साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माउभन्दा चल्ला बाठा

ती माउहरूका चल्लाहरू पनि माउ भैसके तर देश सिङ्गापुर हुँदै भएन । अब चल्लाहरूको चमत्कार हेर्ने धैर्य गर्नुहोस् । देश स्वर्गै बन्ला जस्तो छ गाँठे ! चल्लाहरूमा माउहरूको वंशाणुगत गुण सरेन भने नेपाल अमरावती बन्न के बेर ?

Nepal Telecom ad

काशीनाथ मिश्रित :

आजकल मैले माउ पार्टी भन्ने गरेको सुन्छु । तर चल्ला पार्टी भनेको चाहिँ थाहा छैन । पार्टीहरू पनि माउ र चल्ला हुन थालेपछि अरु के बाँकी रहलान् ! माउ त चराचुरुङ्गीको पोथीलाई बुझ्थेँ मैले आजसम्म । कहिलेकाहीँ राजनैतिक विश्लेषक पदवी पाएका तिश्लेषकहरूले माउ नेता भन्ने गरेको पनि सुनिन्छ । हैन नेताहरूमा पनि माउ र चल्ला हुन थालेछन् गाँठे । विश्लेषकहरूलाई किन तिश्लेषक बनायो भन्नुहोला ! विश्लेषण पनि यथार्थ गर्ने भए त हुन्थ्यो कसैलाई उरालेर र कसैलाई खसालेर गरिदिन्छन् । त्यसैले भन्न मन लागेको हो । नभए दसलेषक नै भनिदिनुहोस् न त के फरक पर्छ र ! एउटा चल्लो नेता त म आफै पनि हुँ होला । राजनैतिक पार्टीको नेता मात्र नेता हुन्छ र ? अराजनैतिक पार्टीको पनि त नेतै हुन्छ । म पनि अघोषित अराजनैतिक पार्टीको नेता हुँ बुझ्नु भो चल्ला नेता ! चल्लाहरूको कि बाउ हुन्छ कि माउ । बाउलाई माउ भन्न थालिनुको कारण भने खोज्नै पर्छ ।

चल्लाहरूको लिङ्गभेद हुँदैन भनेर माउहरूमा पनि लिङ्गभेद नगर्नका लागि बाउलाई माउ भनिएको भए राम्रै हो । नत्र त माउले अण्डा छोपेर ओथारो बस्छ, भाले ओथारो बस्दैन । पन्छीलाई छोडेर जनावरतिर लाग्ने हो भने पनि गाई वा भैँसीको माउ भन्नाले बुढो भैसकेको पोथी पशुलाई नै बुझाउँछ क्यारे ! माउ राँगो वा माउ गोरु भनेको त मैले सुनेको छैन । आफ्ना बच्चाबच्चीलाई दुध वा चारा खुवाएर हुर्काउने पशुपन्छीलाई मात्र माउ भन्न सुहाउने भएपछि तपाईं आफै भन्नुहोस् माउ नेता वा माउ पार्टी भन्न कत्तिको सुहाउँछ । अरु कसैलाई नदिएर आफै लुँड्याउन पल्केकालाई माउ भन्न त पटक्कै सुहाउँदैन । चल्लाहरू मरे मरून् बाँचे बाँचुन् भनेर वास्तै नगर्नेलाई पनि माउ भन्नु त ! आजकल माउभन्दा चल्ला बाठा भैसकेका छन् भन्ने जानेकै छन् क्यारे हाम्रा माउहरूले । नजानेको भए कागलाई सोध्नुहोस् न बताइदिन्छ ।

मलाई चार कक्षामा पढाउने गुरुले भनेको कागको कथा झट्ट यहाँ सम्झना भयो । त्यो सुन्नुभयो भने माउ बाठा हुन्छन् कि चल्ला भन्ने तपार्इंलाई थाहा हुन्छ । एउटा रुखको हाँगामा कागले गुँड लगाएको रहेछ । बचेराहरू उड्न सक्ने भइसकेका थिएनन् । माउले चारो खोजेर ल्याउँदै खुवाउँदै गरिरहेको थियो । दिन बित्दै जाँदा बचेराहरू उड्न सक्ने भए । एक दिन माउले बचेरालाई अर्ति दिन थाल्यो । हेर बच्चा हो ! अब तिमीहरू आफै उड्न सक्ने भयौ । अलिक चलाख हुन सिक । सधै चनाखो भइरहनु कागको विशेषता नै हो । कतै चारो टिप्न जाँदा वा जे सुकै गर्दा होस् मानिससित सधै होशियार हुनुपर्छ । मानिसले ढुङ्गो टिप्न थाल्यो भने उडिहाल्नु पर्छ । अनि बचेराले भन्यो बा ! मानिसले खल्तिमै ढुङ्गो ल्याएको रहेछ भने त हानिहाल्छ नि ! त्यसरी कहाँ हुन्छ र ? मानिसलाई त टाढै आएको देखेर उडिहाल्नु पो बुद्धिमानी हुन्छ । कागको माउ नाजवाफ भयो । त्यसै बेलादेखि थालियो माउभन्दा चल्ला बाठा भन्न ।

सानैमा हजुरआमासित कुन्नि के कुरा गर्दा उहाँले ‘बढ्ता नकरा, माउभन्दा चल्ला बाठा बन्न खोज्ने हैन !’ भनेर हप्काउनुभएको थियो । यो उखान मैले उहाँकै मुखबाट पहिलो पटक सुनेको हुँ । चार कक्षामा सामाजिक पढाउने गुरुले कथा सुनाएपछि भने मलाई लाग्यो पशुपन्छीहरूले माउभन्दा चल्ला बाठा भएको मन पराउँदा रहेछन् तर मान्छेहरूलाई भने मन पर्ने रहेनछ क्यारे । नपत्याए हेर्नुहोस् त हाम्रो गाउँसहरका माउहरूले चल्ला बाठा भएको देखिसहँदैनन् । अलिकति उछिनेर कुरा गर्ने हो भने मुख बन्द गर्ने दाउ खोजिहाल्छन् । अझै माउ पार्टीका माउ नेताको कुरो गर्ने हो भने चल्ला पार्टीका चल्ला नेताहरूको सलबलाहट देखेर पुठ्ठामा घाउ आउन्जेल कुर्सीमा टाँसिने दाउमा लागेको कुरा भरखर कोरलिएका कुखुराका चल्लालाई समेत थाहा छ, तपाईँहामीलाई नहुने कुरै भएन ।

बुझपचाउने भनेको बुझेरै हो, नबुझी नबुझी कसैले पनि बुझपचाउन सक्दैन । चल्ला बाठा भएको ठाउँ विकसित हुन्छ भन्ने हाम्रा माउहरूलाई थाहा नभएको होइन । संसार घुमेर देखेका छन् । अरु ठाउँमा चल्लाहरूलाई कागले झै उड्न सिकाइन्छ । यहाँ भने सकेसम्म पिञ्जरामा थुन्ने प्रयास हुन्छ । केही गरी उड्न खोज्यो भने पखेटा काटेर उड्नै नसक्ने बनाइन्छ । हेर्नुहोस् न भरखरका चल्लाहरूले बिछट्टै उन्नति गरे भनेर माउहरूको छटपटी बढेको ! हामीले प्वांख फिँजार्न नसक्ने भएर पनि गुँड ओगटेको चल्लाहरूलाई मन परेको छैन भनेर हो या अर्को जातको माउले हडप्छ भनेर हो गुँडमा भित्रिएपछि माउहरूको दाउ भनेकै एनी हाउ गुँड बचाउ मात्र छ । चल्लाहरूले पनि त दाउ पर्खेका होलान् नि !!

चल्लाहरूको बाउ वा माउ जे भए पनि माउभन्दा चल्ला बाठा हुनु प्राकृतिक नियम हो । चल्लाहरू बाठा नभैदिँदा हुन् त संसारले यो अभूतपूर्व प्रगति गर्ने नै थिएन । चल्लाको तुलनामा माउ सधै पुरानो नै हुन्छ । नयाँ सोँच, चिन्तन र विचार चल्लाहरूमा तीब्र नभएको भए आज विश्व जङ्गली युगमै हुन्थ्यो । मरिहत्ते गरे पनि चल्लाहरूले माउलाई जितेकैले आज हामी यो अवस्थामा आएका हौँ । सहरतिरका माउहरूले चल्लाहरूलाई बाठा हुन नदिने र गाउँतिरका माउहरूले बाठा बनाउँदा गुँड छोडेर अन्तै जाने समस्याले गर्दा गाउँघर जङ्गलिँदै छ भने सहरबजार रन्थनिँदै छ । तपाईँ जे भन्नुहोस् म चाहिँ चल्ला नै बाठा हुनुपर्छ भन्ने मान्यता राख्छु । हुन त म मेरा चल्लाहरूको माउ र मेरो माउको चल्लो नै हुँ र छु पनि । चल्लाहरूलाई बाठा नबनाउँ आफूले गुड धानिरहन सकिन्न, बाठा बनाउँ चल्लाहरू गुँड छोडेर बरालिन्छन् गर्नुहुन्छ के ?

कुरा माउ नेता र माउ पार्टीको मात्र हैन, सबै खाले तह र तप्कामा रहेका माउ मान्छेहरूको हो नेताहरूलाई मात्र किन दोष दिने ? माउ भएका सबै मान्छेको मानसिकता नै चल्लाहरूलाई टाठाबाठा बन्नबाट रोक्ने नै हुन्छ । माउ कविले चल्ला कविलाई अघि बढ्न दिँदैन । माउ समालोचकले चल्ला समालोचकको आलोचना गर्छ । माउ डाक्टरले चल्ला डाक्टरलाई विश्वासै गर्दैन । माउ व्यापारीले चल्ला व्यापारीलाई उँभो लाग्नै दिँदैन । माउ शिक्षकले चल्ला शिक्षकको घृणा गर्छ । माउ पत्रकारले चल्ला पत्रकारको उन्नति देखिसहन्न । यति मात्र कहाँ हो र हजुर ! माउ डाइबरले चल्ला डाइबरलाई दबाउनै खोज्छ । आफू अलिकति माथिल्लो ओहोदामा पुग्यो भने तल्लो ओहोदाको मान्छेलाई च्याप्नु र हतोत्साहित गर्नु मान्छेको प्राकृतिक गुण हो । तर चराचुरुङ्गी वा पशुहरूमा भने यस्तो हुँदैन । लौ भन्नुहोस् त के नेतालाई मात्र दोष दिनु ठिक हो ? यहाँ को पो माउभन्दा चल्ला बाठा होउन् भन्ने चाहन्छ र !।

कागका मात्र हैन मान्छेका पनि माउभन्दा चल्ला नै बाठा हुन्छन् । कसैले नहोउन् भनेर हुने हो र ! चल्ला पार्टीहरूको चुरिफुरी देखेर माउ पार्टीहरू हडबडाए पनि नहडबडाए पनि हुने भएरै छोड्छ । दुईचार चल्लाहरूले चमत्कार गरी नाम चम्काएको देखेर माउहरूको मुटुमा मुङ्ग्राले मुड्क्याउन थालेको त सबैलाई थाहा नै छ क्यारे । माउहरूले चल्लाहरूलाई च्याप्न खोज्दा र उचित ठाउँमा चयन नगर्दा यो हालत हुन लागेको हो भन्ने बुझे हुन्छ । मार्क्स र माओको सिद्धान्त पनि माउ भयो । बिपीको सिद्धान्तले अब ढिपी गरिरहन सकेन क्यारे ! हेर्नुहोस् न माउहरूले देशलाई सिङ्गापुर बनाइदिन्छौँ भनेको कति वर्ष भयो ? ती माउहरूका चल्लाहरू पनि माउ भैसके तर देश सिङ्गापुर हुँदै भएन । अब चल्लाहरूको चमत्कार हेर्ने धैर्य गर्नुहोस् । देश स्वर्गै बन्ला जस्तो छ गाँठे ! चल्लाहरूमा माउहरूको वंशाणुगत गुण सरेन भने नेपाल अमरावती बन्न के बेर ?

झ्याप्पै मलाई अर्को वाक्य सम्झना भयो उनै चार कक्षामा पढाउने गुरुको । सो कथा सुनाइसकेपछि गुरुले ‘साना छउन्जेल कुखुराका चल्ला, ठुला भएपछि बाहुनलाई चल्ला !’ भनेको पनि चालिस वर्ष भएछ । चालिस वर्षअघि बाहुनहरूले लुकेर मात्र कुखुरा खान्थे भन्ने मलाई अहिले बोध भएको छ । अहिलेको कुरा गर्ने हो भने कुखुरा हैन बङ्गुर खान पनि लुक्नु पर्दैन क्या ! यो धर्मनिरपेक्ष देश हो त्यतिबेला जस्तो हिन्दू राज्य हैन । चार कक्षामा पढ्ने चल्लालाई के थाहा गुरुले भनेको पछिल्लो चल्लाको अर्थ ? चल्लाको अर्थ चल्ने काम गर्ला भन्ने भाव नबुझे पनि खुब रमाइलो मानी मानी कथा सुनेका थियौँ त्यो बेला हामी चल्लाहरूले । राम्रै उत्तर लेखे पनि राम्रो अङ्क भने कहिल्यै आएन । ठुला ठुला कक्षाहरूमा पढ्दै जाँदा पनि यो अनुभव रहिरह्यो । यो त गुरुहरूको चरित्र नै हुन्छ होला । यो पनि माउभन्दा चल्ला बाठा हुन नदिने एउटा ज्वलन्त उदाहरण हो कि !

मेरो यो बखान सुनेपछि तपार्ईंले आफ्ना चल्लाहरूलाई बाठा बनाउन चाहनुहुन्छ कि हुन्न त्यो तपाईंकै जिम्मा । तर तपाईंले नचाहे पनि तपाईंका छोराछोरीहरू तपाईंभन्दा बाठा नै हुन्न्5, छैनन् भने हुनुपर्छ । नत्र त संसार गतिहीन भएर हिँड्छ उल्टो दिशातिर । खुब बाठो छु भनेर बखान गरेँ भन्ठान्दो हो भन्नुहोला मलाई । म आफू चाहिँ बाठो बन्न खोजेको भने हैन नि ! । माउहरूले पढे भने यो बखान चल्लाचल्ला जस्तो लाग्न सक्छ भने चल्लाहरूको हेराइमा माउमाउ अनुभव हुन पनि सक्छ । तर ठोकुवा गरेर भन्छु अहिलेका माउहरू कुनै हालतमा अब चल्ला हुन सक्दैनन । तर अहिलेका चल्लाहरू भने माउ भएरै छोड्छन् । त्यसैले माउहरूले चल्लाहरूलाई हेप्नु हुँदैन भन्ने बुझिराख्नुहोला । माउभन्दा चल्ला बाठा हुनु प्राकृतिक नियम हो ।

०००
२०८० साउन ७ गते
रुरुक्षेत्र ५, गुल्मी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x