पिँडालु पण्डितसाइकलको सत्ता
साइकलहरूले जतिसुकै फकाइफुल्याइ र फुर्तीफार्ती गरे पनि पुस्तौँदेखि थिचिँदै र मिचिँदै आएका उडुस, उपियाँ, झिँगा, डाँस, कनसुत्ला, हाँस, कुखुरा, चमेरा, रिक्सा, ठेला गाडा, भन्टा, मन्टा, सर्प, बिच्छी, भ्यागुता, दुम्सी, स्याल आदिले साइकललाई त्यत्तिकै छाड्ने अवस्था देखिँदैन ।

पिँडालु पण्डित :
ठुला गाडी सबै ग्यारेजभित्र छन् । बाहिर सडकमा भएका केही गाडी पनि सडकका किनारमा हावा खाएर बसिरहेछन् । चाहे ती कार हुन् वा जीप, ट्रक हुन् वा मिनी टाटा, बस हुन् वा माइक्रो बस, टाटा सुमो हुन् वा अरू कुनै । यतिसम्म कि मोटर साइकलले पनि सडकमा सहज प्रवेश पाइरहेका छैनन् । सबैको एउटै हालत छ । सडक सबै साइकलका कब्जामा छन् । साइकल पनि नयाँ हैनन् । सबै साइकल हावा खुस्केर मर्मतले पुनर्जीवन पाएका मात्र छन् । कहिल्यै नभएको एउटा अचम्मैको दृश्य छ सडकमा ।
केही वर्षअघि सडकमा ठुलो आन्दोलन भएको थियो । आन्दोलनमा ठुलादेखि सानासम्म सबैले भाग लिएका थिए । ठुलालाई सके लत्याउने नसके होच्याउने र सानालाई स्थान दिने आन्दोलनको अनौठो आवाज थियो । त्यसले पार्ने असरका विषयमा मिहिन रूपमा कसैले विश्लेषण गरेको थिएन । सबै हामी साना हौँ, हामीले स्थान पाउँछौँ भन्नेमा ढुक्क थिए । सानाका नाममा आफूभन्दा तल अर्को ठुलो जमात छ भन्ने हेक्का आन्दोलनका सहभागीमा थिएन । र, हेक्का नै भए पनि यत्तिकालाई पेलेर गइन्छ भन्ने सोच तिनमा थियो ।
केही वर्षअघिको त्यस सडक आन्दोलनमा मान्छेलाई लागेको थियो यस आन्दोलनमा हामी मान्छेको मात्र सहभागिता छ । मान्छेको मात्र जमात छ । मान्छे विरुद्ध मान्छेको मात्र आन्दोलन छ । तर, परिस्थिति त्यस्तो थिएन । त्यस आन्दोलनमा मान्छेका अतिरिक्त ठुला गाडीदेखि साना गाडीसम्म, तेल खाने मोटर साइकलदेखि हावा खाने साइकलसम्म, हात्तीदेखि भुसुनासम्म, गिद्धदेखि भँगेरासम्म, लामखुट्टेदेखि उडुस-उपियाँसम्म, झिँगादेखि कनसुत्लोसम्म, जुकादेखि सुलसुलेसम्म, परेवादेखि चमेरासम्म, डाँसदेखि हाँससम्म सबैको सहभागिता थियो । सर्प, भ्यागुता, बिच्छी, गँगटा, बट्टाई, कुखुरा, दुम्सी, स्याल सबका सबको सहभागिता थियो । अन्डादेखि झन्डासम्म, काँक्रोदेखि थाँक्रोसम्म, भन्टादेखि मन्टासम्म सबैको उपस्थिति आन्दोलनमा देखिन्थ्यो । अगाडि हिँड्नेले आफू मात्र छु भन्ठाने पनि तिनका पछिपछि यी सबको सहभागिता थियो । आन्दोलनको सफलतापछि आन्दोलनमा अघि लाग्नेले जति नाक फुलाएका थिए त्यसभन्दा बढी पछि लाग्नेले फुलाएका थिए । सबैको उल्लेख्य सहभागिता रहेकै कारण आन्दोलन आन्दोलनकारीका भाषामा सकारात्मक रूपमा टुङ्गिएको थियो ।
सडकमा साइकलको हर्न/घन्टीलाई सरकारले निषेध गरेको थिएन । सडकमा जता गए पनि टिरिरिरिरि साइकलको मात्र हर्न/घन्टीको आवाज सुनिन्थ्यो । लोप भइसकेका हर्नबिनाका तीन चक्के हाते ठेला गाडा पनि सडकमा प्रशस्तै देखिन थाले । रिक्साहरू साँझ बिहान जतिखेर पनि हामी पनि एक खुट्टा बढी भएका साइकल नै हौँ भन्दै सडकमा भाले भएर नाच्न थाले । हामी पनि दुई पाङ्ग्रे भन्दै फाट्टफुट्ट लुकेर चल्ने मोटरसाइकलले सामान ओसार्ने काममा ट्रकलाई जित्न थाले । सडकको स्वरूप नै कहाँबाट कहाँ पुग्यो कसैले चालै पाउन सकेन । ठुला साधन नभएपछि ट्राफिक पुलिसको उपस्थिति पनि कहीँ कतै देखिएन । सडक आफ्नै हिसाबमा मनमोजी तालले चल्न थाल्यो ।
सडकको सत्ता साइकलले कब्जा गरे पनि उसलाई त्यति सहज भने भइरहेको छैन । सडकमा साइकलको एकछत्र राज हुन सकिरहेको छैन । साइकलहरू भुइँमा न भाँडामा हुँदै आफैँ जान्ने भएर अरूलाई वास्ता नगर्दा उसलाई सडकको सत्ता चलाउन हम्मेहम्मे परिरहेछ । साइकलको एकछत्र राजमा विगतको आन्दोलनमा सहभागी उडुस-उपियाँदेखि भन्टा र मन्टासम्मले अवरोध पुर्याइरहेछन् । उनीहरू सडकमा आआफ्ना लागि छुट्टाछुट्टै सुरक्षित लेन हुनुपर्ने माग तेस्र्याएर साइकलहरूलाई बल्लबल्ल मिलेको सत्ता निल्नु न ओकल्नु बनाइरहेछन् । आन्दोलनमा सहभागी सबैले आआफ्ना लागि छुट्टाछुट्टै सुरक्षित भाग खोज्नाले सबैको गति अवरुद्ध भइरहेको छ । साइकलहरू अरूलाई पेलेरै जाने मनस्थितिमा देखिन्छन् भने अरूहरू सानालाई सत्तामा पुर्याउने पूर्व योजना लागू गर्न गराउन जस्तोसुकै दबाबी कदम चाल्न परे पनि पछि नपर्ने बताइरहेछन् । यसले साइकलको सत्तालाई दिनप्रतिदिन धरापमा पार्दै गइरहेछ । जतिखेर पनि पञ्चट हुन सक्ने देखाइरहेछ ।
कतिपय साइकलवालाहरू भोलिका दिनमा ठुला साधनको फेरि पनि चुरीफुरी र बोलवाला हुन सक्ने कुरालाई दृष्टिगत गरी उनीहरूलाई पनि स्थान दिन पर्ने बताइरहेछन् । यसले कथङ्कदाचित भविष्यमा ठुला साधनको बोलवाला भइहालेको अवस्थामा उनीहरू आफूलाई सुरक्षित बनाउने योजनामा रहेको अनुमानको सङ्केत गर्छ । यस्तो परिस्थितिले जतिखेर पनि साइकल क्षतविक्षत हुन सक्ने अनुमानलाई बल पुर्याइरहेको आभाष हुन्छ ।
सडकको सत्ता साइकलबाट खोस्ने योजनाअनुसार सडकमा हाँसहरू हिलोको माग गरिहेछन् भने कुखुराहरू दानाको । स्यालहरू सिनुको माग गरिरहेछन् भने कनसुत्लाहरू मानुको । जाबो सडकको आकार कत्रो नै छ र ! त्यसमा पनि सबैले आफ्नो औकात अनुसार भाग खोज्नाले साइकलहरू विचलित हुन थालेका छन् । जतिसुकै फुर्तीफार्ती गरे पनि साइकलले गति लिन नसकेको.कुरामा उनीहरू आफैँ पनि त्रसित छन् । तर, बाहिरी रूपमा भने उनीहरू ठुला गाडी त के हवाईजहाजको गतिलाई पनि उछिनेर चन्द्रमा पुग्ने बताइरहेछन् ।
साइकलहरूले जतिसुकै फकाइफुल्याइ र फुर्तीफार्ती गरे पनि पुस्तौँदेखि थिचिँदै र मिचिँदै आएका उडुस, उपियाँ, झिँगा, डाँस, कनसुत्ला, हाँस, कुखुरा, चमेरा, रिक्सा, ठेला गाडा, भन्टा, मन्टा, सर्प, बिच्छी, भ्यागुता, दुम्सी, स्याल आदिले साइकललाई त्यत्तिकै छाड्ने अवस्था देखिँदैन । किनकि, उनीहरूले पहिल्यै सुनेबुझेका छन् – “अबको सत्ता सानाको, कानुनका कुरा पानाको । न्याय र निसाफ मानाको, भेदभाव हुन्न छानाको ।”
०००
‘समकालीन साहित्य’, २०७६ मङ्सिर-माघ
Subscribe
Login
0 Comments
Oldest







































