साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डङ्कुटी डङ्… डङ्कुटी डङ्… (१)

डुकुलण्ठक : होइन बड़ा... (मदपान गर्ने इङ्गित गर्दै) यसो.... पिउनुहुन्न ? धोम्बे : अब्बुइ.... अहिले बाटोमा पुलिसले भेट्यो कि मपासे कि मपासे भनेर मुखभित्र के के घुसार्छ घुसार्छ । होस् आज हामीलाई केई पर्दैन । बरु चिन्ताको दिनै जत्ति खाउँला ।

Nepal Telecom ad

कृष्ण प्रधान : 

नेपाली हास्यव्यङ्ग्यको समग्र अभ्युत्थानमा सरिक फित्कौली डटकमले मुक्तक, गीत, गजल, प्यारोडी, कविता, हँस्यौली- ठट्यौली, हास्य संस्मरण, साहित्यिक समाचार, निबन्ध, समीक्षा-समालोचना, व्यङ्ग्यानुवाद जस्ता हास्यव्यङ्ग्य सामग्रीहरू प्रविष्ट गर्दै आएको छ । चाहेर पनि हास्यव्यङ्ग्य प्रहसन, नाटक तथा एकाङ्की प्रस्तुत गर्न सकिरहेको थिएन । हामी चाहन्छौँ, हास्यव्यङ्ग्य नाटक-एकाङ्की, काव्य र उपन्यासहरू पनि लेखिउन् । तिनलाई फित्कौलीले प्रविष्ट गरेर पाठकहरूको पहुँचमा पुर्‍याउने अवसर पाओस् । सिलिगुडी निवासी हास्यव्यङ्ग्यकार कृष्ण प्रधान निबन्ध मात्र हैन हास्यव्यङ्ग्य नाटक पनि लेख्नु हुन्छ । फित्कौलीले खाँचो महसुस गरिरहेको बुझेर प्रधानले सहृदयतापूर्वक आफ्ना अप्रकाशित तर प्रसारित नाट्य रचना उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएकोमा हामी गदगद भएका छौँ । अल इण्डिया रेडियो खरसाङ (दार्जिलिङ)बाट प्रसारित यस नाट्य रचनालाई हामी पाठकसमक्ष २ वटा शृङ्खलामा पोष्ट गर्ने छौँ । – प्रधान सम्पादक

डङ्कुटी डङ्… डङ्कुटी डङ्… का पात्रहरू 
लठिबज्रे : (फिष्टे र गमसफुलको एकमात्र छोरो),
गमसफुल : (लठिबज्रेकी आमा),
डुकुलण्ठक : (गमसफुलका लोग्ने तथा लठिबज्रेका बुवा),
धधङ्गे बड़ा : (झाँक्री),
धोम्बे : (झाँक्रीको सहायक),
भम्पे : (लठिबज्रेको साथी) ।

दृश्य़ विवरणसमयः साँझ पख । साधारण घरको कोठा । चिरिपको तलतल सुठीसाह्रै खपिनसक्नु हुँदा लकडाउनलाई अटेरी गरी घरदेखि बाहिर निस्केको समयमा लठिबज्रेको जिउभरि पुलिसको लौरो वर्षणपछि थला परेको निकै दिन भइसकेको छ । आय्या…आत्था… भन्नु सामान्य बोलचाल, खानु पिउनु केही छैन । डाक्टरी भाषामा भन्नु हो भने ‘कोमा’मा छ । केश, दाह्री जुङ्गा यतिसम्म कि नाक र कानका भुत्ला पनि गज्जब बढ़ेर दुरुस्तै लादेनजस्तै नै देखिन थालेको छ । तिनका अभिभावकहरू सुर्तामा परेका छन् ।

लठिबज्रे : (अलस तलस परेर) आय्या… आय्या…. आत्था… आत्था…. म मर्छु होला….
गमसफुल : (लठिबज्रेको टाउको मुसार्दै) नानी… काँ दुख्यो बाबु ? छ्या… त्यस्तो मर्ने कुरा पनि गर्नुहुन्छ ? (रुञ्चे स्वरमा) खै तँ केही पनि ता भन्दैनस्…
डुकुलण्ठक : हुलमूलमा जीउ जोगाउनु अनिकालमा बीउ जोगाउनुपर्छ । यो लठिबज्रे अचेल यस्तो उपद्रे भाको छ…. झन यताको कात्रो उता उताको कात्रो यता गरेर यसलाई दशा लागेको… नि । लकडाउनमा फुर्के भएर किन अर्काको कात्रो घुरेनतिर फ्याँक्नु ?
लठिबज्रे : (आय्या… आय्या गर्दै) कात्रो नभन्नोस् बुवा… यो कात्रोले हामीलाई जोगाएको छ । हाम्रो मान र शान बढ़ाएको छ । हाम्रो धम्की, घुर्की, फ्वाँक बढ़ाएको छ । तपाईंलाई पछि यै कात्रोले जोगाउँछ । हाम्रो झण्डीजस्तो पवित्र सम्पत्तिलाई कात्रो भनेर तमाम् झण्डीहरूको बदनाम नगर्नोस् बुवा ।
भम्पे : के गर्नु डुकुलण्ठक काका… झण्डी यताउता नगरी पनि यहाँ बसिसक्नु छैन । भम्पे ब्र-को कुरा सोह्रै आना सठिक भए पनि झण्डी बोक्दा बोक्दा आफै झण्डीजस्तो फ्याल-फ्याल भइसक्यौ । ऊ…. (लठिबज्रेलाई ईङ्गित गर्दै) हेर्नू न हाम्रो सोमलाई झण्डी चुँड़ेलले भेटेर खङरङ्ङै पारिसक्यो ।
लठिबज्रे : (आय्या… आय्या गर्दै भए पनि) तेसो नभन् भम्पे साथी तेसो नभन् । जुत्ता लाउनेलाई मात्र जुत्ताले कहाँ कसरी चेप्दैछ त्यो थाहा हुन्छ । बुझिस् ? आय्या…. आय्या… ।
गमसफुल : हन… यो लठिबज्रेलाई ता चुँड़ेलले भेटेजस्तो पो लाग्दैछ ता हँ… लठिबज्रेका पापा ।
डुकुलण्ठक : अहिले मान्छेहरू नै चुँड़ेलजस्तै भएको यो ठाउँमा चुँड़ेलले ता कसरी भेट्छ हौ । यहाँका मान्छे देखेर बरु चुँड़ेल नै भाग्छे । तिमी पनि मान्छे हँसाउने कुरा नगर न गमसफुल । यसलाई चुँड़ेलले होइन झण्डी चुँड़ेलले बरू भेटेजस्तो छ नि ।
भम्पे : यो लठिबज्रेलाई झण्डी चुँड़ेलले ता कोनि… पुलिसको डण्ठीले थला पारेको नि । लकडाउनको बेला किन बाहिर निस्किनु ? कसैलाई ता टेर्दैन यो नाथेले । त्यत्रो पुलिसले भनि हिँड़्दैछ…. लकडाउनभरि घरदेखि बाहिर ननिस्किनु भनेर । पुलिसलाई पनि अटेरी गर्दा देखेनौं यसको गति… लठिबज्रेका ढाढ़मा पुलिसको लौरो वर्षाले सबै ब्लक गरिदेको ।(ढोका ढक ढकिन्छ) ।

डुकुलण्ठक : गमसफुल को आयो हँ… बाहिर ? जाऊ हेर…हेर ।(गमसफुल ढोका खोल्छे)
गमसफुल : (खुशी हुँदै) नमस्ते… (नेपथ्यतिर हेर्दै) औ पापा… धधङ्ग्रे बड़ा पो रहेछन् । आउनोस् न बड़ा भित्रै ।
डुकुलण्ठक : लु आउनोस् है बड़ा । (झाँक्री धधङ्ग्रेको प्रवेश) । बस्नोस्… बस्नोस् । (झाँक्री बस्छ) ।
धधङ्ग्रे बड़ा : (नेपथ्यतिर हेर्दै) हन् त्यो कहाँ गएछ हँ…..
गमसफुल : को बड़ा ? बाहिर कोही छन् ?
धधङ्ग्रे बड़ा : छ नि… मेरो पाइलट…. धोम्बे क्या । (नेपथ्यतिर हेर्दै) एई धोम्बे… भित्र आइज न । के सारो लजाको हौ यो केटो ।(धोम्बे लजाउँदै प्रवेश)
गमसफुल : बिचारालाई लाज लाग्छ होला नि ता…. बस नानी बस…. (म चिया बनाउँछु ल… प्रस्थान)
धधङ्गे बड़ा : अब लजाएर भो ? होइन यसलाई यसो मेरो बिँड़ो थाम्छ कि भनेर झाँक्री ट्रेनिङ गराको यो मोरो के ढ्याङ्ग्रो बोक्नु कम्ति लाज मान्दैन अनि ।
धोम्बे :लाज लाग्दैन अन्त भन्नु ता । बजार बीचमा ढ्याङ्ग्रो बोकेर हिँड़्दा सबैको आँखा मेरैमाथि हुन्छ अन्त ।
धधङ्गे बड़ा : ढ्याङरोलाई झण्डी सोंचेर हिँड़दा भैगो नि…
धोम्बे : झण्डी सम्झेर हिँड़्नु अरे । अस्ति सिरानघरे बड़ाको घरमा थानाको ओह्रालै जाँदा बाटामा सीआरपीएफले ढ्याङरो देखेर ए…. कौन सा आर्म्स है भनेर ढ्याङ्ग्रो बाङ्बुङ पारिदिएको याद छैन ?
धधङ्गे बड़ा : अन्त सीआरपीएफको मुखैमा पुगेर ढ्याङ्ग्रो डङ्डङ् गरेपछि ढ्याङरो नफुटाएर ढ्याङरोलाई चुम्मा खावोस् । नहुने कुरा ता गर्नै हुँदैन नि । जङ्गलमै बिताउनेहरूले ढ्याङग्रो कहिले देखेको होस् न ढ्याङ्ग्राेको बारेमा जानेको होस् ।
धोम्बे : ढ्याङ्ग्राे बोकेर हिँड़्दा कुकुरहरूले पनि कम्ति भुक्दैनन् । थाना छेउमा एउटा कुकुर भुक्दै मलाई झम्टिँदै आयो कि मेरो पाला ढ्याङ्ग्रो ढ्याङ पारिदिएको थिएँ… सीआरपीएफले च्याप्पै समातेर न्याक र झ्याँक पारिहाल्यो नि ।
गमसफुल : अन्त धोम्बे नानीले पनि ढ्याङ्ग्राे बोकेर हिँड़्दा गिटार बोकेको सोंचेर हिँड़्नु नि । झण्डीको नै किन कल्पना गर्नुपऱ्यो र !
लठिबज्रे : (आय्या…. आय्या गर्दै भए पनि) यहाँ ता अचेल झण्डी बोकेर हिँड़्नु पनि पीर, नहिँड़्नु पनि पीर, ढ्याङ्ग्राे बोकेर हिँड़्नु पनि पीर छ धधङ्ग्रे बड़ा ।
डुकुलण्ठक : झण्डी बोक्नु ता एकप्रकाले मलाई ठिकै लाग्छ तर ढ्याङ्ग्राे  बोकेर हिँड़्दा यो मोराले फेरि कुन पार्टी खोल्ने रहेछ भनेर सीआरपीएफले पानीखेदो गर्नु बेर लाउँदैन । (गमसफुल चिया लिएर प्रवेश)

गमसफुल : चिया लिनुहोस् है…यहाँ ता एकक्षणमै चिसो भइहाल्छ ।
गमसफुल : के ले पानीखेदो गर्छ अरे ?
धधङ्गे बड़ा : ढ्याङ्ग्रो बोक्नु नि गमसफुल नानी । (चिया पिउँदै )… खै कसलाई के भयो अरे ?
डुकुलण्ठक : यहाँ हाम्रा सरलाई नि धधङ्गे बड़ा । भनेको ठ्याक्कै सुन्दैन यो मोरा । चारैतिर लकडाउन छ… नानी बाहिरतिर नजा भनेको के सुन्थ्यो र ! लकडाउन छ भनेर बाहिर जाने हुँदा पुलिसको लौरोले यो लठिबज्रेका हड्डीहरू सबै ब्लक भएको देख्नुभएन धधङ्गे बड़ा ।
धधङ्गे बड़ा : (मुण्टो हल्लाउँदै) हँ…. भनिन्छ नि आगो ताप्नु मूढ़ाको कुरा सुन्नु बूढ़ाको । बूढ़ा बाउका कुरा नसुन्दा अहिले कुकाठको मूढ़ाजस्तो लड़्नु परेन अनि ?
डुकुलण्ठक : कुकाठको मूढ़ाजस्तो लड़्नु मात्र होइन… तपाईलाई थाहा छ धधङ्गे बड़ा ? जाऊ न भित्र वाशरुममा । अहिले ता यसले वाशरुमको माथि डोरी झुण्ड्याएको छ ।
धोम्बे : आम्बो… वाशरुममा डोरी चैँ के को लागि नि ?
डुकुलण्ठक : पाखा बस्दा बसिसक्नु छैन…. अऩ्त डोरीमा तुर्लुङ्ङै झुण्डियो अनि हल्लिँदै पाखा बस्यो ।
गमसफुल : अम्मुई मेरो लठिबज्रेलाई कम्ति ता साह्रो परेको छैन । हेर न… धोम्बे नानी… यो थला परेको पन्ध्र बीस दिन जत्ति भैसक्यो । बोलचाल, खानु पिउनु केही छैन । केश, जुङा, दारी काट्नु नपाएर हेर्नु न गति कस्तो भएको छ मेरो लठिबज्रे नानुको ।
धोम्बे : हो… नि… र ता हेर्दा लादेनजस्तो देखिँदोरहेछ लठिबज्रे भाइलाई ।
भम्पे : त्यति मात्रै यसको नाक र कानको भुत्ला बढ़ेर हेर्नु न…. नो म्यान्स ल्याण्डलाई पनि छोप्लाजस्तो भइसकेको छ ।
धधङ्गे बड़ा : (लठिबज्रेको नाड़ी छाम्दै र सर्वाङ्ग मुहार हेर्दै) हँ…. आमामा…. हाम्रो लठिबज्रे नानीको दारी ता ठिकै छ । दारी बढ़्ने समय नै हो तर यो नानीको नाक र कानको भुत्ला चाहिँ प्यूर अर्ग्यानिक हो है । हाम्रो…..
गमसफूल : (कुरा काट्दै) हेर्नु न धधङ्गे बड़ा…. पुलिसले कुट्नु पनि कस्तो आँखा नहेरी कुटेको । जीउभरि सुम्ला हेर्नोस् न…सुम्लै सुम्ला बाहेक अरु केङी छैन अऩ्त ।
डुकुलण्ठक : यो लठिबज्रेको जीउभरि सुम्लै-सुम्ला देख्दा ता पुलिसको डण्ठा यसकै निम्ति बनाएकोजस्तो लाग्छ ।
भम्पे : अन्त पुलिसले कुट्दा थापिरायो भने ता हान्छन् नि मोराहरू धुरिएर ।
धधङ्गे : (लठिबज्रेको नाड़ी समात्ने प्रयास गर्दै) खै ता लठिबज्रे नानी ! खै तिम्रो हात यति ल्याऊ नानी । (नाड़ी छामेपछि) यिनको नाड़ी छाम्दा ता यिनको सातो पुलिसको डण्ठाले लगेको देखिँदैछ ।
धोम्बे : अऩ्त पुलिसको लट्ठी ल्याएर मन्साउनु धधङ्गे उस्ताद ?
डुकुलण्ठक : उस्ताद ? झाँक्री बड़ालाई किन उस्ताद भन्यौ हौ धोम्बे तिमीले ?
धोम्बे : अन्त मलाई झाँक्री ट्रेनिङ गराएपछि धधङ्गे बड़ालाई उस्ताद नभनेर के भन्नु ?
गमसफुल : त्यो पनि ठिकै हो नानीको कुरा ।
भम्पे : पुलिसको लट्ठी तिमीले ल्याउऩ सक्छौ धोम्बे ?
धोम्बे : आम्बो…. लट्ठी ? त्यो पनि पुलिसको ? बरु मलाई गिद्देको पहारा बोकेर ले भन्यो भने तुइँतुइँती बोकेर ल्याइदिन्छु कि तर पुलिसको छेउमा ता पर्दै पर्दिनँ ।
गमसफुल : किन त्यस्तो एलार्जी पुलिससित ?
डुकुलण्ठक : होइन… होइन… पुलिस भन्नेसित जोगिएकै राम्रो । भनिन्छ नि बाघले चिथोरे दसवटा मात्रै घाउ हुन्छ अरे अनि पुलिसले छोयो मात्रै भने पनि सयवटा घाउ हुन्छन् अरे ।
धधङ्गे बड़ा : अन्त हाम्रो नानीले पुलिसको गतिलो भेटेको रहेछ नि । पुलिसले पुलिसको लट्ठी वर्षाको ता लाइभ देखेको छु नि…. । अम्मुई…हाम्रो धोम्बेबाबुको आङमा पनि पुलिसको लट्ठी वर्षैकै हो होनि नि । (सहायक धोम्बेतिर दृष्टि फिराउँदै) एई…धोम्बे…भन् ता कसरी वर्षाउँछन् पुलिसले लट्ठी ?
धोम्बे : (काव्यात्यात्मक लयमा)
वर्षाउँछ लट्ठी बलजफ्ति हे राम
आँखा नहेरी स्वाम् कि स्वाम्
त्राहि माम् त्राहि माम़्
हान्छ पिठ्यूँ कि चाकमा
एकै स्वाँठले पुऱ्याउँछ नरकमा ।

धधङ्गे बड़ा : तिमेरलाई थाहा छैन… यो हिँड़्दा पनि एक महिनासम्प कना भएर हिँड़्नु थालेको थियो । (प्रसङ्ग बद्लिँदै) अच्छा लु ता गमस नानी ! काँसाको थालमा अलकति चोखो पानी, अलकति तितेपाती र एक लोहोटा चोखो पानी ल्याउनु ता ।
डुकुलण्ठक : गमस तिमी चोखो पानी र चामल ल्याऊ… म बाहिरबाट तितेपाती ल्याउँछु । (दुवै प्रस्थान)
भम्पे : धधङ्गे बड़ा चिन्ता नै बस्नुपर्छ कि ?
धधङ्गे बड़ा : हेरौं न अहिले हेरकोर् गर्दा जोखाना के खुट्टिन्छ । मैले नानी लठिबज्रेको नाड़ी छाम्दा ता यिनलाई पुलिसको लट्ठीको निहुँ मात्रै देखेँ । ठूलो उल्काभ्रामरीमा जाँकेर पनि कुन भगवानले यिनको हात थाम्यो..त्यो ता उनै भगवानलाई मात्रै थाहा होला ।
गमसफुल : धन्न पुलिसको लट्ठीले यो उल्काभ्रामरीबाट जोगिएछ है । (गमसफुल र डुकुलण्ठकको प्रवेश)
गमसफुल : लु है बड़ा….यी चामल र चोखो पानी ।
धोम्बे : यो तीतेपाती धोएर लोहोटामा मिलाएर राखिदिनू ।
गमसफुल : अरु केई ल्याउनुपर्छ कि ?
धोम्बे : छ भने चोखो घरमै बनाको एक बोतल सगुन पनि राख्नुहोस्… धधङ्गे बड़ाको अघि । (गमसफुल घरमै तयार पारिएको एक बोतल मदिरा ल्याएर राखिदिन्छिन्)
धधङ्गे बड़ा : (झाँक्री लयमा मन्त्र गुनगुनाउँछ मात्र) हँ… हँ… हँ… हँ…
धोम्बे : दुइवटासम्म सिन्के धूप बालेर ल्याउनुहोस् न…. (हतार हतार सिन्केघूप बालेर राखिन्छ)
डुकुलण्ठक : राम्ररी राख है… धूपले बड़ाको फिला पोल्ला नि ।
भम्पे : एक कप्टेरो आलु ल्याउनुहोस् न… अनि त्यसैमाथि धूपको सिन्का गाड़्दा भैगो नि ।
गमसफुल : हो ता… (भान्सा कोठातिर प्रस्थान अनि प्रवेश । कप्टेरो आलुमाथि सिन्केधूपको सिन्का गाड़्छिन्)
धधम्बे बड़ा : (पुनः होशमा फर्केपछि) हँ…. सबै छतछती देखेँ ।
गमसफुल : सबै खुलस्त दिनोस् है धधङ्बे बड़ा ।
डुकुलण्ठक : त्यस्तो नराम्रो ता केही छैन होला नि हई ।
धधङ्गे बड़ा : (गम्भीर मुद्रामा) लठिबज्रेलाई ठूलो दोख लागेको छ । पुलिसको लट्ठी ता एउटा बहाना मात्रै हो । पुलिसको लट्ठी नखाको भा यो मान्छेलाई तपाईहरूले मेरो छोरो भन्न पाउनुहुन्थे नि ।
भम्पे : दोख चैँ के लागेको रहेछ धधङ्गे बड़ा ।
गमसफुल : (रुञ्चे स्वरमा) तेसो नभन्नोस् न धोधोम्बे बड़ा । एउटै मात्र यत्रो लाठे छोरो केई भयो भने म ता झुण्डेर मरे पनि भो नि (रुन्छिन्) पुलिसको लट्ठी नखाको भा यो मान्छेलाई तपाईहरूले मेरो छोरो भन्न पाउनुहुन्थे नि ।
धोम्बे : केई हुन्न गमसफुल दिदी केई हुन्न । ठ्याम्मै सुर्ताउऩु पर्दैन तपाईहरू । हाम्रो धधङ्बे उस्तादको फाकफुक परेपछि जस्तै उल्काभ्रामरी पनि पल्लो डाँड़ा काट्छ ।
डुकुलण्ठक : खासमा के चैँ भाको रहेछ ? दोष चैँ के रहेछ धोधोङ्बे बड़ा ?
धधङ्गे  बड़ा : (हाय काढ़्दै) दोष अरु के हुन्थ्यो र ? त्यै ता हो झण्डादोष । अब हाम्रा केटाहरू झण्डा बोक्नु पायो कि लटरी नै पाएजस्तो गर्छन् । एउटा झण्डी छोड़ेर अर्को झण्डी समात्दा पुरानो झण्डीको अपमान गरेकोले त्यै पुरानो झण्डीले भेदेको रहेछ । तर यसको निवारण गर्न सकिन्छ ।
गमसफुल : लु जसरी पनि बड़ाले गर्नुपऱ्यो ।
डुकुलण्ठक : के गर्नुपर्ने हो ? पुरानै झण्डी समात्नुपर्ने हो कि ?
धधङ्गे  बड़ा : त्यस्तो केई गर्नुपर्दैन । एउटा ठूलो चिन्ता राख्नुपर्छ अर्को हप्ता ।
गमसफुल : छिटै चिन्ता बस्दा हुन्न बड़ा ?
भम्पे : जतिसक्दो छिट्टै नै गरेको राम्रो होइन फिष्टे काका ?
डुकुलण्ठक : हो नि । शुभस्य शिघ्रम ।
धधङ्गे बड़ा : होइन… छिटै गरेकै राम्रो नि । तर यो हप्ता तल गैरी गाउँमा चिन्ता राखेको छु । त्यहाँ बिजी छु ।
धोम्बे : अर्कै हप्ता ठिकै छ । अर्को हप्ता आउनु कति पो समय लाग्छ र ।
डुकुलण्ठक : चिन्ताको निम्ति के के चाहिन्छ…. भनिदिनोला ।
धधम्बे : बड़ा हुन्छ । म भरे-भोलि सबै लेखेर भम्पे नानीको हातमा पठाइदिन्छु । (भम्पेलाई) भम्पे नानी ! भोलि बिहान मेरो घर आऊ ल । (भम्पेको स्वीकारोक्ति) ।

धोम्बे : लु… अब जौं हई उस्ताद ।
गमसफुल : कहाँ हौ । केही खाएर जानुपर्छ नि ।
धधङ्गे बड़ा : पर्दैन । अघि भर्खर ता खाएर आएको । डम्मै छ । मन्सी गाउँमा जानुपर्छ ।
डुकुलण्ठक : होइन बड़ा… (मदपान गर्ने इङ्गित गर्दै) यसो…. पिउनुहुन्न ?
धोम्बे : अब्बुइ…. अहिले बाटोमा पुलिसले भेट्यो कि मपासे कि मपासे भनेर मुखभित्र के के घुसार्छ घुसार्छ । होस् आज हामीलाई केई पर्दैन । बरु चिन्ताको दिनै जत्ति खाउँला । आखिर चिन्ताको दिन सिङ्गै रात कट्ने नै ता हो ।
गमसफुल : ल्या हौ…केही पनि भएन ता बड़ाहरूलाई ।
धधम्बे बड़ा : निको छ नानी निको छ । लु हिँड़ौ केटो । (सबै निस्कन्छन् ।)

(क्रमशः)

०००
सिलगुडी, (भारत)
कार्टुन : निरज खाम्बेन, सिङबुली चियाबारी, मिरिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x