दिव्य गिरीहन्तकाली
हन्तकालीबाट पीडित सारा नेपालीसँग मेरो प्रश्न छ - हामीले हन्तकालीहरूलाई कहिलेसम्म पालिराख्ने हामी हन्तकालीहरूबाट कहिले मुक्ति पाउने ? म हन्तकालीहरूको अवसानको प्रतीक्षामा छु ।

भेष अनेक अनेक लिएका
रूप अनेक अनेक भएका
थरिथरिका मुखुण्डो भिरेका
विगतदेखि वर्तमानसम्म
सुरसाकोझैं मुख आँ… गरेर
वर्षौंदेखि बसिरहेका छन्
कति कति हन्तकालीहरू !
तराई, पहाड र हिमालभरिका
यी हन्तकालीहरू
गलैँचा पनि खान सक्ने
जहाज सिँगै पचाउन सक्ने
तेत्तीस किलो सुन खर्लप्पै निल्न सक्ने
ललिता निवास पूरै दवाउन सक्ने
एनसेल काण्ड, धमिजा काण्ड
गोकणर् काण्ड, वाइडबडी काण्ड
चरेश काण्ड, ओम्नी काण्ड
कति कति काण्डै काण्डलाई धुलिसात पार्नसक्ने
महान हन्तकालीहरू !
बाँसवारीको जुत्ता
गोरखकालीको टायर
कृषि औजारको औजार
र हरिसिद्धीको इँटाले पनि
भरिएन हन्तकालीहरूको पेट !
सिङ्गै जङ्गल र नदीनाला खाँदा पनि
जति घिचे पनि
जति कोचे पनि
खान पाएँ कहिले नभन्ने हन्तकालीहरू !
खाएर कहिले नपुग्ने हन्तकालीहरू !
अझैँ पनि अघाएका छैनन् ।
आश्चर्य !
कति सकेको खान ?
कति सकेको पचाउन ?
काण्डैकाण्डका महाराज रूपी
यी हन्तकालीहरू
केवल खानकै लागि मात्र जन्मेका हुन् ! ?
केवल काण्डैकाण्ड गर्न मात्र बाँचेका हुन् ! ?
केवल गरीबको पसिना चुस्नैका लागि हुर्केका हुन् ! ?
म यति वेला
नव निर्मित धरहरको टुप्पोमा चढेर
हन्तकालीहरूको ताण्डव नृत्य हेर्दैछु
र देखिरहेछु
केही हन्तकालीहरू दुलो खोज्दैछन् लुक्छ
केही हन्तकालीहरू अवसर खोज्दैछन् भाग्न
केही हन्तकालीहरू जेलको
चिसो छिँडीमा बसेर तातो आँसु खसालिरहेछन् ।
हन्तकालीबाट पीडित सारा नेपालीसँग
मेरो प्रश्न छ –
हामीले हन्तकालीहरूलाई कहिलेसम्म पालिराख्ने
हामी हन्तकालीहरूबाट कहिले मुक्ति पाउने ?
म हन्तकालीहरूको अवसानको प्रतीक्षामा छु ।
०००
बैशाख ३०, २०८०
Subscribe
Login
0 Comments
Oldest







































