नगिता लेप्चा राईभिखारी एसोसिएसन जिन्दावाद !
तर यो भिखारी भनौदा पनि मापाको हुन्छ नि । एकदिन त्यसको गति देखेर मैले एउटा सिङ्गै सिग्रेट दिएँ । सिग्रेट समातेर सिग्रेट मलाई फर्काउँदै भन्यो - सर म फिल्टरवाला सिग्रेट बाहेक अरु कुनै सिग्रेट पिउँदिनँ ।

नगिता लेप्चा राई :
अखबारको हेडलाइन मात्र हेर्ने बानी छ । ब्याग टेबलमाथि राखी टेबलमा प्यूनले राखिदिएको अखबारका हेडलाइनहरू पढ़्न थालेँ । एउटा अचम्मको हेलाइनले मलाई आकर्षित पार्यो । हेडलाइन यस्तो थियो-
‘श्रमिक यूनियनको इतिहासमा थप संयोजन भिखारी एसोसिएसन स्थापित’ ।
बडाबाबु चक्रवर्ती । अखबारमा छापिएका समाचारहरूमाथि यिनको आलोचना शुरु हुन्छ । कुनै खबरले यिनी उत्तेजित हुन्छन्, कुनै खबरले यिनी प्रचण्ड रिसाउँछन् । आज भने अखबार हेर्दै यिनी मरिमरि हाँस्न थाले । समाचारको आलोचना गर्दाहुँदी यिनलाई केही थप्नै हुँदैन । यिनको कुरा लाबरजस्तो तन्केको तन्केकै हुन्छ । चक्रवर्तीबाबु अफिसै उचाल्ने गरी हाँसे… तर कसैले केही सोधेनन् । सोध्यो खतम । उनी आफै गन्गनिँदै गए- वाह ! वाह ! भिखारीहरूको पनि एसोसिएसन ? सबै पेशामा यूनियन बनिन सक्छ भने भिखारीले एसोसिएसन खोल्नु पाउँदैन र ? अन्य पेशा झैं भिख माग्नु पनि एउटा पेशा नै हो । यो स्वनियुक्ति योजना हो ।
खबरकागत पढ़ेको जस्तो गरी चेश्माको चेपबाट म चक्रवर्तीबाबु बोलेका हेरिरहेको थिएँ । मलाई हेर्दै उनको तर्क सुनाउन थाले – यो योजनाको सबैभन्दा वृहत् प्लस पोइण्ट के हो भने .यस पेशाको निम्ति कुनै प्रारम्भिक खर्च छैन । मात्र एउटा भिक्षा पात्र जोगाड़ गर्नुपर्छ सारा काम तमाम् । न कुनै क्यास चाहियो न ब्याङ्क ब्यालेन्स । भिख मागेर खानु र यसको एसोसिएसन बनाउने योजना मलाई साह्रै मनपरेको छ । गुड भेरी गुड…वेल डन बेगर्स् वेल डन ।
मलाई चक्रवर्तीबाबुको तर्क बेठिक लागेन । साँच्चै यो योजना उत्तम योजना लाग्यो मलाई पनि । के गर्नु चक्रवर्तीबाबुसित बोलि सक्नु छैन । अलिकति पनि उनको कुरालाई हाँ भन्यो कि सर्वनाश । तर यस योजनाको सफलता असफलता जनतावर्गमाथि निर्भर हुन्छ । यिनीहरूले मुक्त हस्तले दान नदिँदा भिख व्यापारीहरूको गणेश चित् हुनु पनि बेर लाग्दैन ।चोरी, डकैती, पाकेटमारी, लुटपाट, वा घूस खानुभन्दा बरु भिषा माग्नु निश्चय नै पेशा रुपमा धेरै बेस छ । यो पेशमा कुनै चिटिङ छैन । चलाकी छैन ।
भिखारीले भिख माग्ने पेशा जस्तै अन्य पेशामा पनि भिख माग्ने परम्परा छैन भन्नु ठूलो गल्ती हुन्छ । यस्ता भिख गुप्तिरुपमा खामभित्र वा थर्ड पर्सन मार्फत् दिने वा लिने चलन छ । लुकीछिपी भिख माग्ने यस्ताहरूलाई भद्र खानदानी बिहाइण्ड द कर्टेन भिखारी भन्न सकिन्छ ।
प्राचीन युगमा पनि भिख माग्ने चलन थियो । यस पेशाको सामाजिक अनुमोदन थियो । त्यस युगमा भिख माग्नेलाई भिक्षार्थी भनिन्थ्यो । अहिले भिखारीहरू इन्फ्योरिटी कम्पलेक्सका शिकार छन् भने त्यसताकाका भिक्षार्थीहरू त्यस्तो कुनै शिकारले ग्रसित थिएऩन् । त्यसबेलाका भिक्षादात र भिक्षाग्रहिताको सम्बन्ध नङमासु झै थियो । त्यसै युगको भिक्षाव्यवस्थामा गुरुगृहमा बस्दा घर-घरमा डुलेर आहार सङ्ग्रह गर्नु वाध्यतामूलक थियो । राज्यका राजकुमारहरूले पनि किन सङ्कोच, लाज नमानी गाउँ-गाउँ डुलेर भिक्षा माग्थे । कारण यसलाई शिक्षा हासिल गरने एउटा अविच्छेद्य अङ्ग मानिन्त्यो । ब्राह्मण समाजमा अहिले पनि वर्तमानको समयमा भिक्षादान प्रथा चालु छ ।
त्यसताक भिक्षार्थीलाई अपमान, छिःछिः र दूर-दूर गर्नु त परै जावोस् अवहेलना तिरस्कार गर्नु पनि अक्षम्य अपराध मानिन्थ्यो । अग्निशर्मा दुर्बासालाई कुटी बाहिर उभ्याएर राख्दा शकुन्तलाले कस्तो कैफियत दिनुपरेकी थिइन् त्यो एकपल्ट सोंची हेर्नोस् । आफ्नो मन्त्र बलले बुझेर मुनी कसरी बम्केका थिए । सीतादेवी यही डरको कारणले देवर लक्ष्मणको कुरा अमान्य गरी भिक्षुकरुपी रावणको खप्परमा परेकी थिइन् । दुइ नम्बरी गर्न पञ्चवतीमा दशमुखे आएका थिए त्यो सीतादेवीले ठ्याम्मै चाल पाउन सकिनन् । यदि चाल पाएकी भए चिम्टा, चिरुवा दाउरा वा बेलना जे पायो त्यसैले लखेट्ने थिइन् ।
भिखारीहरू ईश्वरका प्रतिरुप हुन् भन्ने स्वीकार गर्नोस् नगर्नोस् त्यो ठूलो कुरो होइन भन्ने चक्रवर्तीबाबुको तर्क छ । चक्रवर्ती बाबु एक्लै गन्गनाइनै रहेका छन्- भिख माग्नु निश्चय अपराध होइन तर भिखको नाममा कीराले खाएको चामल, कुहेको आँटा, बासी रोटी आदि कुखाद्य कुनै पनि भिखारीलाई दिनु अपराध नभए पनि पाप चैं हण्ड्रेड पर्सेण्ट हो ।
चक्वर्तीबाबु आफ्नो तर्क छाँट्छन् यसरी- अ बेगर ह्याज नो चोइज अङ्ग्रेजीमा भनिन्छ । त्यो नपत्याउन र टुङ्गो न पुच्छरको कुरो हो । एकजना भिखारीलाई म चिन्छु । त्यसले सिनेमा हलको ग्राउण्डमा फ्याँकिएका सिग्रेटका ठुटाहरू टिपी चिया दोकानको माचिसले बालेर पिउने गर्छ । फेरि इण्टरभलमा धेरै दर्शकले टोयलेटको छेउमा तीन-चार सर्को तानेर फ्याँकेका सिग्रेट टिपी सरसरती तान्ने गर्छ त्यसले । तर यो भिखारी भनौदा पनि मापाको हुन्छ नि । एकदिन त्यसको गति देखेर मैले एउटा सिङ्गै सिग्रेट दिएँ । सिग्रेट समातेर सिग्रेट मलाई फर्काउँदै भन्यो – सर म फिल्टरवाला सिग्रेट बाहेक अरु कुनै सिग्रेट पिउँदिनँ ।
भिखारीविरुद्ध जति नै रिसाए पनि चक्रवर्ती बाबुलाई भिखारीप्रति सफ्ट कर्नर चाहिँ छ । यसै र उनी भन्छन् – भिखारीहरू मनका राजा हुन् । धरती उनीहरूको खाट अनि आकाश छान । भिखारीप्रति मेरो असिम श्रद्धा छ । यिनीहरू ढुक्कैले भिख माग्छन् । यिनीहरूको बटुका वा टोक्रेमा पचास पैसाको क्वोइन हालिदिनोस्…नो अब्जेक्सन ।
मेरो मुख यस्तो चिलाएर आएको थियो । तर बोलिनँ केही । बोल्यो चक्रवर्तीबाबुको संवाद अफिसभरि फैलिन्छ । मनमनै भने, जानोस् न अहिले गएर कुनै पनि भिखारीको टोक्रेमा पचास पैसाको क्वोइन् हालिदिनोस् । त्यहाँबाट भिखारीको एटिट्यूड हेर्नोस् । दस रुपियाँभन्दा कम्ति पैसा भिखको रुपमा दियो भने लिन्न तेरो यो पैसा भनी घुर्की देखाई बाटो तताउँछन् । अचले सरकारी कार्यालयमा कार्यरत् चपरासीदेखि लिएर बड़े बड़े हाकिमसमेत इण्डाइरेक्टली भिख माग्न पल्केका छन् । चस्ता भिखबाबुहरूको भिखको एउटा रेट तोकिएको हुन्छ । त्यो रेट जबसम्म फुलफिल् हुँदैन तबसम्म न तपाईको न त मेरो नै फाइलको धूलो झर्दैन ।
चक्रवर्तीबाबु पनि उही…
०००
खोलाचन्द फाप्री, सिलगड़ी भारत
Subscribe
Login
0 Comments
Oldest






































