नगिता लेप्चा राईढाका टोपी
साहित्यिक सांस्कृतिक तथा भानुजयन्तीको दिनमा मात्र हामी चट्क्कै परेर जातीय पोशाक लाइदिन्छौँ । अरु समय यो जातीय पोशाकहरू कुन दुलामा वा बाकस, दराजको चेपमा डल्लो परिरहेका हुन्छन् ।

नगिता लेप्चा राई :
भारततिर होइन नेपालको साहित्यिक कार्यक्रमतिरको कुनै सम्मान कार्यक्रममा पुरुष साहित्यकार सँगसँगै नारी साहित्यकारलाई टोपी पहिराउने चलन खुब देखिन्छ । यो सौभाग्य मेरो पनि जुरेको हो धरानको एउटा भव्य साहित्यिक कार्यक्रममा । धरानमा ढाको टोपी पहिराएर सम्मान गरेदेखि मलाई पनि भारततिर हुने कार्यक्रममा ढाका टोपीको आशा लागेको लागेकै थियो । तर एउटा साहित्यिक कार्यक्रममा एकजना विद्वानको कुरा सुनेर ढाका टोपी पहिरिने मेरो इच्छा रहर बुहारी झर झैँ सिप्रिकै भयो ।
ती विद्वानले आफ्नो सारगतर्भित वक्तव्यमा भनेका कुरा यस्तो थियो, “मलाई तपाईंहरूले आज ढाका टोपी पहिराएर मेरो सम्मान गर्नुभयो । म खुशी छु । संस्थाका समस्त सदस्यहरूप्रति कृतज्ञता प्रकट नगरी बस्नु सक्दिनँ । तर मैले चाहिँ जीवनमा कहिल्यै पनि ढाका टोपी नलाउने निणर्य लिएको कुरा आज तपाईंहरूसमक्ष राख्छु । पल्टनमा हुँदा मेरा सिपाहीहरूले ढाका टोपी लाइदिए । मलाई ढाका टोपीमा देखेर मेरै श्रीमतीले मलाई चिनिनन् । फेरि मधेशतिर ढाका टोपी लाएर नहिँड्दा हुन्छ । रिक्सावाल, टोकरीमा फल-फूल बेच्ने, भिखारी समेतले पारीबाट आयो भनेर खेदेको खेदैकै गर्छन् ।”
यिनै कारणले पनि मलाई ढाका टोपी लाउनुमा वितृष्णा जागेको हो । त्यसभन्दा पनि ठूलो कुरो, ३६५ दिनमा एक दिन पनि रामायण नपल्टाउने भानुप्रेमी महोदय भानुजयन्तीको दिनमात्र ढाका टोपी ढल्काएर हिँडेका देखेकीले पनि ढाका टोपी लाउने इच्छा मरेको हो । साँच्चै वर्षमा एक दिन भानुजयन्तीको निहुँमा ढाका टोपी दौरा सुरुवाल लाएर प्यूर भाषाप्रेमि संस्कृतिप्रेमि हुँ भनी ढर्रा गरेका देखेर पनि यो ढाका टोपी लाउने इच्छा त्यागेकी हुँ ।
साँच्चै एक दिन ढोका टोपी लाउँदैमा सच्चा भानुप्रेमि, संस्कृतिप्रेमि भइहाल्ने भए त म अफिसमा पनि दिनहुँ ढाको टोपी पहिरिएरै जान्थे । अरु हाँसे हासुन् वा मलाई अफिसका हाकिमले सो कज् गरुन्… ड्याम केयर । माई बोडी माई विस भने झै म पनि भनिदिन्थेँ, माई हेड माई विस भनेर । ढाका टोपी लाउँदैमा सच्चा भानुप्रेमि वा संस्कृति प्रेमि भए त अङ्ग्रेजी स्कूल धाउने मेरा छोरा छोरीहरू जन्मेकै दिन वा न्वारानमा बाहुन बाजेलाई स्तोत्र पाठ गर्न लाएर ढोका टोपी पहिराइदिन्थेँ । दिनरात अङ्ग्रेजी घोक्ने अनि कतै जाँदा क्याप मात्रै लाउन मनपराउने मेरो छोरोलाई मैले भानुभक्त, देवकोटा र गिरी चिनाउन सफल भएकी छु । मेरो कोखबाट जन्मेको छोरोले ढाका टोपी नै नलाए पनि उलले भानुलाई श्रद्धा गर्न जानेका छन् । किनभने भानुबारे मेरो छोरोलाई मैले बेस्मारी डोज दिएकी छु ।
यो त भयो मेरो व्यक्तिगत कुरा । सत्य कुरो भन्नु नै हो भने, विशेष हामी बसेको यो मधेशमा ढाका टोपी लाउनेलाई मधेशका रिक्सावाला, टोटोवाला, अटोवालाले ठगेका कुरा असत्य होइन । मधेसमा ढाका टोपी लाएर हिँडेको कतै देखिँदैन । बाई चान्स देखिहाले, उनीहरूलाई नेपालतिरबाटै आएका हुन् भन्ने ठान्ने धेरै छन् । मेरो सिधा कुरो, समतलवासी सम्पूर्ण गोर्खा लगायत गोर्खा शिक्षक, विद्यार्थी, डाक्टर, ड्राइभर आदिले दिनहुँ ढाका टोपी लाएर हिँडिदिए फाटाकु फुटुक ढाका टोपी लाउनेलाई रिक्सावाला, टोटोवाला वा अटोवालाले ठग्ने वा डबल-ट्रिपल भाडा असुल्ने थिएनन् । जुनै गोर्खाको टाउकामा ढाका टोपी देखेपछि कसलाई ठग्ने ? विशेष कुरो, ढाका टोपी लाएर हिँड्नेलाई विशेष शङ्काको दृष्टिले हेर्ने आँखाहरू थुप्रै छन् यहाँ । त्यो पनि शेष हुनेछ ।
सबभन्दा यो ढाका टोपी, दौरा सुरुवा, चाैबन्दी फरिया नेपालका नेपालीहरूले मात्र लाउँछन् भन्ने एउटा भ्रम छ यहाँका मधेशवासीहरूको । हाम्रो जातीय संस्कृति विशाल मात्र होइन तर कति उदार छ भन्ने कुरा यहाँका मूलाहरूलाई के थाहा ? धनीभन्दा धनीदेखि गरिबभन्दा गरिबले, राजादेखि प्रजासम्मले ढाका टोपी लाउँछन् हाम्रो जातिमा । ठूला बडाले मात्र ढाका टोपी लाउनु पाउँछ तर भुसुनाहरूले ढाका टोपी लाउनु पाउँदैन भन्ने रेष्ट्रिकेसन हाम्रो संस्कृति, हाम्रो समाजमा कुनै त्यस्तो नियम छैन ।
तर मनभित्रकै कुरा पनि भनिहालुँ, यहाँ ढाका टोपी, दौरा सुरुवाल वा चौबन्दी चोली लाएर निस्किनुपनि डरसरि छ । टोटोवाला नै पहिल्यै सोध्छ, म्याडम आज कहाँ सांस्कृतिक साहित्यिक कार्यक्रम छ ? भनी सोधेर वाक्कै पार्छन् । सोध्नेहरूलाई पनि को दोष्याउनु ? हामी पनि त्यस्तै छौँ नि अन्त । साँच्चै हामी नै उस्तो नि । साहित्यिक सांस्कृतिक तथा भानुजयन्तीको दिनमा मात्र हामी चट्क्कै परेर जातीय पोशाक लाइदिन्छौँ । अरु समय यो जातीय पोशाकहरू कुन दुलामा वा बाकस, दराजको चेपमा डल्लो परिरहेका हुन्छन् । हामीलाई थाहै हुँदैन ।
भानुजयन्तीको दुइ चार दिन अघिदेखि मात्र धुइँपताल लाएर बाकस दराज खोतल्छौँ । हामी प्यूर भारतीय गोर्खा नागरिक हौँ । जातीय पोशाक हाम्रो सांस्कृतिक तथाजातीय चिन्हारी हो । खाँटी भारतीय गोर्खा जातिको जातीय प्रमाण पत्र हो । साँच्चै हामीले दिनहुँ जातीय पोशाक लाएर हिँडेर भारतका अऩ्य जातिको हृदय आकर्षित पार्ने सके हामी सम्पूर्ण गोर्खा जातिको पनि एउटा छुट्टै, विशिष्ट मह्त्व र मर्यादा हुने थियो जस्तो लाग्छ मलाई ।
यसरी हामीलाई दिनहुँ जातीय पहिरनमा देखिए मधेसकाहरूबाट हामी मात्र होइन नेपालबाट आउने कोही पनि ठगिने थिएनन् ।
०००
सिलगडी (भारत)
Subscribe
Login
0 Comments
Oldest







































