कृष्ण शर्मा सुमुथुइया चम्चा
“यदि नेताले जागिर दिए तपाईं जागिरमा पुग्नुहुन्छ, तब उसको झण्डा कसले समातेर हिँड्छ ?” यो मानसिकता त्याग्नुपर्छ । योग्यता आफैंभित्र खोज्नु पर्छ धुपौरे भएर हिँड्दै धुप हाल्नु मात्रै काम आउँछ ।

कृष्ण शर्मा सुमु :
हुन त चम्चाको खासै काम चै छैन । म त गरीब घरको परे हजुर हातले नै भात खान्छु ।तपाईं नि ? तर चम्चाले खाने चलन बढेकोले आजकल कुनै पार्टी, मरौं भोज वा सरादमा जाँदा पाखे भन्छन् कि भनेर म पनि चम्चाले खान थालेको छु ।
आजकल चम्चा पनि विभिन्न किसिमको आएको छ । कति प्लास्टिकका छन्, कति स्टिलका छन्, कति दाउराको बनाउछन् । जे होस चम्चाको काम थालमा भएको खाना खानु मात्रै छ । थाल बिना चम्चाको कुनै इज्जत छैन । थाल छ र नै चम्चा छ । कुनै वस्तुसित टालेर बस्ने प्राणी परजीवी भनिन्छ । कुनै कुनै वनस्पतिमा लाग्ने लहर पनि परजीवीभित्रै पर्छ ।
अरूको भरमा परेर अन्यलाई खाल्डामा हाल्ने चम्चाको कुरा अलिक नगरेको नै ठीक । यहाँ थाल अनि चम्चाको कुरा गर्दा कसैलाई रिस उठ्छ भने उसको मानसिकताभित्र उब्जेको चम्चागिरीमा जन्म लिएको एउटा कारक तत्व हो, जसले कुनै दिन पनि कसैलाई पनि खाल्डामा लगेर फाल्ने छ ।
ए… म के भन्दै थिएँ । चम्चा नि … । प्लास्टिक चम्चाको कुनै इज्जत छैन । हुनू पनि लुतो लागेको कुकुर जस्तै दुब्लो पातलो त हुन्छ । एक पल्ट प्रयोग हुन्छ त्यसपछि यस्तो फालिन्छ कि लाग्छ पाँच सालमा आएको चुनावी भेलमा परेर फालिएको गाउँले कर्याकर्ता जस्तै कता पुग्छ पुग्छ । तर पनि आफ्नो अस्तित्व खडा राख्नुको लागि भए पनि फोनमा फोन मिलाउला जस्तै गर्छ तर उसको मालिकले कल उठाए पो । फेरि पाँच सालपछि चुनावी भेलमा फेरि सहयोग पाउछु भन्दै नेता खोज्दै पुग्छ तबसम्म ती चम्चाले दल बदलुको काम गरेर अर्को पार्टीमा गएर नयाँ चम्चाको काम गरेको हुन्छ । जसलाई रि-साइकलन भनिन्छ । जो अन्य कारखानामा गएर प्लास्टिकले रूप परिवर्तन गरेको हुन्छ । तर उसको धर्म चै प्लास्टिक नै हुन्छ ।
दाउराको चम्चा पनि देख्नु भएको होला आईस्क्रिममा धेरै प्रयोग हुन्छ । जे होस चम्चा चम्चा नै हो । एक समयमा कुकुरले पुच्छर हलाउँथ्यो आज पुच्छरले कुकुर हलाउँछ । पुच्छर तगडा भएको छ । हुनु पनि हो, जनमानस बिनाको पार्टी नचल्ने चारआना जस्तै हो । जनताले दुई प्रश्न राखे चम्चाले उत्तर दिन्छ, चम्चाको काम थालमा खाना भएसम्म मात्रै हो । जब खाना खतम तब चम्चाको केही काम छैन । तब गाउँमा नै चम्चाले पुच्छर लुकाएर हिँड्नुपर्छ । काठे चम्चा न दाउरा बाल्नु काम आउँछ न पालेर राख्नु नै हुन्छ । तब उसलाई मैला नालामा फाल्नु बाध्य हुन्छ ।
जब जब क्रान्ति हुन्छ तब तब पुच्छरेहरूले मौका छोप्छ । चम्चाको कुरामा कति पल्ट पुच्छरको कुरा गरेको भनेर सोच्नु हुन्छ होला है ? खासमा मलाई चम्चा र पुच्छर एउटै जस्तो लाग्छ । दुवैको कामको तुलना गरे झन्डै एक किसिमको लाग्छ । पुच्छर पनि अरूको भरमा हलिन्छ चम्चा पनि अरूको भरमा नै जीवन बिताउँछ ।
नभए थाल बिनाको चम्चाको के काम छ र ? न खाना थापेर खानु सकिन्छ, न अमृत नै राखेर लानु सकिन्छ । जे होस् महत्वपूणर् चम्चा मध्ये स्टिलको चम्चा अलिक मजबुत हुन्छ । स्टिलको चम्चाको भ्यालु पनि धेरै हुन्छ । यसको डिमान पनि धेरै नै छ । र त घरमा साफ सफाई गरेर धेरै पल्ट प्रयोग गर्नु सकिन्छ । चम्चाले पनि पुलको काम गरेको हुन्छ । जसरी थालबाट उठाएको खाना मुखसम्म पुराउछ, त्यसरी नै चम्चाले जनता अनि नेताको बिचमा पुलको काम गर्छ । म जसको कुरा घरिघरि गरेको छु नि उसलाई गाउँमा ठुटे नेता पनि भनिन्छ । ठुटे मतलब पुच्छर नभएको पशु । यता उता गरेर चम्चासित पुच्छरको मेल भएको रेल जस्तै है ।
चम्चाले खाना मात्रै होइन समय पाए पार्टीलाई लगेर भड्खालोमा जोत्ने काम गर्छ । आफ्नै पार्टीको सुप्रिमोलाई घाट न घरको बनाउँछ । पालेको चोर कुकुर इमानदार भए पनि कुकुरको छेउमा मासु राखेर लु चौकीदार गरिदिनु भने जस्तै हो । मौकाको फेरामा कहिले आफैं कुर्सी ताकेर बसेको हुन्छ ।
चुनावी भेलमा चम्चाको इज्जत अलिक हुन्छ । हुनु पनि हो आज गोरुको दाम बीस हजार, कुकुरको दाम दस हजार छ । यता हेर्नू त मान्छेको दाम दुई पीस मासु, एक गिलास समरस अनि पाँच सय रुपियाँ छ । हामीले पाँच साल फेरि अलिकति लोभमा बेचिदिन्छौं । जब डाईभर नै गाडी हाक्नु नसक्नेलाई सीटमा बसाएपछि गाडी चलेन भनेर गाली गर्ने बगमफुस कुरा गर्दै पाँच सालसम्म फुसफुस कुरा गर्छौं ।
जब जनचेतनाको कमी अनि पैसाको होड चल्छ नि तब योग्य व्यक्ति झिँगा मार्दै बस्छ अनि अयोग्यले शासन गर्छ । तब शिक्षित बेरोजगारीले अनपढको जयजयकार गर्छ । नेताले चाकरी दिन्छ भन्ने मानसिकता बोकेर हिँडेको समाजलाई एउटै कुरा भन्छु “यदि नेताले जागिर दिए तपाईं जागिरमा पुग्नुहुन्छ, तब उसको झण्डा कसले समातेर हिँड्छ ?” यो मानसिकता त्याग्नुपर्छ । योग्यता आफैंभित्र खोज्नु पर्छ धुपौरे भएर हिँड्दै धुप हाल्नु मात्रै काम आउँछ । आज माटो छुने माटो चिन्ने नेता खोज्नु नै पर्छ । चम्चाले खाना पाएपछि उसको धर्म निभाउनु नै पर्छ । उसको काम खाना खानुमा सहयोग गर्नु हो ।
हिजोआज चम्चाले ताली मात्रै ठोक्दैन । पाए भाँडा नै रित्तो पारेर दिन्छ ।
आज डिजिटल युग हो । यो युगामा विभिन्न किसिमको चम्चा भेटिन्छ । कसैले भिडियोको माध्यमबाट कसैको समाचार सुन्छ भने कसैले विभिन्न फेसबुके पेजबाट तारिफका बगफुसे कुरा लेखेर आफ्नो धर्म निर्वाह गर्ने गर्छ । वास्तविकता यही हो । मिडिया सेललाई खर्च दिएर तारिफका पोकोहरू बजारमा फाल्नु लगाउछ ।
हामी तपाईं एउटा इमानदार जनता भएर योग्य जनभावना जग्गामा पुराउने प्रतिनिधि रोज्नु पर्छ । कुन दोकानेले भन्छ मेरो सामान खराब छ भनेर ? एउटा सानो बस्तु किन्दा त हामी बिचार गर्छौं भने पछि देश, राज्य, गाउँ चलाउने डाइभर अरूको लै…लैमा लागेर चेक नगरी पठाउने त ?
०००
सिलिगुडी, भारत
Subscribe
Login
0 Comments
Oldest







































