साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रान्तिकारी पार्टीको मागपत्र पढ्दा

यही ०७९ फागुन १६ गते कीर्तिशेष हुनुभएका गण्डकीका व्यङ्ग्य निबन्धकार एवम् समालोचक प्रा.डा. रविलाल अधिकारीप्रति फित्कौली डटकम सादर शब्दश्रद्धा व्यक्त गर्दछ र उहाँको  २०५४ सालमा  ‘उत्साह’ पूर्णाङ्क  २२, मा  प्रकाशित एउटा व्यङ्ग्य निबन्ध प्रस्तुत गर्दछ ।

Nepal Telecom ad

यही ०७९ फागुन १६ गते कीर्तिशेष हुनुभएका गण्डकीका व्यङ्ग्य निबन्धकार एवम् समालोचक प्रा.डा. रविलाल अधिकारीप्रति फित्कौली डटकम सादर शब्दश्रद्धा व्यक्त गर्दछ र उहाँको  २०५४ सालमा  ‘उत्साह’ पूर्णाङ्क  २२, मा  प्रकाशित एउटा व्यङ्ग्य निबन्ध प्रस्तुत गर्दछ ।

म हतारमा बाटामा हिँडिरहेको छु, मलाई छिटै अलिपर पुग्नु परेको छ र पुग्नको हतार छ । यस्तै परिस्थितिमा आफूलाई बोलाएको आवाज सुन्छु र दायाँ वायाँतिर हेर्छु । वायाँतिर एउटा पसलमा साहुजासँग कुरो गरेर बसिरहेका र मलाई हेरिरहेका एकजना कमरेड नेता देखिनु हुन्छ । म त्यता लाग्छु र उहाँका तेर्सिएका हातसँग हात मिलाउँछु । मसँग हात मिलाई सकेपछि आफ्नो पार्टीको मागपत्र पढे नपढेका विषयमा नेताजी सोध्नु हुन्छ र म सो मागपत्र नपढेको कुरा जानकारी गराउँछु । आफ्ना पार्टीको मागपत्रको नमूना निकालेर दिँदै नेताजी पढ्न आग्रह गर्नु हुन्छ । आफूलाई हतार र माग पत्र निकै लामो जस्तो लागेर घरमै लगेर पढ्ने कवोल गर्दै नेताजीलाई धन्यवाद दिएर म आफ्नो बाटोतिर अघि बढ्छु । नेताजी साहूजीसँगै क्रान्तिकारी कुरा गर्दै हुनुहुन्छ ।

बेलुका घरमा आएपछि फुर्सत निकालेर म साथी चेतमानसँगै बसेर कमरेड नेताजीले दिएको मागपत्रको नमूना पढ्छु । मागपत्र उहाँका पार्टीले सरकारलाई प्रस्तुत गरेको रहेछ । राम्रोसँग पढ्छु । देश र जनताका निम्ति माग्न सकिनेसम्मका मागहरू त्यस मागपत्रमा समावेश भएका रहेछन् । यी मागहरू लेख्नका निम्ति कति व्यापकतामा सोचिएको होला ? यति धेरै कुराहरू सोच्न सक्ने व्यापकताको दृष्टि देख्ता कमरेडको पार्टी निकै ठूलो प्रभावशाली र नेता एवं कार्यकर्ताहरूमा त्याग, तपस्या, बलिदान, इमान्दारी, विनम्रता जस्ता गुण भएको पार्टी हो भन्ने शंका गर्न नहुने पार्टी हो भन्ने मलाई लाग्छ । यसैले मागपत्रका आधारमा म सोच्छु- “राष्ट्र र राष्ट्रियताप्रति चिन्तित, सबै देशवासीहरूको हितकारी र मार्क्सवादको गरिमालाई जोगाउने पार्टी यही हो ।” यसै मागपत्रमा उल्लेख भएका कुराहरूबाट विश्वस्त बनेर म भन्न थाल्छु- “यही एउटा पार्टीमात्र सही पार्टी हो, माक्र्सवादको गरिमा उठाउन, राष्ट्रियता जोगाउन र जनताको भलो गर्न यही पार्टीमात्र सक्षम छ ।” मेरा यस किसिमका भनाइको विरोध गर्दै मसँग रहेको साथी चेतमान मलाई सुनाउँछ- कुरामात्र क्रान्तिकारी गरेर कुनै पार्टी क्रान्तिकारी हुन सक्तैन । आजका यस परिस्थितिमा क्रान्तिकारी कुरा नगर्ने कुनै पार्टी पनि छैन । के तैले अरू कुनै पार्टीका अरू मागपत्र वा घोषणापत्रहरू पढेको छैनस् ?” साथीको कुरो सुनेर आफ्नो अज्ञानता लुकाउन खोज्दै मलाई फेरि भन्न मन लाग्छ- “मैले अरू पार्टीका मागपत्र र घोषणापत्रहरू पनि नपढेको त होइन, तर यति धेरै व्यापकतामा सोचेर यति धेरै मागहरू राख्न सक्ने क्रान्तिकारी पार्टी अरू छैनन् होला । हुन सक्छ मैले सबै पार्टीका मागपत्र र घोषणपत्रहरू पूरा रूपमा नपढेर पनि होला मैले त यति धेरै मागहरू राख्न सक्ने सोचाइ भएको अर्को पार्टी देखिन, त्यसैले सबभन्दा बढी क्रान्तिकारी पार्टी त यही हो कि ?” उसले आफ्नो भनाइ अघिसार्‍यो- “लेखाइमा मात्र जनताको भलो गर्ने कुरा गरेर हुँदैन ।”

मेरा तर्कले सन्तुष्ट भएर बस्न सक्ने तर्कहीन मेरो साथी चेतमान पनि थिएन, त्यसैले व्यावहारिकतामा यस पार्टीले र यस पार्टी भित्रका कुनै व्यक्तिले समेत देश र जनताको भलो हुने कुरो र काम गरेको देखेको छ ?” मेरी साथी मलाई हप्काएर के गर्दै प्रश्न गर्छ ? त्यस पार्टीले कुनै व्यक्तिले समेत देश र जनताको भलो हुने काम गरेको कुरो आफूलाई जानकारी नभएको विवशता म व्यक्त गर्छु । मैले आफ्नो अनजान स्थिति बताएपछि ऊ अर्को कुरा भन्छ- “तँलाई थाहा छैन होला, ०४६ सालको जनआन्दोलनमा प्रतिकार समितिमा बसेर जनआन्दोलन दबाउनेहरूले जनआन्दोलन दबाउनका निम्ति दिएको पैसा हात थाप्ने नेता यस पार्टीका महत्वपूर्ण नेतृत्वमा छन् भनिन्छ । हिजो पंचायत व्यवस्था छँदा भित्रभित्र पंचको चाकडी गर्ने र बाहिर बाहिर पंचायतको विरोध गर्ने त्यसै पार्टीका नेताहरूको सनातनता थियो, त्यो प्रवृत्ति आज पनि उनीहरूमा विद्यमान छँदैछ, यद्यपि एकादुई राम्रा मान्छे त्यस पार्टीभित्र पनि होलान्, तर तिनीहरूका सापेक्षतामा देश र जनताको भलाइ भन्दा आफ्नो नेतृत्वको भोक, काठमाडौँमा बसेर जीवन यापन गर्ने लोभ भएका मान्छेहरूकै पार्टीमा बोलबाला छ । यसै भएकाले कुनै पनि पार्टीले कुरो क्रान्तिकारी उठायो भन्दैमा त्यसलाई क्रान्तिकारी पार्टी भनिहाल्न हुँदैन, कान्तिकारिता व्यावहारिकताबाट जानिन्छ । यस पार्टीको पनि अरु पार्टीभन्दा भिन्न र त्याग, तपस्या र बलिदानपूणर् व्यवहार देख्न पाइएको छैन । बरू बुझ्दै जाने हो भने बेइमानी, चारित्रिक प्रष्टता, अहंकार, फुट, गाली गलौज आदि अवगुणहरू त्यस पार्टीका सम्पत्ति भएको देखिन्छ ।”

आफ्नो भाषणद्वारा मेरो साथी चेतमान मलाई मूर्ख सावित गराउन खोज्छ । म मेरा तर्क अघि सारेर उसलाई मूर्ख सावित गराउन खोज्छु । यस्तै परिवेशमा मेरा मुखबाट यति व्यापकतामा सोच्न सक्ने पार्टीलाई सामान्य पार्टी भन्न मिल्छ त ?” भन्ने वाक्य फुत्कन्छ । मेरो वाक्य सुनेर चेतमान भन्छ- “काठमाडौंमा बस्ने उद्देश्यले र नेता हुने रहरले पार्टी खोलेका छन् भने त्यस पार्टीका नेतालाई तैले अन्जान सम्झनु हुँदैन । के कुरा लेख्ता क्रान्तिकारी र जनप्रिय नेता हुन सकिन्छ त्यो कुरा सोचेर, पढेर र त्यतिले नपुगे सोधखोज समेत गरेर लेख्न उनीहरू पछि पर्दैनन् आज । हिजो पंचायत कालमा चाहिँ लेख्नु पनि अपराध थियो, त्यसैले उनीहरूले केही लेखेनन्, तर आज जसले जे बोले पनि जे लेखे पनि छुट छ । त्यसैले उनीहरू कलमले क्रान्तिकारी हुन खोजिरहेका छन् । यसै माग पत्रको कुरो गरौँ भने एकै पटकमा यतिका धेरै र यस्ता यस्ता मागहरू राख्ने पार्टी सायद संसारमा पहिलो पार्टी यही हो भने हुन्छ । यतिका धेरै माग एकै पटकमा अघि सार्नु आफै हल्का हुनु हो ।

देश र जनताका निम्ति सोच्न सक्ने वा सोच्न खोज्ने कुनै पनि पार्टीले यसरी हल्का किसिमले मागहरू राख्तैैन । आफै सरकारमा भए पनि पूरा गर्न नसकिने कुराहरू समावेश गरेर मागपत्र अघि सार्नु आफ्नो पार्टी जनता र देशप्रति उत्तरदायित्व लिन सक्ने छ भन्ने देखाउनु नभएर उनीहरूप्रति उत्तरदायित्व लिन नसक्ने र हल्काफुल्का रूपमा सोच्ने छ भन्ने देखाउनु हो । तेरो क्रान्तिकारी पार्टीले यस मागपत्रद्वारा आफ्नो हल्कापन देखाइरहेछ । यस मागपत्रका आधारमा मात्र यस पार्टीलाई क्रान्तिकारी देख्छ्स् भने तेरा मगजमा पनि गोबरमात्र भरिएको तथ्य अवगत हुन्छ ।”

मैले गरेका तर्कहरूलाई फिस्स पार्दै मेरा साथी चेतमानले मलाई जितिराख्छ । अरु कुरामा मेसो नपाए पनि म आफू साहित्यको पाठक भएकाले यस पार्टीका साहित्यकारहरू राम्रा छन् भनेर चेतमानलाई यो पार्टी राम्रो छ भन्ने बनाउँछु ठान्दै म भन्छु “यस पार्टीका साहित्यकारहरू राम्रा छन् । मार्क्सवादको खरो वकालत गरेर कविता, कथा, समालोचना आदि लेख्छन्, उनीहरूको साहित्य क्रान्तिकारी हुन्छ । यस आधारमा पनि मैले यस पार्टीलाई क्रान्तिकारी पार्टीभन्ने ठानेको छु ।” मेरा भनाइको तुरून्त खण्डन गर्दै मेरो साथी चेतमान फेरि भन्छ- त्यस पार्टीका साहित्यकारहरूबारे पनि म जान्दछु । मार्क्सवाद मार्क्सवाद फलाकेर मात्र मार्क्सवाद आउने होइन र । विदेशका घर्तीको वकालत गरेर मात्र देशभित्र क्रान्ति हुने होइन । यी सामान्य रूपमा समर्थन गरिने नीतिका कुराहरू मात्र हुन् । व्यावहारिकतामा साहित्यमा आफ्ना देशको माटो बोल्नु पर्छ, जनताका मुटुमा छोएर साहित्यिक भाव बहनु पर्छ, तर त्यस पार्टीका साहित्यकारहरू कलाहीन नाराहरू ओकली क्रान्तिकारी साहित्यको गर्व गर्छन् । नेपाली साहित्यको स्थिति कस्तो छ, त्यसका रचनाकारहरू कस्ता-कस्ता छन्, वास्तवमा साहित्य भनेको के हो, नारा र साहित्यमा के भिन्नता छ भन्ने जस्ता कुरा बुझ्ने र नेपाली साहित्यलाई आत्मसात गर्ने क्षमता त्यस पार्टीका साहित्यकारहरूमा छैन । कुवाका भ्यागुता भएर समूहगत सङकीणर्तामा उनीहरू रमाइरहेका छन् । त्यस्तालाई तँ कसरी राम्रा साहित्यकार भन्छस् ?”

अरूतिरबाट नसकेर साहित्यका माध्यमले साथीलाई चेताउन सक्छु र पार्टी राम्रो रहेछ भन्ने पार्नसक्छु ठानेर ल्याएका तर्कहरू पनि विफल भए । मेरो सोचाइभन्दा मेरा चेतमानको सोचाइ गहिरो रहेछ । यस पार्टीका साहित्यकारहरूको पनि उसले राम्रो जानकारी राखेको रहेछ । म दङ्ग पर्छु । मलाई उसले सबैतिर जित्दा एक मन त दुःख पनि लाग्यो, तर पनि उसले क्रान्तिकारी मागपत्र मात्र देखेका भरमा क्रान्तिकारी पार्टी ठान्ने मलाई चेताएर वास्तविकता देखाइदिंदा मैले खुशी पनि मान्नै पर्‍यो, म खुशी भएँ । क्रान्तिकारी जस्तो मानिने मागपत्रका आधारबाट पार्टीलाई क्रान्तिकारी मान्न नहुने रहस्य खुलेपछि कमरेड नेताले दिएको मागपत्र च्यातेर फालि दिएँ ।

०००
‘उत्साह’ पूर्णाङ्क  २२, (०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गणेश संस्कृति

गणेश संस्कृति

डा. रविलाल अधिकारी
शेषराज भट्टराई : कृति र कृतिकारबारे केही कुरा

शेषराज भट्टराई : कृति...

डा. रविलाल अधिकारी
विमोचन-संस्कृति

विमोचन-संस्कृति

डा. रविलाल अधिकारी
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x