डा. रविलाल अधिकारीगणेश संस्कृति
हाम्रो गणेशसंस्कृतिसँग गतिलो गठबन्धन नभएको भए तपाईं हामीले कापी जाँच्ता नोट पढेर अनेक कुरा सोच्ने यो हैरानी व्यहोर्नु पर्ने थिएन । लेख्ने पास हुन्थ्यो नलेख्ने फेल हुन्थ्यो । सरासर कापी जाँचे पुगिहाल्थ्यो, तर गणेशसंस्कृतिसँगको हाम्रो गतिलो गठवन्धनले सोझो कुरो हुन दिएन ।

डा. रविलाल अधिकारी :
क्याम्पसको प्राध्यापक भएकाले परीक्षाका कापी जाँच्न पर्नु स्वाभाविक हो । वर्षवर्षका परीक्षामा मलाई कापी जाँच्नुपर्छ र अनौठा अनुभूतिहरू सँगाल्नुपर्छ । विद्यार्थीहरू लगनशील हुन्छन् र विषवस्तुलाई राम्रोसँग जानेर प्रभावकारी ढङ्गमा प्रस्तुत गर्छन् । कतिपयको प्रस्तुतीकरण साहै लोभ लाग्दो हुन्छ । ‘यस्तो मिलाएर त म आफू पनि लेख्न सक्तिन’ भन्ने मलाई लाग्छ । तर पनि धेरैको प्रस्तुतीकरण ठीकठीकै हुन्छ । धेरैजसो मेरै ड्याङका मुला हुन् भनेर म चित्त बुझाउँछु । कुनै चाहिँ हरमदाता पनि हुन्छन् । पढ्ने बेलामा गुरुका कुरा नसुन्ने र अन्य विषयवस्तुमै बहकिने तर परीक्षा आएपछि परीक्षाको कापीका एक छेउमा ‘मेरी आमा बिरामी परेर हेरचाह गर्नुपर्दा पढ्न पाइनँ, मेरा बाबा दीर्घकालसम्म रोगाइ मर्दा पढ्न पाइनँ, म बिरामी परेर डाक्टरले पढ्न निषेध गर्दा पढ्न पाइनँ’ अथवा ‘म शिक्षकको छोरो हुँ’ आदि कुरा भन्दै जाँचकीलाई अनेक झुट कुराको बहाना बनाई निवेदन लेख्ने र दयामायाले पास गरिदेओस् भन्ने चाहना राख्ने यस्ता हरमदाताहरूले मलाईजस्तै सबै जाँचकी साथीहरूलाई पीर पार्दा हुन् । म अहिले यस्तै हरमदाताका कापीले अभिप्रेरित भएर यो गुनासो लेख्तै छु ।
प्रमाणपत्र तहसम्मका विद्यार्थीमा यस किसिमका जाँचकीसँग रोइकराइ गरेर पास हुन सकिन्छ भन्ने धारणा हुनु स्वाभाविक हो; तर आजभोलि स्नातक वा स्नाकोत्तरमा पढ्ने, विद्यार्थीमा पनि यो चलाखी देखापर्छ । म अहिले बी.ए. दोस्रो वर्षको ‘भाषाविज्ञान र साहित्य सिद्धान्त’ नामक तेस्रोपत्रको कापी जाँचिरहेको छु । यसै क्रममा म एउटा कापीमा २०/२० नम्बरका पहिलो र दोस्रो प्रश्नका तथा १० नम्बरको चौथो प्रश्नको उत्तर लेखिसकेपछिका खाली रहेका पानाका पुछारमा साना अक्षरमा केही लेखिएको देख्छु ।
लेखाइमा नजर पुर्याउँदा कोष्ठकभित्र ‘नोट’ भनेर लेखिएको छ ‘आदरणीय शिक्षकज्यू, यदि मेरो भविष्यमा तपाईंको ४/५ नम्बरले योगदान दिन्छ भने कृपया’ उसको यो नोट देखेपछि म सोच्छुः ‘डिप्लोमा पढ्ने भए पनि विद्यार्थी निम्नस्तरको चाकडीबाज रहेछ, राम्रै अक्षर बनाएर उपयुक्त किसिमले उत्तर सन्तुलित रूपमा लेख्ने भन्ने ठहर्याएकामा मैले गल्ती गरेँ’ भन्ने म सोच्न पुग्छु । उसप्रति मेरो नकारात्मक धारण बन्न पुग्छ र म उसलाई त्यो नोट पढ्नभन्दा पहिलेको जस्तो गहनरूपको विद्यार्थी देख्न सक्तिनँ । मेरा नजरमा गिरेको भएपनि ऊ विद्यार्थी हो र उसको सामान्य बुद्धि हुनु स्वाभाविक हो भन्ने ठानेर म पछाडिका प्रश्नहरूको उत्तर पढेर नम्बर दिन्छु । उसले नाजायज रूपमा अनुनयविनय गर्नाको कारण एकदुई नम्बर घटाएरै नम्बर दिँदा पनि ३५ मा ३६ नम्बर ल्याएर पास हुन्छ । यसपछि मलाई लाग्छ – आफै पास हुन सक्ने क्षमता हुँदाहुँदै पनि उसले आफ्ना लेखनमा विश्वास गरेर जाँचकीका अगाडि आँसु चुहाउँदै हात जोडेर आफ्नो अवमूल्यन गर्ने भूल गयो ।’
उसले सोच्यो होला ’सुटुक्क कापीमा लेखेको कुरो कसैले देख्तैन र स्वयं नम्बर दिने जाँचकीले पनि चिन्दैन, तर काम भने बनिहाल्छ ।’ उसले धूर्त बनेर यो कुरो लेखेको भए पनि उसले छातीमा हात राखेर भन्दा यस कुराले उसलाई जिन्दगीभर पिरोल्छ । यदि नपिरोल्ने किसिमको रहेछ भने उसले यो कुरो साथीभाइसँग बताउन पनि सक्छ । जुन रूपबाट पनि उसले आफ्नो अवमूल्यन गर्यो । नाजायज किसिमले आफ्नो काम बनाउन भनेर जोसँग पनि, जहाँपनि र जसरी पनि घुँडा टेक्ने, आँसु चुहाउने, अनुनयविनय गर्ने र आफूलाई जति तल्लो बनाउन पनि पछि नपर्ने प्रवृत्ति हावी हुन थाल्यो भने हाम्रो भावी पुस्ता कुन अवस्थामा पुग्ला ? भविष्यका कणर्धारहरूले देशको मुहार फेर्ने र नयाँ नेपाल बनाउने सपना कति साकार होला ? विद्वद्वर्गमा अध्ययन, अनुसन्धान, खोजखबर गर्ने प्रवृत्ति कति बढ्ला ? नेतृत्वमा नैतिकता र कर्तव्यबोध कति मौलाउला ? भन्ने जस्ता हजारौँ प्रश्नले ममा आशंका पैदा गरिरहेका छन् । अल्छी, अनैतिक, लाचार र चाकरीबाज बनेर हाम्रो भावी पुस्ता देखापर्न थाल्यो भने स्वाभाविक रूपमै नेपाली जातिको पतन हुन बेर लाग्दैन ।
आफूले अध्ययन गरेका पाठ्यांशका विषयमा राम्रो जानकारी राखी सन्तुलन मिलाएर परीक्षामा प्रश्नको उत्तर दिनु विद्यार्थीहरूको कर्तव्य हो । आफ्ना कर्तव्यको निर्वाह गरेपछि लेखेबमोजिम नम्बर पाउनु उसको अधिकारको कुरो हुन्छ । उसको कापी हेरेर प्राप्त गरेको नम्बर दिनु जाँचकीको दायित्व हो र आफ्ना दायित्वबाट तलमाथि गर्न उसले पनि पाउँदैन । मापनका आधारबाट एक-एक केलाएर उसले विद्यार्थीलाई उचित नम्बर दिनैपर्छ । यदि त्यसो नगरे दायित्वको निर्वाह उसले पनि गरेको ठहरिदैन । कुनै पूर्वाग्रह राखेर दायित्वको निर्वाह नगरे अनैतिक, भ्रष्ट, क्रूर, पतित आदि भन्ने विशेषण जाँचकीमा पनि जोडिन्छन्, त्यसैले आ-आफ्ना कर्तव्य र दायित्वको प्रश्न सबैसँग जोडिन आउँछ ।
गुरु नै असल हुन सकिएन भने चेला असल हुने सम्भावना झन् कसरी रहला ? विद्यार्थीहरूलाई मात्र उपदेश दिने र उनीहरूलाई उपदेश दिएबमोजिमको आचरण नगर्ने गुरुका सन्दर्भबाट ‘म जे जे भन्छु त्यो गर; तर जे – जे गर्छु त्यो नगर’ भनेर गुरुले भनेको भन्ने एउटा व्यङ्ग्यको भनाइ पनि हाम्रा समाजमा प्रचलित नभएको होइन र हामी गुरु भनेपछि सबै असल छौँ भन्ने सकिने स्थिति पनि आज छैन; तर पनि विद्यार्थीका सापेक्षतामा गुरुहरू असल नै धेरै छन् भन्न चाहिँ सकिन्छ । आफ्ना चलाखीले गुरुहरूलाई थाङ्नामा सुताएर लाभ लिन सकिन्छ भन्ने मानसिकता भएका विद्यार्थीहरू नै हाम्रा समाजमा धेरै छन् भन्ने मलाई लाग्छ ।
गुरुहरूलाई थाङ्नामा सुताएर विद्यार्थीहरूले लाभ उठाउने सन्दर्भको कुरो गर्दा म पृथ्वीनारायण क्याम्पस पोखरामा पढाउने एकजना भू.पू. प्राध्यापकको नमस्कारको प्रत्युत्तर फर्काउने शैलीको सम्झना गर्छु । सुदूर पश्चिमाञ्चल बैतडी जिल्लाका जयदेव लेखक नाम गरेका राजनीति शास्त्रविषयका सरले पृथ्वीनारायण क्याम्पसमा धेरै समय पढाउनुभयो । हाल निवृत्त भई आफ्नै घर बैतडीमा जानुभएका उहाँले ‘नयाँ शिक्षा’ लागू भएका बेला पनि उक्त क्याम्पसमा पठाउनुभयो । ’नयाँ शिक्षा’ लागू हुँदा ६ – ६ महिनामा परीक्षा पास गर्नुपर्ने सेमेष्टर प्रणाली थियो र जुन-जुन गुरुहरूले जहाँ जहाँ पठाउनुहुन्थ्यो, त्यहीँ त्यहीँका आ-आफ्ना विद्यार्थीका कापी आफैले जाँच्नुहुन्थ्यो । विश्वविद्यालयले बनाएको नियम नै यस्तै थियो ।
यसबेला जयदेव सरले पढाएका विद्यार्थीका कापी पनि उहाँले जाँच गर्नुहुन्थ्यो । उहाँले पढाउने विद्यार्थीहरू सरल स्वभावका सरलाई नटेर्ने खालका धूर्त थिए र अगिपछि सरको वास्ता गर्दैनथे । बाटामा भेटिँदा नमस्कार पनि गर्दैनथे । बाहिर देख्ता सरल भएपनि आफ्नो कुन विद्यार्थी कस्तो छ र आफूसँग कस्तो व्यवहार गर्छ भन्ने कुराको ख्याल सरले राखिराख्नुहुन्थ्यो र सबै आफ्ना विद्यार्थीलाई चिन्नु पनि हुन्थ्यो । अगिपछि वास्ता नगरेर उहाँलाई देखेको नदेख्यै गरेर हिँड्ने विद्यार्थी पनि परीक्षाका कापी योसँग आए भन्ने हिसाबले परीक्षा भएपछि बाटामा देख्नासाथ सरलाई नमस्कार गर्न पुग्थे । नमस्कारको प्रत्युत्तरमा – ‘भाइ ! मलाई अहिले कापी आएनन्’ भनेर ‘अथवा भाइ । मैले कापी जाँचेर पठाइ सकेँ’ भनेर नमस्कारको आशय खोल्नुहुन्थ्यो । सरले नमस्कारको प्रत्युत्तर फर्काएपछि गुरुलाई थाङ्नामा सुताउँछु भन्ने विद्यार्थी अवाक् भएर जान्थ्यो । अगिपछि वास्ता नगर्ने र परीक्षामा नम्बरका स्वार्थले मात्र नमस्कार गर्ने विद्यार्थीलाई यो उत्तर फर्काउने शैली राम्रो प्रहार थियो र विद्यार्थी नबोली आफ्नो बाटो लाग्थ्यो ।
गुरुहरूलाई थाङ्नामा सुताउने भनेर उत्तरपुस्तिकामा गुरुको कृपा मागेर नोट लेख्ने विद्यार्थीलाई पनि आम्नेसाम्ने भएर कुरा गर्न पाउने हो भने सायद त्यस्तै उत्तर दिन हामी गुरुहरू पनि पछि पर्दैनथ्यौँ होला; तर उत्तरपुस्तिकामा नम्बर थप्ने कृपा माग्ने चलाखहरूलाई हामी चिन्न सक्तैनौँ । चिन्न सके हामी पनि भन्थ्यौं- ’भाइ ! तपाईंहरूको सोचाइ ज्यादै अग्रगामी छ। चलाखीले आफ्नो काम पट्याउने कलामा तपाईहरू ज्यादै कुशल हुनुहुन्छ । राम्ररी पढेर परीक्षामा उचित उत्तर लेखी परीक्षकका सामु नपखनेहरू ज्यादै मूर्ख हुन् । तपाईंहरूको जस्तो चलाखीको कला नजानी पढेर र लेखेर पास हुन्छु भन्ने सोच ती मूर्खहरूले राखेका छन् । त्यस्ता मूर्खहरू पास भए पनि अग्रगमनमा पुग्न सक्तैनन् । पढेर पास हुनेभन्दा ४-५ नम्बरको कृपा मागेर पास हुने तपाईंहरू जस्ता चलाखले नै भोलि यो देश हाँक्ने हो । आज पनि यस्तैले हॉकिरहेका छन् र भोलि पनि यस्तैले हाँकेर नयाँ नेपाल बनाउने हो । मेहेनत गरेर पढ्ने मोराहरू भर्सेला परून्; तर गणेशलाई सबभन्दा पहिले पूजा गर्ने गणेशसंस्कृतिको बोलबाला भएका हाम्रा देशमा तपाईंहरूको सम्मान हुनुपर्छ, तपाईंहरूका चलाखीको प्रशंसा हुनुपर्छ, होइन भने यस देशको उन्नति र प्रगति हुन सक्तैन तथा यो देश नयाँ नेपाल बन्न सक्तैन ।’
गणेशसंस्कृतिको कुरो आउँदा पाठकहरू अलमलमा पर्न सक्नुहुन्छ । ‘गणेशसंस्कृति’ भनेको यस्तै पढेर पास हुन खोज्नेभन्दा उत्तर पुस्तिकामा जाँचकीलाई नोट लेखेर पास हुन खोज्ने संस्कृति हो । अथवा भनौँ कर्ममा विश्वास गर्नेभन्दा चाकडी र चापलुसीमा विश्वास गरेर चलाख बनी आफ्नो काम पट्याउने संस्कृति हो । स्वस्थानीको कथा तपाई हामीले नपढेको कथा होइन । शिव र पार्वतीले दुवै छोरालाई सुमेरु पर्वतको परिक्रमा गर भन्ने आज्ञा गर्छन् तापनि कर्ममा विश्वास गर्ने जेठो कुमार सुमेरुको परिक्रमा गर्न निस्कन्छ र सुमेरु पर्वत घुम्छ; तर चोरेर खाने वृत्तिको वाहन मुसाका अक्किलमा भर पर्ने कान्छो छोरो गणेश कर्ममा विश्वास गर्दैन र चाकडीमा विश्वास गर्छ अनि बाबुआमाका चरणका गएर ‘सुमेरु पर्वत भने पनि तपाईंहरू नै, अन्य कष्टसाध्य काम भने पनि तपाईंहरू नै, त्यसैले तपाईंहरूका शरणमा नआई मलाई सुख छैन, यति स्यानो मुसो वाहन बनाएर म सुमेरु पर्वत घुम्न सक्तिनँ, म तपाईंहरूको शरण खोजी चरणमा पसन्छु’ भन्दै भुँडी पल्टाएर सेधारिन्छ । शिवपार्वतीले उसलाई शरणमा लिन्छन्, ऊ ठूलो द्यौता मानिन्छ । उता कर्ममा विश्वास गरेर बाबुआमाले भनेको कुरो मानी सुमेरु पर्वत घुमेर फर्कने कुमारको कुनै विशेषता थपिदैन । अनि कर्ममा विश्वास गर्ने कुमारसंस्कृति महिमाविहीन हुँदै ओइलाउँदै जान्छ र चाकडीमा विश्वास गर्ने गणेशसंस्कृति महिमाशाली हुँदै मौलाउँदै जान्छ ।
गणेशसंस्कृतिका त्यसै मौलाहटमा आज संसारका धेरै संस्कृति समाहित छन् र नेपाली संस्कृति पनि समाहित छ । अझ भन्ने हो भने गणेशलाई विघ्नहर्ताका रूपमा मानेर सबभन्दा पहिले पूजा गर्ने हामी नेपालीहरू गणेशसंस्कृतिलाई बढी मन पराउँछौ । त्यसैको अभिव्यक्ति हाम्रा कामहरूमा हुन्छ र प्रस्तुत कापीका नोटमा पनि त्यही संस्कृति हावी भएको छ । हाम्रो गणेशसंस्कृतिसँग गतिलो गठबन्धन नभएको भए तपाईं हामीले कापी जाँच्ता नोट पढेर अनेक कुरा सोच्ने यो हैरानी व्यहोर्नु पर्ने थिएन । लेख्ने पास हुन्थ्यो नलेख्ने फेल हुन्थ्यो । सरासर कापी जाँचे पुगिहाल्थ्यो, तर गणेशसंस्कृतिसँगको हाम्रो गतिलो गठवन्धनले सोझो कुरो हुन दिएन ।
अनेक दुस्साहस गरेर पनि पास हुन सकिन्छ भनेर अध्ययन, मनन, चिन्तन, लगनशीलतासँग दुश्मनी गर्ने हरमदाताहरूले हामीलाई सताउने भए र उनीहरूका आतङ्कमा हामी बाँच्न पर्नेभयो । गणेश संस्कृतिले हाम्रो कर्म गर्ने र कर्मका आधारमा फल प्राप्त गर्ने कुमार संस्कृतिलाई पाखा लगाइदियो । यस्ता अवस्थामा ‘कर्मण्येवाधिकारस्तेमा फलेषु कदाचन’ भन्ने गीताका संस्कृतिले झन् कसरी मुन्टो उठाउला ? फलको आशासमेत नदेखाई कर्ममा प्रवृत्त गराउने, गीताको आर्दश गणेशसंस्कृतिका आर्दशका अगाडि गरुडका छायाँमा परेको सर्पजस्तै विषविहीन र गतिविहीन बन्नु स्वाभाविक हो । कर्मले फलको आशा गर्नेभन्दा पनि कमै नगरी फलको आशा गर्ने गणेशसंस्कृति आजको जल्दोबल्दो संस्कृक्ति भएको छ । हाम्रा देशलाई नयाँ नेपाल बनाउने परिवेशमा पनि यसैले ठूलो भूमिका खेल्ला भन्ने मैले ठानेको छु ।
०००
२०६३ कार्तिक २, रामघाट पोखरा
कुरौटेको कुटुरो (२०७०)
Subscribe
Login
0 Comments
Oldest







































