शरद जाेशीपानीको समस्या
गाउँमा वर्षा पनि छिटो आओस् या नदीमा पानी छिटो आओस् । जे गर्नु परे पनि हामी बैंकहरूसित गाग्राका विषयमा के कति गर्न सकिन्छ गर्न कुरा गर्नेछौं । हामीले देशलाई अगाडि बढाउनु छ ।’

शरद जोशी :
अनुवाद :: रमेश समर्थन
जसले टिभी हेर्नुहुन्छ उहाँहरू हाम्रा प्रधामन्त्री कसरी वास्तविकतासित सोझै साक्षात्कार गर्नुहुन्छ भन्ने कुरो राम्ररी बुझ्नुहुन्छ । उहाँ अर्थात् प्रधानमन्त्रीज्यू आफैं त्यस ठाउँमा पुगेर, सोधेर र कुराकानी गरेर वास्तविकता के हो भन्ने पत्ता लगाउनुहुन्छ । यो उहाँको काम गर्ने शैली हो । जस्तै कुनै मुख्यमन्त्रीले आएर ‘हजुर, मेरो राज्यमा गरिबी छ भने भने उहाँ त्यसै पत्याउनुहुन्न । उहाँ त्यहाँ जानुहुन्छ र त्यो पनि टेलिभिजनवालालाई लिएर जानुहुन्छ र गरिबसित सोध्नुहुन्छ —
‘…तपाईंको गाउँमा गरिबी छ भन्ने सुन्छु ।’ ‘हो, हजुर !’ ‘कति जना गरिब छन् यस गाउँमा ?’ ‘हजुर ! सबै जना गरिब छन् ।’ ‘तपाईंहरूमा बढी गरिब कति छन् ?’ ‘हजुर सबै नै बढी गरिब छन् ।’ गाउँलेहरू एकअर्काको मुख हेर्न थाल्छन् । एउटा सामाजिक कार्यकर्ता बोल्छ —
‘उहाँलाई उत्तर दिन दिनुस् । तपाईं बिचमा नबोल्नुस् ।’ ‘यस गाउँको जनसङ्ख्या कति छ ? कति मानिसहरू बस्छन् यस गाउँमा ?’ प्रधानमन्त्री कलक्टरलाई सोध्नुहुन्छ । ‘हजुर, त्यस्तै सत्तरी परिवारजति होलान् ।’ कलक्टर भन्दछन् । ‘आई वान्ट एक्जेक्ट फिगर्स !’ ‘सिक्स्टी नाइन प्वाइन्ट फाइभ ।’ ‘अम्…!’ यसरी हाम्रा प्रधानमन्त्री आफै त्यहाँ जानुहुन्छ र वास्तविकतासित साक्षात्कार गर्नुहुन्छ । कुराकानीबाट वास्तविकता पत्ता लगाउनुहुन्छ । जस्तै एउटा गाउँमा पानीको कमी छ भने प्रधानमन्त्री त्यहाँ जानुहुन्छ र वास्तविकता पत्ता लगाउनुहुन्छ । त्यसका निम्ति कुराकानी झन्डै झन्डै यस्तो हुने गर्छ —
‘तपाईंहरू पानी खानुहुन्छ ?’ ‘हो हजुर, खान्छौं ?’ ‘यस गाउँमा कति जनाले पानी खान्छन् ?’ ‘सबैले खान्छन् नि हजुर ! तिर्खा लागेपछि खानैपर्यो नि हजुर !’ ‘कहाँबाट पाइन्छ पानी ? अर्थात् कहाँबाट ल्याउनुहुन्छ ?’ ‘खोलाबाट ल्याउँछौं ।’ ‘खानेपानीको धारा छैन ?’ ‘छैन हजुर !’ ‘हम् ! खोलो यहाँबाट कति टाढा छ ?’ ‘अलिकति टाढा छ ।’ ‘पानी कसरी ल्याउनुहुन्छ ?’ ‘गाग्रामा भरेर ल्याउँछौं हजुर !’ ‘गाग्रो घरबाटै लैजानुहुन्छ कि खोलैमा पाइन्छ ?’ ‘घरबाटै लैजानुपर्छ हजुर !’ ‘आई सी ! जब खोलामा गाग्राको कुनै व्यवस्था हुँदैन भने तपाईंहरू गाग्रो लिएर जाँदा खोलामा पानी पाइन्छ कि कुनै अप्ठ्यारो पर्छ ?’ ‘पहिले पाइन्थ्यो । अब अप्ठ्यारो पर्छ ।’ ‘कस्तो अप्ठ्यारो पर्छ ? एउटा खोलामा कति गाग्रो पानी हुन्छ ?’ ‘धेरै गाग्रो हुन्छ ।’ ‘आई वान्ट टू सी ए गाग्रो । त्यसको एक्जेक्ट साइज कत्रो हुन्छ ?’
प्रधानमन्त्रीले भन्नुभयो अनि तुरुन्तै एउटा गरिबको घरबाट एउटा गाग्रो ल्याएर प्रधानमन्त्रीलाई देखाइयो, ‘यो माटाले बनेको हुन्छ ?’ ‘हजुर !’ ‘हामी यसका लागि माटो आयात गर्छौं या यहीँको हो ?’ ‘हजुर स्थानीय माटो हो ।’ ‘गुड ! यस गाग्रामा कति बकेट पानी अटाउँछ ? अर्थात् कति बाल्टिन ?’ ‘त्यस्तै डेढ बाल्टिन ।’ ‘तपाईं ठुलो गाग्रो लिएर किन जानुहुन्न ? त्यसमा त धेरै पानी आउँथ्यो । कि सबै गाग्राहरू उत्रै हुन्छन् ?’ ‘हजुर, ठुला पनि हुन्छन् तर उचाल्न गह्रुङ्गो हुन्छ ।’ ‘एक पटकमा कतिवटा गाग्रा बोक्नुहुन्छ ?’ ‘हजुर एउटा मात्र बोक्छौं ।’ ‘पानी भरिएको कि रित्तो ?’ ‘पानी भरिएको ।’ ‘तपाईं आफैं उचाल्नुहुन्छ कि अरूबाट उचाल्न लगाउनुहुन्छ ?’ ‘हजुर, आफै उचाल्छौं ।’ ‘कति जना लागेका छन् यस काममा ?’ ‘हजुर, सबै लागिरहन्छन् ।’
‘खोलाबाट चौबिसै घण्टा पानी पाइन्छ कि त्यसको कुनै निश्चित समय छ यति बजेदेखि यति बजेसम्म भन्ने ?’ ‘पाइँदाखेरि त चौबिसै घण्टा पाइन्छ ।’ ‘अचेल कति घण्टा पाइन्छ ?’ ‘अचेल खोलो सुकेको छ ।’ ‘सुकेको बेलामा कति घण्टा पाइन्छ ?’ ‘त्यति बेला पाइँदै पाइन्न ।’ ‘एक दुई घण्टा पनि पाइन्न ?’ ‘अहँ !’ प्रधानमन्त्रीको अनुहार गम्भीर बन्छ र प्रजिअलाई सोध्नुहुन्छ , ‘खोलो किन सुक्छ ?’ ‘यो नि सर ! गर्मीमा एटमोसफेयरिक टेम्परेचर बढ्छ । त्यसैले सुक्छ ।’ आईएएस अफिसरले उत्तर दिन्छ । ‘कान्ट वी ह्याभ सम सेड अर सम समथिङ्ग ?
के हामी खोलामाथि यस्तो केही लगाउन सक्दैनौं जसले गर्दा खोलामा घाम नपरोस् र खोलो नसुकोस् ?’ ‘नो सर ! इट इज नट पोसिभल । यो सम्भव छैन ।’ ‘किन ? वी क्यान टक टु वल्र्ड बैंक अबाउट इट । सबै खोलाहरूमा छानो हालिदिऊँ । खास गरी ती खोलामा जो गाउँको नजिकबाट बग्छन् । वी क्यान सर्च आउट दोज प्रब्लम एरियाज !’ ‘सर, त्यसमा प्य्राक्टिकल डिफिकल्टहरू छन् । ‘के के डिफिकल्टहरू छन् ?’ ‘के छ भने नि हजुर, एक त खोलाको पाट निकै चौडा हुन्छ र त्यसलाई कभर गर्न निकै मुस्किल हुन्छ । अनि अर्को खोलाको छेउछाउको माटाको अवस्था बालुवा र हिलोले गर्दा कस्तो हुन्छ भने त्यसमा पिलरहरू उभ्याउनै ठुलो डिफिकल्ट हुन्छ ।’ ‘आई सी !’
तब अर्को अधिकारी जो यस अधिकारीको प्रधानमन्त्रीसित भएको लामो कुराकानीबाट वाक्क भएको थियो त्यसले यसलाई प्रस्ट्याउँदै भन्यो, ‘अर्को समस्या के छ भने नि हजुर, यदि हामीले खोलालाई कभर गर्यौं भने वर्षामा जुन पानी खोलामा पथ्र्यो त्यो पर्न बन्द हुन्छ ।’ प्रधानमन्त्रीले गर्धन हल्लाउनुभयो । उहाँले समस्या बुझ्नुभएको थियो । तर अगाडि उभिएका गाउँलेहरूले भने उनीहरूका बिचमा के कुरा भइरहेको छ भन्ने त केही चाल पाएका थिएनन् तर केचाहिँ बुझेका थिए भने प्रधानमन्त्रीज्यू उनीहरूको खानेपानीका विषयमा निकै चिन्तित हुनुहुन्छ र त अधिकारीहरूसित यस विषयमा कुरा गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्रीले फेरि गाउँलेलाई सोध्नुभयो , ‘जब खोलाबाट पानी पाइँदैन भने तपाईंहरू गाग्रो लिएर खोलामा किन जानुहुन्छ ?’ ‘हामी इनारमा जान्छौं हजुर, खोलामा जान्नौं ।’ ‘जब खोलामा पानी पाइँदैन के इनारमा पानी पाइन्छ ?’ ‘हजुर !’ ‘एउटा इनारबाट कति पानी पाइन्छ ? सिङ्गो गाउँले पाउँछ ?’ ‘धेरै नै पाइन्छ ।’ अर्काले भन्यो । ‘तपाईंहरूलाई कुन पानी राम्रो लाग्छ ? खोलाको कि इनारको ?’ प्रधानमन्त्रीले सोध्नुभयो । ‘हजुर, जहाँबाट पाउँछौं त्यहीँको राम्रो लाग्छ ।’ ‘नदीको पानीमा केही फोहर हुन्छ हजुर !’ ‘अनि तपाईंहरू के गर्नुहुन्छ त ? खोलालाई छान्नुहुन्छ ?’ ‘सिङ्गो खोलो त छानिन्न हजुर, तर जुन पानी ल्याउँछौं त्यो छान्छौं ।’ ‘अरू सबै छोडिदिनुहुन्छ ?’ ‘हजुर !’ ‘पानीलाई छोडेर खोलाबाट अरू के के पाइन्छ ?’
सबैले एकअर्कालाई हेर्न थाले । कसैले जवाफ फेला पारेनन् । ‘खोलाबाट पानी त पाइन्छ । तर योभन्दा बाहेक अरू के के पाइन्छ ?’ प्रधानमन्त्रीले आफ्नो भनाइलाई दोहोर्याएर सोध्नुभयो, ‘खोलामा पुल भेटिन्छ ?’ ‘नाइँ हजुर भेटिन्न ।’ ‘बाँध भेटिन्छ खोलामा ?’ ‘हजुर, कुनै बाँध छैन ।’ ‘इट इज सरप्राइजिङ्ग अफ्टर फोर्टी इयर्स अफ फ्रिडम खोलामा एउटा बाँध पनि छैन ।’ प्रधानमन्त्रीले अधिकारीलाई भन्नुभयो । अधिकारीहरूले लाजले टाउको निहुर्याए । फेरि एउटा अधिकारीले हिम्मत गरेर भने, ‘सर ! छैटौं योजनामा खोलामा बाँध बनाउने प्रस्ताव थियो ।’ ‘के भयो त फेरि ?’ ‘सर्भे गर्दा के पत्ता लाग्यो भने खोलामा पानी नै छैन । त्यसैले यसमा बाँध बनाउनु फिजुलखर्च हुनेछ ।’ ‘के हामी एउटा बाँध बनाउन चाहिनेजति पानीको व्यवस्था गर्न सक्दैनौं ?’ प्रधानमन्त्रीले भन्नुभयो ।
अधिकारीहरूले फेरि लाजले टाउको निहुर्याए । प्रधानमन्त्रीले मुख्यमन्त्रीतिर हेर्नुभयो जो उहाँकै साथमा पछि पछि हिँडिरहेका थिए । मुख्यमन्त्रीले आफ्नो टोपी मिलाए अनि अलिकति खोकेर भने, ‘श्रीमान् ! मैले त दिल्लीमा पनि हजुरलाई निवेदन गरेको थिएँ कि खोलाको पानीलाई लिएर अन्तर्राज्यीय झैझगडा छ । १९६७ मा यस समस्यामाथि एउटा उच्च स्तरीय आयोग पनि बनेको थियो । तर त्यसको सिफारिस अमान्य गरिएको थियो । मैले कांग्रेस अधिवेशनमा पनि यो सवाल उठाएको थिएँ श्रीमान् !’ ‘आयोग के यस खोलामा बाँध बनाउने विषयमा थियो ?’ प्रधानमन्त्रीले सोध्नुभयो । ‘हैन हजुर, त्यो अर्को खोलाका लागि थियो ।’ मुख्यमन्त्रीले भने । ‘म तपाईंसित यस खोलाको बारेमा सोध्दै छु !’
‘योजना आयोगले के भनेको छ भने जुन खोलामा वर्षैभरि पानी हुँदैन ती खोलामा बाँध बनाउने स्वीकृति दिन सकिँदैन । किनभने त्यसबाट बिजुली बन्दैन ।’ प्रधानमन्त्रीले केही सोच्न थाल्नुभयो । मामिला अल्झेको रहेछ । कम्प्युटरमा कुरो राख्नुपर्ला । अनि उहाँ मानिसहरूतिर फर्किनुभयो । ‘तपाईंको गाउँमा कतिवटा इनारहरू छन् ?’ ‘हजुर, एउटा पनि छैन ।’ ‘उसो भए तपाईं गाग्रो लिएर कहाँ जानुहुन्छ त ?’ ‘पल्लो गाउँमा ।’ ‘त्यहाँ इनार छ ?’ ‘छ ।’ ‘पानी पाइन्छ ?’ ‘पाइन त पाइन्छ तर निकै हुल हुन्छ ।’ ‘त्यो गाउँ कति टाढा छ ?’ ‘दुई मिल टाढा छ ।’ ‘फर्किँदा पनि दुई मिल नै पर्छ ?’ ‘हजुर, त्यति नै पर्छ ।’ ‘जानका निम्ति कुनै साधन छ ? बस या ट्याक्सी ?’ ‘छैन हजुर, कुनै साधन छैन । हिँडेरै जानुपर्छ ।’ प्रधानमन्त्रीको अनुहारमा पीडाका रेखाहरू देखा परे । उहाँले अधिकारीहरूसित सोध्नुभयो,
‘के हामीले यी दुबै गाउँका बिचमा कुनै बस सर्भिस उपलब्ध गराउन सक्दैनौं ? पानी ल्याउनका निम्ति त्यस दिन एउटा विराट् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘ तपाईंको गाउँमा पानीको समस्या छ भन्ने हामीले देख्यौं । खास गरी महिलाहरूलाई अर्को गाउँबाट गाग्रामा पानी बोकेर ल्याउनुपर्ने समस्या छ ।
हामी के चाहन्छौं भने हाम्रो देशको हरेक गाउँको नजिकमा एउटा खोलो होस् र खास गरी ती गाउँको नजिकमा जहाँ पानी छैन । यस कुरालाई हामी अवश्य हेर्ने छौं र के पनि हेर्नेछौं भने तपाईंहरूले गाग्रो बोक्नु नपरोस् । यसका लागि दुईवटा कुरा हुनु जरुरी छ । या त गाउँलाई खोलाको नजिक पुर्याउने या खोलालाई नै गाउँको नजिकमा ल्याउने । जे आवश्यक छ त्यो हामी गर्नेछौं । सरकारले गर्नेछ । अन्य समस्या पनि जस्तै बाँध बनाउने, बस चलाउने जस्ता काम पनि हामी सम्पन्न गर्नेछौं । यो काम हामीले छिटै गर्नुपर्ने छ ।
किनभने हामीलाई के बताइएको छ भने यहाँ जुन गाग्राहरूमा तपाईंहरू पानी ल्याउनुहुन्छ ती माटाले बनेका हुन्छन् । त्यसका विषयमा पनि हामीले केही न केही गर्नु छ । देशमा पानी पानी गरिदिनु छ, चाहे त्यो खोलाको होस् या वर्षाको या समुद्रको ! हामी चाहन्छौं र कोसिस पनि गर्नेछौं कि तपाईंको गाउँमा वर्षा पनि छिटो आओस् या नदीमा पानी छिटो आओस् । जे गर्नु परे पनि हामी बैंकहरूसित गाग्राका विषयमा के कति गर्न सकिन्छ गर्न कुरा गर्नेछौं । हामीले देशलाई अगाडि बढाउनु छ ।’
यसमा आगामी चुनावमा कांग्रेसको टिकटमा उम्मेदवार बनेको एउटा युवक बेस्सरी चिच्यायो, ‘राजीव गाँधीको जय !’ यससँगै सबैले ‘जय !’ भने अनि प्रधानमन्त्रीको लस्कर अर्को गाउँको समस्या बुझ्न अगाडि बढ्यो ।
०००
जोशीको ‘पानी के समस्या’ व्यङ्ग्य निबन्धबाट नेपाली अनुवाद
Subscribe
Login
0 Comments
Oldest








































