साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जमाना कहाँ पुग्यो !

जमाना बदलिनाको प्रमुख कारण भनेकै शण्डतन्त्र र यिनका लाउकेको छत्रछायाको नीतिले नै हो । जति तैँ चुप मै चुप भने पनि यो सर्वत्र फिँजिइसकेको कुरा हो ।

Nepal Telecom ad

ह्यारी ८० :

उहिलेका कुरा अहिले गरेर हुन्छ र भन्या ? उखानेका उखान काम नलाग्ने भएर बखानै गर्न नपर्ने भए । त्यति मात्र हो यिनै टुक्केका टुक्का पनि हुक्केका उग्लँदै गएका हुक्का पनि एक्सपायर्ड हुँदै गए । यी म्याद सकिएका औषधीले नेपाली जनताको गरिबीको पिलो कहिल्यै ठिक भएन । जमाना कहाँ पुगेको छ भन्ने कुरा अहिलेका ठिटालाई मिठा कुरा गरेर सोधनी गर्नुस् न थाह भइहाल्छ नि । उहिले मागी विवाह अहिले भागी विवाह । उहिले जातीय अहिले अन्तर्जातीय । उहिले शङ्कर अहिले वणर्शङ्कर क्या जमाना छ हगि !

पहिले जस्तो झुत्रेझाम्रे भएर चोर आउँदैनन् । सभ्यताको युगमा पदार्पण गरेका साधुचोरहरू थोत्राथाम्रा लगाएर आउँदैनन् बरू उनीहरू सुटेडबुटेड भई बाइक वा गाडी लिएर ठाँटबाँटका साथ आउँछन्, केहीलाई नोट दिई खोट देखाएर सबैसँग भोट लिएर जान्छन् । आधुनिक चोर देखेर प्रहरी हेरेका हेर्‍यै हुन्छन् तर सुरक्षा दिई स्याल्युट ठोक्छन् । नपत्याए गाउँको साधु बिरालो बनेर कुँडेको तर मार्दै कारबाहीमा परेका तर तर आममाफीमा छुट्न ढेडुलाई छक्याउँदा लुत्रुक्क परेका प्रहरीको बिल्ला मैला हुन्छन् । फतुरे काकालाई सोध्नुहोस् त, उनले चाहिँ “म त …. भन्नेबित्तिक्कै साँच्चै जमाना बदलिएको छ, उहाँ नै ठिक हो भन्ने जमान भइसक्यो” भन्छन् । सेतोलाई सेतो र कालोलाई कालो भनेर कसैले सहयोग नगर्ने हुँदा जमानाअनुसार चल्नुपर्छ । होइन, नचलेर किन सबैको आँखी बन्नु हँ ?

जमाना बदलिएकाले पहिले जस्तो सुनका ठुन्का होइन नि अहिले त सुनका क्विन्टल पो ल्याउँछन् बाबै । समाउने मान्छे पनि लुतेलाङ्ग्रे भएर हुँदैन, कि भुँडीवाल कि नाता पर्ने बुढीवाल चाहिन्छ । डन्डावाल वा झन्डावाल जो भए नि हुन्छ । ढुक्क हुनुहोस् यस्ताले सुनकाण्डको छानबिन गर्न समिति बनाई भागभोग लगाई पित्तलमा परिणत गरिदिन्छन् । साधुबिरालोको ङार्रङुर्र सुनेकै छ त । पहिलेको जस्तो कहाँ छ र भन्या जमाना बदलिएको छ । विद्यार्थीका कुरा गर्ने हो भने पनि उस्तै । पढ्ने चाहिँ परीक्षामा लड्ने अनि चोर्ने चाहिँ आइरन गेट फोर्ने हुने भएपछि कलेज जाने कुरा नलेजमै ल्याउँदैनन् । एक त पढ्नेहरू नै रेमिट्यान्स पठाएर देश बचाउने महान् अभियानमा लागेका छन् । आखिर अङ्कुसेले तानेर हुन्छ कि झटाराले हानेर हुन्छ विश्वविद्यालयदेखि जागिरखानासम्म आफ्नो मान्छे भएमा पढ्नै पर्दैन । अरूले लेखेको थेसिसका बेसिसमा भेटी चढाएर पाएको प्रणामपत्र कति शक्तिशाली छ, तपाईलाई थाहै होला नत्र खुसुक्क लम्पसारवादलाई सोध्नुस् । पढेर पाएको सर्टिफिकेट प्रमाणपत्र हो भने प्रणाम गरी पाएको पत्र प्रणामपत्र हो । प्रणामपत्र पाउनेले गुरु पदको टिको थापेपछि कर्मकाण्डी मात्र देखाउने र यही जमाना आएकैले आज विश्वविद्यालयमा विद्यार्थी शिला खोज्दै हिँड्नुपर्ने अवस्था आएको छ ।

जमाना बदलिएकाले ठुलैको सल्लाहकार वा हल्लाकार भए सचिवको भन्दा नि बढी तलब सुविधा आइहाल्छ । कहिले यताकालाई पट्यायो कहिले उताकालाई लठ्ठ्यायो बस्, काम तमाम । यसो गरिनस् भने उसो गर्दिन्छु भन्ने उसो गरिस् भने फेला परिस् भनिदिनुपर्छ, भागबण्डामा अलिकति आफूलाई आइहाल्छ अनि त बाँसुरीको धुन चोरे पनि भयो, नुनढिकी फोरे पनि भयो । कि धुलो नुन कि ढिके नुन त्यति नि नसके एअरपोर्टको सुन त कहीँ नजा ।

धामी झाँक्री मार्फत देशका सञ्जीवनी बुटी प्रयोग गर्ने आयुर्वेदिक औषधिको सेवन गर्ने जमाना गए । अब त टिकटक हेरेर तुरुन्तै र सजिलै उपचार हुने होलीवाइन औषधी आइसकेको चुनेर पठाएकाहरूले नै प्रदर्शन गरी बताइसकेका छन् । रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिन पुर्खाले गर्दै आएको पहिरन, भाषा, धर्म, कर्म, व्यवहार, नीति, रीति सबै छोड्नुपर्छ है । जमाना कहाँबाट कहाँ पुगिसक्यो अब पनि पाखे, गँवार र पछौटे समाजको व्यवहार गरेर बस्ने हो । राष्ट्रिय पोसाक यता देखाउने, भाषा फाइदा लिन मात्र बोल्ने, कोटामा आफूलाई देखाउने र फाइदा हुने भए फाइल खोल्ने हो । जमाना कहाँ पुगिसक्यो । अब त कसैको भलो गर्ने होइन है । पाटी, पौवा, धर्मशाला, बाटोघाटो, पुलपुलेसा जे बनाउने हो दुनो सोझ्याउन नै हो । जमानाअनुसार चल्नुपर्छ है । सबैको सहकारितामा सामूहिक हित हुने कार्य गर्नुपर्छ भनेर सहकारी खोल्ने हो अनि जमानाअनुसार सरक्क पैसा जति लुँड्याएर आफ्नो परिवारभित्रै सहकार्य गर्ने हो । त्यति त फतौरे काकाले नबुझेका कहाँ हुन् र ? अनि यिनीहरू मानिसको आकर्षण कता बढेको छ त्यतै लगानी गर्न अरूलाई उक्साउँछन् र जम्मा पारेर भएभरको सबै गुट्मुट्याएर देशतिर पस्छन् नै । यिनका पारदर्शी त्रिदोष छन् । सोझासाझासँग विश्वास जितेर पैसा लिने, लिएको कति छ गुपचुप राख्ने अनि लिएपछि नदिने । यति मात्रै दोष त हुन् नि यिनका । बाबुबाजे यस्तो गर्दैनथे । जमाना बदलिएर मात्रे त हो यिनमा यी त्रिदोष देखिएका ।

फतुरे काकाको अनुसन्धानले के देखायो भने जमाना बदलिनाको प्रमुख कारण भनेकै शण्डतन्त्र र यिनका लाउकेको छत्रछायाको नीतिले नै हो । जति तैँ चुप मै चुप भने पनि यो सर्वत्र फिँजिइसकेको कुरा हो । कारबाही गर्ने त जमानै होइन क्यारे । कि सरुवा, कि भरुवा भएपछि रोग जस्ताको तस्तै हुने नै भयो । ठुलै भ्रष्टाचारमा परे सरुँला त्यो भन्दा नि ठुलो काण्ड मच्चाए उनीहरूबाटै खल्ती भरुँला कि कसो । जमाना कहाँ पुगिसक्यो, कि कसो ?

०००
गोकर्णेश्वर ५, काठमाडौं
२०८० साल पौष १४ गते शनिबार ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x