पिँडालु पण्डितनेताज्यूहरूलाई गाउँले मतदाताको पत्र
सडकका कुरा मात्र होइन नेताज्यू, सडकमा लत्रेर सर्वसाधारणको ज्यान लिने र दुई सयको बिल तिर्न हजार खर्चेर सदरमुकाम धाउनु पर्ने विजुली बत्ती पनि हामीलाई चाहिएन । बरु गाउँमा विजुली पठाउन आँट्नु भएको छ भने त्यस्तो विजुली सहरतिरै जसलाई पुगेको छैन भन्छन् त्यसैलाई दिए हुन्छ । यी सबै कुरामा गाउँलेले घुर्की लगाए भन्ने नठान्नु होला नेताज्यू ।

पिँडालु पण्डित :
आदरणीय नेताज्यूहरू,
गाउँवासी मतदाताका तर्फबाट यथोचित दलीय अभिवादन ।
सर्वप्रथम त मुलुकको राजधानी सहरमा रहनु भएका हजुरहरू सबै सकुशल हुनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ । हामीमा हजुरहरू आराम हुनुहुन्छ भन्ने यो विश्वास त्यसै पलाएको होइन । हाम्रो पनि अनुमान गर्ने विभिन्न मापदण्ड छन् । ती मध्ये नेताज्यूहरूको सञ्चो बिसञ्चो सम्बन्धी अनुमान हामी रेडियो नेपाल र अन्य एफएम सुनेर गर्छौँ । टेलिभिजनहरूले पनि यी कुरालाई राम्रै स्थान दिन्छन् । धेरै भयो, यी सञ्चार माध्यमले कुनै पनि नेता स्वास्थ्योपचारको लागि विदेश प्रस्थान गरेको समाचार वाचन गरेका छैनन् । यस अर्थमा हामीलाई के लागेको छ भने यतिखेरको राजधानीको मौसम स्वास्थ्यका हिसाबले निकै अनुकूल हुनु पर्छ । यत्राविधि हजुरहरूलाई यति लामो अवधिसम्म पनि सामान्य रूघा, खोकीसम्म पनि नलाग्नु यसको ज्वलन्त प्रमाण हो । होइन भने नाकको सिँगानलाई नाकमै थुनेर स्वास्थ्योपचारको लागि पराई मुलुकतिर हजुरहरू प्रस्थान गरेका समाचार सञ्चारका यी साधनले प्रसारण गरिसक्थे ।
हुन त सामान्य रूघा, खोकीको उपचारका लागि हजुरहरू विदेशिएको समाचार यिनले प्रसारण नगरे पनि यिनको तलब पाक्थ्यो तर यिनको पेसा नै छुच्याइँ गर्ने, हुने खाने र देशको भलो चिताउनेको खोइरो खन्ने प्रवृत्तिको भएकाले गाउँघरका महामारी, मृत्यु, बाढी, पहिरो, अनिकाल, अन्याय, लुटपाट, बलात्कार, आगलागी आदिका समाचारलाई पन्छाएर हजुरहरूको त्यस्तो सामान्य रूघा, खोकीसम्मको समाचारलाई प्रसारण गरिदिन्छन् । हामी हाम्रा नेतालाई पत्रकार पत्रुहरूले यसरी पछि लागेर समाचार बनाएकोप्रति दुःखी छौँ तर के गर्नु तिनलाई भेट्ने र यसो नगर भन्न सक्ने पहुँचबाट हामी टाढा छौँ । तैपनि यहाँहरूको कुशलताको कामना गर्नबाट हामी चुकेका छैनौँ । त्यसैले यहाँहरूलाई ठायाँले पनि नछोओस् भन्ने दूरदराजको गाउँबाट हाम्रो निरन्तरको कामना छ । हाम्रो यो सन्देश अवश्य पनि हजुरहरू समक्ष पुग्ने नै छ ।
हाम्रो विषयमा यत्रोविधि चासो राख्ने तिमीहरूले आफ्ना कुशल मङ्गल र अरू विषयका कुरा त केही लेखेनौ भन्ने खसखस हजुरहरूलाई पर्न सक्छ । हजुरहरू जस्ता शुभेच्छुकलाई यस्तो खसखस लाग्नु अस्वाभाविक पनि होइन । हजुरहरू हाम्रै विषयमा चिन्तित हुनुहुन्छ र हाम्रै लागि मरिमेटिरहनु भएको छ भन्ने हाम्रो विश्वास छ । हाम्रै हितका खातिर हजुरहरू पाँच सात वर्षदेखि गाउँ फर्कन समेत फुर्सत पाउनु भएको छैन । त्यस विषयमा हामी पूर्ण जानकार छौँ । त्यता आइहाल्ने फुर्सत यतिखेर हामीलाई पनि नभएको र निकट भविष्यमै निर्वाचन पनि हुन गइरहेकाले त्यस बखत यहाँहरूसँग पक्कै भेट हुने आशाले अहिलेलाई हामीले त्यता आउने जमर्को नगरेका हौँ ।
हाम्रो स्वास्थ्यका विषयमा यहाँहरूले खासै चिन्ता लिनु पर्दैन । हाम्रा लागि यहाँहरूले यसअघि जे व्यवस्था गरिदिनु भएको थियो त्यो पर्याप्त छ । गाउँघरमा स्थापित स्वास्थ्य चौकीका चम्किला साइन बोर्डले हाम्रो स्वास्थ्यको सुरक्षा गरिरहेका छन् । बिग्रिनबाट बचाइराखेका छन् । स्वास्थ्य चौकीमा औषधि भए ती औषधि म्याद नाघ्ने र खाँदा साइड इफेक्ट समेत हुने डर हुन्थ्यो । स्वास्थ्य चौकीका चौकीदारले एउटा रोगका लागि ल्याएको औषधि अर्को रोगका लागि खुवाउने सम्भावना पनि हुन सक्थ्यो तर स्वास्थ्य चौकीमा औषधि नै नभएपछि ती सबै समस्याबाट हामी मुक्त छौँ । हामीलाई स्वास्थ्य चौकीमा औषधि भएन भन्ने पिर छैन । पिर छ भने स्वास्थ्य चौकीको साइन बोर्ड बिगे्रला भन्ने मात्र छ जुन साइन बोर्ड हेरेर हामी हाम्रो स्वास्थ्यलाई बिग्रनबाट बचाइरहेका छौँ । यतिसम्म कि गाउँघरका स्वास्थ्य चौकीमा आएर अहिलेसम्म कोही पनि गर्भवती महिलाले प्राण बिसर्जन गर्नु परेको छैन । कोही आइहालेछन् भने तिनलाई ढिलो नगरी एउटा एउटा बहाना निकालेर सदरमुकामतिर पठाइन्छ । प्राण त्याग गर्ने अवस्थासम्म ती चौकीबाट बाहिरिइसकेका हुनेछन् । त्यसै भएर गाउँघरका हाम्रा स्वास्थ्य चौकीले त्यस्तो अपजस अहिलेसम्म भोग्नु/व्यहोर्नु परेको छैन । यस अर्थमा हामी आफूलाई तपाईं सहरबासी नेताहरूभन्दा निकै भाग्यमानी महसुस गरिरहेका छौँ ।
गाउँमा गाडी गुड्ने सडक पुर्याउन/बनाउन सकिएको छैन भन्ने चिन्ता तपाईंहरूलाई परेको हुन सक्छ । त्यस्तो पिर तपाईंहरूले लिनु पर्दैन । त्यसमाथि ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भनेर तपाईंहरूले निकै अघि हामीलाई अर्ती उपदेश गरिसक्नु भएको छ । यो निकै बुद्धिमतापूणर् अर्ती उपदेश हो । तपाईंहरूलाई हाम्रो गाउँ बनाउने फुर्सद नभएपछि हामी आफैँले आफ्नो गाउँ बनाउन पाउने भएका छौँ । त्यसमाथि बाटोघाटोको कुरा गर्नु हुन्छ भने हामीलाई गाउँघरमा अहिले उपलब्ध गोरेटो बाटो पर्याप्त छ । मोटर बाटो भएपछि मान्छेको बानी बिग्रने, थोत्रा ट्र्याक्टरदेखि बस, मिनिबससम्मले गाडीको सिटभन्दा चौबर यात्री राखेर कुदाउने र मौका पर्दा ती गाडी आफैले भिरको यात्रा गरेर यात्रुहरूको प्राण विसर्जन गर्ने गराउनेसम्मका काम हुने भएकाले त्यस्तो मोटर बाटो हामीलाई आवश्यक छैन ।
त्यसमाथि मोटर बाटो हुँदा इन्धनको अभावका समयमा तनाव हुने, टाउको दुख्ने, इन्धनको भाउ बढ्दा गाडीको भाडा बढ्ने तर घट्दा नघट्ने अवस्थामा मनमा जलन भई रक्तचाप बढ्ने, सय रुपियाँ भाडा नलाग्ने ठाउँमा साहुले तीन चार सयसम्म भाडा उठाउन बाध्य पार्दा गाडीको कन्डक्टरसँग बेफ्वाँकमा झगडा हुने आदि समस्याबाट पनि हामीले मुक्ति पाएका छौँ । त्यसैले गाउँमा गाडी पुर्याउन सकिएन भन्ने चिन्ता मनमा पटक्कै नपाल्नु होला । तपाईंहरू कथङ्कदाचित गाउँ आउनु पर्यो भने हामीले पहिला बनाएका हेलिप्याड सुरक्षित नै छन्, त्यसमा बिनाहिच्किचाहट तपाईंहरू सकुशल ल्यान्ड गर्न सक्नु हुन्छ । यस कुरामा तपाईं नेताज्यूहरू ढुक्क हुनु भए हुन्छ ।
फेरि अर्को कुरा, मोटर बाटो भएन भने किसानहरूले झेल्दै आएको रासायनिक मलको समस्या पनि समाधान हुन्छ । बाटो नै छैन त केको मल लैजाने ? भनेर पन्छिन कति सजिलो हुन्छ । रासायनिक मल नआएपछि हामी आफ्नै घर गोठमा तयार भएको अर्गानिक मल प्रयोग गरेर खेती गर्न बाध्य हुन्छौँ । यसले एकातिर हाम्रो स्वास्थ्यमा सकारात्मक प्रभाव सिर्जना गर्छ भने अर्कातिर रासायनिक मलको प्रयोगपछि धेरै अनाज उत्पादन भएर कहाँ लगेर कसलाई बेचुँ भन्ने तनावबाट पनि मुक्ति मिल्छ ।
यो मुक्ति दोहोरो हुन्छ नेताज्यूहरू । यसले हामी गाउँवासीलाई मात्र नभएर तपाईंहरूलाई पनि तनाव मुक्त बनाउँछ । खेतीका समयमा जहिले पनि मलको हाहाकार भएको हामीले सुनिआएका छौँ । मलका लागि लाम बस्दा बस्दै लडी मरेका समाचार पनि सुनिआएका छौँ । यो सधैँ हुने कुरा हो । कहिल्यै पनि समाधान नहुने यस्तो कुरा पटक पटक आएपछि तपाईंहरूले पनि सुने जस्तो गरेर समय खेर फाल्नु पर्ने हुन्छ । हुँदो न खाँदोका गाउँलेबाट यस्ता झासेझुसे समस्या आएपछि सरकार गठन, सरकार बिस्तार, कानुन कार्यान्वयन, दरवन्दी सिर्जना, बढुवा, नियुक्ति, विदेश भ्रमण जस्ता तपाईंहरूका बाह्रमासे जरुरी काममा बाधा पुग्ने नै भयो । त्यसैले मोटर बाटो नहुनु भनेको सबै समस्याको समाधान हो भन्ने हाम्रो ठम्याइ छ । त्यसैले यस्ता विषयमा सोचेर अनावश्यक रूपमा समय खेर नफाल्नु होला । यो तपाईंहरूका लागि हाम्रो सुझाव हो ।
नेताज्यूहरू, कथङ्कदाचित यो पत्र आद्योपान्त पढ्न पाउने फुर्सद पाउनु भयो भने पत्रमा शिक्षाको कुरा किन उठाएनौ भन्ने तपाईंहरूको जिज्ञासा हुन सक्छ । शिक्षाका विषयमा हामी त्यति चिन्तित छैनौँ । किनकि, शिक्षाले रोजगारी दिँदैन भन्ने हाम्रो निष्कर्ष छ । गाउँघरका मात्र नभएर सहरका शिक्षितहरू पनि पराई मुलुकको भुइँ पुछ्न ओइरो लागिरहेको समाचार हामी सञ्चार माध्यमबाट सुनिरहेछौँ । त्यसैले भुइँ पुछ्नकै लागि, गोलभेँडा गोड्नकै लागि, गाडी गुडाउनैका लागि, बेरा बन्नकै लागि घर खेत बेचेर बच्चा पढाउनु पर्छ भन्ने पक्षमा हामी छैनौँ । तपाईंहरू जेसुकै गर्नुस् तर हामी चाहिँ बच्चा पढाएर तिनको भविष्य बिगार्ने पक्षमा छैनौँ । तिनलाई नपढाउने हो भने घरमै बस्छन्, घरकै खान्छन्, घरकै कामकाज गर्छन् र घरमा सँगसँगै बस्छन् पनि ।
त्यति मात्र नभएर यिनीहरू गाउँघरमै बस्दा तपाईंहरूलाई पनि फाइदा छ । तपाईंहरूलाई आन्दोलनका बेला होस् कि निर्वाचनका बेला होस्, कार्यकर्ता खोज्न अन्यत्र जानु पर्दैन । निर्वाचनका बेला तपाईंका मतदाता पनि घट्दैनन् । यसरी विश्लेषण गर्ने हो भने पढाउँदा भन्दा नपढाउँदा हुने फाइदा कति छन् कति ! यी सबै कुरालाई विचार गरेर बरु शिक्षामा भएको लगानी घटाउनेतिर लाग्नुस्, गाउँघरमा गुणस्तरीय शिक्षा पुर्याउन सकिएन भन्दै अनावश्यक चिन्ता गरेर मथिङ्गल खल्बल्याउने काम नगर्नुस् ।
अँ, नेताज्यू ! लेख्नै पर्ने एउटा कुरा झन्डै छुटेको । तपाईंहरू हाम्रो गाउँलाई नगर/महानगर बनाउन सकिएन भनेर चिन्तित हुनुहुन्छ अरे भन्ने हामीले सुनेका छौँ । त्यस्तो चिन्ता लिएर शरीर सुकाउने काम कदापि नगर्नुस् । हामी हाम्रो गाउँ नगर/महानगर होस् भन्ने पक्षमा अहिले पनि छैनौँ र पछि पनि हुने छैनौँ । तपाईंहरूका सञ्चार माध्यमहरूले कसैले केही कारवाही गर्न सक्ने होइन भनेर जथाभावी समाचार सम्पे्रषण गरेका हुन् कि के हो त्यो तपाईंहरू नै जान्नुस् तर हामीले सुनेका कुरा चाहिँ नगर/महानगरमा पानी परेका बेला सडकका ढलमा छिरेर मान्छे मरिरहेका छन् अरे । कोही ढलमा परेर पनि बाँच्न सफल भए अरे । कतै मोटर साइकल त कतै गाडी नै सडक तालको खाल्डोमा छिरेर बेपत्ता भए अरे । कतिलाई उद्धार गरियो अरे, कतिलाई के ? सरकारले आफ्ना जल्दाबल्दा जरुरी कतिपय कामलाई पन्छाएर सडकका खाल्डाखुल्डी पुर्न आफ्नो संयन्त्रलाई निर्देश पनि गर्यो अरे तर एउटा खाल्डो पुर्न अर्को ठाउँ खन्दा खतरनाक खाल्डाको सङ्ख्यामा अभैm बढोत्तरी भयो अरे । यो हामीले सुनेका कुरा हो, वास्तविकता त्यहाँ नजिक भएका कारण तपाईंहरू नै जान्नु होला ।
सर्वसाधारणले अर्को खाल्डो किन खनेको ? भनेर प्रश्न गर्दा सरोकारवालाहरू भएको खाल्डो पुर्न सरकारले हामीलाई भनेको हो, नयाँ खाल्डो नखन्न भनेको छैन भनेर गर्जिन्छन् अरे । यदि यी समाचार सत्य हुन् भने नेताज्यूहरू हामीलाई नगर/महानगर चाहिएन । बरु नगर/महानगर हुँदा तिर्नु पर्ने थप करको व्ययभार बहन गर्न हामी त्यसै पनि राजी छौँ । चौबीसै घण्टा ज्यानको जोखिम मोल्नुभन्दा बरु अलिकति थप कर तिर्न हामी मञ्जुर हुनेछौँ । राष्ट्रका सबै शक्ति लाग्दा पनि पुर्न नसकिने खाल्डाखुल्डी सिर्जना गर्ने नगर/महानगर हामीलाई चाहिएन ।
अनि नेताज्यू, सत्य के हो थाहा छैन तर सुनेको कुरो के हो भने नगर/महानगरतिर गाडी गुडेको गुड्यै गर्ने ठूल्ठूला सडक हुन्छन् अरे । ठाउँ ठाउँमा सडकमा हिँड्ने मान्छेलाई सडक पार गर्न सजिलो होस् भनेर सेतो रङ्गले चिनो लगाएर राखेको हुन्छ अरे । त्यसलाई जेब्रा … कुन्नि के भन्छन् अरे । त्यसमा मान्छेले बाटो काट्न लाग्दा सडकमा गुड्ने गाडी रोक्नु पर्छ अरे तर गाडी चालकहरूले अटेर गरेर गाडी कुदाउँदा अनि कुन्नि के त्यो जेब्रा भन्ने ठाउँबाट बाटो काट्न लागेका मान्छेलाई गुच्चा उडाएझैँ उडाएर गाडी भाग्छन् अरे । अनि त्यो जेब्रा भन्ने ठाउँबाट बाटो नकाटी अन्यत्रतिरबाट बाटो काट्यो भने पुलिसलाई दुई तीन सय कति पैसा तिर्नु पर्छ अरे । अनि हामी यो गाउँका केही कुरा थाहा नभएका मान्छेलाई त्यस्ता सडक हुने नगर/महानगर किन चाहियो ?
सडकका कुरा मात्र होइन नेताज्यू, सडकमा लत्रेर सर्वसाधारणको ज्यान लिने र दुई सयको बिल तिर्न हजार खर्चेर सदरमुकाम धाउनु पर्ने विजुली बत्ती पनि हामीलाई चाहिएन । बरु गाउँमा विजुली पठाउन आँट्नु भएको छ भने त्यस्तो विजुली सहरतिरै जसलाई पुगेको छैन भन्छन् त्यसैलाई दिए हुन्छ । यी सबै कुरामा गाउँलेले घुर्की लगाए भन्ने नठान्नु होला नेताज्यू । यो हाम्रो आत्माको बोली हो । समाजको बोली हो । महिला, पुरुष, बाल, वृद्ध सबैको बोली हो । हामी शान्तिसँग बाँच्न चाहन्छौँ, तनाव लिएर होइन । त्यसैले कुनै पनि थप विकासका कुरा लिएर हाम्रा अगाडि कुनै पनि हालतमा नआउनु होला । केही गरी जनतालाई रिझाउनु पर्छ भनेर यी अनेक नामका विकासका कुरा लिएर गाउँ आउनु भयो भने सम्झनुस् आउँदो निर्वाचनमा तपाईंको पराजय सुनिश्चित छ ।
यो सानो पत्रमा सबै कुरो अटाउन सकिएन । निर्वाचनका बेला यसो दुई तीन घण्टा समय मिलाएर गाउँ आउनु भयो र अलि अलि हाम्रा कुरा पनि सुन्ने समय बचाउनु भयो भने त्यतिखेर सबिस्तार निवेदन गरौँला । आजलाई भने यत्तिमै विश्राम लिने अनुमति चाहन्छौँ । अन्जान गाउँलेका तर्फबाट केही तल माथि भएको भए क्षमा पाउने नै छौँ ।
हजुरहरूको निरन्तर भलो चाहने
हजुरहरूकै अनन्य लोकभक्त उही गाउँवासी मतदाता
०००
(युवामञ्च, २०७४ असोज)
Subscribe
Login
0 Comments
Oldest






































