सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भिटामिन एम

कुनै पनि बेपारलाई हेय दृष्टिले हेर्नु राम्रो होइन । चाहे त्यो देह बेपार होस् चाहे देश बेपार । कसैलाई बेपारमा रोक लगाइनु हुँदैन । जुनसुकै कुरा बेचे पनि भिटामिन एम नै प्राप्त हुन्छ ।

Nepal Telecom ad
काशीनाथ मिश्रित :

हरेक शुक्रवार घण्टाघरनिर कुरान पढ्नेहरूको भीड लाग्दोरहेछ । म एकदिन त्यहाँ भीड छिचोल्ने क्रममा अघि बढ्दै थिएँ । पाइन्टको खल्तीबाट पेटीसम्म रसीले बाँधेर राखिएको मोबाइल एक्कासी झ्वाम भयो, त्यो भीडमा चोर कता गयो थाहा भएन । यत्रो सुरक्षा गरिएको फोन लुटिँदा म झण्डै बेहोश भएँ । सोचेँ अति सुरक्षा भन्नु नै असुरक्षा रहेछ । नखसोस् नहराओस् भन्नका निम्ति मैले त्यसो गरेको थिएँ बरु सोझै खल्तीमा राखेको भए हराउँदैनथ्यो कि ? ‘कुन चाहिँ ट्यापेले रक्सी खान नपुगेर लग्यो ।’ अरु मानिसहरूले यस्तै प्रतिक्रिया गरे ।

फेरि अर्को एकजनाको प्रतिक्रिया आयो- ‘धन्न तपाइँको मुबाइलमात्र लगेछ, यहाँ त पचास रुपियाँको लागि ज्यान पनि लिन बेर लाउँदैनन् ।’ यस्ता थप प्रतिक्रिया सुनेको थिएँ त्यो दिन । होइन यो रुपियाँ भन्ने कस्तो चीज रहेछ हँ ? के रुपियाँविना आजको मान्छे बाँच्नै नसक्ने भएको हो ? पक्कै होला र त म त्यो अवस्थामा पुगेँ ।

रुपैयाँ पैसाको इतिहास बुझ्न मन लाग्यो । मान्छेलाई कहिलेदेखि पैसा चाहिन थाल्यो होला ? सत्यतथ्य पत्ता लगाउन त कसैले यस विषयमा पि.एच.डी. गर्ला तर मैले भने महादेवकै पालादेखि शुरु भएछ भन्ने ठानेको छु । नत्र त ‘धन देखेपछि महादेवका तीन नेत्र’ भन्ने भनाइ किन चल्थ्यो । देउताकै पालादेखि नचलेको भए किन पूजा गर्दा भेटी चढाउनु पर्ने उनलाई ? पैसा किन चाहियो ?

मुसलमानहरूको भीडबाट हिँड्दा मलाई सद्दाम हुसेनको याद आइरहेको थियो । छ मिटर बाक्लो स्टीलको पर्खालभित्र जमिनमुनि बस्थ्यो रे । सुरुङभित्र गाडी पस्दा पछाडिबाट सुरुङ पुरिँदै जाने र अरु कोही जान नसक्ने अति सुरक्षित स्थानमा थियो ऊ । तर अमेरिकाले मार्‍यो । उता झिङ्गो पसेको पनि थाहा पाउने अमेरिकाले लादेनको त्यो जहाज जुम्ल्याहा भवनमा ठोक्किएको थाहै पाएन । त्यत्रा ठूला सुरक्षित बस्तुहरू त ध्वस्त भए जाबो मेरो मोवाइल कत्रो कुरा हो र ?

दुनियाँमा सुरक्षाको गफ गर्नु बेकार लाग्छ मलाई त । जति धन कमाए पनि एक दिन मरेर जानै पर्छ । मरे पछि के हुन्छ त्यो अझसम्म पत्ता लागेकै छैन । किन मान्छे ज्यान जोगाउन खोज्दो हो कुन्नि ? किन सम्पति कमाउन खोज्दो हो कुन्नि ! ‘हातका मैला सुनका थैला के गर्नु धनले !’

यस्तो धनप्रतिको निरपेक्ष चिन्तन सबैमा हुने भए त यो झगडा टन्टा नै कहाँ हुन्थ्यो र फेरि यतिका विकास पनि सम्भव थिएन । खानु पर्ने बाध्यता छ र मानिस कमाउन लाग्छ । प्रश्न उठ्ला पैसा खाने त होइन नि, खाद्यपदार्थ पौष्टिक तत्व हो खाने त । भिटामिन, खनिज, कार्वोहाइड्रेट… । पैसा निलेरै कोही अघाउँदैन । हो यी सबै कुरा सत्य हुन् । त्यसैले मलाई धन, पैसा, रुपैयाँ भन्न मन नलागेर नै भिटामिन एम नामाकरण गरेको हुँ । तपाइँ आफैँ हेर्नोस् त भिटामिन एमका अभावमा संसारमा कत्रो वितण्डा भैरहेछ । प्रसस्त भिटामिन एम पाएकाहरूले नपाउनेहरूलाई कति दबाएका छन् । कति हेपेका छन् ।

वास्तवमा यो भिटामिन नपाएकाहरूले अरु कुरा खाए पनि मोटाउँदैनन् । साँच्चै भन्ने हो भने भिटामिन ‘ए’ भन्दा पनि पहिले पत्ता लागेर पछि नामाकरण गरिएको हो यो । सबैभन्दा जेठो र सर्वरोग निरोधक त भिटामिन एम नै हो । अहिले भिटामिन ए नपाए रतन्धो हँुदैन तर भिटामिन एम पाएन भने मानिस दिनान्धो नै हुन्छ । यसको अभावले छट्पटी हुन्छ दिनमै केही नदेख्ने रोग लाग्छ ।

आज जुनसुकै रोग लागे पनि तपाईं भिटामिन एम नभै उपचार गर्न सक्नु हुन्न । आज मात्र होइन यसको गुणगान बखान गर्न थालिएको पहिलेदेखि नै हो संस्कृत भाषा बोलिने समयको एउटा भिटामिन एम को महत्व सम्बन्धी श्लोक भर्खरै याद आयो । मलाई पण्डितजीले भन्नु भएको थियो । यस्तो छ यो— ‘टका धर्म टका कर्म टकैव परमम् सुखम् । यस्य गृहे टका नास्ति हाट के टक्टकायते ?’

अर्थात् पैसा नै धर्म हो, पैसा नै कर्म हो, पैसा नै सबैभन्दा ठुलो सुख पनि हो जसको घरमा पैसा छैन त्यसले के टकटक्याउँछ त बजार गएर ? हुन पनि हो अहिलेको युग दाम भने पछि मान सम्मान त के नाम बेच्न पनि पछि पर्दैन । अरु कुरा त परै रहोस् स्वास्नीको ज्यानसमेत बेच्न पुग्छ दाम कमाउन ।

भिटामिन एम को निम्ति यो दुनियाँमा के हुँदैन ? सारा हलचल उथलपुथल क्रान्ति भएको छ, त्यो ‘टकैव परमम् सुखम्’का लागि भएको छ । ‘धनको मुख कालो’ भन्ने बुझेको मान्छे झन कालो धन आर्जन गर्न तल्लीन छ । सुर्ती बेचेर नपुगे मूर्ति बेच्छ, चोरी गरेर नभए छोरी बेच्छ । मैले छोरी बेचेर धनी बनेका प्रशस्तै सनकजीहरू भेटेको छु । लोपोन्मुख वन्यजन्तु त तिनीहरूका लागि बायाँ हातको खेल हो । देश चलाउने सनकबहादुरहरू भिटामिन एम कै थुप्रो कमाउन कमिसनको चक्करमा झुम परिरहेछन् । यता पुलिसजीहरू हरिया नोट देखेपछि चरेस बोकेर हिँडेका सनकबहादुरलाई पनि हरेस नखानु होला फलिफाप हुन्छ भनेर पठाइदिन्छन् ।

‘चारखुट्टे धन गन्दै नगन’ भनेर बुढापाकाहरूले भन्थे तर अहिले त ‘चारखुट्टे धन धेरै पटक गन’ भने वेश होला । मर्न आँटेको बुढो भैंसी पनि मम भएर बहुमूल्य बन्न पुग्छ । यता हड्डी बेग्लै, छाला बेग्लै ! भिटामिन एमका लागि अहिले दुध दिने भैँसी समेत बेच्न थाले । जाबो एक लिटर दुधबाट कति नै भिटामिन एम पाइन्छ र ? सिङ्गै भैँसीले त कम्तिमा १५/१६ हजार क्यालोरी भिटामिन एम प्रदान गरिहाल्छ नि ।

यस्तो जादुमय भिटामिनको स्रोत के हो ? भन्ने प्रश्न उठ्ला । यसको स्रोत त व्यापार नै हो । आलु बेचेर पुगेन भने घिउमा पिँडालु हालेर बेच्नोस् । तालु बेच्न नसके खप्परै बेच्नुहोस् न । केही बेच्न नसके सधै आफ्नो हुने गरी देह बेपार गरे पनि भयो आखिर दाम कमाउन नै त हो । तर तालु बेच्नेभन्दा कुहिएका आलु बेच्ने धनी, अनि आलु बेच्नेभन्दा पालु बेच्ने अझैँ धनी ! यी सबैले रातारात महल ठड्याउन त के सक्थे ! तै पनि घैँटा जत्रो भुँडी ढड्याउन भने कत्ति गाह्रो हुँदैन । त्यसो गर्न त देश बेच्नु पर्छ । देश बेेच्न रोक्न खोज्नु पर्छ वा धम्की बेच्नु पर्छ । सोझो औंलाले घिउ आउँदैन भन्ने जान्नु भएको छैन र ?

नत्र एउटा सामान्य तालिम लिएको पत्रकारले बिल्डिङ बनाउँछ । पुलिसको हल्दारले महल ठड्याउँछ, कर्मचारीको पुच्छरले सिङ हाल्छ ? साँच्ची मैले अरुका कुरा किन गरिरहन पर्‍यो । आफ्नै अनुभव झन चाखलाग्दो छँदैछ । पहिले पहिले आलु किनेर खुवाउन पनि खुवी नहुँदा स्वास्नीले भालुलेझै झम्टन्थी । अहिले भने तालु बेच्ने दाउ परेको छ । पालु खाएर ठालु हुँदै म भालुले झैं झम्टन्छ तर ऊ चाँहि ङिच्च दाँत देखाएर ‘नरिसाइस्योस् न’ पो भन्छे बा ! हैन त्यसैले त मलाई यो भिटामिन एम को सारै ठुलो महत्व अनुभव भएको हो नि ।

चिल्लो पदार्थ बढी भए तपाईलाई ग्यास्ट्रिक होला, कार्वेहाइड्रेट धेरै भए सुगर लाग्ला… । तपाईं एकपटकमा एक पेट मात्र खान सक्नु हुन्छ । त्यो भन्दा बढी मरिगए सक्नुहुन्न । ‘दिएर पुग्यो भन्ने कुरा यही खानामात्र हो बाबु ।’ मलाई एउटी हजुरआमाले भनेकी थिइन् । अरु कुरा त जति दिए पनि मान्छेले भो भन्दैन अझ दाम दिनु हुन्छ भने त जति दिए पनि थोरै हुन्छ । नत्र घुसखोरी, कालाबजारी जस्ता क्रियाकलाप आफैँ बन्द हुन्थे । सुरा व्यापार वा सुन्दरी व्यापार जस्तो व्यापार हुन नसकेर नै साहित्य पछि परिरहेछ । साहित्यकार दुब्लाइरहेछन् अब भिटामिन एम नभई कोही मोटाउँदैन । त्यसैले सबैले ब्यापार गरेको देख्छु । बरु देह बेपार गर्नेहरू महलमा बस्न पाएका छन् ।

कुनै पनि बेपारलाई हेय दृष्टिले हेर्नु राम्रो होइन । चाहे त्यो देह बेपार होस् चाहे देश बेपार । कसैलाई बेपारमा रोक लगाइनु हुँदैन । जुनसुकै कुरा बेचे पनि भिटामिन एम नै प्राप्त हुन्छ ।

त्यसैले साहित्यकार ज्यूहरू ! तपाइँहरूले पनि अब व्यापारिक मन बनाउनुहोस् । साहित्यको बेपार हुन सकेको छैन । कसैका पुस्तक वा लेख रचना बिके भनेर साहित्यको बेपार भएको नठान्नोस् । किसानले दुधमा पानी हालेर बेचून् वा पानीमा दुध हालेर बेचून् तपाइँ त्यो नहेर्नुस् बरु कसरी साहित्यको बेपार हुन्छ त्यो योजना बनाउनतिर लाग्नुहोस् । अन्यथा भिटामिन एम को अभावमा तपाइँ सधै छट्पटिनु पर्ला ।

कस्तो गजब ! व्यापार गर्नै नहुने ठाउँमा पनि झन् दह्रो तरिकाले हुन्छ । शिक्षा क्षेत्र हेर्नोस् त । प्रशस्त भिटामिन एम पाएकाहरूले कत्रो शानसँग पढ्छन् । भिटामिन एमका दुब्लाहरूको के गति छ कसैलाई सोध्नै पर्दैन । चाउचाउ कारखानाले उत्पादन गरेको खाद्य पदार्थ र बोर्डिङ स्कुलका विद्यार्थीमा कति अन्तर होला ? आफैँ नाप्नोस् ।
मेरो मुबाइल थुतेर भाग्ने ट्यापे पनि त त्यत्तिकै ट्यापे भएको पक्कै होइन होला । ऊ त्यस्तै भिटामिन एमको कमीले ग्रस्त भएको परिवारमा जन्मेको होला । अलिकति भए पनि भिटामिन एम पाइहालिन्छ कि भनेर झ्वाम पार्‍यो । शुरुमा कोपरौँ जस्तो लागे पनि पछि चित्त बुझाएँ ।

०००
गुल्मी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
वरिष्ठ जुवाडे

वरिष्ठ जुवाडे

काशीनाथ मिश्रित
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
देश बन्ला खरानी !

देश बन्ला खरानी !

काशीनाथ मिश्रित
मात्र बेरियो गठबन्धन

मात्र बेरियो गठबन्धन

काशीनाथ मिश्रित
प्रजातन्त्र दिवस !

प्रजातन्त्र दिवस !

काशीनाथ मिश्रित
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी