नगिता लेप्चा राईफेसबुके अलपत्रे मित्र
प्रिय सखीहरू ! फेसबुकमा तपाईको पनि हजारौं मित्रहरू होलान् । यस्ताहरूले यसरी नै रातदिन तपाइँलाई पनि भिडियो कल गरेर म्यासेञ्जरमा भए नभएका कुरा लेखेर दिक्क लाउँदैनन् ? यस्ता फेसबुके अलपत्रे मित्रलाई आजै ब्लक लिष्टमा हाल्नुहोला जसरी मैले ब्लक लिस्टमा हालेकी छु, हालिरहेछु, भविष्यमा पनि हाल्नेछु ब्लक लिस्टमा ।

नगिता लेप्चा राई :
खै ! के भनूँ ?
भनूँ भने आफ्नै मित्र नभनूँ भने गाँड़ु मित्र ।
नदीमा उँधो बगाएर उँभो खोज्नुपर्ने मित्र ।
मित्र भन्नाले यहाँ फेसबुके मित्रलाई मात्र सम्झिनुहोला ।
को गर्नु हजूर ? फेसबुक चलाउने एक प्रकारको एडिक्ट नै भएको छ हिजोआज । एकक्षण फेसबुक वाल म्यासेञ्जर, ह्वाटसएप, ट्वीटर, इन्सटाग्राम कोट्याउन भने निद्रै लाग्दैन । झन लोडसेडिङ भएको दिन त रातभरि फिटिफिटि हुनुपर्छ । म मात्रै होइन सायद फेसबुक चलाउनेहरू सबैलाई मैजस्तो हुँदो हो । संसारका हीजस्तै जम्मै प्राणीहरूलाई फेसबुके भाइरसले ग्रसित पारेको छ ।
फेसबुक चलाएपछि फ्रेण्ड रिक्वेष्ट पठाउँछन्… उनको प्रोफाइल हेरेर एक्सेप्ट गरिन्छ । आरम्भमा हाय हल्लो, गुड मर्निङ, नमस्कार आदान प्रदान । एकाअर्कामा अलिक नजिक हुँदै गएपछि लामो च्याटिङ शुरु हुन्छ । सोधेको कुराको उत्तर दिन बानी छ मेरो ।
समय बित्दै गएपछि नम्बर माग्छन् । नम्बर दिइन्छ । त्यसपछि फोनमा कुराकानी । दुःख सुखका, घर-परिवार, नोकरी आदिबारे कुराहरू । सबै ठिकै हुन्छ ।
समय निकै बित्दै गएपछि कल । शुरुशुरुमा कल उठाइन्छ…पछि ता फेसबुके मित्रले एडभाण्टेज पाएर दिनमा दसपल्ट कल गरेर धुरुक्कै पार्छन् । पछि पछि भिडियो कल । भिडियो कल पनि रात विरातमा । यस्तो टाउको तातिएर आउँछ । कति फेसबुके मित्रलाई त भनेँ पनि, सर कृपया रातविरातमा मलाई कल नगर्नुहोला । रातविरातमा यसरी अननोन् मान्छेको कल आउँदा बूढाले अदरवाइज ठान्न सक्छन् । बिना कारण मिसअण्डरस्टाण्डिङ हुनसक्छ । भरे तपाईंलाई नै प्याच्चै केही भनिदेलान् । कृपया यसरी कल नगर्नुहोला ।
जति नै जे नै भने पनि लागेको बानी कसले छोड्ने ?
म नानी पढाउँदै थिएँ… यस्तो रातको दस बजेको हुँदो हो । तीन चारपल्ट भिडियो कल गरे मेरो एकजना फेसबुके मित्रले । च्याटमा कुराकानी बाहेक देखेको कहिल्यै छैन न त उनको हुलिया नै थाहा छ । हत्तपत्त रातविरातमा म कसैको कल रिसिभ गर्दिनँ । यसरी मैले भिडियो कल रिसिभ नगर्दा म्यासेञ्जरमा म्यासेज आयो, “म्याडम भिडियो कल रिसभ गर्नुहोस् न…एउटा इम्पोर्टनेण्ट कुरा छ ।”
होला त नि भनी भिडियो कल रिसिभ गरेँ । हाम्रो मित्रता एक महिना जति भइसकेको थियो । मेरो फेसबुके मित्र…वाह….हेर्दा अप्ठ्यारो ठाउँमा उम्रेको लौकाजस्ता मान्छे रहेछ । सामान्य हावा चल्यो भने फिलिलि उडाउने खालको । मैले नमस्कार सर भनेँ ।
उताबाट पनि नमस्कार म्याम ।
भन्नुहोस् के त्यस्तो इम्पोर्टेण्ट कुरा होला ? उछिटिएको दाँत देखाउँदै बोले ती अप्ठ्यारो ठाउँमा झुण्डेको लौकाजस्ता मान्छे – “होइन त्यस्तो त केही होइन तर आज दिनभरि म्यामले मेरो कल रिसिभ गर्नु भएन र हेर्नु मन लागो अनि भिडियो कल गर्या ।” म हाँसेर भुतुक्कै भएँ र भिडियो काटिदिएँ ।
अप्ठ्यारो ठाउँमा झुण्डेको लौकाजस्ता मान्छेले मलाई हेर्नु मन लाग्ने कारण मैले बुझिनँ । उनको उछिट्टिएको दाँत देखेरै मलाई हरेश लागेर आयो । सडक छेउमा थापिएको पान वा चिया दोकानको झराप जस्तो । दाँत पनि फेरि के भन्नु ? गुटखा खाएर खाएर एक थाक कस लागेको ।
जति नै जे भने पनि यो मान्छेलाई केही असर नपर्दो रहेछ । मलाई जसरी रिपिटेडली कल गर्छन् वा भिडियो कल गर्छन् अरुलाई पनि यसरी कल गर्दैनन् भन्ने ग्यारेण्टी नै के छ र ? जस्तै साधु बिरालाले पनि चान्स पाएको बेला दूध चोरेर खाँदैन भन्नु मूर्खता हुन्छ । फेरि कल । दसपल्ट कल गरे होलान् यी अप्ठ्यारामा झुण्डेका जस्ता मान्छेले । रिसिभ गरे त के ! आज बिहानै फेरि कल आयो । रिसिभ गर्दै गरिनँ । त्यसपछि म्यासेज, म्याम – “म त घाँस काट्नु आको कि अन्त यसो म्यामलाई हेरूँ भनेर नि ।”
टाउको तातिएर आयो । मलाई हद भन्दा ज्यादा रिस उठ्यो भने ‘तँ’ शब्द आइहाल्छ । रिसले केही देखिनँ । रिसले केही देखिनँ…मेरो पाला पनि…तेरै बूढीलाई रातदिन वल्टाइ पल्टाइ हेर न । घोप्टाइ नेप्टाइ चेप्टाइ ङालाक-ङिलिक, काचाक् कुचुक पारी हेर् न । मलाई के हेर्छस् ?
साह्रै हुन्छ भनी टोन चेञ्ज गरी नम्र र मलिन स्वरमा बोलेँ, हेर्नोस् सर…म तपाईलाई भद्र सभ्य अनि एकजना नाम चलेका साहित्यकार भनेर पो फेसबुके मित्र बनाएकी । तपाईंको अनुहारको होइन तर तपाईको साहित्यिक व्यक्तित्वको सम्मान र आदर गर्छु । हन् तपाईलाई औँलो दिँदा मेरो काँध घिच्रा जम्मै निल्ने टाइपको पो हुनुहुँदो रहेछ त हँ । मलाई जस्तो अरु युवतीहरूलाई पनि यसै भनेर हजारौ पल्ट कल गर्नुहुन्छ होला, म्यासेज गर्नुहुन्छ होला… के हो हँ यो ।
उनको जवाफ, “मेरो कूलदेवताको कस्सम तपाई बाहेक अरु कसैलाई न कल गर्छु न म्यासेज नै ।”
पछिबाट सरी म्याम कति लेखे त्यसको हिसाबै छैन । यस्ता फेसबुके मित्र फेसबुके मित्रको नाममा कलङ्क हुन् ।
एकजना फरेनरले रिक्वेष्ट पठाएको रहेछ । कसो कसो गर्दा एक्सेप्ट भएछ । राम्रै च्याटिङ हुन थाल्यो । एउटी छोरी छ अरे १२ वर्षकी । स्वास्नी मरेकी छन् रे । माया लाग्यो । च्याटिङ चल्दै गयो । घनिष्टता पनि बढ़ेर गयो । निकै दिनपछि ह्वाटएसपमा म्यासेज, म्याम…तपाईको लागि गिफ्ट पठाउँदैछु । मैले किन, त्यस्तो कुनै गिफ्ट मलाई नपठाउनुहोला । मलाई चाहिँदैन । उनले भने, होइन एकजना साथीलाई साथीले गिफ्ट दिन सक्दैन र ?
मैले भने, सक्नुहुन्छ नि सर किन सक्नुहुन्न ? तर मलाई कसैले त्यसरी गिफ्ट दिएको मनपर्दैन ।
उनले मलाई पठाउने गिफ्टका नक्साहरू भटाभट पठाए । छक्क परेँ गिफ्ट आइटम देखेर । एड्रेस मागे… पठाइदिएँ । त्यसपछि गिफ्ट आयो अरे… दिल्लीको कष्टमबाट फोन आयो…तपाईंको गिफ्ट ल्याउने मान्छे दिल्ली एयरपोर्टमा पक्राउ परेको छ… पचास हजार यो नम्बरमा गुगल पे गरिदिनुभयो भने तपाईको मित्रले छुटकारा पाउँछ ।
बुझेँ…माझरा । यो सब ठग पार्टी हो । मेरो पाला मेरो विदेशीमित्रको सबै ब्लक गरिदिएँ । पछि मलाई मेरा फेसबुके सखीहरूले भने यसरी यस्ता फरेनर मित्रसित हाम्राहरू धेरै ठगिएका रहेछन् । म त भन्छु कुनै पनि फरेनर्सको फ्रेण्ड रिक्वेष्ट एक्सेप्ट नगरेकै राम्रो ।
यसरी कल त कति आउँछ कति आउँछ… एकजनाले आज मात्रै पन्ध्रपल्टभन्दा धेर “बिर्सिनुभयो म्याम”… “बिर्सिनुभयो म्याम” भनेर म्यासेज गरेका रहेछन् । तँ अप्ठ्यारोमा झुण्डेको लौका जस्तो मान्छेलाई मैले के भनेर सम्झिनु अनि के त्यो कचल्टिएको काँक्राजस्तो मान्छेलाई मैले के भनेर बिर्सिनु ? मैले त एकजना होनहार साहित्यकारको नाताले पो सर सर भनी म्यासेज गरेकी । टाउको रन्केर आयो । तुरुन्तै कल गरे । मेरो कल रिसिभ गरेर खुसीले बुरुक बुरुक उफ्रिँदै बोले त्यो कचल्टिएको काँक्रा बोले, ‘यस म्याम….मलाई बिर्सिनुभयो हई ?’
फेरि उही कुरा । उही डायलग । रनक्क भएर बोलेँ, ‘म, के ?’
‘होइन बुझ्नुभएन मेरो कुरा म्यामले ?’
तिमीलाई थाहा छैन घरि घरि मलाई कल नगर्नु भनेर । के भनेर बिर्सिनु कचल्टिएको काँक्राजस्तो मान्छेलाई ।
होइन म्यामले मलाई कवल्टिएको काँक्रो भन्नुभयो । सबैले यहाँ मलाई कति ह्याण्डसम छ भन्छन् । म हाँसेर भुतुक्कै भएँ । तिमी काँक्रोजस्तै त छौँ ।
‘फेरि पनि यस्तो कुरा गर्यौ भने तिमीलाई ब्लक लिष्टमा हाल्छु’ भनी फोन काटिदिएँ ।
भोलिपल्ट बिहानै म्यासेज आएको रहेछ सरी म्याम । सरी म्याम । प्लिज मलाई ब्लक लिष्टमा नहालिदिनुहोला ।
अर्का फेसबुके अलपत्र मित्र । भिडियो कल । म सबैको भिडियो कल चैँ एकपल्ट रिसिभ गर्छु । मेरो कुनै नराम्रो इन्टेन्स होइन । भिडियो तिनको थोपडा हेर्नु मात्रै । किसिम किसिमका थोपडाहरू । कोही पोल्दा पोल्दै उम्केको जस्तो, कोही अप्ठेरोमा उम्रेको गोलभिँडोजस्तो । कोही फूलकोपीमा हेर्दै प्याजको भाउ सोध्न जस्तो (टेँढो), कोही ऐले भर्खर मैदा दलेर आएको जस्तो सेते न सेते, कसैको दाँत उछिटिएको छ्वाँके । कोही मलाई छिप्पेको बनतरुल जस्तो, कोही उत्ताने मूसो जस्तो । कोही छुचुन्द्रो जस्तो त कोही खरायो जस्तो । कोही धोका पाएको सुङ्गुरजस्तो त कोही लुतो लागेको भतुवा कुकुर जस्तो । कोही भने नसप्रएको सखरखण्डजस्तो । कोही फ्याँकिएको तावाजस्तो, कोही जर्खरिएको । खै अरु के बताउँ मेरा फेसबुके मित्रहरूको हुलिया । यस्तो थोपडावाल फेसबुके मित्रको के अनुहार हेर्नु हौ । लोदर पो लाग्छ ।
मेरा रचनाहरू विभिन्न पत्र-पत्रिकामा प्रकाशित हुन्छन् । रचना प्रकाशित भएपछि मेरा फेसबुके मित्रहरू कमेण्ट्स गरिदिन्छ प्रकाशित रचनामाथि । कति विद्वान फेसबुके मित्रहरूले रचनामाथि प्रतिक्रिया पोखेर मलाई हौसला, प्रेरणा प्रदान गर्छन् । उहाँहरूप्रति म निश्चय नै आभारी छु । तर कतिपय बकम्फुसे फेसबुके मित्रहरूमध्ये एकाधले मेरो फोटोमाथि यसरी कमेण्ट गर्छन्, सो क्यूट, कति राम्री, सो ब्यूटीफूल, आँखै राम्रो, नाकै राम्रो, गालै राम्रो । वाह…प्रकाशित रचना हेर्नु हो कि मेरो फोटो ? कमेण्टस पनि हेर्नुहोस् न ..लाजैमर्दो । छिः…। प्रकाशित रचना नहेरी फोटोमाथि लाजैमर्दो कमेण्ट्स गरिदिने यस्ता पाखण्डी फेसबुके मित्रको घाँटी चुँडाएर धुरी कट्टाउनु मन लाग्छ । मेरो यसै व्यङ्ग्य मार्फत अनुरोध गर्न चाहन्छु, कृपया मेरो रचनामाथि बाहेक फोटोमाथि केही नलेखिदिनुहोला । तपाईंको टुप्पो न फेदको कमेण्टले मलाई केही हुँदैन । बरू कमेण्ट्स नै नगरिदिनुहोस् । मेरा हजारौँ फेसबुके मित्रहरूमध्ये एकजनाले कमेण्ट्स नगरिदिँदा मलाई कुनै असर पर्दैन । सागरबाट एक ड्रम पानी झिक्ता सागरलाई कुनै असर पर्दैन । मलाई पनि त्यस्तो कुनै असर पर्दैन ।
म भन्दै थिएँ । मसित फेसबुकमा फेसबुके मित्र नभएका एकजनाले मेरो हरेक रचनामाथि प्रेरणादायी कमेण्टस गर्न थाले । उनको प्रोफाइल हेरेँ । ती मान्छे निक्कै नाउँ चलेका ख्यातिप्राप्त रहेछन् । उनीसित व्यक्तिगत परिचय नभए पनि उनको नाम सुवास सुनेकी । पछि उनले मलाई फ्रेण्ड रिक्वेष्ट पठाए । यति ठूला मान्छेले पठाएका रिक्वेष्ट एक्सेप्ट नगर्ने कुरै आएन । गरिदिएँ एक्ससेप्ट । म्यासेञ्जरमा भलाकुसारी हुनथाल्यो । मेरै आपाका उमेरका मान्छे । पछि पछि यो कौडे पनि त्यै ड्याङको मूला देखेँ । रिपिटेड कल, भिडियो कल उस्तै । भिडियो कलमा कुराकानी, तपाईंलाई जसरी हुन्छ यसपाली भदौमा एउटा पुरस्कारको व्यवस्था गरिदिएको छु । तर तपाईं यता आउनुपर्छ । खाने बस्ने सुर्ता मान्नुपर्दैन । मेरै घरमा सबै व्यवस्था मिलाइदिन्छु ।
मैले भनँे, ‘सर त्यो त मेरो सौभाग्य हो । हजूरजस्ता विद्वान मान्छेको सान्निध्य पाएकीमा म औधी खुसी छु । अनि सर तपाईंले मलाई कसरी पुरस्कारको चाँजो मिलाउनु हुन्छ ?’
उनी एक राश हाँस्दै बोले, ‘तपाई किन सुर्ताउनुहुन्छ ? यहाँ पुरस्कार प्रदान गर्ने संस्थाका आयोजकलाई मैले उठ् भन्दा उठ्छन् बस् भन्दा बस्छन् । प्राय जसो पुरस्कार मै त दिने गर्छु ।’
मैले हाँस्दै भनेँ, ‘सरलाई पुरस्कारको ठेकदार भन्दा हुन्छ होला नि !’
जे भनेनि भन्नुहोस् न…तपाईलाई हण्ड्रेड पर्सेण्ट पर्मिसन ग्रान्टेड ।
उनले के भन्न चाहेका हुन् मैले बुझ्न सकिनँ…कल डिसक्नेक्ट गरिदिएँ…पाँचपल्ट रिपिट भिडियो कल । वास्तै गरिनँ ।
एउटा नजिकैको पुस्तक लोकार्पण कार्यक्रममा उनी प्रमुख अतिथि भएर आउने हुँदा मलाई पनि आउनु भनी जबरजस्ती गरेँ । मैले भनेँ, ‘सर मलाई निम्तो छैन….म कसरी आउनु ?’
उनले भने, आउनोस् न म के को लागि ? तपाईंको लागि यहाँ सबै व्यवस्था गरिदिनेछु । कुनै सुर्ता मान्नु पर्दैन । ननिम्त्याएको ठाउँमा जाने मेरो आदत छैन । गइनँ म । त्यसपछि मेरो रचनामाथि मेरा फेसबुके विद्वान बुज्रुग मित्रले न त कुनै कमेण्ट््स गर्छन् न च्याटिङ न भिडियो कल नै । मलाई सञ्चो भएको छ यी बूढा मान्छेको वाहियत चर्तिकलादेखि ।
एकजना सङ्गीतकार सित फेसबुके मित्र भयो । बाँसुरी खूब बजाउने । उनका धेरै गीतहरू रेकर्डिङ भइसक्यो अरे । तर मैले आजसम्म उनको एउटै गीत सुन्ने मौका पाएकी छैन । परिचय र च्याटिङ छिप्पिँदै गएपछि उनी पनि भिडियो कलमै । शुरु शुरुमा रिसिभ गरेँ । पछि रिसिभ गर्नै छोडिदिएँ । त्यसपछि शुरु च्याटिङ । एकिदन ता बिग्रेको कृष्णले लेखेछन्, I…..U…. । उनलाई पनि ब्लक ।
एकजना भर्खर आरनबाट पोल्दापोल्दै निकालेको जस्तो जर्खरिएको मान्छे । उनले हलिउडमा अभियनसमेत गरेका रे । ठूल ठूला अभिनेता र अभिनेत्रीलाई पनि चिनेका छन् रे । उनको बिग टकै ठूलो । हलिउड, कलिउड, टलिउड, बलिउड, गोर्खाल्याण्डउडमै अभिनय गरेर अस्कर एवार्ड पाए पनि मलाई के खाँचो ? होइन र ? साहित्य पनि लेखिटोपल्ने । उनको लामो हात छ अरे । (लामो हात भनेको चोर होइनन् उनी) एकदमै सोर्स भएको मान्छे रे । मैले पनि साहित्य लेख्छु भन्ने थाहा पाएर म तपाईंलाई एउटा पुरस्कार दिलाइ छोड्छु । जजहरूलाई मैले भनेपछि नाइँ कहिल्यै गर्दैनन् । म पनि उनको कुराले लोभिए । हिजोआज लबीको भरमा पुरस्कार दिन, सम्मान गर्ने चलन छ भन्ने कुरो त मलाई पनि थाहा छ । पछि पछि त कुरो फेरि ट्र्याक बाहिर । मैले हुन्छ नि मात्र भनेको थिएँ…भोइस् म्यासेजमा आई लभ यू पो नाथे । साला डिङ्गरको कत्रो आँट । अम्बटेको पहिरो गाको भीरजस्तो कचल्टिएको अऩुहार भएको मान्छे । यसलाई पनि ब्लकको सूचीमा ।
फेरि एकजना नाम चलेको साहित्यकारसित फेसबुके मित्र । साहित्यकारहरूलाई म सम्मान गर्छु । किनभने यस्ता महान् साहित्यकारबाट धेरै केही सिक्न सकिन्छ । कुनै एउटा कवि गोष्ठीमा कार्यक्रमको उनलाई अध्यक्ष बनाएको रहेछ । खुसी भएँ म । आफूले चिनेका जानेका यस्ता महान् साहित्यकारसित सान्निध्य पाउनु आफूलाई नै अहोभाग्य ठानेँ ।
उनको च्याटिङ, म्याम…आउँदो कवि गोष्ठीको अध्यक्ष म है ।
खुसीले लेखिदिएँ, ‘वाउ….अ लोड अफ कङ्ग्राटस् सर । खुसीको कुरो ।’
‘थ्याङ्क्स । तपाई जानुहुन्छ ?’
‘मेरो ठेगान छैन सर ।’
होइन म्याम तपार्इं जानुभएन भने त म पनि आउँदिनँ है ।
त्यो तपाईको म्याटर हो आउनुहोस् कि नआउनुहोस्…मलाई के को मतलब ?
कुरा बङ्ग्याएर, ‘म्याम एउटा कुरा भन्न सक्छु ?’
‘अफकोर्स ।’
हलमा तपाईं र म सँगै बसूँ ल ।
मैले लेखेँ, ‘अब त्यै काम मात्र बाँकी छ ।’
होइन येस नो भन्नु न ।
किन बिगारिहाल्नु भनेर तपाईं त माथि मञ्चमा अध्यक्षको आसनमा बस्नुहुन्छ ।
अरे…माथि त एकक्षण त हो । म तल आइहाल्छु नि । मेरो ठाउँ राखिदिनोस् न ल ।
अन्त मेरा बूढालाई चाहिँ अध्यक्षको आसनमा पठाउनु कि हलबाट खेद्नु ?
यी महान् साहित्यकारलाई दशाले कुत्कुत्याउँदैछ भन्ने मेरो सिक्स सेन्सले भन्दैछ । कुन दिन मेरो गिदी घोप्टेको दिन यो साहित्यकार पनि ब्लक लिष्टमा चेप्टिन्छ नै । हेरिमात्रै रहेकी छु ।
एकजना नाम चलेका पत्रिकाका सम्पादक मेरा फेसबुके मित्र । उनको पत्रिकामा मेरो रचना छपिदिन्छन् । तर यिनको अनलाइन पत्रिका दसजनाले पनि हेर्दैनन् । उनको म्यासेज….
म्याम…आज अचम्म भो..
के कस्तो अचम्भ हौ ?
तपाईलाई सपनामा देखेँथेँ ।
म हाँसेर भुतुक्कै भएँ ।
सुन्नुहुन्छ सपना ?
भन्नुहोस् न…
सपनामा मैले तपाईंलाई अँगालोमा राखेको देखेँ ।
झननन भयो यो म्यासेजले । मैले तुरुन्तै लेखेँ, ए मैले गालामा चढ्किने गरी झापट हानेको देख्नुभएन ? रिपलाई छैन ।
आजसम्म उनको कुनै च्याट आएको छैन ।
प्रिय सखीहरू ! फेसबुकमा तपाईको पनि हजारौं मित्रहरू होलान् । यस्ताहरूले यसरी नै रातदिन तपाइँलाई पनि भिडियो कल गरेर म्यासेञ्जरमा भए नभएका कुरा लेखेर दिक्क लाउँदैनन् ? यस्ता फेसबुके अलपत्रे मित्रलाई आजै ब्लक लिष्टमा हाल्नुहोला जसरी मैले ब्लक लिस्टमा हालेकी छु, हालिरहेछु, भविष्यमा पनि हाल्नेछु ब्लक लिस्टमा ।
फेसबुके अलपत्रे मित्र मुर्दावाद ।
धिक्कार छ, तिम्रो फेसबुक फ्रेण्ड ।
०००
खोलाचन्द फाप्री, जलपाईगुडी (भारत)
Subscribe
Login
0 Comments
Oldest






































