दीनानाथ पाेखरेलबा ! (काव्यांश-४)
कस्दै पेट गरे अनेक कटिला सत्कर्म सञ्चालन । हाम्रै वृद्धि विकासमा मन दिई खट्दै गरे पालन ॥ आफू रिक्त गए सबै चिज रहे जेजे थिए आर्जन । मान्छे योग्य बनून् भनेर हितका शिक्षा दिए कञ्चन ॥

दीनानाथ पोख्रेल :
बाबा दिव्य विचार सागर सरी स्रष्टा उषा ज्ञान हुन् ।
सङ्ला साहस भर्न खप्पिस बडा उम्दा प्रभा सान हुन् ॥
बाबा ढाडस हुन् विशाल बलका सत्कर्म शिक्षा गुरु ।
बाबा साथ रहून् सुकृत्य पथमा चाहिन्न दोस्रो बरु ॥२६॥
बाबा चिन्तक चेतशक्ति भवका सायुज्यका सर्जक ।
बाबा सद्गुण वृद्धिका डगरका हुन् दिव्यताका रथ ॥
बाबा दिव्य उदात्त भाव पथका हुन् योग्य छोपिन्छ र ?
पर्दा कष्ट डटी हटाउन निको सद्ज्ञान को दिन्छ र ?२७॥
सारा सृष्टि सुमार्ग चिन्मय कला सद्भ्रान्तिका सर्जक ।
खम्बातुल्य बनाउने हृदयका सामर्थ्यका वर्धक ॥
काला रुग्ण विकारका रिपु बडा आचारका रक्षक ।
शिक्षा छन् नमुना अनेक भवमा फ्याँक्छन् हियाका धक ॥२८॥
बाबा साथ हुँदा सबै चिज थियो आनन्द लिन्थ्यो मन।
बाबा दूर भए दुखी हृदय यो झन् रुग्ण भो चिन्तन ॥
बाबा कर्म सिकाउँथे सहजले बित्थे खुसीले दिन ।
बाबा सीप सीकाउँथे कुशलता बढ्थे जुटेका छिन ॥२९॥
इच्छा लाग्दछ जे खुले शुभ कुरा मिल्थे थलामै सब ।
त्यस्तो दिव्य खुसी जुटे पनि सधैँ पाइन्छ कैले अब ॥
कर्मी उर्वर भाव होस् मगजमा छोरा टिपून् ज्ञान यो ।
उम्दा ज्ञान सुझाउँथे सुख थियो लेखा सही कामको ॥३०॥
घोटी हाड गरे सुकर्म बहुतै सन्तानका खातिर ।
आफू रिक्त रही निरन्तर खटे हामी गुनी आखिर ॥
आफ्नो रक्त बनेर बग्छ पसिना पानी सरी तर्तरी ।
मात्रै सन्तति हाँस्नुपर्छ दिलका बाबा दयाला हरि ॥३१॥
हाम्रै खातिर वस्त्र जीणर् तनमा ढाकेर बाँचे तर ।
छाडी दूर गए स्वयम् पर भए रित्तै छ ऐले घर ॥
माया सन्ततिको लिने हृदय त्यो छाडेर टाढा हुँदा ।
छाती दुख्दछ वा विशाल बह छन् हामी धरामा रुँदा ॥३२॥
कस्दै पेट गरे अनेक कटिला सत्कर्म सञ्चालन ।
हाम्रै वृद्धि विकासमा मन दिई खट्दै गरे पालन ॥
आफू रिक्त गए सबै चिज रहे जेजे थिए आर्जन ।
मान्छे योग्य बनून् भनेर हितका शिक्षा दिए कञ्चन ॥३३॥
आफ्ना जीणर् लुगा हिफाजत गरे सन्तान लाऊन् नयाँ ।
आफ्नो भोक नगन्य भो हरघडी सन्तान खाऊन् नयाँ ॥
भारी कर्म गरे स्वयम् बल गरी सन्तान गल्छन् बुझी ।
अग्लो आदर योग्य हुन् जनक ता भन्छन् हियाका सुधी॥३४॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































