सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शब्दकोशकी आमा

नछुटोस्। शब्दकोशेले पनि हजुर आमा अर्थात बजैलाई आमा भनेर अर्थ लगाओस्। साँचै कि आमा शब्द शब्दकोशमै भए पनि सउराइ काटन् बाँचि रहोस् ।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

शब्द होइन सृजना हो आमा । धड्कन । स्वास । खाना । प्राणी जगतको जननी । मुटु कलेजो अङ्ग प्रत्यङ्ग सबै थोक । भूमण्डलको अस्तित्वको रक्षाका लागि खम्बा हिस्सा संसार जेजे भने पनि न पुग्ने । प्राणी जगतले सबथोक बिर्सन सक्ला तर यो आफैलाई सृजना गरेर स्वअस्तित्व बोध गराउने कुनै विकल्प नभएको निर्विकल्प प्राण दिने माता धर्ति । आफ्नो प्राणबाट नयाँ प्राण अर्को प्राण थप प्राण सृजना गर्ने । आफ्नै श्वासबाट श्वास फेर्न सिकाउने । खानापानी शैयन सबै आफ्नै शरीरबाट दिएर आफैभित्र आफै जस्तो एउटा अर्को जन्माउने । अद्भूत क्षमताको अर्को वैकल्पिक नाम अर्थात आमा । पृथ्वी भित्रको अर्को अनन्य पृथ्वी । अविष्कार गर्न नसकिने । बनाउन नमिल्ने । समाज देश अनुसार जसरी पुकारे पनि सर्वस्वीकार्य ।

मानिसको बच्चाले एकातिरको दुध चुसेर अर्को दुधमा लात्तीले हानिराख्दा मजाले सहेर त्यहि लात्ती सुमसुम्याउने । अझ बाच्छो र पाडोले दुध पिउँदा तलबाट ठुङेर जुरुक जुरुक उचाल्दा कति दुख्दो हो ती आमाहरूलाई तर चुपचाप नहल्लिकन सन्तानलाई चुस्न सजिलो बनाइकन उभिइरहन्छन् गाई भैसी आमाहरू । कुकुरका त कति छाउराहरूले एकै पटक लुछिरहेका हुन्छन् तिनका आमाहरूलाई । आफैलाई निचोरेर पेट भर्नेलाई सम्बोधन गर्ने आफ्नै भाषा होला । भैसी बाख्रा गाई अरु सबै प्राणीहरूका आफ्ना आफ्ना भाषा होलान् । कुकुरले आफ्नो भाषा बिरालोमा लादेको सुनिएको छैन । कुनै पनि प्राणीले एक अर्काको भाषामा दखल दिएको पाइँदैन । प्राणीहरूको संसार भरको सर्वस्वीकार्य आफ्नै भाषा छ ।

मानिसको भने निश्चित भूगोलको अर्को भूगोलसँग मिल्दैन । चालचलन रितिरिवाज बोलिचाली फरक हुन्छ । मानिस त मानिसै हो नि । कुकुरले संसार भरी एउटै भुक्छ त्यसैले त कुकुर भयो होला । अन्य प्राणिहरूको पनि त्यस्तै हुनेनै भयो । तर यो मान्छे भन्ने चिज छ नि त्यो अजबको गजब रहेछ । आवाज त आवाजनै हो तर फरक। छुट्टैछ्ट्टै बिछट्टको संसार बनाउन खोज्ने । पृकथ धारणा र विचार बनाउन सक्ने । सुझबुझ भएको । अरु माथि खनिन र आफ्नो बसमा पार्न अनेक तानाबाना बुन्न सक्ने । एउटै बोलि बोल्दैन यो मानिस । मन र मुख फरक भएको प्राणी । यसैले होला यो अरुको पन्जामा परेको पत्तो पनि पाउँदैन । अरुलाई बसमा पार्न खोज्दा आफै परेको पनि थाहा नपाउन सक्छ । निश्चिन भूगोल हुँदाहुँदै अरुको भूगोल कब्जामा लिन कुनै कसर बाँकी राख्दैन । अरु प्राणिहरूले उपभोग गरे पनि कब्जै गरेर अरुलाई छिर्नलाई अनुमति चाहिने बनाएको सुनिएको छैन । राहादानी चाहिदैन । निर्बाध एक अर्काको सिमानामा बिचरण गर्न पाउँछन् ।

मानिसको भने नयाँ बनाई हाल्ने । आफ्नो बनाई हाल्ने । अरुलाई कजाई हाल्ने । फुर्ति लाउनै पर्ने । तिम्रो भन्दा मेरो उत्तम तिम्रो छोड मेरो मान भन्नु पर्ने । आफ्नो जति ठिक अरुको बेठिक त कति भन्छ भन्छ । आमा शब्द भनिहाल्ने हो भने पृथ्वीको प्रिय शब्द । सृष्टिको मुहान । बडो आनन्द आउने शब्द । सुन्दै शरीरका सम्पूणर् अङ्ग प्रत्यङ्गमा रसिलो भरिलो भएर आउने । सुन्दै बर्गतिलो हुने । अनुहारमा चमक देखिने । बैराग्य हराउने । बाँच्ने आशा पलाउने । ओत पाएको महसुस गराउन सक्ने । नशाहरूमा रगत दिमागमा विचार सृजना गराउन सक्ने अद्भूत शब्द अर्थात आमा ।

कसैलाई थाहा छ कहिलेदेखि बिरामी पर्यो । कुन अस्पतालमा भर्ना भयो । कस्तो डाक्टरले चेक गर्यो । कुन चाहिँ डाक्टरले यो शब्द फेर है काम लाग्दैन भनेर झाँक्री बसाल्यो । कुन सुई दियो । कुन ट्याब्लेट खुवायो । एक्सरे गर्दा के डिफेक्ट देख्यो । अप्रेशन थियटरमा को थियो । कसले कति समय लगाएर सर्जरी गर्यो । सर्जरी गर्दा समूह थियो वा एक्लै । कुरुवा कोहि थिए कि थिएनन् । कुरुवाहरू सुतेका थिए र पत्तै पाएनन् कि । कुर्दाकुर्दै अल्छी लागेर गए जावस दुई अक्षरले बनेको यो जाबो आमै त हो भनेर झर्केकी । मुड बिग्रिएको बेला पर्‍र्यो कि । शौच गर्न गएको बेला सुटुक्क अस्पतालमा बच्चा फेरेको जस्तो साँटफेरमा पो भयो कि । जे होस् पत्तै नपाई यो अमृत ध्वनि अर्थात आमा हराएको साँचो हो ।

सबै भन्दा पहिले आमाकै जिब्रोबाट हरायो कि । प्रशव वेदनाबाट छट्पटिदा छट्पटिदै गर्दा अकस्मात त्यो असैह्य बेदानबाट फुत्त निस्केको बेलाको परम आनन्दमा आमाले आममामामा भन्नुको सट्टा अर्कै शब्द प्रयोग गरेको हो कि । त्यसो हो भने त्यो भन्दा पहिले कि आमाले के भनिन् । कुन चाहिँ आमाका पालामा यो लोप भयो। कसैलाई थाहा छ भने पुरस्कारको व्यवस्था पनि गर्न सकिन्थ्यो ।

बाटागौडा वरपर पूर्व पश्मि उत्तर दक्षिण कहिँ कतै पनि जहाँ जहाँ यो पृथ्वी लोक भित्र हाम्रो आफ्नो अस्तित्व भएको क्षेत्र छ । किल्ला तोकिएको छ । त्यो क्षेत्रमा कतै पनि आमा प्रयोग भएको देखिएन । बच्चा जन्मिन छोडेको पनि होइन । मातृ वात्सल्य हराएको पनि होइन। बच्चा काखमा छ। आमाले बोकेकै छन् तर आमा भन्दैनन् । अरु थोक नै भनेको सुनिन्छ । मकैको नाम हराएन । कोदोको अर्को नाम सायदै ती बच्चाकी आमालाई थाहा होला । बोट बिरुवा पात पतिङ्गर, झार स्याउला गोवर गड्यौला माटो ढुङ्गा पानी पँधेरो चौतरी र भन्ज्याङ् सबै उस्तै छन् । प्रसुती पनि भएकै छन् विहावारी पनि रोकिएको थाहा छैन। मान्छे जन्माउनु हुन्न भन्ने उर्दि जारी भएको पनि छैन तर आमा भनिदैन । यो साइनो कसरी हरायो। चोरेको भए कसैले लिएको प्रमाण भेटिन्थ्यो । लुटेको भए पनि पत्ता लगाउन सकिन्थ्यो। लुटेराले पनि चाहिने चिज लिन्छ । प्रयोग गर्छ । अरुलाई बेचेर धनार्जन गर्छ । कहि न कहि अस्तित्वमा हुन्छ ।

त्यसो हो भने कहाँ छ । कहि छैन भने किन छैन । गाडेको भए अस्थिपन्जर भेटिनु पर्यो । जलाएको भए खरानी भेटिनु पथ्र्यो त । कतै केहि भेटिएको जानकारीमा छैन। यति थाहा छ आमा प्रयोग हुन् छोड्यो। जिब्रोले आमा भनेन । आमा सम्झेर ओठहरू चलबलाएनन् ।

बिरामी परेर पक्षघात भएको भए पनि अपाङ्ग अवस्थामा भेटिन्थ्यो कि । सम्झनाका लागि हुन्थ्यो । सम्झिन पाए पनि जनजिब्रोमा सर्न आइतवार लाग्दैनथ्यो । कोमामा गएको भए पनि जोरजाम गर्न सकिन्थ्यो कि यसो हेरेर अक्सिजनको मात्रा। रक्तसंचारको गति । नाडीको उतार चढाव। तापक्रमको स्तर नाप्दा नाप्दै अरुकोतिर प्राण प्रतिष्ठा गर्न सकिन्थ्यो तर कतै भरेटिएन । ज्ञान विज्ञानमा लागेका अध्यता इतिहासकार भूगोलविद मानवशास्त्रीहरूले कतै देखे कि देखेनन् । पृथ्वीकै गर्भमा गएको भए पुरातत्वविदहरूले उत्खनन् गर्न ढिला भयो कि। कतै उत्खनन् गर्दा उत्खनन् कै अस्तित्व लो भयो भने के गर्ने ?

जासुसहरूले यो शब्द अति राम्रो लागेर यसको नामोनिशान निमिटान्न पार्न लाग्दा हामी अर्थात आमावादीहरूले पत्तै पाइनौ कि अथवा लोभ लालच लागेर कुनै सौगातमा पल्केर बिर्सने ओखती पिएर जानिजानी यसको अस्तित्व समाप्तिका लागि पर्यत्न त गरिनौ? आमा शब्द छैन । जनजिब्रोमा ठ्याक्कै छैन । बोलिचालीमा कहिँ कतै छैन । बरु यता हजुर आमा अर्थात बा आमाका आमा बजैलाई आमा भनेको पो सुनिदै छ । यो पनि अनर्थ नै हो अर्थ होइन ।

जे होस् अरु जे भए पनि शब्दकोश रच्नेहरूको दिमागबाट नहटोस् । ठुलो गतिलो पन्नै पन्नाले भरिएको शब्दकोशका अ आ आउँदा लहरै पर्ने आ र बारखरी पढ्दा क ख को म मा आकार थपिएको मा मिलाएर बन्ने आमा शब्द नहटोस् ! नछुटोस्। शब्दकोशेले पनि हजुर आमा अर्थात बजैलाई आमा भनेर अर्थ लगाओस्। साँचै कि आमा शब्द शब्दकोशमै भए पनि सउराइ काटन् बाँचि रहोस् ।

०००
कैलाली, हाल- काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बैँसका बेबी

बैँसका बेबी

शिवप्रसाद जैशी
खान्छौँ त, जे बाँकी छ !

खान्छौँ त, जे बाँकी...

शिवप्रसाद जैशी
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी
विरासत

विरासत

अशोककुमार शिवा
सम्झौता

सम्झौता

श्रीप्रसाद पाेखरेल