बजेट
मेरो कुरा सुनेर उसले मुख निन्याउरो बनायो । अनुहार निन्याउरो बनाउनुको कारण चैँ मैले दुईसय रुपैयाँमात्र गर्दुवा हालेँ भनेर थियो कि उसैको लाँलच एक्सपोज भयो भनेर थियो पत्ता पाउन सकिनँ ।
जीवन दाहाल :
छोरीको विवाह सकिएको अर्को हप्ता फेरि उनीसँग भेट भयो ।
यताउताका कुरा सकिएपछि मैले विवाहको प्रसङ्ग निकाल्दै भनेँ- “जे होस् पार्टी चैँ भव्य दिनु भो तपाईंले । प्रसन्न देखिन्थे निम्तालुहरू ।”
मैले उनलाई फुर्क्याएको होइन साँच्चै भन्नुपर्दा मैले उपस्थिति जनाएका र मलाई भव्य लागेका गोडा चारेक पार्टीहरू मध्येको एउटा पार्टी थियो उनले दिएको । उनले दिल फुकाएरै खर्च गरेका थिए भोजमा अनि मेरो भनाइ पनि साँच्चैकाे थियो पनि ।
“अरु त त्यस्तै हो तर कसले हो कुन्नि, पच्चिस सय रुप्याँ प्लेटको खाना खाएर खाममा चैँ दुई सय रुप्याँ हालेछ यार लाजमर्दो ।” -उसले अज्ञात निम्तालुप्रति रोष तथा व्यङ्ग्य गर्दै उपेक्षाको हाँसो हाँस्यो ।
“ए दुईसय मात्र हाल्ने मान्छे ? त्यो पनि रातो खाममा होला होइन ?” मात्र मैले के भनेको थिएँ उसले- “हो ! हो !” -गर्दै उत्सुकता देखायो मैले चिनाइ दिनसक्ने भएँ भन्ने आशामा ।
“मैले हो ।”- मैले निसंकोच उतर दिएँ ।
मेरा कठिनाइ यस्ता थिए,
हजार रुपैयाँको मात्र बजेट ।
मंसिर महिनाको अन्तिम हप्ताको छोटो दिन, अँध्यारो भएपछिमात्र शुरु हुने पार्टी ।
पार्टीस्थल ललितपुर, सातदोबाटो, जानुपर्ने मैतिदेवी, काठमाडौंबाट ।
पार्टी शुरु नहुँदै बसमा गएर चौरमा खर्किने कुरो भएन, आउँदा ट्याक्सीले चारसय चप्काइ हाल्यो,
फर्कन पनि चार सय नै चाहिने भो ।
उब्रिने भो दुईसय ।
लगानी त मैले हजारै गरेको हुँ नि होइन र ?
मेरो कुरा सुनेर उसले मुख निन्याउरो बनायो । अनुहार निन्याउरो बनाउनुको कारण चैँ मैले दुईसय रुपैयाँमात्र गर्दुवा हालेँ भनेर थियो कि उसैको लालच एक्सपोज भयो भनेर थियो पत्ता पाउन सकिनँ ।
०००
गौरादह-७, झापा