सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

झूटको खेती

झुटको खेती गरेर प्राप्त गरेको सफलता दिगो हुन सक्दैन । आखिर को, कति पानीभित्र छ र को कति पानीमाथि छ भन्ने कुरा समयले देखाइहाल्छ ।

Nepal Telecom ad

नारायण भट्टराई :

दुनियाँमा सबैभन्दा सजिलोसँग लगाउन सकिने, सबैभन्दा बढी फस्टाएको खेती हो- झूटको खेती । भन्नुपर्ने कुरा नभन्ने । सत्य कुरा लुकाउने । भन्नै परे पनि बनाएर भन्ने वा घुमाएर, बटारेर र बिगारेर भन्ने गरेपछि झूटको खेती सुरु भइहाल्छ । यसको मलजल पनि सजिलो छ । जति राम्रो र सुन्दा विश्वासिलो लाग्ने बनावटी कथाले मलजल गर्न सक्यो, त्यति नै राम्रोसँग यो फस्टाउँछ । यो खेतीको सबैभन्दा राम्रो पक्ष भनेको अरु नियमित खेतीजस्तो यो मौसम परिवर्तनको मारमा परेर डुब्ने सम्भावना धेरै कम हुन्छ किनकि यसको सफलता खेती लागाउनेको हातमा धेरै हदसम्म भर पर्दछ ।

अब झुटको खेती फस्टाएका केही उदाहरणहरूको कुरा गरौँ । २०४६ सालमा नेपालमा प्रजातन्त्र पुनर्स्थापना भयो । त्यति वेला नेपालमा दुई वटा प्रमुख विचारधाराका पार्टीहरू राजनीतिको मैदानमा देखा परे- एक काङ्ग्रेस, जसलाई यथार्थवादी, पूँजीपति विचारधाराको प्रतिनिधित्व गर्ने पार्टी भनियो अनि अर्को- कम्युनिस्ट, जसलाई प्रगतिशील, क्रान्तिकारी परिवर्तन पक्षधर पार्टी भनियो । काङ्ग्रेस धनीहरूको पार्टी भयो भने कम्युनिस्ट गरीबहरूको पार्टी । चुनावको समय आयो । काङ्ग्रेसहरूले भने- कम्युनिस्टलाई भोट दिएर जितायो भने मान्छेहरूले आफ्नो सम्पत्ति राख्न पाउँदैनन्, नाकको फुली र कानको मुन्द्रीसमेत खोसेर लान्छन् । त्यति वेला यस्तो पनि हल्ला चल्यो कि- चीनमा ६० वर्षभन्दा बूढा मानिसहरूलाई फाँसी दिइन्छ । यदि कम्युनिस्टहरूलाई जितायो भने नेपालमा पनि साठी वर्षभन्दा बढी उमेरका मनिसहरूको त्यही हालत हुन सक्छ । यो झुटको खेतीले त्यति वेला काङ्ग्रेसलाई धेरै फाइदा भयो किनकि चुनावमा नेपाली काङ्ग्रेसले बहुमत ल्याउन सफल भयौ । वर्षहरू बित्दै गए ।

काङ्ग्रेसको सरकारले जनताको जीवनस्तर उकास्ने केही पनि काम गर्न सकेन । प्रजातन्त्र केवल हुनेखाने र पहुँचवालालाई मात्र आयो तर निमुखाहरूको घरमा आएन । त्यस कुराको फाइदा कम्युनिस्टको नाममा राजनीति गर्नेहरूलाई भयो । जति जति काङ्ग्रेसको सरकार असफल हुँदै गयो, कम्युनिस्टहरूले जोडदारका साथ आफूलाई गरिबको पार्टी भनेर प्रचार गरिरहे । समय बित्दै जाँदा सर्वसाधारणलाई साँच्चै कम्युनिस्ट भनेका गरीबकै पार्टी हुन् भन्ने भान पर्न गयो । त्यति वेला गाउँघरमा काङ्ग्रेसको कार्यकर्ता भन्ने बित्तिकै जड्याहा, जाँड खाएर हल्ला गर्ने, गुण्डागर्दी गर्ने फटाहा मानिसहरूको प्रतिविम्ब दिमागमा आउने गर्दथ्यो । त्यसको विपरीत कम्युनिस्ट भनेपछि साधारण पहिरन लगाउने, सोझो र सिधा, मिजासिला मानिसको झल्को आउने गर्दथ्यो ।

देशमा प्रजातन्त्र छिप्पिँदै गयो । तर, गरिबी र अशिक्षाको घाउ निको भएन । त्यो पनि छिप्पिँदै गयो अनि अझ झाङ्गिँदै गयो । कम्युनिस्टहरूले गरीबको प्रतिनिधित्व गर्दछन्; त्यसैले उनीहरूलाई सत्तामा पुर्‍यायो भने देशमा पक्का समृद्धि आउँछ भन्ने कुरा स्थापित हुँदै गयो । त्यस विश्वासको आधारमा उनीहरू सत्तामा पनि पुगे । उनीहरूको सत्तारोहणले केही सय, हजार फरक मान्छेलाई फाइदा पुग्यो तर आम कृषक, मजदुर र सीमान्तीकृत वर्गलाई खासै केही फाइदा भएन । नयाँ उद्योग, कल-कारखाना खुलेनन् । कृषि क्रान्ति भएन अनि क्रान्तिकारी भूमिसुधार लागू भएन । त्यसो भए के भयो त ? अग्रपङ्क्तिका नेताहरूको जीवन तर आकाशियो, माफियागिरी मौलायो, राजनीति स्वार्थी र अवसरवादी मानिसको व्यक्तिगत अभिलाषा पूरा गर्ने साधन बन्न पुग्यो । दुवै पार्टीले चुनावमा लगाएका नारा र एकअर्कालाई लगाएका लाञ्छना र एकअर्का विरुद्ध प्रयोग गरेका विशेषण केवल झूटको खेती थियो भन्ने कुरा आज देशको प्रजातन्त्र चालीस वर्षको भएपछि प्रमाणित भएको छ ।

अर्को झुटको खेती फस्टाएको उदाहरण अमेरिकामा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सायद संसारमै पहिलो पटक कोरोनाविरुद्ध खोप लगाउने शासक होलान् । तर, उनले खोपमा विश्वास नभएको मात्र भनेनन्, सम्पूर्ण अमेरिकी जनतालाई खोप नलगाउन भड्काए । कोरोनाजस्तो महामारीलाई राजनीतीकरण गरेर आफ्ना समर्थकहरूको सहानुभूति बटुल्न उनी सफल जस्तै देखिन्छन् । आफ्ना समर्थकलाई खोपले होइन; ईश्वरले मात्र बचाउन सक्छन् भन्ने भ्रम फैलाएर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न उनी आजपर्यन्त सक्रिय छन् । उनको झूटको खेती पनि फस्टाएकै छ एक्काइसौँ शताब्दीको अमेरिकामा ।

तर, झुटको खेती गरेर प्राप्त गरेको सफलता दिगो हुन सक्दैन । आखिर को, कति पानीभित्र छ र को कति पानीमाथि छ भन्ने कुरा समयले देखाइहाल्छ । कसैले कसैलाई केही समय भ्रममा पारेर फाइदा उठाउन न सके पनि अन्त्यमा दूधको दूध, पानीको पानी भइ नै हाल्छ । विज्ञानलाई चुनौती दिएर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न मानिसहरूलाई कोरोनाको खोप नलगाउन उक्साउने ट्रम्प हुन् या त्याग र समर्पणको भावनालाई तिलाञ्जली दिएर स्वार्थको राजनीति गर्ने न समकालीन नेपाली राजनेता; जो सुकैको भए पनि झुटको खेतीले अन्त्य त उनकै भविष्यलाई खाडलमा हाल्ने छ ।

०००
हाल अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
फेरिँदै जानु भा छ रिटायर बा

फेरिँदै जानु भा छ...

नारायण भट्टराई
यस्तै छ हजुर यहाँको चलन

यस्तै छ हजुर यहाँको...

नारायण भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

नारायण भट्टराई
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे