जुकाहरू
‘हेर ! यी शासक भनेका हामी गरीबहरूको रगत पसिना चुस्ने जुका रहेछन् जो गरीबहरूकै वर्तमान र भविष्यमाथि खेलवाड गर्नमा पोख्त भएका छन् ।’ यति भन्दै ऊ भुइँको परालको मुठो टिपेर गाईगोठतिर पस्यो ।
दिव्य गिरी :
‘आज जुलुसमा जानु पर्दैन ?’ उसकी स्वास्नीले सोधी ।
‘किन जानु जुलुस सुलुसमा ?’ उसले रुखो आवाजमा प्रति प्रश्न गर्यो ।
‘लौ किन रे ! आज गणतन्त्र दिवस भन्ने बिर्सियौ ? पोहर परार त फुर्तिसाथ जान्थ्यौ त गणतन्त्र दिवस मनाउन ।’ स्वास्नीले सम्झाई ।
‘था छ । यो कुरा तैँले सम्झाउनु पर्दैन ।’
‘अनि किन त आज चुपचाप घरमै थच्चिएर बसेका छौ ?’ स्वास्नीले कटाक्ष गरी ।
‘त्यो गणतन्त्रल मलाई के दियो ? तँलाई के दियो ? न हाम्रो बेपत्ता भएको छोरो खोजिदियो न त ऊ नै फर्केर आयो । सन्तानको पीरलाई छातीमा उमालेर बाँच्नु पर्या छ । हरेक वर्षको गणतन्त्रमा घाँटीको नसा पनि छिन्ने गरी जिन्दावाद र मुर्दावादको नारा घन्काएँ । त्यो सबै व्यर्थ रहेछ । महङ्गीको खाडलमा जाकिएँ । पूर्खाले कमाएको वीरत्व र स्वाभिमान गुमाएँ । हिजो जुन सपना मैले देखेको थिएँ त्यो सपना सबै झरेको पातलाई आँधीले उडाएर लगेजस्तो कहाँ पुग्यो पुग्यो । एउटा राजा लखेटेर सयौं राजा बनाएँ । आज तिनै राजाहरूले देश लुटेको खबर पढिरहेछु । सत्ताको निम्ति ताण्डव नृत्य गरेको हेरिरहेछु । गणतन्त्र ठगतन्त्र बनाएपछि केको लागि जुलुसमा जानु ?’ उसले लामै भाषण सुनायो ।
‘भनेपछि तिम्रो आँखा बल्ल खुलेछ, होश पनि आएछ । मैले त हामी गरीबको लागि जुनसुकै व्यवस्था आए पनि आपैmले रगत पसिना नबगाई चुल्होमा आगो बल्दैन भनेकै थिएँ । बडो जान्ने भएर आफ्नो छोरालाई समेत उचाल्यौ । अहिले न छोरा भन्न पाइयो न त दुःख नै हट्यो ।’ उसकी स्वास्नीले भनी ।
‘हेर ! यी शासक भनेका हामी गरीबहरूको रगत पसिना चुस्ने जुका रहेछन् जो गरीबहरूकै वर्तमान र भविष्यमाथि खेलवाड गर्नमा पोख्त भएका छन् ।’ यति भन्दै ऊ भुइँको परालको मुठो टिपेर गाईगोठतिर पस्यो ।
०००
जेठ १५, २०८०
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest