डा. रविलाल अधिकारीविमोचन-संस्कृति
तपाई ठुलो साहित्यकार बन्नु छ भने राम्रा कृतिको अध्ययन गर्ने र लेखनमा साधना गर्ने कामतिर नलाग्नुहोस् र मन्त्री वा ठूला मान्छेका हातबाट कृतिको विमोचन गराउनुहोस्, किनिएका भाटहरूबाट टिप्पणी गराउनुहोस् ।

लेखकलाई आफ्नो लेखकीय क्षमतामाथि विश्वास भएन भने ऊ पुस्तक विमोचन गराएर आफूलाई लेखक भनाइमाग्न खोज्छ यस्तै खोजीका सन्दर्भबाट विमोचन संस्कृतिको जन्म हुन्छ । राजनीतिमा पूर्वाग्रह राख्ने मान्छेले म राजनीतिको पूर्वाग्रह राख्तिन भनेर आफै सफाइ दिएजस्तै साहित्यिक क्षमताशून्य भएका मान्छेले म साहित्यिक क्षमता नभएको मान्छे होइन भनेर आफैले सफाइ दिनखोज्दा उसलाई पुस्तक विमोचनको संस्कृति सहारा बनेर आउँछ, पुस्तक विमोचन गर्ने संस्थाले उसलाई चिनाइदिन्छ । पुस्तक विमोचन गर्नेले र पुस्तकको टिप्पणी गर्नेले पुस्तकको बढाई चढाई प्रशंसा गरिदिन्छन् ।
साँचो-साँचो कुरो बोलेर पुस्तकको र पुस्तकका लेखकको प्रशंसा गर्न नसक्ने विद्वान् र स्पष्टवक्ता व्यक्ति छन् भने तिनीहरूलाई पुस्तकको विमोचन गर्ने र पुस्तकको टिप्पणी गर्ने कामको जिम्मा दिन खोजिदैन, किनभने ती नाथेहरू आफ्ना आत्मालाई ढाँटेर झुटो बोल्न र गधालाई गाई भनेर चिनाउन सक्दैनन् । असत्यमा उभिएर आत्मालाई ढाँट्न नसक्ने र गधालाई गाई बनाउन नसक्ने काँतरहरू विमोचन संस्कृतिमा स्थान पाउन योग्य हुँदैनन्; त्यसैले विमोचित कृतिलाई दुई कौडीको नभए पनि पठनीय, संग्रहणीय र छुटाउनै नहुने कृति भन्न र टपर्टुइँया लेखकलाई पनि सिद्धहस्त साधक र महान् विद्वान् भन्न नहिच्किचाउने र हनुमन्ते संस्कृतिमा पोख्त सूरदासहरू नै विमोचन संस्कृतिमा थान पाउन योग्य हुन्छन् । पुस्तक विमोचन गरेर नामी लेखक ठहरिन खोज्ने व्यक्तिले आफ्नो हित हुने आचरण गर्नुपर्छ भन्ने तलको भनाइ बुझिसकेको नै हुन्छः
विद्यते न खलु कश्चिदुपायः,सर्वलोकपरितोषकरो यः
सर्वथा स्वहितमााचरणीयं, किं करिष्यति जनो बहुजल्पः ।
सबै मानिसलाई सन्तोष दिनसक्ने कुनै उपाय छैन र आफ्नो हित जसरी त्यही उपाय अपनाउन पर्छ, धेरैथरी कुरा बोल्ने लोकले केही गर्न सक्दैन, त्यसैले हुन्छ आफ्नो हित छोड्न हुँदैन भन्ने यस भनाइको आड लिएर आजका हाम्रा लेखकहरू आफ्नै इशारामा चल्ने र मानवीय मूल्यको बोध नभएका भित्री आँखा समेत गुमेका सूरदासहरूलाई सत्कार गरेर बोलाउँछन् र प्रमुख अतिथि अथवा टिप्पणीकर्ता बनाउँछन् । साहित्यिक कार्यक्रम भएकाले केही साहित्यिक ज्ञान आर्जन होला भनेर जाने श्रोता वा दर्शकहरू यो स्यालहुइँयाको गतिविधि देखेपछि दिक्क मानेर फर्कनुपर्छ । दिन खर्च गरेर स्यालहुइँया सुन्न गएका फल विमोचित खोस्टो सित्तैमा हात लागे त तैपनि सन्तोषै होला; तर त्यही खोस्ता पनि पैसा नतिरी नदिने बनियाँहरूका विमोचन कार्यक्रममा पुगिएछ भने ः थुइक्क बजिया हो भनेर मनले गाली गर्नु बाहेक सन्तोषको अर्को बाटोमै हुँदैन । झिंगाको सरापले डिंगा नमर्ने भएपछि गाली जतिसुकै नराम्रा गरे पनि केही छैन पैसा उनीहरूले कुम्ल्याउँछन्, समय हामीले गुमाउँछौ नगएको भए हुने थियो भनेर थैय्य थैय्य गर्नुबाहेक अर्को उपाय हुँदैन ।
लेखकीय योग्यता आर्जन गर्ने विश्वास नभएकाहरूले विमोचन संस्कृतिको आड लिन्छन् र विमोचन कार्यक्रमको आयोजना गर्छन् भन्ने कुरा मैले माथि संकेत गरिसकेको छु । यसैले भूमिकालेखकले बढाई चढाई पुस्तकको र पुस्तकका लेखकको बयान गरेजस्तै विमोचकले र टिप्पणीकर्ताले पनि बढाई चढाई पुस्तकको र पुस्तकका लेखकको बयान गर्नुपर्छ । सुनिन्छ आजभोलि भूमिकालेखकले केही हातलागी नगरी सित्तिमा विद्वत्ता खर्च गरेर अयोग्य व्यक्ति र अयोग्य पुस्तकलाई योग्य भन्दै झुटो बोली कसले भूमिका लेखिदिन्छ ? भनेर केही हातलागी गर्छन् रे । हातलागी गरेपछि ५० पृष्ठका पुस्तकको भूमिका साठी पृष्ठ पनि लेखिदिन्छन् रे । नराम्रालाई राम्रो त पैसाले भनाउने नै भयो । भूमिका लेखकले जस्तै विमोचन-संस्कृतिका प्रशंसकहरूले पनि प्रमुख अतिथि बनेर र टिप्पणीकर्ता बनेर लेखक र लेखकका कृतिको प्रशंसा गरेको भाडा केही हातलागी गर्छन् रे ।
घुइरो घुइरो मैले सुनेको कुरो यही थियो र यस विषयमा मैले हातलागीको शङ्का गरेको हूँ । मैले सुनेको कुरो के थियो भने हाम्रै विश्व विद्यालयका एकजना विभागीय प्रमुखले फोनमा कसैसँग कुरा गर्दा तीन हजार रूपैयाँको हातलागी गर्न नपाए यस विभागबाट कोही पनि तपाईंका कार्यक्रममा प्रमुख अतिथि बन्न र झुटो प्रशंसा गर्न आउन सक्तैन, म तपाईंलाई प्रमुख अतिथि बन्ने व्यक्ति पठाउन सक्तिन’ भनेको मेरा एकजना मित्रले सुन्नु भएछ । यस सुनाइबाट विमोचन संस्कृतिमा प्रमुख अतिथि बनेर वा टिप्पणीकर्ता बनेर गधालाई गाई बनाउन कसरत गर्ने रकमको मोलमोलाइ चल्न थालेछ भन्ने शङ्का उठ्न थालेको छ यो रहस्यको सनातनता प्रकट भएपछि विमोचन संस्कृति ठेक्कापट्टाको व्यवसाय हो भन्ने वास्तविकता खुल्छ र यस वास्तविकताले खुल्न आतुरता देखाइरहेको छ ।
विमोचन संस्कृतिका संवाहकहरूको ठेक्कापट्टाको व्यवसाय सनातन भएपछि एउटा स्थिति बस्नेछ । ठेक्कापट्टा लिनेदिनेहरू त्यसमा लाग्नेछन् र हामी ठेक्कापट्टामा वास्ता नगर्नेहरू ती व्यवसायीहरूका पछि लाग्ने छैनौ । अहिलेको स्थिति संक्रमणकालीन भएकाले वास्तविक विद्वत्ताको प्रक्रिया चल्छ भन्ने भ्रममा हामीहरू बाँचेका छौं । अहिले हामी सोच्छौ अमुक प्रमुख अतिथिले अमुक लेखकलाई सहीसलामत रूपमा कस्तो लेखक देख्छ त्यसको जानकारी हुन्छ । अमुक टिप्पणीकर्ताले उसका कृतिलाई कस्तो-कस्तो देख्छ, त्यस्तै त्यस्तै बताउँछ र कृतिको सही मूल्याङ्कन हुन्छ अनि वास्तविकताको चिनारी पाइन्छ । यस किसिमको सोचाइ हामीले राखे पनि भित्रीतहमा प्रमुख अतिथि वा पुस्तकको टिप्पणीकर्ता लेखक वा प्रकाशकका तर्फबाट किनिइसकेका हुन्छन् र लेखकलाई आकाशमा पुर्याउन पर्छ भन्ने ज्ञान प्रमुख अतिथिले बोकेको हुन्छ अनि पुस्तकलाई अमूल्यरत्न बनाउनुपर्छ भन्ने ज्ञान टिप्पणीकर्ताले बोकेको हुन्छ ।
यस्तो परिवेशमा सहीसलामत कुरा कसैले बोल्दैन । कूट बनेर झूट बोल्नमै उनीहरूको दायित्व छ । भाषिका अध्ययनको सामान्य खोस्टो लेख्नेलाई बालकृष्ण पोखरेलभन्दा ठूलो भाषाशास्त्री भनेर बोले पनि प्रमुख अतिथिको शान जाँदैन, उहाँका कृतिका सामु बालकृष्ण पोखरेलको अध्ययन केही होइन भनेर बोले पनि टिप्पणीकर्ताको मान जाँदैन । स्यालहुइँयाका माहोलमा जे बोलिदिए पनि हुन्छ । उनीहरूका सोचाइमा गधा गाई बन्छ । हामी गहिरिएर हेर्नेहरू भ्रममा परेको महसुस बल्ल पछि गर्छौं ।
विमोचन संस्कृतिका पक्षधर लेखक वा प्रकाशकले अब प्रमुख अतिथि र टिप्पणीकर्तालाई मात्र नभई उपस्थित हुने श्रोता वा दर्शकलाई पनि किन्नुपर्ने हुन्छ । आफूलाई केही लाभ नहुने भएपछि स्यालहुइँयाका विमोचनमा श्रोता वा दर्शक बन्न किन जाने भन्ने सचेतता उनीहरूमा अब बिस्तारै आउन थालेको छ । किनिएका प्रमुख अतिथिले विमोचन गर्ने र किनिएका टिप्पणीकर्ताले टिप्पणी गर्ने विमोचन कार्यक्रममा हामी नकिनिएकाहरू किन जाने भनेर दर्शक वा श्रोताहरू, नजान पनि सक्छन् । यसैले अब दर्शक वा श्रोतालाई पनि किल जरुरी छ । विमोचित पुस्तक बाँडेर दिने परम्परा पुरानो भयो अब मान्छेलाई पढ्ने कुराको जरुरत पनि छैन, तर खानेकुरा अनिवार्य छ सबैलाई । यसैले आजभोलि विमोचन गरिएको पुस्तक नबाँडी मासुच्युरा बाँडेर अथवा मिठाइहरू बाँडेर उनीहरूलाई सन्तुष्ट बनाइन्छ रे । संस्कृतमा एउटा भनाइ छ :
को नयाति वशं लोके मुखे पिण्डेन पूरित
मृदङ्गो मुखलेपेन करोति मधुरध्वनिम् :
‘मुखमा पिँडो कोच्याइदिएपछि वशमा नआउने कोही छैन र मुखमा माड पोतिदिएको हुँदा मादलले पनि मधुरो ध्वनि निकाल्छ’ भन्ने यस भनाइले संकेत गरेजस्तो खान दिएपछि सबै दर्शक वा श्रोता कृतिकार र कृतिका प्रशंसक बन्दछन् र त्यस्ता कार्यक्रममा जान पनि किञ्चित् मान्दैनन् । त्यसैले अब विमोचन संस्कृतिलाई अँगाल्न खोज्नेहरूले दर्शक वा श्रोतालाई पनि किन्नुपर्छ । अनिमात्र स्यालहुइँयाको संस्कृति राम्ररी विकसित हुन्छ ।
यसरी प्रमुख अतिथि, टिप्पणीकर्ता र दर्शक वा श्रोतामा एकै मतले ‘हुइँया- हुइँया’ गर्ने स्यालहुइँयाको संस्कृतिको विकास गर्नसकियो भने हाम्रा मरुन्च्यासे लेखनदासहरू कसरी महान् साहित्यकार नहोलान् र उनीहरूका दुईपैसे खोस्टाहरू कसरी महान् ग्रन्थ नहोलान् ? यसैले आज तपाई ठुलो साहित्यकार बन्नु छ भने राम्रा कृतिको अध्ययन गर्ने र लेखनमा साधना गर्ने कामतिर नलाग्नुहोस् र मन्त्री वा ठूला मान्छेका हातबाट कृतिको विमोचन गराउनुहोस्, किनिएका भाटहरूबाट टिप्पणी गराउनुहोस् । अनि भोजमा मोज गर्न चाहने दर्शक वा श्रोतालाई ताली मार्न लगाउनुहोस्, तपाईं ठुलो साहित्यकार बनिहाल्नुहुन्छ र तपाईंको खोस्टो महान् कृति बन्छ । नयाँ जमानाको नयाँ अक्किल अब तपाईंहामीले अपनाउनै पर्छ ।
०००
२०६४-११-२१, रामघाट, पोखरा
Subscribe
Login
0 Comments
Oldest






































