डा. रविलाल अधिकारीशेषराज भट्टराई : कृति र कृतिकारबारे केही कुरा
क्रमिक रूपमा उहाँको समाज र राष्ट्रलाई अध्ययन गर्ने दृष्टि व्यापक बन्दै गएको छ, तर उहाँ अझै व्यापक हुन र शिल्प तथा शैलीमा नवीनता ल्याउन अन्य निबन्धकारहरूको पाठक हुन पनि जरुरी छ ।

कृतिशेष प्रा.डा रविलाल अधिकारी :
पोखरा कविताका लागि ज्यादै उर्वरभूमि मानिएको छ । गजल, मुक्तक, हाइकू, खण्डकाव्य, महाकाव्य जस्ता कविताका सबै प्रकारहरू पोखरेली कविहरूले प्रशस्त मात्रामा पैदा गरेका छन्; तर गद्यमा कलम चलाउने कुरो पोखरेलीहरूलाई वर्तमान अवस्थामा सगरमाथा आरोहण जस्तो छ । दुईचार अपवाद आख्यानमा देखापरे पनि निबन्ध लेखनमा साहस देखाउने पोखरेली पाइँदैन । यस सन्दर्भमा बाहिरवाट आई आज पोखरामा बसोबास गरेका साहित्यकारहरू विशेष उल्लेख्य हुनुहुन्छ । कुलप्रसाद खनाल, रविलाल अधिकारी, घनश्याम ढकाल, चूडामणि खनाल, छवि सुवेदी ‘विजयी’, नारायण परिश्रमी आदिले निबन्धका सँगालाहरू प्रकाशित गरेर पोखरामा निबन्ध लेख्ने साहित्यकारहरू पनि छन् भन्ने प्रमाणित गराउनु भएको छ । त्यसै सन्दर्भमा सम्झना गर्दा पूर्वाञ्चलमा जन्मेर पोखरामा निबन्धकार ठहरिन आएका प्रतिभा शेषराज भट्टराईजी पनि हुनुहुन्छ ।
भट्टराई व्यापारी हुनुहुन्छ । आफ्नो धेरै समय व्यापार वा व्यवसायमा लगाउनुहुन्छ, तर बँचेको समय साहित्य साधनामा लगानी गर्नुहुन्छ । छवि सुवेदी ‘विजयी’ बाहेक माथि उल्लेख गरिएका निबन्धकारहरू विश्वविद्यालय वा विद्यालयका शिक्षक हुनुहुन्छ र पठन पाठनमा परिवेशवाट पनि प्रभावित हुनुभयो, तर छवि सुवेदी र शेषराजजी पठनपाठनभन्दा भिन्न वृत्तिले बाँच्ने भएर पनि साहित्य साधनामा संलग्न हुनुभएको छ । खास गरी शेषराजजीमा देखिएको निबन्ध प्रतिको दृढता निबन्धकारमा हुने धैर्य र अडान एउटा उदाहरण बनेको छ । उहाँ सबैका नजरमा साहित्यकार देखिनु पर्छ भन्ने लोभले गोष्ठी-गोष्ठी चहारेर गजल, मुक्तक, हाइकू वा जोकहरू सुनाउँदै हिँड्नु हुन्न । उहाँको समय मूल्यवान् छ र त्यही मूल्यवान् समयभित्र सिर्जित प्रस्तुत कृति झनै मूल्यवान् छ । सामाजिक वातावरण, राजनैतिक तिगडमबाजी आदि देख्ता चित्त बुझ्दैन र देश र जनताप्रति सद्भाव राखेर मीठो शैलीमा आफ्ना मनमा रहेको तितो पोख्नुहुन्छ । यसका निम्ति उहाँले निबन्धलाई आफ्नो तितो पोख्ने विधा बनाउनु भएको छ ।
२०५९ सालमा २१ ओटा निबन्धको सँगालो ‘ऋषिमुनिका सन्तान सिसीमुनि’ र २०६७ सालमा २२ ओटा निबन्धको सँगालो ‘जातले पकाएको भात’ शीर्षकका दुई निबन्ध सँगाला प्रकाशित गरेर उहाँले नेपाली साहित्यका पाठकलाई आफ्ना निबन्ध लेखन क्षमताको परिचय दिइसक्नु भएको छ । तेस्रो निबन्ध सँगालोका रूपमा ३३ ओटा निबन्धको सँगालो ‘कहिले सासूको पालो, कहिले बुहारीको पालो’ आज पाठकका हातमा आएको छ ।
साहित्यका विधाहरू युगअनुरूप प्रभावशाली र प्रभावहीन हुन्छन् । सामन्ती युगमा कविता प्रभावशाली विधा थियो। पूँजीवादी युगमा यथार्थ जगतकाे चित्रण गर्न समर्थ भएकाले आख्यान प्रभावशाली विधा देखापर्यो । वर्तमान युगमा आफ्नो अवसान देखेको पूँजीवादले मानव विकासका गतिलाई भोगविलास र रहस्यमा र ङ्मग्याउन खोजेकाले काल्पनिक क्रियाकलापमा रमाउने आख्यानलाई कुल्पुर वास्तविक यथार्थ र आलोचनामा रमाउँदै रङ्ग भरेर वा व्यङ्ग्य गरेर पनि शोषण, दमन, अत्याचार, अन्याय, उत्पीडन आदिवाट मुक्ति खोज्ने जागरूक चेतनाको संवाहक निबन्ध विधालाई जागरूक वर्गले मन पराएको छ । त्यसैले विद्वानहरू विज्ञान, पत्रकारिता, विद्युतीय साधन आदिको विकास भएका वर्तमान युगलाई निबन्धको युग मान्दछन् । युगको मागअनुरूप अर्ध सामन्ती र अर्ध औपनिवेशिक शोषण, तिगडमबाजी, भुलभुलाहट आदिको पर्दाफास गर्दै आज निबन्ध लेखिँदै छन् र यसै क्रममा निबन्ध विधालाई आफ्नो साधना क्षेत्र बनाएर शेषराजजी निबन्ध लेख्तै हुनुहुन्छ । उहाँका निबन्धहरूले सामाजिक विकृति विसङ्गतिहरूलाई व्यङ्ग्यका माध्यमले मनको तितो पोख्तै आएका छन् । उहाँका पहिलेका सँगालाहरूका निबन्धले पनि त्यही काम गरेका छन् भने यस सँगालाका निबन्धहरूले पनि त्यो काम गर्ने नै भए । रङ्ग र व्यङ्ग्यमा मात्र सीमित नभएर यथार्थलाई सोझै रूपमा व्यक्त गर्ने कला पनि निबन्धकारले यस सँगालाका निबन्धमा विकास गर्न भएको छ । ‘नचाउने खुकुरी होइन, विचार’, ‘राज्यशैली र नागरिक’, ‘वर्तमान बजारको औसत गतिविधि’ ‘हिँडाइ हाम्रो हातमा छ’, ‘स्वादे स्वास्नी’ जस्ता निबन्ध यस कुराका नमुना हुन् ।
जम्माजम्मी ३३ वटा निबन्ध भट्टराईजीका यस सँगालामा सङ्कलित छन् । तीमध्ये ‘कवयित्री अर्धाङ्गिनी’, ‘गाईजात्रे नमस्कार’, ‘सुत्ने सुविधा’, ‘पापी पेट’, ‘डर’, ‘मेरा पालामा’, ‘एड्स से जंग हम सबसँग’ शीर्षकका निबन्ध छोटा र सामान्य व्यङ्ग्यमा सीमित छन् । निबन्धकार सचेत भएकाले राजनैतिक व्यङ्ग्य कताकति यिनीहरूमै पनि पाइन्छ । अरू निबन्धहरू अलि लामा र तर्क एवम् विश्लेषणलाई खेलाउन सक्ने देखिन्छन् । ‘गोठालो’ निबन्धमा निबन्धकारले आफ्ना गोठाले जीवनका अनुभव बताउँदै गोठालोदेखि राजदूत वा राष्ट्रका प्रतिनिधिसम्म सबै गोठाला हुन् र आफ्नो जिम्मा सबैले पूरा गर्नपर्छ भन्ने धारणा राख्नु भएको छ । त्यस्तै ‘गानु’ निबन्धमा रूवाउने पेटको गानोदेखि देखाउने छातीको गानोसम्मका गानाका रूपहरू चिनाउँदै पेटका गानालाई साम्य पार्ने र पिँडालुका गानालाई कोक्याहट मुक्त बनाउने कला हामीले विकास गर्न पर्छ भन्ने कुराको निबन्धकारले माग गर्नु भएको छ । ‘सहरको सहभोज’ मा सहरका तडकभडक र पर्दा पछाडिका विकृतिलाई व्यङ्ग्य गरिएको छ ।
‘खुला दिसामुक्त क्षेत्र’ भन्ने निबन्धमा खुला रूपमै दिसा बस्न पाइने सबै बार बन्धन हटाएर फुक्का गरिएको भन्ने अर्थ लगाएर सस्तो नारा निकालेर सुधारको अभिनय गर्ने नेतालाई व्यङ्ग्य गरिएको छ । “चाइना भन्ने देशमा शौचालय प्रयोग गर्दा दैलो बन्द गर्ने चलन छैन, कतिपय गुरुआमा, गुरुबाहरू दिसा झार्दै नमस्कार गर्दै गर्छन् अरे भन्ने सुनेको थिएँ” भन्दै ‘विराटनगर- ५ मा बस्ता तराईवासी काला त्वचायुक्त मानवहरू ब्रह्म मुहूर्तको र साँझपखको झिसमिसे उज्यालोको खुब उपयोग गर्दै नहरका डिलमा लहरै बसेर मेल-फिमेलले घोसेमुन्टो लगाउँदै खुला दिसा मुक्त क्षेत्रको घोषणालाई पहिले नै उपयोग गरेको देखेको सन्दर्भ पनि निबन्धकारले जोड्नु भएको छ । हामी नारा लगाउन सिपालु छौ, काम केही गर्दैनौँ । यही कुरालाई निबन्धले व्यङ्ग्य गरेको छ । ‘गोहीका आँसु बगाएर गोजी भर्नेहरू’ अझ मार्मिक निबन्ध देखिन्छ । २०६९ साल वैशाख २३ गते हिमताल फुटेर सेती नदीमा बाढी आयो र कैयौं धनजनको क्षति भयो । त्यही घटनालाई निहुँ बनाएर पीडितलाई उद्धार गर्ने नाममा कतिले आफ्ना गोजी भरे ।
यसै सन्दर्भलाई लिएर निबन्ध लेखिएको छ, तर दैवीप्रकोपबाट फाइदा लिनेहरूका विशेषतालाई परम्परागत धर्म हो भन्दै सचेत रहन हामीलाई सङ्केत पनि निबन्धले गरेको छ । वर्तमान परिवेशमा पैसा बटुल्नका निमित्त महायज्ञ लगाउनु पर्छ, महोत्सव चलाउनु पर्छ र पार्टी चलाउन पर्छ । यी उपायमध्ये पार्टी खोलेर पैसा बटुल्ने धूर्तहरूका शोषणको पर्दाफास ‘जुको पार्टी’ ले गरेको छ । मानौँ यो पनि पैसा उठाउने उद्देश्यले नै खोलिएको हो, त्यसैले आफ्नो पार्टीको महिमा गाएर फुर्याएर मात्र पैसो झरेन भने धम्काएर, डरलाग्दो व्यवहार देखाएर पनि पार्टीले पैसा नझारी छोड्दैन भन्ने यस निबन्धको आशय रहेको छ । ‘चोकमा सबै थोक’ भन्ने निबन्धमा केन्द्रलाई महत्त्व दिने र केन्द्रमा सबैको जीविका चल्ने परम्पराका आशयमा व्यङ्ग्य गरिएको छ । ‘हेल्मेट महात्म्य’ मा हरेक ठाउँमा टाउको फुट्ने खतरा रहेको र सुरक्षा कवचका रूपमा हेल्मेट आवश्यक रहेको स्थितिमा व्यङ्ग्य गरिएको छ । ‘आइमाई, आगो, काल र समुद्र’ शीर्षकको निबन्ध यी सबै उपभोग्य छन्; तर त्यति नै खतरापूर्ण पनि छन्, त्यसैले यिनीहरूको उपभोग सावधानीले गर्नपर्छ भनिएको छ । ‘तात्ले तताउने’ नामक निबन्धमा नारा, जुलुस, चक्काजाम आदि गरेर सडक तताउन सके आफ्नो पार्टीको सामर्थ्य ठान्ने पार्टीहरूका चिन्तनलाई व्यङ्ग्य गरिएको छ । ‘गाँठो’ निबन्ध समस्यै समस्यामा झल्केको मान्छेको स्थिति चिताउन सक्षम छ । धर्मका नाममा सांस्कृक्तिक सुधारको सपना देखाएर महायज्ञ लगाउने धार्मिक ठगहरूले र राजनीतिको सुधारको नाममा पार्टी खोलेर राजनैतिक ठगहरूले जनताको शोषण गरेको मर्म ‘नमिल्ने नेता’ मा देखाइएको छ ।
‘खटाएको मानु कति खानु’ नामको निबन्धमा जागिर खानेका विवशतालाई बताइएको छ र तनखा भन्ने जागिरको पैसाको नाम हो भन्ने अर्थमा व्यङ्ग्य गरिएको छ । सामान्य अर्थमा तनखाले घुस खाने कर्मचारी बाहेक अन्यलाई सन्तुष्टि दिन सक्तैन भन्दै घुस खाएर बाँच्नु पर्ने समाज बदलेर नयाँ समाज बनाऊँ भन्ने निबन्धको निष्कर्ष छ । ‘सुरा र सुन्दरीको कुरा’ निबन्धमा सुराहरूलाई सुन्दरीले पत्याउने र नेताहरू त्यतै भुल्ने हुँदा सुन्दरीलाई बाहिर पठाएर सांसदलाई देशको विकासतिर सोच्न बाध्य पार्ने व्यङ्ग्य गरिएको छ । निबन्ध सँगालाको शीर्षक नै बनेको ‘कहिले सासूको पालो, कहिले बुहारीको पालो’ शीर्षकका निबन्धमा पञ्चायतमा पञ्चले दहन मारे जस्तै आज पार्टीका नेताहरूले दहन मारेका यथार्थलाई अङ्कित गर्दै उच्चकोटिको राजनीति गर्न होस् या घर चलाउन फराकिलो सोचाइ हुनु पर्ने माग गरिएको छ । धार्मिक क्षेत्रमा महायज्ञका माध्यमले व्यापारिक क्षेत्रमा महोत्सवका माध्यमले र राजनैतिक क्षेत्रमा पार्टी सन्चालनका माध्यमले सोझा जनतालाई ठग्ने बाटो बनाए जस्तै सहकारी सञ्चालनका माध्यमले आर्थिक क्षेत्रमा पनि सोझा जनतालाई ठग्ने बाटो धूर्तहरूले बनाएका छन् र सहकारीका सञ्चालकहरू भागेर सोझा जनतालाई ठगेका छन् । यस कुरालाई ‘भाग्नेलाई छुट’ निवन्धमा व्यक्त गरिएको छ ।
देखेको कुरो बोल्न नपाइने र बोलेको कुरो लेख्न नपाइने समाजमा व्यङ्ग्यकार हुनु एउटा अभिशाप हो । यसै अभिशापका वेदनालाई प्रभावशाली बनाएर चिनाउने काम ‘व्यङ्ग्यकारका व्यथाहरू’ मा गरिएको छ । यो भट्टराईजीको राम्रो निबन्ध हो। ’कल्पना’ निवन्धमा कल्पनालाई संविधानबाट स्वतन्त्र मनको विचरण भनेर विभिन्न उदाहरणमा यसको गतिविधि चित्रण गरिएको छ । कल्पना नै गर्न नसक्ने लठ्ठक हुनुभन्दा लहडी भएर पनि अनौठा अनौठा कल्पना गर्ने हुनु राम्रो भन्ने निबन्धकार देवकोटाको राय निवन्धकार भट्टराईमा पनि पाइन्छ । कल्पना गर्न नसक्ने मान्छे जिउँदो मुर्दा हो भन्ने आशयमा ‘जिउँदो मुर्दाबाट कल्पनाको जन्म हुन हम्मे हम्मे पर्छ’ भन्दै कल्पनालाई सिर्जनशीलताकी जननी भन्ने भाव उहाँले देखाउनु भएको छ । ‘स्वतन्त्रताको सेरोफेरो सबै तेरो मेरो’ भन्ने निबन्धमा नेपालका केही घटनाको आलोचना गर्दै सवै शक्तिशाली पार्टीले स्वतन्त्रताको अर्थ आफ्नो ब्रह्मलुटमा मात्र लगाउने गरेका कुरामा व्यङ्ग्य गरिएको छ । ‘तपाईं शुद्ध या गैर ?’ विभिन्न क्षेत्रका वास्तविक र अवास्तविक मान्छेको भेद देखाउने निबन्ध हो । कुनै पनि क्षेत्रमा शुद्ध मान्छे कम छन् र गैर मान्छे धेरै छन् भन्ने कुरा यसका व्यङ्ग्यले लक्षित गरेको छ । ‘अठोट’ निबन्ध कुनै पनि मान्छेले गतिशील भएर मात्र आफ्नो सपना साकार पार्ने अठोट बोकिरहेको हुन्छ भन्ने भावमा लक्षित छ । ‘सुत्ने सुविधा’ निबन्धमा काम गर्न नदिने बिजुली ऊर्जा सङ्कटका पुर्जालाई लक्षित गरिएको छ । ऊर्जा सङ्कटले देशलाई बर्बाद बनाएकोमा लेखक चिन्तित देखिनुहुन्छ ।
यस किमिसले माथि उल्लेख गरिएका ३३ ओटा निबन्धमा निबन्धकार भट्टराईले हाम्रो समाजका विभिन्न क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिमा व्यङग्य र आलोचना गर्ने काम गरेको देखिन्छ । विभिन्न उखान टुक्काहरूको प्रयोग र सरल भाषाको उपयोग गर्दै व्यङ्ग्यका माध्यमले हाम्रा कथा र व्यथालाई व्यक्त गर्ने कुरामा निबन्धकार निपूणर् देखिनुहुन्छ । उहाँको अभिव्यक्ति शैली शिष्ट किसिमको छ र भाषिक रूप ठेट नेपाली किसिमको छ । आफूले देखेसुनेका र भोगेका अनुभवलाई उहाँले आफ्ना निबन्धमा खुलेर राख्नु भएको छ । वरिष्ठ साहित्यकारहरूका भनाइ र लोकोक्तिहरूलाई आफ्ना अभिव्यक्तिमा घुसाएर निबन्धलाई पठनीय बनाउने काम पनि निबन्धकारले गरेको देखिन्छ । सन्दर्भार्थलाई खुलाउने परिवेशमा शाब्दिक व्युत्पत्ति, अर्थ र परिभाषा पनि उहाँले गरेको पाइन्छ । ‘खुला दिसा मुक्त क्षेत्र’ को अभिव्यक्ति यस कुराको उदाहरण हुन सक्छ । आशयमा भनाइ बुझिए पनि हाम्रा कतिपय शब्द, शब्दावलीले ठोस अर्थ दिदैनन्, त्यसैले निबन्धकारले शब्दार्थ गरेर खुला दिसा मुक्त क्षेत्र भनेको खुला ठाउँमा दिसा मोचन गर्न पाइने भन्ने लगाउनु भएको छ । व्यङ्ग्यकारको यो कला हो । उहाँको यो कला अन्य निबन्धमा पनि प्रयोग भएको छ र पाठकलाई हँसाई हँसाई पढाउने क्षमता आर्जन गर्नु भएको छ ।
अन्त्यमा म के भन्छु भने शेषराज भट्टराईजी व्यापार व्यवसायमा संलग्न व्यक्ति भएर पनि साहित्य साधनाका लागि समय निकालेर कलम चलाउने सचेत स्रष्टा हुनुहुन्छ । सस्तो प्रचारवाजीको प्यास राखेर कवि गोष्ठीहरूमा कविता सुनाउँदै हिँड्ने लोभमा उहाँ लाग्नु भएको छैन । जागरणका युगको विधा निबन्धलाई अवलम्बन गरेर उहाँले आफ्नो सचेतता व्यङ्ग्यका माध्यमले व्यक्त गर्ने भएको छ । क्रमिक रूपमा उहाँको समाज र राष्ट्रलाई अध्ययन गर्ने दृष्टि व्यापक बन्दै गएको छ, तर उहाँ अझै व्यापक हुन र शिल्प तथा शैलीमा नवीनता ल्याउन अन्य निबन्धकारहरूको पाठक हुन पनि जरुरी छ । अध्ययन, अभ्यास र चिन्तन-मननले उहाँका दृष्टिलाई अझ फराकिलो बनाइ दिन्छन् । देशभक्ति, प्रजातन्त्र र जन पक्षधरताले दृष्टिलाई अझ व्यापक वनाइ दिने हुँदा हामीमा यी कुराहरूको संलग्नता पनि आवश्यक छ । कसैको आशा नगरी निजी श्रम र सिपले जीवन यापन गर्ने भट्टराईजीमा पनि सत्य र इमानदारीमा जनपक्षधर भई कलम चलाउने आँटको पनि विकास हुँदै जाओस् भन्ने कामना सहित उहाँको कलम अझ द्रुत गतिमा दौडियोस् र अन्य रचना पनि देखापर्दै जाउन् भन्दै मेरो भनाइ यही टुङ्ग्याउँछु ।
०००
२०६९/०९/२५
रामघाट, पोखरा
कहिले सासूकाे पालाे कहिले बुहारीकाे पालाे सङ्ग्रहमा अधिकारीकाे भूमिका
Subscribe
Login
0 Comments
Oldest




































