पिँडालु पण्डितविदेशी मोह
अरूलाई मात्र के भन्नु, यो लेख छापिने बेलासम्म म आफैँ पनि विदेसिइसकेको हुन सक्छु । यदि त्यसो भइहालेछ भने पनि कुनै नौठो नमान्नुहोला, त्यो पनि विदेशी मोहकै अर्को एउटा उदाहरण हुन सक्छ ।

पिँडालु पण्डित :
स्वदेशी भन्यो भने हामी हाम्रै मुलुकको भन्ठान्छौँ । देशी मात्र भन्यो भने कतिपय अवस्थामा विदेशी नै बुझिन्छ भने विदेशी भन्यो भने त कुनै पनि हालतमा हामी स्वदेशी सम्झदैनौँ । देशी भन्यो भने स्वमुलुकका चाउरे र लाहुरेदेखि परमुलुकका मान्छे र कपडासम्म पनि सम्झन्छौँ । देशी सामान भनेपछि हामी कुनै बेला हुरुक्कै हुन्थ्यौँ । चाहे त्यो चाइनिज होस् वा गैर चाइनिज होस् । चाहे त्यो भारतीय होस् वा गैर भारतीय होस् वा अरू कुनै । कसैले देशीले आएर ठगेर गयो भन्यो भने हामी कुनै विदेशीले आएर ठगेछ भन्ने बुझ्छौँ । देशी कपडा भन्यो भने पनि विदेशी कपडा सम्झन्छौँ । प्रसङ्गअनुसार देशीले कहिले स्वदेशी जनाउँछ त कहिले विदेशी जनाउँछ । त्यसैले हामी सबै स्वदेशी देशीभन्दा विदेशी देशी बढी मन पराउँछौँ । विदेशी मोह हाम्रो पहिलो प्राथमिकता हो । त्यो हिजो थियो, आज छ र भोलि पनि हुनेछ । विदेशी भाव हाम्रो परम भाव हो । विदेशी लगाव हाम्रो परम लगाव हो । न त्यो चुँडेर चुँडिन्छ न लुछेर लुछिन्छ । यो स्थायी भाव हो । त्यसैले विदशी भन्नेबित्तिकै हामीमा छुट्टै किसिमको अपार सत्कार जन्मिन थाल्छ ।
अरूको त के कुरा बेलायती भनेपछि कुकुरलाई पनि हामी छुट्टै किसिमको आदर भाव गर्छौँ । त्यही किसिमको छुट्टै व्यवहार गर्छौँ । त्यही भएर पहिला पहिला हाम्रो समाजमा बेलायती कुकुर पाल्नेको इज्जत नै अर्को हुन्थ्यो । मर्यादा नै छुट्टै हुन्थ्यो । हेराइ नै बेग्लै हुन्थ्यो । बेलायती कुकुर पाल्नेका अनुहारमा ठाडो मुन्टो लगाएर हेर्न सत्तैmनथे टोल छिमेकका मान्छे । हाकाहाकी बोल्नु त अझ निकै टाढाको कुरो । मुलुकमा अहिले पो छासछुस सबै किसिमका कुकुरको ओइरो लाग्यो र कुकुरमा पनि समानता आयो । कुकुर भनेर जथाभावी विभेद गर्न पाइएन । होइन भने नेपाली नागरिकले भन्दा बढी मर्यादा पाउँथ्यो बेलायती कुकुरले । उसको भुकाइ नै पनि सुनिरहुँ जस्तो कति मिठो हुन्थ्यो कति । उसले भुकेको पनि हामी अङ्गे्रजी नै ठान्थ्यौँ । अङ्गे्रजी नै मान्थ्यौँ । र त, हामी हाम्रा स्वदेशी स्याक्चाहरूलाई जस्तो झ्वाट्टै जथाभावी गाली गर्न पनि सक्तैनथ्यौँ तिनीहरूलाई ।
हुन त भोटबाट भित्रिए पनि हाम्रो हिमाली हावा पानीमा सजिएको आफ्नै किसिमको कुकुरहरू पनि हामीसँग नभएका होइनन्, थिए । थिए मात्र होइन, अझै पनि छन् । कुनै बेला खुँडा खुकुरी बोकेर युद्ध लड्ने वीर गोरखालीको नाउँ सुन्दा तिनीहरूसँग विश्व जति डराउँथ्यो र काँप्थ्यो, त्योभन्दा बढी हामी तीसँग डराउँथ्यौँ र काँप्थ्यौँ । ती कुकुरको नाउँ लिनेबित्तिकै हाम्रो सातोपुत्लो उड्थ्यो । भुकेको सुन्यो भने होसहवास उड्थ्यो । जिउमा भएका त भइहाले, नभएका रौँ पनि ठाडा हुन्थे । त्यही भएर आवश्यक सुरक्षाबिना तिनको एक किलो मिटर वरपरसम्म पनि जाने आँट कोही गर्दैनथ्यो । तिनको भाउ पनि रायो सागका अगाडि काउलीको भाउभैmँ थियो ।
यस्तो डरलाग्दो विशेषता भएको हाम्रो भोटे कुकुर – जसलाई नेपाली बृहत् शब्दकोशले ठूलो टाउको र झ्याप्ल्याङ्ङ परेका भुत्ला हुने एक जातको जङ्गे कुकुर भनेर परिभाषा गरेको छ, लाई मान मर्यादा दिनुको सट्टा देख्दै केही न केहीका बेलायती कुकुरलाई हामी चाहिनेभन्दा बढी भाउ दिन थाल्यौँ । चाहिनेभन्दा बढी स्थान दिन थाल्यौँ । त्यही भएर अहिले भोटे कुकुरलाई विस्थापन गर्दै नेपाली मैदानमा बेलायती कुकुरहरू बिनाहिच्किचाहट नाच्न थालेका छन् । भुक्न थालेका छन् । हामी तिनैको अनुयायी बन्दै भोटे कुकुर मास्दै छौँ । भोटे कुकुरको इज्जत र मर्यादाकै लागि हामीले उसलाई बाँध्ने काममा प्रयोग हुने मोटो खालको साङ्लोलाई भोटे साङ्लो भनेर नाम दिएका थियौँ । त्यही अनुसारको काम दिएका थियौँ । अब ती पनि हाम्रा समाजबाट मासिने पक्का छ । भोटे साङ्लोले बेलायती कुकुरलाई बाँध्ने काम आएन । तिनलाई कुनै अमुक नामको मेटल चेनले बाँध्नुपर्छ । त्यसैमा रमाउँछन् तिनीहरू । त्यसैमा खुसाउँछन् उनीहरू । भोटे साङ्लोले बाँध्यो भने ती केको बेलायती ?
हाम्रा भोटे कुकुर कोदाको खोले खान्थे । तिनले जिन्दगीभर नुहाउन जानेका थिएनन् । नुहाए ती रोगाउँथे । तर पनि ती भोटे कुकुर कति बलिया हुन्थे कति । अहिले भित्रिएका कुकुर कोदाको खोले खानु त कता हो कता हेर्दा पनि हेर्दैनन् । मान्छेसँगै बसेर एउटै टेबुलमा पिज्जा खान्छन् । बर्गर लुड्याउँछन् । मौका परे क्वीक्स चपाउँछन् । जिभ्रोले पानी चाट्ने हाम्रा कुकुरका अगाडि ती पानीको साटो बियर पिउँछन् । वाइन तन्काउँछन् । ह्विस्कीले हल्लिन्छन् । कसैलाई मटन चाहिन्छ कसैलाई चिकेन । कसैलाई बफ चाहिन्छ कसैलाई के । रोजाइ उनीहरूको हुन्छ । खोजाइ उनीहरूको हुन्छ । हामी तिनै विदेशी कुकुरको चर्तिकला देखेर दङ्ग पर्छौँ । ट्वाल्ल परेर हेरिरहन्छौँ र भाषा नबुझे पनि समर्थनमा ताली बजाउँछौँ । उनीहरूको हौसिने र नाच्ने क्रम बढ्दै जान्छ । हामी पचाउँदै जान्छौँ ।
निर्वाचन होस् कि आन्तरिक सुरक्षा, सशस्त्र द्वन्द्व होस् कि घरेलु हिंसा, हवाई सुरक्षा होस् कि सतह सुरक्षा, खेलकुद मैदान होस् कि भिआइपी सवारी सबैका सबैमा हामी विदेशी कुकुरबाट अनुसन्धान/जासुसी गराउँछौँ । माटोको बास्ना सुघाउँछौँ । तालिम विदेशीले दिएको हुन्छ कि स्वदेशीले हामी चाल पाउँदैनौँ । स्वदेशीले तालिम दिन सक्ने भए हाम्रै भोटे कुकुरलाई तालिम दिएर अनुसन्धान गराउन सक्थ्यौँ । सुरक्षा दिन लिन सक्थ्यौँ । किन चाहिए विदेशी कुकुर ? किन चाहिए तिनका लागि विदेशी तालिम ? स्वदेशमा उत्पादित कोदाको खोले खाने कुकुर छाडेर बर्गर, पिज्जा खाने कुकुर हामीलाई किन चाहियो ? कि त कुकुरको तालिमका निहुँमा विदेशको सयर गर्न पाइन्छ भनेर विदेशी कुकुरको पुच्छर समाउन पुगेका हौँ हामीले ? प्रश्न कति छन् कति । सबैको उत्तर हामी खोज्न सक्दैनौँ । सबैको उत्तर हामी पाउन सक्दैनौँ । खाली भन्न मात्र जानेका छौँ बेलायती कुकुर ।
विदेशी भन्नेबित्तिकै हामी बेलायती मात्र सम्झन्छौँ । बेलायती मात्र बुझ्छौँ । यी बेलायती कुकुरलाई जङ्गबहादुरले आफ्नो सुरक्षाका लागि बेलायत भ्रमणका क्रममा पहिलो पटक भित्र्याएका थिए होलान् । स्थानीय स्याक्चाहरूसँग मात्र कति सङ्गत गर्नु भनेर सँगै नल्याए पनि पछिका लागि निम्त्याएका थिए होलान् तर अहिले बजारमा बेलायती कुकुर मात्र छैनन् । बेलायती कुकुरको आगमनपछि तिनका पछि लगाएर ल्याइएका एकसेएक अरू विदेशी कुकुरको पनि त्यत्तिकै बजार छ अहिलेको नेपालमा । मौका परे तिनैबिच छिनाझम्टी भएर हाम्रै भोटे कुकुरले छुट्ट्याउनुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न । किनकी, भोटे कुकुर हाम्रा वीर गोरखालीले पालेका कुकुर हुन् । अप्ठ्यारोमा तिनै चाहिन्छन् ।
विदेशी कुकुरहरूको नामको सूची निकै लामो पाइन्छ । त्यसैमध्येका जर्मन सेफर्ड होस् वा लाब्राडोर, रोटवेलर होस् वा बिगल, बुल डग होस् वा गोल्डेन रिट्रिभर, ग्रेट डेन होस् वा पुडल, गे्र हाउन्ड होस् वा स्पानिअल, पोमेरानिअन होस् वा अरू जो कोही सबै विदेशी कुकुर हुन् । यी जातका कुकुर अमेरिका होस् वा युरोप, अस्ट्रेलिया होस् वा अफ्रिका, दक्षिण अमेरिका होस् वा एसिया सबै ठाउँमा पाइन्छ । तथापि, सबैका सबै विदेशी कुकुरलाई हामी बेलायती कुकुर भन्छौँ । परम्परादेखि हाम्रो जिभ्रोमा यही शब्द झुन्डिएर आएको छ ।
उनीहरू हामीले जस्तो हेपेर कुकुरलाई कुकुर भन्दैनन्, आदर गरेर ‘डग’ भन्छन् । हामी पो त्यति उपयोगी प्राणीलाई पनि हेपेर कुकुर भन्छौँ त, उनीहरू काम नदिने भए बरु मान्छेलाई कुकुर भन्छन्, काम दिने कुकुरलाई कहिल्यै कुकुर भन्दैनन् । डग भन्छन् । हामीले छाउरा भन्ने गरेका कुकुरका बच्चालाई उनीहरू उल्कै माया गरेर पप्स/पपी भन्छन् । हामी कुकुरलाई खोरमा थुन्छौँ । खोर नभए खम्बामा बाँध्छौँ । असुरक्षित खुला ओडारमा सुताउँछौँ । उनीहरू त्यसैलाई इज्जतसाथ केनलमा बसाउँछन् । पाहुनालाई जस्तो खानपान गराउँछन् । नुवाइधुवाइ गर्छन् । कति फरक छ कति फरक उनीहरू र हामीबिच कुकुरसँग गर्ने व्यवहार । हामीले कुकुरलाई चिनेकै छैनौँ । त्यसै भएर त आफ्ना कुकुरलाई भोटे कुकुर भनेर हेप्ने हामी विदेशी कुकुरलाई बेलायती कुकुर भनेर पूजा गर्न मात्र बाँकी राख्छौँ ।
विदेशी कुकुरको ताइँफाइँ, रहनसहन र खानपिन देखेर हामीले अचम्म मान्नु अस्वाभाविक होइन । त्यहाँका कुकुरको खानपिन, ताइँफाइँ र रहनसहन त यस्तो छ भने मान्छेको अझ कस्तो होला भनेर अहिलेको हाम्रो पछिल्लो पुस्ता उनीहरूका भूमिमै पसारो पर्न जान थालेका छन् । यीमध्ये कति हन्डर खाएर फर्केका छन् कति बर्गर खाएर उतै लुकेका छन् । उतै रमाएका छन् । कतिलाई आफ्नै पसिनाको भेलले उतै कतै बगाएको छ हामीले चाल पाएकै छैनौँ । उनीहरूको हबिगत जस्तोसुकै होस् मतलब छैन तर सस्तोमा घर जग्गा हडप्न पाएर यताको साहु हाँसिरहेको छ, उताको साहु पनि सित्तैमा काम लगाउन पाएर हाँसिरहेको छ । यी दुई तीनका बिचको मथाइमा नरम नौनी निकालेर म्यान पावर दलालहरूले आफ्नो बजार बढाएको बढायै छन् । यति मात्र नभएर आफ्नो वैवाहिक जीवनमा विदेशी सम्पर्क भएका कतिले अमेरिकन भित्र्याएका छन्, कतिले बेलायती । कतिले फिलिपिनो भित्र्याएका छन् कतिले जापानिज । विदेशी छाला देख्नेबित्तिकै हामी सासू ससुरा तिनले हिरा हग्छन्, सुन फलाउँछन् जस्तो गरेर अरूका अगाडि मेरो छोराले यस्तो गर्यो उस्तो गर्यो भनेर धाक जमाउँछौँ । नजमाउनु पनि किन ! विदेशी भन्नेबित्तिकै हामी कति नतमस्तक हुन्छौँ कति । आफ्नो वंश हाइब्रिड हुँदै गएकोमा हामीलाई पटक्कै चिन्ता छैन ।
हामीले बेलायती कुकुरलाई मान दिए जस्तै उनीहरूले पनि हाम्रा राम्रालाई उतै स्थान दिएका छन् । यस क्रममा कसैले ग्रिन कार्ड दिएका छन् कसैले पिआर । कसैले डिभी दिएका छन् कसैले के ? तर जति नै जे दिए पनि बेलायती कुकुरलाई हामीले जति मान, सम्मान र मर्यादा दिएका छौँ त्यत्ति मात्र मान, सम्मान, मर्यादा र चासो पाउन पनि हाम्रा पसारोन्मुख नागरिकले वर्ष र दशक मात्र होइन अझ थुपै्र शताब्दी नै कुर्नुपर्छ ।
विदेशी भनेपछि हामी यति मरिहत्ते गर्छौँ कि हामी आफैँलाई थाहा छैन । हामी चाइनिज सामानलाई अमेरिकन भनेर किन्छौँ अमेरिकनलाई बेलायती वा यस्तै यस्तै । ब्रान्डेड पसल भनेर हामी विदेशीका नाममा सात सय पर्ने सामानलाई सत्ताईस हजार तिर्छौँ । आठ सय पर्नेलाई असी हजार तिर्छौँ । स्थानीय बजारमा धार्नीको ‘असी रुपैँयाँ’ भनेको आलुलाई ‘पचासमा नदिने’ भनेर कम्मर कसेर मोलमोलाई गर्ने हामी ब्रान्डेड नामका पसलमा पसेर चुइँक्क बोल्दैनौ । यो विदेशी मोहको एउटा पराकाष्ठा नभएर अरू के होला त ? यी सबै विदेशी मोहकै पराकाष्ठा हुन् । विदेशीप्रतिको मोहमा हाम्रो डुबुल्क्याइँ बुझेर नै हामी निरन्तर विदेशीको शोषणमा परिरहेका छौँ । भन्दा भन्दा अरूलाई मात्र के भन्नु, यो लेख छापिने बेलासम्म म आफैँ पनि विदेसिइसकेको हुन सक्छु । यदि त्यसो भइहालेछ भने पनि कुनै नौठो नमान्नुहोला, त्यो पनि विदेशी मोहकै अर्को एउटा उदाहरण हुन सक्छ ।
०००
‘सुलेख’, (२०७५ चैत)
Subscribe
Login
0 Comments
Oldest







































