डा. रविलाल अधिकारीक्रान्तिकारी पार्टीको मागपत्र पढ्दा
यही ०७९ फागुन १६ गते कीर्तिशेष हुनुभएका गण्डकीका व्यङ्ग्य निबन्धकार एवम् समालोचक प्रा.डा. रविलाल अधिकारीप्रति फित्कौली डटकम सादर शब्दश्रद्धा व्यक्त गर्दछ र उहाँको २०५४ सालमा ‘उत्साह’ पूर्णाङ्क २२, मा प्रकाशित एउटा व्यङ्ग्य निबन्ध प्रस्तुत गर्दछ ।

यही ०७९ फागुन १६ गते कीर्तिशेष हुनुभएका गण्डकीका व्यङ्ग्य निबन्धकार एवम् समालोचक प्रा.डा. रविलाल अधिकारीप्रति फित्कौली डटकम सादर शब्दश्रद्धा व्यक्त गर्दछ र उहाँको २०५४ सालमा ‘उत्साह’ पूर्णाङ्क २२, मा प्रकाशित एउटा व्यङ्ग्य निबन्ध प्रस्तुत गर्दछ ।
म हतारमा बाटामा हिँडिरहेको छु, मलाई छिटै अलिपर पुग्नु परेको छ र पुग्नको हतार छ । यस्तै परिस्थितिमा आफूलाई बोलाएको आवाज सुन्छु र दायाँ वायाँतिर हेर्छु । वायाँतिर एउटा पसलमा साहुजासँग कुरो गरेर बसिरहेका र मलाई हेरिरहेका एकजना कमरेड नेता देखिनु हुन्छ । म त्यता लाग्छु र उहाँका तेर्सिएका हातसँग हात मिलाउँछु । मसँग हात मिलाई सकेपछि आफ्नो पार्टीको मागपत्र पढे नपढेका विषयमा नेताजी सोध्नु हुन्छ र म सो मागपत्र नपढेको कुरा जानकारी गराउँछु । आफ्ना पार्टीको मागपत्रको नमूना निकालेर दिँदै नेताजी पढ्न आग्रह गर्नु हुन्छ । आफूलाई हतार र माग पत्र निकै लामो जस्तो लागेर घरमै लगेर पढ्ने कवोल गर्दै नेताजीलाई धन्यवाद दिएर म आफ्नो बाटोतिर अघि बढ्छु । नेताजी साहूजीसँगै क्रान्तिकारी कुरा गर्दै हुनुहुन्छ ।
बेलुका घरमा आएपछि फुर्सत निकालेर म साथी चेतमानसँगै बसेर कमरेड नेताजीले दिएको मागपत्रको नमूना पढ्छु । मागपत्र उहाँका पार्टीले सरकारलाई प्रस्तुत गरेको रहेछ । राम्रोसँग पढ्छु । देश र जनताका निम्ति माग्न सकिनेसम्मका मागहरू त्यस मागपत्रमा समावेश भएका रहेछन् । यी मागहरू लेख्नका निम्ति कति व्यापकतामा सोचिएको होला ? यति धेरै कुराहरू सोच्न सक्ने व्यापकताको दृष्टि देख्ता कमरेडको पार्टी निकै ठूलो प्रभावशाली र नेता एवं कार्यकर्ताहरूमा त्याग, तपस्या, बलिदान, इमान्दारी, विनम्रता जस्ता गुण भएको पार्टी हो भन्ने शंका गर्न नहुने पार्टी हो भन्ने मलाई लाग्छ । यसैले मागपत्रका आधारमा म सोच्छु- “राष्ट्र र राष्ट्रियताप्रति चिन्तित, सबै देशवासीहरूको हितकारी र मार्क्सवादको गरिमालाई जोगाउने पार्टी यही हो ।” यसै मागपत्रमा उल्लेख भएका कुराहरूबाट विश्वस्त बनेर म भन्न थाल्छु- “यही एउटा पार्टीमात्र सही पार्टी हो, माक्र्सवादको गरिमा उठाउन, राष्ट्रियता जोगाउन र जनताको भलो गर्न यही पार्टीमात्र सक्षम छ ।” मेरा यस किसिमका भनाइको विरोध गर्दै मसँग रहेको साथी चेतमान मलाई सुनाउँछ- कुरामात्र क्रान्तिकारी गरेर कुनै पार्टी क्रान्तिकारी हुन सक्तैन । आजका यस परिस्थितिमा क्रान्तिकारी कुरा नगर्ने कुनै पार्टी पनि छैन । के तैले अरू कुनै पार्टीका अरू मागपत्र वा घोषणापत्रहरू पढेको छैनस् ?” साथीको कुरो सुनेर आफ्नो अज्ञानता लुकाउन खोज्दै मलाई फेरि भन्न मन लाग्छ- “मैले अरू पार्टीका मागपत्र र घोषणापत्रहरू पनि नपढेको त होइन, तर यति धेरै व्यापकतामा सोचेर यति धेरै मागहरू राख्न सक्ने क्रान्तिकारी पार्टी अरू छैनन् होला । हुन सक्छ मैले सबै पार्टीका मागपत्र र घोषणपत्रहरू पूरा रूपमा नपढेर पनि होला मैले त यति धेरै मागहरू राख्न सक्ने सोचाइ भएको अर्को पार्टी देखिन, त्यसैले सबभन्दा बढी क्रान्तिकारी पार्टी त यही हो कि ?” उसले आफ्नो भनाइ अघिसार्यो- “लेखाइमा मात्र जनताको भलो गर्ने कुरा गरेर हुँदैन ।”
मेरा तर्कले सन्तुष्ट भएर बस्न सक्ने तर्कहीन मेरो साथी चेतमान पनि थिएन, त्यसैले व्यावहारिकतामा यस पार्टीले र यस पार्टी भित्रका कुनै व्यक्तिले समेत देश र जनताको भलो हुने कुरो र काम गरेको देखेको छ ?” मेरी साथी मलाई हप्काएर के गर्दै प्रश्न गर्छ ? त्यस पार्टीले कुनै व्यक्तिले समेत देश र जनताको भलो हुने काम गरेको कुरो आफूलाई जानकारी नभएको विवशता म व्यक्त गर्छु । मैले आफ्नो अनजान स्थिति बताएपछि ऊ अर्को कुरा भन्छ- “तँलाई थाहा छैन होला, ०४६ सालको जनआन्दोलनमा प्रतिकार समितिमा बसेर जनआन्दोलन दबाउनेहरूले जनआन्दोलन दबाउनका निम्ति दिएको पैसा हात थाप्ने नेता यस पार्टीका महत्वपूर्ण नेतृत्वमा छन् भनिन्छ । हिजो पंचायत व्यवस्था छँदा भित्रभित्र पंचको चाकडी गर्ने र बाहिर बाहिर पंचायतको विरोध गर्ने त्यसै पार्टीका नेताहरूको सनातनता थियो, त्यो प्रवृत्ति आज पनि उनीहरूमा विद्यमान छँदैछ, यद्यपि एकादुई राम्रा मान्छे त्यस पार्टीभित्र पनि होलान्, तर तिनीहरूका सापेक्षतामा देश र जनताको भलाइ भन्दा आफ्नो नेतृत्वको भोक, काठमाडौँमा बसेर जीवन यापन गर्ने लोभ भएका मान्छेहरूकै पार्टीमा बोलबाला छ । यसै भएकाले कुनै पनि पार्टीले कुरो क्रान्तिकारी उठायो भन्दैमा त्यसलाई क्रान्तिकारी पार्टी भनिहाल्न हुँदैन, कान्तिकारिता व्यावहारिकताबाट जानिन्छ । यस पार्टीको पनि अरु पार्टीभन्दा भिन्न र त्याग, तपस्या र बलिदानपूणर् व्यवहार देख्न पाइएको छैन । बरू बुझ्दै जाने हो भने बेइमानी, चारित्रिक प्रष्टता, अहंकार, फुट, गाली गलौज आदि अवगुणहरू त्यस पार्टीका सम्पत्ति भएको देखिन्छ ।”
आफ्नो भाषणद्वारा मेरो साथी चेतमान मलाई मूर्ख सावित गराउन खोज्छ । म मेरा तर्क अघि सारेर उसलाई मूर्ख सावित गराउन खोज्छु । यस्तै परिवेशमा मेरा मुखबाट यति व्यापकतामा सोच्न सक्ने पार्टीलाई सामान्य पार्टी भन्न मिल्छ त ?” भन्ने वाक्य फुत्कन्छ । मेरो वाक्य सुनेर चेतमान भन्छ- “काठमाडौंमा बस्ने उद्देश्यले र नेता हुने रहरले पार्टी खोलेका छन् भने त्यस पार्टीका नेतालाई तैले अन्जान सम्झनु हुँदैन । के कुरा लेख्ता क्रान्तिकारी र जनप्रिय नेता हुन सकिन्छ त्यो कुरा सोचेर, पढेर र त्यतिले नपुगे सोधखोज समेत गरेर लेख्न उनीहरू पछि पर्दैनन् आज । हिजो पंचायत कालमा चाहिँ लेख्नु पनि अपराध थियो, त्यसैले उनीहरूले केही लेखेनन्, तर आज जसले जे बोले पनि जे लेखे पनि छुट छ । त्यसैले उनीहरू कलमले क्रान्तिकारी हुन खोजिरहेका छन् । यसै माग पत्रको कुरो गरौँ भने एकै पटकमा यतिका धेरै र यस्ता यस्ता मागहरू राख्ने पार्टी सायद संसारमा पहिलो पार्टी यही हो भने हुन्छ । यतिका धेरै माग एकै पटकमा अघि सार्नु आफै हल्का हुनु हो ।
देश र जनताका निम्ति सोच्न सक्ने वा सोच्न खोज्ने कुनै पनि पार्टीले यसरी हल्का किसिमले मागहरू राख्तैैन । आफै सरकारमा भए पनि पूरा गर्न नसकिने कुराहरू समावेश गरेर मागपत्र अघि सार्नु आफ्नो पार्टी जनता र देशप्रति उत्तरदायित्व लिन सक्ने छ भन्ने देखाउनु नभएर उनीहरूप्रति उत्तरदायित्व लिन नसक्ने र हल्काफुल्का रूपमा सोच्ने छ भन्ने देखाउनु हो । तेरो क्रान्तिकारी पार्टीले यस मागपत्रद्वारा आफ्नो हल्कापन देखाइरहेछ । यस मागपत्रका आधारमा मात्र यस पार्टीलाई क्रान्तिकारी देख्छ्स् भने तेरा मगजमा पनि गोबरमात्र भरिएको तथ्य अवगत हुन्छ ।”
मैले गरेका तर्कहरूलाई फिस्स पार्दै मेरा साथी चेतमानले मलाई जितिराख्छ । अरु कुरामा मेसो नपाए पनि म आफू साहित्यको पाठक भएकाले यस पार्टीका साहित्यकारहरू राम्रा छन् भनेर चेतमानलाई यो पार्टी राम्रो छ भन्ने बनाउँछु ठान्दै म भन्छु “यस पार्टीका साहित्यकारहरू राम्रा छन् । मार्क्सवादको खरो वकालत गरेर कविता, कथा, समालोचना आदि लेख्छन्, उनीहरूको साहित्य क्रान्तिकारी हुन्छ । यस आधारमा पनि मैले यस पार्टीलाई क्रान्तिकारी पार्टीभन्ने ठानेको छु ।” मेरा भनाइको तुरून्त खण्डन गर्दै मेरो साथी चेतमान फेरि भन्छ- त्यस पार्टीका साहित्यकारहरूबारे पनि म जान्दछु । मार्क्सवाद मार्क्सवाद फलाकेर मात्र मार्क्सवाद आउने होइन र । विदेशका घर्तीको वकालत गरेर मात्र देशभित्र क्रान्ति हुने होइन । यी सामान्य रूपमा समर्थन गरिने नीतिका कुराहरू मात्र हुन् । व्यावहारिकतामा साहित्यमा आफ्ना देशको माटो बोल्नु पर्छ, जनताका मुटुमा छोएर साहित्यिक भाव बहनु पर्छ, तर त्यस पार्टीका साहित्यकारहरू कलाहीन नाराहरू ओकली क्रान्तिकारी साहित्यको गर्व गर्छन् । नेपाली साहित्यको स्थिति कस्तो छ, त्यसका रचनाकारहरू कस्ता-कस्ता छन्, वास्तवमा साहित्य भनेको के हो, नारा र साहित्यमा के भिन्नता छ भन्ने जस्ता कुरा बुझ्ने र नेपाली साहित्यलाई आत्मसात गर्ने क्षमता त्यस पार्टीका साहित्यकारहरूमा छैन । कुवाका भ्यागुता भएर समूहगत सङकीणर्तामा उनीहरू रमाइरहेका छन् । त्यस्तालाई तँ कसरी राम्रा साहित्यकार भन्छस् ?”
अरूतिरबाट नसकेर साहित्यका माध्यमले साथीलाई चेताउन सक्छु र पार्टी राम्रो रहेछ भन्ने पार्नसक्छु ठानेर ल्याएका तर्कहरू पनि विफल भए । मेरो सोचाइभन्दा मेरा चेतमानको सोचाइ गहिरो रहेछ । यस पार्टीका साहित्यकारहरूको पनि उसले राम्रो जानकारी राखेको रहेछ । म दङ्ग पर्छु । मलाई उसले सबैतिर जित्दा एक मन त दुःख पनि लाग्यो, तर पनि उसले क्रान्तिकारी मागपत्र मात्र देखेका भरमा क्रान्तिकारी पार्टी ठान्ने मलाई चेताएर वास्तविकता देखाइदिंदा मैले खुशी पनि मान्नै पर्यो, म खुशी भएँ । क्रान्तिकारी जस्तो मानिने मागपत्रका आधारबाट पार्टीलाई क्रान्तिकारी मान्न नहुने रहस्य खुलेपछि कमरेड नेताले दिएको मागपत्र च्यातेर फालि दिएँ ।
०००
‘उत्साह’ पूर्णाङ्क २२, (०५४)
Subscribe
Login
0 Comments
Oldest







































