी- ८० :

कुनै पनि काम अरूलाई देखाएर गर्नुभन्दा लुकाएर गर्नु श्रेयस्कर हुन्छ भनेरै पर्दाको अविष्कार भएको हुनुपर्छ । पर्दा काम गर्ने नत्र नगर्ने भएकाले नै पर्दा नामकरण गर्न सकिएको बकम्फुसे इतिहासविद्ले दाबी गरिटोपलेका छन् । मानवाधिकारको उल्लङ्घन भइसकेर पनि ट्वाँ परेर बस्नेले केही नलागेर लास्टाँ विज्ञप्ति निकालेजस्तै घटना घटिसकेपछि पर्दा लगाउने बानीले देशका भ्रष्टहरूका कर्तुत छर्लङ्ग भएको देखिन्छ । तन्द्राले नभिजेको सिरानी, निद्राले नदेखेको पर्दा काम लाग्दैन हारेको नेताजस्तै हुन्छ । दैलामा, जस्केलामा, द्वारदेखि कोठाबारमा समेत पर्दाले ढोकाको, गारोको अझ भनौँ ननङ्ग्याएको मकैको खोस्टाले झैँ पर्दाकै काम गर्दछ ।

पर्दा सबै देखिने पारदर्शी र नदेखिने अपारदर्शी गरी दुई प्रकारका हुन्छन् । यो व्यापारीको देखिने बिल र नदेखिने बिल जस्तै हो । पर्दामा पनि भ्रष्टाचार हुन्छ । कति पर्दाको कति दाम भन्ने कुराको छेडखान कति बजेट छुट्याइएको हुन्छ भन्ने कुरामा निर्भर हुन्छ । पर्दाभित्रको गतिविधि पर्दाबाहिर देखिन निकै गाह्रो हुन्छ नै । राजनीतिको पर्दाले ढाकेकाहरूका आँखामा फुलो परेको अवस्था सिर्जना भएमा अपारदर्शी पर्दा हाबी हुन्छ । पर्दा लगाउनेले कस्तो पर्दा लगाएको छु भन्ने होस राखेमा पर्दाभित्र के गर्ने के नगर्ने भन्ने बुझेर कदम चाल्न सकिने प्रस्टै छ । राजनीतिमा उलटपुलट ल्याउने कामका लागि पर्दाको ठुलो भूमिका हुन्छ । पर्दापछाडिका खेलाडीले मै हुँ भन्नेलाई तीन बल्ढ्याङ खुवाएकै छन् । हाम्रा मुलुकाँ त अधिकांश निणर्यहरू पर्दापछाडि हुने भएकाले पर्दा नभए त पारदर्शी हुँदा केही पनि काम बन्दैन । पर्दा भएकैले भनाइ एउटा र पर्दाभित्र अर्को काम गर्न पाइएको उच्च तहका एक राजनेता फेहरिस्त दिन्छन् ।

हुन त घुम्टो प्रथा पनि यस्तै सामाजिक रोग थियो । यो अनुहार छोप्ने पर्दा प्रथाले कुसंस्कारको विकृतिको विकारको जालो धेरै कालसम्म फिँजायो नै तर पनि पर्दा लगाउनेले सुरक्षित महसुस गरिन्जेल पर्दा लगाइरहेकै छन् । सामाजिक रूपमै पर्दा लगाउन स्वीकृति दिइएकाले पर्दा आधुनिक कालको जे गरे नि हामी हेर्दैनौँ लगाऊ भन्ने अनुमतिको खोल बनेको छ । नदेखिने पर्दाले शङ्का र उपशङ्का जन्माउँछ । देखिने पर्दाले मान्ेछको लाजघिन पचाउँछ ।

चैते थेसिस, असारे बजेट, चुनावी नेताका बाचा यी सब पारदर्शी पर्दाभित्रका खेल हुन् । सहयोगका नाममा स्थापित गैरसरकारी संस्थाका कार्यहरू जताको बजेट उतै लैजा भन्ने सिद्धान्तमा आधारित छन् । कतिपय देशभक्तले पर्दा खेल वारि गाउँले पारि गाउँले यो सधैँदेखिको सुके लुतो लैजा है भन्दै पर्दाबाट बाहिर आउन खोजेको देखिन्छ तर पर्दा नै डढाएर आर्थिक रूपमा जेलिएको सामिाजिक लुतो उकुचिएकै छ । संयुक्त राष्ट्रसङ्घमा छिरे पनि, दलभित्र बलसहित गए पनि एकमना भए पनि बहुमत भए पनि मिलिजुली भए पनि हामी आएकै ‘गठन गर्न सरकार जनतालाई केको दरकार’ भन्ने सोचले विकास अविकासतिर धकेलिएको छ । यो सबै पर्दापछाडिको खेलले हो । लोकतन्त्रमा पर्दाको भूमिका कम हुनुपर्ने हो तर पर्दा सबैलाई बचाउने सोझालाई फसाउने जालो बनेकाले यसको महत्त्व दिनपरदिन बढ्दो छ ।

पर्दा लगाएकैले त होला, सुनका ठुन्का भन्सार हुँदै सन्सारका कुन कुना पुगे रे ! खै अहिले चालचोल छैन । बजेटजति आफ्नै पकेटतिर घँचेट भएपछि जहिले पनि विकासमा पर्दा लाग्ने नै भयो । प्राकृतिक सम्पत्तिको कौडीका भाउमा दोहन गर्दा अधिकार हातमा लिएर बसेकाहरूका आँखामा पर्दा लागेकै छ । पढेकाहरू विदेशतिर लडेका छन् । रोजगार हुन नसक्ता छटपटिएकाहरूसँग पढाइ, लडाइँ र सम्पत्तिको लालची बढाइँ देखाउँदै दलेदाइहरूले मोटो रकम कुम्ल्याउँदै फसाएको यही पर्दाकै खेल हो । कानुनले देख्छ भनेर आँखामा पर्दा लगाएको समानता र न्यायका लागि हो तर आँखा देख्नेले पर्दा लगाएर कर्तुत गरेपछि पर्दा बेसहरा बन्यो र झुन्डिएको पर्दा खस्न थाल्यो । आज समाज पर्दा भएर पनि पलपल खसिरहेको छ जसरी जिउँदो मानिस गरिबीले पलपल मरिरहेको छ र पनि कथित धनी उसलाई हेरिरहेको छ । कत्रो खाडल छ हुने खानेको र हुँदा खानेको ! पर्दाले कतिञ्जेल छेक्छ र खाडल !

देह व्यापार गर्नेदेखि देश व्यापार गर्नेसम्म, होटेलदेखि मोटेलसम्म, कार्यालयदेखि देवालयसम्म, पाठशालादेखि बधशालासम्म, झ्याल ढोकादेखि कोटाचोटासम्म पर्दा लाग्ने क्रम निरन्तर बढ्दै छ । आज तलब खानेदेखि तलब दिनेसम्म, व्यापार गर्नेदेखि डकारेर बस्नेसम्मलाई पर्दा नभई हुन्न । त्यसैले पर्दा जीवनको एउटा पाटो बनिसकेको छ । पर्दा कसैका लागि लाज छोप्ने साधन बनेको छ, कसैका लागि धन छोप्ने माध्यम बनेको छ अनि कसैका लागि कालो कर्तुतका लागि सहजीकरण गरिदिने साधन बनेको छ । च्यातिएको पर्दाबाट फतुरे काकाले धेरै दृष्टिगोचर गरेका रहेछन् । कतिपय दृश्य त हेर्नै नसक्ने पो छन् रे बा ! बकितमलाई आधार मान्दा पनि भोलि न्यायको कठघरामा उभिनु पर्ला ।

जे होस् आँखा लगाउनेदेखि छल्नेसम्मका लागि पर्दा अपरिहार्य भएकाले अब पर्दा बचाउनु पर्दैन र ! यति हुँदाहुँदै पनि जबसम्म पर्दाको समुचित सदुपयोग हुन्न तबसम्म यो देश तपाईँले र मैले सोचेजस्तो सुसंस्कृत र सुसभ्य हुन्न । हे पर्दाका व्यभिचारीहरू, सत्ता मोहले अन्धा बनेका कुर्सीप्रियहरू, एकदिन पर्दाभित्रका सबै कर्तुत पर्दाफास हुँदा मनकारीले सबै पर्दाले अझै च्यात्नु नपरोस् । त्यसैले पुकारौँ, “पर्दाको जय होस् !”

०००
२०८१ वैशाख ८ गते शनिबार
गोकर्णेश्वर- ५, काठमाडौँ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad