
खन्चुवा
खायो जङ्गल मासियो जडिबुटी खायो सबै सिर्जना । खोजी गर्न दगुर्छ हेर्छ बबुरो भेट्दैन आफ्नो पना ॥ कुर्ली न्याय समानता र समता भन्दै यहाँ जुट्नुछ । खाने पेट अजङ्गका थरिथरी जुट्दै सबै फोड्नुछ ॥

छविलाल आचार्य
(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य कविता प्रतियोगितामा उत्कृष्ट २५ मा छनाेट भएकाे कविता हाे याे । छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com मा यथाशीघ्र पठाउनु होला । -प्रधान सम्पादक)
खा खा खा अझ खा, जमिन जल यो उधोग धन्दाहरू ।
झुक्याई निमुखा, अबोध जनता बैह्रा र अन्धाहरू ॥
निल्छस रे ! कहिले जहाजहरू नै निल्छस् अनेकौँ कुरो ।
खान्छस् घुस कतै, कमीसनहरू बन्छस् सधैं नै सुरो ॥१॥
होली वाइन खा विनास वनको गैँडा भयो तस्करी ।
खानेका हुल बड्छ आज किन हो ? बड्दैछ रे लस्करी ॥
खायो लुत्त बिदेशमा कतिजना बेचेर चेली अनी ।
खाइस् कागज जूट मील कपडा खाइस् जहाँँ जे पनि ॥२॥
बाटा मा अलकत्र खान्छ कहिले गिट्टी र ढुङ्गाहरू ।
खाई मस्त डकार्दछन् घरिघरी हाम्रा लफुङ्गाहरू ॥
आमाका धमनी सिरा नद नदी बेचे हसुर्दै मरे ।
सीमा स्तम्भ टुट्यो न बोल्छ कहिल्यै आपत् विपत्मा परे ॥३॥
घाऊ छन् जनयुद्धका जहरिला खाटा अझै छन् कतै ।
लापत्ता कति छन् विना कसुरका घाटा अझै छन् कतै ॥
खा खा खा अझ खा चुसेर पसिना निर्धा जनाका हदै ।
सोझा बोल्न डराउने निरीह जनका त्यागी पनाका अझै ॥४॥
हड्डी फ्याँक्छ उता, छ ङ्यार्ङुर यता झम्टन्छ कुत्ता सरि ।
आमा छट्ट र पट्ट छिन्, घरिघरी पिंडा अनेकौँ थरी ॥
खा खा खा अझ खा सुवणर्हरू जो भन्सारमा भेटिए ।
मांसाहार बनेर वैश्णव सरी बन्ने सबै निस्किए ॥ ५
खायो जङ्गल मासियो जडिबुटी खायो सबै सिर्जना ।
खोजी गर्न दगुर्छ हेर्छ बबुरो भेट्दैन आफ्नो पना ॥
कुर्ली न्याय समानता र समता भन्दै यहाँ जुट्नुछ ।
खाने पेट अजङ्गका थरिथरी जुट्दै सबै फोड्नुछ ॥
०००
पोखरा- १६, कास्की
९८४६०४२८१८