कृष्ण प्रधानकुरामा कुरा चियामा चिउरा
अर्कोतिर गर्भपात गर्न पल्केका भुइँफुट्टे डाक्टर-नर्स आफूहरू गर्भ निरोधक सेवन गर्दै गर्भाधान गराउने अस्तुराहरूमा धार लाइरहेका हुन्छन् । गर्भपात क्यान्सरजस्तै फैलिरहेको छ, रक्तपात डढ़ेलोजस्तै ।

कृष्ण प्रधान :
मानिस जत्ति छिप्पिँदै जान्छ उति उतिनै उभित्रका जुकाजस्तै टाँसिएर बसेका स्वाभावहरू पनि छिप्पिँदै जान्छ । बाहिर सबैलाई मानिस देखिन्छ । हर्दा सबै एउटै एउटै ना लाग्छ । तर स्वाभाव भने बेग्ला-बेग्लै । एउटाले वृद्ध-वृद्धालाई सम्मान गर्छन् भने अर्काले तिनी वृद्ध-वृद्धालाई डोरीले टन्टन्ती बाँध्नु मात्र होइन मुखमा रुमालले बुच्याएर सर्वस्व लुटेर लान्छ । हत्या पनि गर्न सक्छ । त्यसभित्र विशाल जनसमुद्रको हूलमा कता हराउँछ कता ।
जनसमुद्रको हूलमा ती हत्यारा, लुटेहालाई सद्दे, स्वच्छ अनि भद्र मानिस देखिन्छ । केही बुझ्न सकिँदैन । तिनको पनि घर हुन्छ । स्वास्नी, छोरा-छोरी लालाबाला हुन्छन् । लालाबालाहरू स्कूल जान्छन् । नाच सिक्छन्- गीत सिक्छन् । फुटबल, क्रिकेट खेल्न जान्छन् । पितालाई माया गर्छन् । आफ्ना पिताप्रति गौरव गर्छन् । भर पर्छन् । सपना देख्छन् । तर जान्दैनन्, तिनका आदर्शवादी पिताले तिनकै छिमेकीका एउटी छोरीलाई दुष्कर्म गरी, घाँटी निमोठेर हत्या गरी सेप्टिक ट्याङ्कमा फ्याँकिवरी आएका छन् ।
यो संसारमा केही मानिसहरू सपना बुन्न आउँछन्, कोही चाहिँ सपना चकनाचूर पार्न आउँछन् । यो संसार काँचको संसार हो । कहिले चर्किन्छ । कहिले झार्लाम्-झुर्लुम् हुन्छ । संसारमा राम्रो-नराम्रो भन्ने कुरो उबेला पनि थियो अनि अहिले पनि छ । तहिले उबेलाको राम्रा र नराम्रा माझ आकाश पातलको फरक र भिन्नता पाइन्छ । त्यो शान्त, सुन्दर जीवन अचेल किन विभत्स, भताभुङ्गै भयो त ? थाहा छ सबैलाई । तर उपाय छैन । भूल बाटामा निक्कै टाढ़ा आइपुगि सकिएको छ । एउटा जीवन बिग्रे जसरी केही गर्ने कुरो नै रहँदैन, त्यसरी नै एउटा देश पनि त्यस्तै पाराले बिग्रिए उलटपलट हुनसक्छ । मानिसको विडम्बना चरमसीमामा पुग्छ । यसैले इतिहास, भूगोल, विज्ञान दर्शन खोज्न आवश्यक छैन । सबै ता कुहिसकेका छन् । हत्या, आत्महत्या, नारी उत्पीड़न, बलात्कार, ठगबाजी, असत् रुपले पैसा जोगाड़, यौन व्यापार, धर्म व्यापारको जगजगी चारैतिर विद्यमान । नरकको मूल ढोका ह्वाङ्ङै भएको छ ।
यो नभए त्यो हुन्थ्यो, त्यो नभए यो हुन्थ्यो, वा यसो गरेको भए त्यसो हुन्थ्यो इत्यादि कुराहरू सुन्दा-सुन्दा कान पाकिसक्यो । एकातिर अमेरिकालाई यता आउन नदिउँ भनेर हाँक लाउँछौं अर्कोतिर हाम्रो टेलिभिजन स्क्रिनमा आठै प्रहर अमेरिकै-अमेरिका नाचिरहेको हुन्छ । वैंशको डिलमा पुगिसकेका युवा-युवातीहरू टेलिभिजनमा जुकाजस्तै टाँसिरहेका छन् । बड़े-बड़े मल्टिनेशनल लुगाफाटाहको पसलमा बिक्री हुन्छन् ती सबै हाम्रो संस्कृतिका विपरित हुन् । पैसावाल घरका सोह्र वसन्ते युवतीहरू जुन डिजाइनका लुगा पहिरिई घुमफिर गर्छन्, त्यो दृश्य देख्दा आँखामा पट्टी बाँधी गान्धारी हुन मन लाग्छ हामीलाई ।
बेडरुम, वाशरुम, कमनरुम, ग्रीनरुम चारैतिर सेक्स एपिलको भरमार । भेरी सेक्सी । जुन वस्तुलाई बढ़्न दिइयो भने क्यान्सरभन्दा पनि द्रूतरुपले बढ़्छ । त्यसलाई नियन्त्रण गर्न न ता पारिवारिक, न ता सामाजिक पक्षबाट कुनै प्रचेष्टा नै गरिएको छ । पहिले बिहे नगरिञ्जेल जे देख्न सकिँदैन थियो, अहिले बाटामा निस्क्यो कि वालछ्याल । पुरुषहरूका कुत्सित गिद्धदृष्टि निक्षेप हुनु अस्वाभाविक होइन ठ्याम्मै । जादूवालाले कुनै खुल्ला ठाउँमा बिना पैसामै जादू देखाउँछन् भने एकक्ष भए पनि जादू नहेरी नजाने विरलाकोटि पाइएलान् ।
देखाउन नहुने, छुन नहुने कुनै पनि कुरो कसैले देखाउन चाहन्छन् भने गिद्धदृष्टि निक्षेप गर्दा के को टुटा, के को पाप, के को अन्याय ? आँखा लोभी ; मन पापी । यसैलाई भनिन्छ ‘एज् अफ एक्सटर्स ; एज् अफ पर्भसन’ ।
कुरामा कुरा चियामा चिउरा ; भित्तामा माकुरा भनेजस्तो अचेल गर्भपात र रक्तपातको अनुपात प्रायः प्रायः समानै देखिँदो छ । फरक के मा छ भने, लुकीलुकी घरकाहरूलाई सुइँको नदिई गर्भपात गराइन्छ भने रक्तपात हाकाहाकी । कालीमाताको खड़्गबाट रगत तपतपी स्लो मोशनमा खस्तैछ, मुन्तिर मरञ्च्याँसे स्याल मुख बाएर आँ….गरी बसिरहेको छ ।
अर्कोतिर गर्भपात गर्न पल्केका भुइँफुट्टे डाक्टर-नर्स आफूहरू गर्भ निरोधक सेवन गर्दै गर्भाधान गराउने अस्तुराहरूमा धार लाइरहेका हुन्छन् ।
गर्भपात क्यान्सरजस्तै फैलिरहेको छ, रक्तपात डढ़ेलोजस्तै ।
०००
सिलिगुडी, भारत
Subscribe
Login
0 Comments
Oldest








































